डेंगीबाट बच्ने उपाय

बुधबार, १५ मङि्सर २०७३, १० : २० मिलन खरेल , Kathmandu
डेंगीबाट बच्ने उपाय

तथ्यांकअनुसार विश्वभरिमा करिब १ सय ३०वटा देशका ४० करोड जति मानिस प्रत्येक वर्ष ‘डेंगी’ बाट संक्रमित हुने गरेको पाइएको छ । सन् २०१५ मा भारतको नयाँ दिल्लीमा करिब १० हजार व्यक्ति डेंगी संक्रमित पाइएकोमा ३२ जनाले ज्यान गुमाएका थिए । इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउनयता नेपालमा हालसम्म ५ सय ९४ जनामा डेंगी रोग भेटिएको छ ।  देशभरिका १८ जिल्लामा डेंगीका बिमारी भेटिएका छन् । जसमध्ये चितवन र झापा हालसम्म सबैभन्दा बढी डेंगी प्रभावित जिल्ला हुन् । अहिले झापा, चितवनलगायत नेपालका पूर्वी तथा मध्य तराइका केही जिल्लामा डेंगीको प्रकोप बढेको अवस्था छ । सामान्य बोलचालको भाषामा यसलाई ‘डेंगु’भनिए तापनि यसको शुद्ध उच्चारण भने ‘डेंगी’ हुने गर्दछ ।
 ‘डेंगी’ के हो  ?
‘डेंगी’लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने एक प्रकारको भाइरल ज्वरो हो । दक्षिण एसियाली मुलुकलगायत उष्ण हावापानी भएका स्थानमा यो रोगको प्रकोप ज्यादा देखिने गर्दछ ।
कसरी सर्दछ ?
यो रोग ‘एडिज’ प्रजातिको (प्रायः ‘एडिज एजेप्टी’ नामक) पोथी लामखुट्टेको टोकाइमार्फत एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । एडिज लामखुट्टेले आफ्ना लार्भाहरू गमला, भाँडा, पुरानो टायर, फ्रिज, एयर कन्डिसनर आदिमा हुर्काउने गर्दछ । यसको शरीर कालो हुन्छ जसमा स–साना सेता थोप्ला रहेका हुन्छन् । डेंगी रोग एक प्रकारको ‘आरएनए’ विषाणु (भाइरस) का कारण लाग्ने गर्दछ । जसलाई अंग्रेजीमा ‘डेंगी भाइरस’ वा ‘डीईएनभी’वा ‘फ्लाभी भाइरस’ पनि भनिन्छ । डेंगी संक्रमित व्यक्तिको रगतमा यस रोगका विषाणु पाइने  गर्दछन् । जब डेंगी संक्रमित व्यक्तिलाई ‘एडिज’ प्रजातिको लामखुट्टेले टोक्छ तब डेंगी भाइरस लामखुट्टेमा सर्दछ । उक्त संक्रमित लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोकेमा संक्रमित लामखुट्टेको ¥यालमा रहेका डेंगी भाइरसहरू ¥यालसँगै टोकेको ठाउँबाट स्वस्थ व्यक्तिको शरीरभित्र प्रवेश गर्दछन् । जहाँबाट उक्त भाइरस व्यक्तिको रगतमा रहेका श्वेत रक्त कोषिका (डब्लूबीसी) भित्र प्रवेश गरी डेंगी ज्वरोको रूप लिने गर्दछ । तर, डेंगी रोग प्रत्यक्ष रूपमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । यस रोगको भाइरस डेंगी संक्रमित व्यक्तिबाट लामखुट्टेमा र संक्रमित लामखुट्टेको टोकाइबाट मात्र स्वस्थ व्यक्तिमा सर्ने गर्दछ । हालसम्म पाँच प्रकारका डेंगी भाइरस पत्ता लागिसकेका छन् । एक पटक डेंगी लागेर निको भएको व्यक्तिलाई सोही प्रजातिको भाइरसद्वारा पुनः डेंगी लाग्ने सम्भावना अत्यन्त न्यून हुन्छ । किनकि, उक्त व्यक्तिमा सो भाइरसविरुद्ध शरीरको प्रतिरोधात्मक प्रणाली विकसित भइसकेको हुन्छ ।
