इजरायल जाने सपना अधुरै

बुधबार, १५ मङि्सर २०७३, १० : १० रुद्र खड्का , Kathmandu
इजरायल जाने सपना अधुरै

पारिश्रमिक र सुरक्षाका दृष्टिकोणले नेपालका धेरै युवायुवती केयरगिभरका रूपमा काम गर्न इजरायल जान रुचाउँथे । इजरायलमा केयरगिभर जान फेरि रोकिएको छ ।
सन् २०१५ मा तीन सय केयरगिभर लैजान इजरायली सरकार र श्रम तथा रोजगार मन्त्रालयबीच सम्झौता भए पनि अहिलेसम्म ५९ जनामात्र इजरायल जान पाएका छन् । लामो समयदेखि रोजगारीका लागि इजरायल जान कैयौँले प्रयास गरे पनि सरकारले स्वीकृति नदिँदा धेरैको इजरायल जाने इच्छा पूरा हुन सकेको थिएन । केही समयका लागि खुलेको इजरायलको केयरगिभर विभिन्न विवादले चार वर्षअघि बन्द गरिएको थियो ।
निकै लामो प्रयासपछि साढे एक वर्षअघि  नेपाल र इजरायल सरकारका प्रतिनिधिबीच एक वर्षभित्र तीन सय नेपाली युवायुवतीलाई केयरगिभरको काम गर्न इजरायल लैजाने सहमति हुँदा राम्रो रोजगारी पाइने आशाले विदेशिन तयार भएका थुप्रै युवायुवती हर्षित भएका थिए । केयरगिभर खुलेको सुन्नेबित्तिकै केयरगिभरको प्रशिक्षण तथा अन्य सीप सिक्न दूरदराजका युवायुवती काठमाडौँ आएका थिए ।
सुरुमा एकमहिने केयरगिभरको तालिम लिएकाहरूले प्रतिस्पर्धा गर्न पाउने भन्दै इजरायल खुले पनि पछि वैदेशिक रोजगार विभागले एक महिनाको साटो तीनमहिने केयरगिभरको तालिमलाई अनिवार्य गरेको थियो । पहिलो चरणमा तीनमहिने केयरगिभरको प्रशिक्षण लिएकाहरू नभेटिएपछि विभागले  नर्स, अनमी र सीमए अध्ययन गरेकालाई छनोट गरेको थियो, जसका कारण लामो समयदेखि हिब्रु, अंग्रेजी भाषा र केयरगिभरको तालिम लिएकाहरू निराश थिए ।
केयरगिभरको तालिम लिए पनि पहिलो चरणको प्रतिस्पर्धामा सहभागी हुन नपाएकी बारा, निजगढकी गंगादेवी प्रसाईले चार वर्षदेखि हिब्रु तथा अंग्रेजी भाषा र केयरगिभरको  तालिम गर्दैमा दुई लाख रुपैयाँभन्दा बढी सकिएको दुखेसो पोखिन् । सरकारले इजरायल नखोलेका कारण वर्षौं त्यसको प्रतीक्षा गरेकी प्रसाईका लागि लामो समयपछि खुलेको इजरायल अन्तिम समयमा हात्ती आयो फुस्सा सरह भयो  । ‘इजरायल जानका लागि आवश्यक पर्ने सबै तयारी पूरा गरेकी थिएँ,’ उनले भनिन्, ‘तर, अन्तिम समयमा विभागले केयरगिभरको प्रमाणपत्रलाई मान्यता नदिँदा इजरायल जाने प्रक्रियामा सहभागी हुनै पाइएन । दोस्रो चरणको छनोटमा प्रतिस्पर्धा गर्ने विचार पनि अधुरै रहेको छ ।’
धनकुटा, सल्लेकी भीममाया पूर्वछानेले पनि विभागले इजरायलको केयरगिभरमा जान चाहनेका लागि दरखास्त आह्वान गरेपछि फारम भरेकी थिइन् । ‘इजरायलकै लागि भनेर थुपै्र समय र आर्थिक लगानी गरियो,’ उनले भनिन्, ‘अन्तिम समयमा विभागले प्रक्रियामै नलैजाँदा हामीलाई भएको अन्याय दोस्रो चरणबाट पूर्ति गर्ने योजना थियो । तर, विभागले दोस्रो चरणको कार्यक्रम सुरु नगर्दा अन्याय भइरहेको छ ।’ इजरायलका लागि आवश्यक पर्ने सबै प्रक्रियाको तयारीस्वरूप धनकुटाबाट पटकपटक काठमाडौँ आउँदाजाँदा दुई लाख रुपैयाँभन्दा बढी खर्च भएको बताउने पूर्वछानेले इजरायलका नाममा खर्च भएको रकम कसरी जुटाउने भन्ने समस्या टड्कारो रूपमा आएको गुनासो पोखिन् ।
