साहसिक रोमाञ्चका लागि पोखरा

बुधबार, १५ मङि्सर २०७३, १० : १५ मनोज घर्तीमगर , Kathmandu
साहसिक रोमाञ्चका लागि पोखरा

साहसिक खेलका रूपमा लिइने बन्जी जम्प गर्न दह्रो मुटु चाहिन्छ । धेरैले यसको रहर गरे पनि अवसर नपाउन सक्छन् । तर, पोखरेलीलाई बन्जी जम्पका लागि आ“गनमै अवसर छ । सराङकोटमा हाईग्राउन्ड एड्भेन्चर्सले सञ्चालनमा ल्याएको बन्जी जम्प गर्न आन्तरिक र बाह्य पर्यटकको लर्को लाग्छ ।
पोखरामा एड्भेन्चर पर्यटनका लागि नयाँ–नयाँ ‘आइटम’ थपिँदै गएका छन् । अन्नपूर्ण हिमशृंखलाको मनोरम दृश्य अवलोकन गर्दै सराङकोटको डाँडाबाट चिप्लिएर हेम्जा झर्नुको मजा कस्तो होला ? त्यो अनुभव लिने हो भने सराङकोटमै जिप फ्लाएर छ । समुद्री सतहबाट ५ हजार ३२ फिट अग्लो सराङकोटबाट तीन हजार फिट तल चिप्लिँदै झर्न जम्माजम्मी दुई मिनेट लाग्ने सञ्चालक भरत गोल्छा बताउँछन् ।
रक क्लाइम्बिङ अनुभवी पर्वतारोहीले मात्रै गर्छन् भन्ने बुझाइ छ धेरैको । तर, पर्वतारोहीका लागि मात्रै होइन सबैको साहसिक खेल भइसकेको छ, यो । थ्री सिस्टर्स एड्भेन्चरले सराङकोटमुनिको मेथ्लाङमा रहेको पहरोमा रक क्लाइम्बिङ सञ्चालन गरेको छ । यो पहरोमा एकै पटकमा १४ ठाउँबाट चढ्न सकिन्छ भने १० मिटरदेखि २१ मिटरसम्म उचाईमा रहेको हुन्छ ।
ठाडो भिरमा डोरी लगाएर चढ्दा डर लागे पनि अनुभूति रोमाञ्चक हुन्छ । ठाडै भिरालो पहाड चढ्न होस या डोरी लाएर सयौँ फिट तल फाल हाल्न, जोखिमको सीमा हुँदैन । त्यही डरलाई पचाएर साहस देखाउनेहरूले रक क्लाइम्बिङ गर्न सक्छन् । यस्तै साहस देखाउने अर्को ठाउँ हो अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय । संग्रहालय परिसरमा निर्माण गरिएको कृत्रिम आरोहण पर्खाल (क्लाइम्बिङ वाल)ले हिमाल आरोहणको लागि पाठ सिकाँउछ । पोखराको पर्वतीय संग्रहालयभित्र रहेको कृत्रिम वाल झण्डै २२ मिटर अग्लो छ । जुन नेपालकै अग्लो कृत्रिम चट्टान आरोहण पर्खाल हो । ‘चढ्दा जति कठिनाई हुन्छ, माथि पुगेर तल हेर्दा त्यति आनन्द आउँछ,’ रक क्लाइम्बर सरस्वती विक भन्छिन्, ‘यसबाट हौसिएर मैले आइस क्लाइम्बिङ पनि गरिसकेकी छु ।’

पोखरानजिकै ल्वाङ घलेलको कुदी छहरा छ । जहाँ क्यानोनिङको मजा लिन सकिन्छ । पानीमा भिज्दा पनि शरीरको तापक्रमलाई सन्तुलित राख्ने पोशाक अनि हार्नेस सुट लगाएर डोरीमा झुन्डिदै छहरामा झर्ने साहसिक खेल नै क्यानोनिङ हो । स्थानीय युवा राम गुरुङले २०७१ बैशाखमा गाउ“मै पर्यटकलाई आकर्Èित गराउन क्यानोनिङ भिœयाएका हुन् । यो छहरामा दिनका दिन नेपाली र विदेशी पर्यटकको ओइरो लाग्न थालेको छ । ‘विदेशीभन्दा नेपालीहरू बढी आकर्षित छन्,’ क्यानोनिङ सञ्चालक राम गुरुङ भन्छन्, ‘साहसिक खेलको मजा लिनेहरू निकै बढेका छन् ।’ क्यानोनिङका लागि यहा“ दुई तह छन् । भर्खर सिकारुका लागि तयार पारिएको ‘विगिनर लेवल’ ४५ मिटर छ भने प्रोफेसनल लेवलको जमिनबाट झन्डै तीन सय मिटरको दूरी छ । ठूलो छा“गोमा डोरीको सहायताले झुन्डि“दै उत्रिने यो खेल कास्कीमा प्रिय बन्न थालेको छ ।
हावामा कावा खाँदै पोखरालाई नियाल्न चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि प्याराग्लाइडिङ अर्को आकर्षण हो । पोखराको सराङकोट प्याराग्लाइडिङको लागि विश्वमै पाँचौँ उत्कृष्ट स्थल पनि हो । साहसिक पर्यटनको नमूनाको रूपमा रहेको प्याराग्लाइडिङ त पोखरामा लागि पुरानै ‘प्रोडक्ट’ भइहाल्यो । पोखरामा अर्को आकर्षण छ, अल्ट्रालाइट उडान । दक्षिण एसियाको कुनै पनि देशमा नभएको यस्तो रमाइलो उडानले धेरैलाई पोखरा तानिरहेको छ । एभिया क्लबले पोखरामा पहिलो पटक ल्याएको अल्ट्रालाइट अहिले तीन कम्पनीले सञ्चालन गर्छन् । ‘हामीले दक्षिण एसियामै नभएको पर्यटकीय स्वाद पोखरामा चखाइरहेका छौँ,’ एभिया क्लबका रिजन शर्मा भन्छन् ।
¥याफ्टिङ यहाँको अर्को ‘प्रोडक्ट’ हो, जसले साहसिक खेल मन पराउनेलाई पोखरा बोलाउँछ । सेती नदीको ¥याफ्टिङले धेरैलाई आनन्द दिइसकेको छ । मर्दीको दोबिल्लाबाट सुरु भई सिम्पानीस्थित नदीको बाँधसम्म करिब १२ किलोमिटर ¥याफ्टिङ गर्नेहरू बढेका छन् । फेवातालमा कायकिङ गरेर रमाउनेहरू पनि उत्तिकै छन् । रमाउनेहरूका लागि पोखरामा जमिनमुनिको संसार पनि छ । जुन पर्यटकको लागि आकर्षणको केन्द्र हो । पोखरामा करिब आधा दर्जन गुफा छन् । जहाँ आन्तरिक तथा बाह्य पर्यटक रमाउन पुग्छन् । मुटु दह्रो बनाएर पोखराका गुफा चहार्नेहरू पनि उत्तिकै छन् । प्रसिद्ध महेन्द्रगुफा, गुप्तेश्वर गुफा, चमेरे गुफासँगै हरिहर गुफा, कुमारी गुफाजस्ता साना गुफासमेत छन् । ‘साहसिक पर्यटनका लागि पोखरा अब्बल ठाउँ हो । जहाँ रोजीरोजी साहसिक खेलको मजा लिन सकिन्छ,’ पोखराका पर्यटन व्यवसायी बच्चुराम तिवारी भन्छन् ।

Leave A Comment