डेंगीका लक्षण
धेरैजसो डेंगीका बिरामीमा कुनै पनि लक्षण देखिँदैनन् । डेंगी रोगको विषाणु स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गरेको तीन दिनदेखि बढीमा दुई हप्तासम्ममा यस रोगका कतिपय लक्षण देखिन सुरु हुन्छन् ।
सामान्य लक्षण
-    सुरुमा रुघाखोकी लागे जस्तो हुने, एक वा दुई दिन बिराएर उच्च ज्वरो आउने (१०४ डिग्री वा बढी), टाउको दुख्ने (विशेष गरी आँखा पछाडिको भाग),  वान्ता हुने ।
-   मांशपेशी तथा जोर्नी दुख्ने ।
-    थकान महसुस हुने, शरीर काम्ने ।
-    शरीर चिलाउने बिस्तारै डाबर (धर्सा) आएको ठाउँका छालाका पाप्रा उप्किने ।
-    संक्रमित व्यक्तिको छालामा राता किसिमका डाबर (धर्सा) देखिने ।
जटिल लक्षण
-    ज्वरोसहित नाक, गिजा तथा मुखको श्लेल्ष्म झिल्ली (म्युकस मेम्ब्रेन) बाट थोरै मात्रामा रक्त श्राव हुनु (डेंगी हेमोरेजिक फिवर) ।
-    ‘प्लेटलेट’ नामक रक्त कोषिकाको संख्या उल्लेखनीय रूपमा घट्नु ।
-    रक्तचाप सामान्यभन्दा निकै कम हुनु ।
-    हृदय गति कम हुने ।
-   स्मरण शक्ति कमजोर हुने ।
ज्यादै जटिल अवस्थामा भने रगतमा रहेको पानीजस्तो भाग ‘प्लाज्मा’  रक्त नलीहरूबाट रसाएर (चुहिएर) छाती वा पेटको भागतर्फ जम्मा हुने गर्दछ । जसको कारण शरीरमा रगतको कमी भई मस्तिष्क तथा शरीरका अन्य महŒवपूर्ण अंगमा अक्सिजन र पोषण तŒवको कमी हुने गर्दछ ।
जोखिम
करिब ८० प्रतिशत अवस्थामा यो रोग दुईदेखि सात दिनभित्र स्वतः निको भएर जाने गर्दछ । त्यसैले यो रोग लाग्दैमा धेरै अत्तालिनु पर्दैन । तर, कतिपय (करिब पाँच प्रतिशत) अवस्थामा भने उक्त विषाणुले प्लेटलेट नामक रगत जम्न मद्दत गर्ने रक्तकोषलाई नष्ट गर्ने भएकाले रगत जम्ने प्रक्रियामा गडबडी उत्पन्न भई आन्तरिक रक्ताश्राव हुन गई बिमारीको ज्यानै जान सक्नेसम्मको जटिल अवस्था पनि सिर्जना हुने गर्दछ । दम तथा मधुमेय लागेका व्यक्तिमा तथा बच्चाहरूमा डेंगीको जोखिम ज्यादा हुने गर्दछ ।
निदान