२०७२ असार २१ गते  जीटूजी (नेपाल र इजरायल सरकार सामेल) प्रक्रियाद्वारा केयरगिभरमा कामदार लैजान सहमत भएपछि विभागले असोजमा निश्चित मापदण्ड तोकेर दरखास्त आह्वान गरेको थियो । सोही आह्वानपछि ८ सय १८ जनाले विभागमा निवेदन दिएका थिए ।  निवेदन दिएकामध्ये १ सय ३९ जनाबाहेक अन्यले एक महिनाको तालिम लिएर तीन महिनाको प्रमाणपत्र पेश गरेको भन्दै विभागले त्यस्ता प्रमाणपत्र पेश गरेका उम्मेदवारलाई प्रक्रियाबाट हटाएको थियो । विभागले उपलब्ध गराएको १ सय ३९ जनाको नामावलीमध्येबाट सय जनालाई इजरायली दूतावासले छनोट गरेपछि लिखित परीक्षाबाट ५९ जना सफल भएका पहिलो चरणमा इजरायल जान पाएका थिए ।  पहिलो चरणमा सफल भएकाहरू पटकपटक गरी गएको असारसम्म सबै इजरायल उड्न सके । पहिलो चरणमा सफल भएका सबै इजरायल उडेपछि दोस्रो चरणको छनोट प्रक्रिया थाल्ने श्रम तथा रोजगार मन्त्रालयका अधिकारीले बताउँदै आएका थिए ।
इजरायलका वृद्धवृद्धा तथा बालबालिकाको हेरचाह गर्न केयरगिभरका लागि पहिलो चरणमा २५ देखि ४५ वर्ष ननाघेका,  १.४ मिटर अग्लो तथा कम्तीमा ४५ केजी तौल, तीनमहिने केयरगिभर तालिम या स्वास्थ्य सम्बन्धी विभिन्न कोर्स अध्ययन गरेको हुनुपर्ने मापदण्ड तोएिको थियो । दोस्रो चरणको कार्यक्रम नै अन्योलमा परेपछि अब कस्ता मापदण्ड बनाइन्छन् भन्ने कुराको पनि टुंगो लाग्न सकेको छैन । सरकारी अधिकारीले भने अनौपचारिक रूपमा आगामी दिनमा तीनमहिने केयरगिभरको तालिम लिएकाहरू पनि प्रतिस्पर्धामा सहभागी हुन पाउने जानकारी दिएका छन् । एक महिने तालिम लिएकाले भने प्रतिस्पर्धा गर्न नपाउने बताइएको छ ।  इजरायल रोजगारीमा जाँदा एक लाख रुपैयाँभन्दा बढी लागत नलाग्ने र मासिक एक लाख रुपैयाँभन्दा बढी पारिश्रमिक पाइने भएकाले ठूलो संख्याका युवायुवतीको इजरायलप्रति आकर्षण छ । मानवअधिकारको गम्भीरतापूर्वक पालना गरेकाले पनि इजरायलमा महिला सुरक्षित हुने गरेको बताइन्छ ।
केयरगिभरको तालिम सञ्चालन गर्नेहरूका अनुसार इजरायल जानका लागि केही वर्षयता सोही तालिम लिएर बसेकाहरूको संख्या कम्तीमा १० हजार छ । पहिलो चरणमा सबै प्रक्रिया पूरा गरी इजरायल जानेमा ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष छन् । केयरगिभरको मुख्य काम इजरायलमा वृद्धवृद्धालाई रेखदेख गर्नु हो । मासिक एक लाख रुपैयाँ हाराहारी पारिश्रमिक पाइने र जाँदा एक लाख रुपैयाँभन्दा बढी खर्च नलाग्ने भएकाले ठूलो संख्याका युवायुवतीको इजरायल आकर्षण बढेको पाइन्छ ।