सामान्यतया डेंगी रोग बिरामीको शारीरिक लक्षण (क्लिनिकल सिम्टम्स) का आधारमा पत्ता लगाइन्छ । डेंगीको बिमारीको रगतमा प्लेटलेट नामक रक्त कोषको संख्या गणना गर्दा प्रतिमाइक्रो लिटरमा एक लाखभन्दा कम हुने गर्दछ । प्रयोगशालामा डेंगी रोग निदानका लागि उक्त रोग लगाउने डेंगी भाइरस शरीरमा भए नभएको यकिन गर्ने गरिन्छ । जसका लागि बिमारीको रगतको नमुना संकलन गरी, प्रयोगशालामा गरिने जटिल सेरोलोजिकल  परीक्षण (म्याकएलाइजा टेस्ट, रेपिड टेस्ट) मार्फत उक्त भाइरसको वंशानुगत जिन (न्युक्लिक एसिड) आइजिएम एन्टिबडी, एन्टिडेंगी सेरम, एन्टीजेन (एन्टिबडी)आदि पत्ता लगाउने गरिन्छ ।
उपचार
भाइरल रोग भएकाले डेंगीको खासै उपचार छैन । अन्य भाइरस रोगझैँ डेंगी ज्वरो करिब हप्ता दिनमा आफैँ निको हुने गर्दछ । अति नै सूक्ष्म भएका कारण कुनै पनि भाइरसलाई औषधिको प्रयोग गरी नियन्त्रण गर्न वा मार्न सकिँदैन ।  डेंगी ज्वरो पनि भाइरसद्वारा नै लाग्ने रोग भएकाले ठ्याक्कै यसैको उपचारको निम्ति भनेर औषधि बनेको छैन । तर, हाल कतिपय देशमा डेंगीविरुद्धको खोप परीक्षणको क्रममा रहेको पाइएको छ । आवश्यक परे बिरामीलाई अस्पतालमा भर्ना गरेर चिकित्सकको निगरानीमा  लक्षण अनुसारको उपचार गर्नु पर्दछ । ‘सलायन’ पानी वा रगत चढाउनु पर्दछ । तर, डेंगीको बिरामीले टाउको दुख्यो भन्दैमा ‘आइबुप्रोफेन’ ‘एस्प्रिन’,‘नेप्रोसेन’ जस्ता ‘नन्स्टेरोइड’ समूहमा पर्ने औषधि खानु हुँदैन । यस्ता औषधिको साइड इफेक्टका कारण पेटको अल्सर तथा पाचननलीको रक्तस्राव हुने सम्भावना बढ्छ । बरु, जटिल समस्या नभएमा बिरामीले आराम गर्नाले र प्रशस्त मात्रामा पानी, सुप, जुसजस्ता झोलिलो खाने कुराको सेवनले डेंगी रोगबाट चाडै छुटकारा पाउन सकिन्छ ।
बच्ने कसरी
‘डेंगी’ लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले लामखुट्टेको नियन्त्रण गर्नु नै यस रोगबाट बच्ने सबैभन्दा भरपर्दो उपाय हो ।  लामखुट्टेको टोकाइबाट आफूलाई बचाउनु नै यसको प्रमुख रोकथाम हो ।
-  बिहान र साँझको समयमा लामखुट्टे बढी सक्रिय हुने भएकाले सो समयमा घर बाहिर ननिस्कने ।
-  घरका झ्याल ढोकामा लामखुट्टे छिर्न नसक्ने किसिमको जाली लगाउने ।
-    घरको छेउछाउमा लामखुट्टेले अण्डा पार्न सक्ने पानी जमेका खाल्डाखुल्डी छन् भने पानी तानेर, तिनलाई पुर्ने ।
-    सधैँ झुल लगाएरमात्र सुत्ने, घरबाहिर बस्नु परेमा वा कतै जानु परेमा शरीरमा लामखुट्टे भगाउने क्रिम (एन्टिमस्किटो क्रिम) लगाउने ।
- आफ्नो घर वरिपरि लामखुट्टे लुकेर बस्न सक्ने झ्यासझुस झाडी भए तिनलाई सफा गर्ने ।  

(लेखक जीव–अनुसन्धाता हुन् ।)

 

Leave A Comment

Astaberry.com
nagarik-ime

zenTravelsNagarikNews2015

ncell-april17