वैदेशिक रोजगार विभागकी निर्देशक रमा भट्टराई पहिलो चरणमा इजरायल पुगेकाको त्यहाँ कस्तो अवस्था रहन्छ, त्यसकै आधारमा दोस्रो चरणको काम सुरु हुने बताउँछिन् । ‘पहिलो चरणमा त्यहाँ पुगेकाको अवस्था कस्तो छ भनेर अनुगमन गर्छौं,’ उनले भनिन्, ‘तीन सय जना पठाउँदासम्म यो पाइलट प्रोजेक्ट नै हुन्छ । पाइलट प्रोजेक्ट सक्न तीन वर्ष जति लाग्ला ।’ तर, सुरुमा भने एक वर्षमै तीन सय जना इजरायल पठाउने भनिएको थियो । ढिलासुस्ती हुँदै जाँदा अहिले तीन सय जना पठाउन तीन वर्ष समय लाग्ने भनिँदैछ । वैदेशिक रोजगार विभाग र श्रम तथा रोजगार मन्त्रालयको कार्यशैली हेर्दा तीन वर्षमा पनि तीन सय जनालाई इजरायल पठाउन गाह्रो हुने सेवाग्राहीको गुनासो छ ।
विभागले पहिलो चरणमा छनोट भएको टोली बालबालिका र वृद्धवृद्धाको हेरचाहका लागि गए पनि अबको चरणमा कृषि र उत्पादनमूलक क्षेत्रमा पनि युवायुवती पठाउन प्रयास गर्ने जनाएको छ । विभागकै एक स्रोतका अनुसार इजरायलमा कामदार पठाउन ढिलाइ हुनुको कारण श्रम तथा रोजगार मन्त्रालयले इजरायल पठाउने कामदारबारे निर्देशिका तथा ऐन बनाउन र इजरायली अधिकारीसँग गम्भीरतापूर्वक वार्ता गर्न नसक्नु हो ।
बक्समाः
‘जवाफ दिँदैमा हैरान छौँ’
रमा भट्टराई
प्रवक्ता, वैदेशिक रोजगार विभाग
इजरायल पठाउने दोस्रो चरणको प्रक्रिया कहिले सुरु हुन्छ भनेर सोध्न दिनहुँ ठूलो संख्यामा युवायुवती आइरहन्छन् । दोस्रो चरणको प्रक्रिया सुरु गर्नेबारे केही पनि प्रगति भएको छैन भनेर जवाफ दिँदैमा हैरान छौँ । उता (इजरायल) बाट माग आएको छैन भने यताबाट पनि कामदार पठाउनेबारे केही कुरा हुन सकेको छैन । खासगरी विभागमा छिटोछिटो कर्मचारीको हेरफेर हुँदा झनै कामको टुंगो लाग्न गाह्रो भएको हो । अब इजरायलको दोस्रो चरणको कार्यक्रमबारे के गर्ने भन्नबारे टुंगो लगाउनुपर्छ । इजरायल नेपाली युवायुवतीले मन पराएको रोजगारीको प्रमुख गन्तव्यमध्येमै पर्छ । मेरो विचारमा कोरियापछि धेरैले मन पराएको गन्तव्य इजरायल नै हो । उत्कृष्ट गन्तव्यमा गएर राम्रो आम्दानी गर्नु अहिलेको आवश्यकता हो । इजरायल पारिश्रमिकको दृष्टिकोणले जति आकर्षक छ, त्यति नै सुरक्षाको दृष्टिकोणले जोखिम कम भएको मुलुक हो । नेपालले इजरायलजस्ता राम्रा गन्तव्यलाई गुमाउनु हुँदैन ।

‘स्वदेशमा तलब निकै कम छ’
चन्दा गौतम
काभ्रे, पोखरीचौकी
मैले सीएमए अध्ययन गरेकी हुँ । काठमाडौँको एक अस्पतालमा काम गर्दा राम्रो पारिश्रमिक नपाएपछि इजरायल जाने निर्णय गरेँ ।   एउटै काम गर्दा स्वदेशको तुलनामा विदेशमा निकै राम्रो पारिश्रमिक पाइन्छ भने किन नजाने भन्ने लाग्यो । इजरायलमा चार वर्षमा कमाउने पारिश्रमिक नेपालमा १० वर्षमा पनि कमाउन नसकिने हुन्छ । निकै कम पारिश्रमिकमा काम गरिरहेको बेला इजरायलमा केयरगिभरका लागि दरखास्त मागेपछि मैले पनि निवेदन दिएँ । सुरुमा त सफल हुने÷नहुने अन्योल थियो । ठूलो संख्याका युवायुवतीले प्रतिस्पर्धा गरेका थिए । लिखित, मौखिक, प्रयोगात्मक लगायतका परीक्षा इजरायली अधिकारीको प्रत्यक्ष निगरानीमा भएको थियो । अन्तिम ६० जनामा पर्न म पनि सफल भएँ ।

Leave A Comment