गिर्खा त छैन स्तनमा ?

सोमबार, १३ मङि्सर २०७३, १० : ४० शुक्रवार , Kathmandu
गिर्खा त छैन स्तनमा ?

नेपालमा स्तन क्यान्सरका रोगी बढ्दै छन् । लाज, डर र अज्ञानका कारण यो रोग लुकाउने महिला पनि थुप्रै छन् । नियमित चेकजाँचमा सजिलै पत्ता लाग्न सक्ने स्तन क्यान्सरको सम्पूर्ण उपचार नेपालमै हुन्छ र उपचार महँगो पनि छैन । क्यान्सर भएपछि निको हुँदैन भन्ने भय र भ्रमले रोगीको मनोबल गिरेको हुन्छ । तर, उपचारमा संलग्न चिकित्सकहरू भन्छन्, ‘स्तन क्यान्सर निको पनि हुन्छ र उपचार पनि महँगो छैन ।’ रमेशकुमार पौडेलले यस रोगबारे तयार पारेको सामग्री ।
पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पाएको उपचार खर्चका कारण स्तन क्यान्सरको चर्चा अहिले देशभर छ । स्तन क्यान्सर भएका कारण सरकारले सुजाता कोइरलालाई विदेशमा गएर उपचार गराउन ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय ग¥यो । यो सहयोगको आलोचनासँगै नेपालमा स्तन क्यान्सरको समस्या कुन हदसम्म छ भन्ने चासो पनि बढेको छ । उपचारमा संलग्न चिकित्सकहरूले दिएको जानकारीलाई आधार मान्ना स्तन क्यान्सर नेपालका प्रमुख क्यान्सर रोग मध्येमा पर्छ । तर, उपचार सोचेजस्तो जटिल र महँगो भने छैन । सस्तोमा देशभित्रै उपचार हुन सक्ने रोग हो, स्तन क्यान्सर ।
चितवनको भरतपुरस्थित बीपी कोइरला मेमोरियल क्यान्सर अस्पताल क्यान्सरको उपचार हुने देशको मुख्य अस्पताल हो । यो अस्पतालमा उपचारका साथै क्यान्सरका सम्बन्धमा अनुसन्धान र रोकथामका कार्यक्रम पनि हुन्छन् । अस्पतालभित्रै क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभाग रहेको छ । सो विभागले देशका मुख्य १२ वटा अस्पतालमा रहेका क्यान्सरका बिरामीको समेत विवरण राख्ने गरेको छ । भरतपुरको अस्पतालको मात्रै नभएर अरू अस्पतालको अवस्था हेर्दा पनि स्तन क्यान्सर हुने बिरामीको संख्या वर्षेनि बढिरहेको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख किशोरकुमार प्रधानांगले जानकारी दिए ।
उनका अनुसार सन् २०१२ सम्मको विश्वव्यापी तथ्यांकलाई आधार मान्ने हो भने विभिन्न खालका क्यान्सर रोगमध्ये स्तन क्यान्सर हुने बिरामीको संख्या संसारमै दोस्रो नम्बरमा रहेको छ । उनका अनुसार विश्वमा पहिलो नम्बरमा फोक्सोका क्यान्सर हुने रोगीहरूको संख्या छ । उनीहरूको संख्या १८ लाखको हाराहारीमा छ र कुल क्यान्सर रोगीमध्ये १३ प्रतिशत रहेका छन् । स्तन क्यान्सर हुने रोगीहरूको संख्या १६ लाख छ । कुल क्यान्सर रोगीमध्ये स्तन क्यान्सर भएकाहरू झण्डै १० प्रतिशत रहेको प्रधानांगले बताए । नेपालमा स्तन क्यान्सर हुने बिरामीको संख्या तेस्रो नम्बरमा छ । विश्वमा जस्तै नेपालमा पनि फोक्सोमा क्यान्सर हुनेहरू पहिलो नम्बरमै छन् । दोस्रो नम्बरमा पाठेघरको मुखको क्यान्सर हुनेहरूको संख्या छ ।

एक दशकमा पाँच हजारलाई स्तन क्यान्सर    
भरतपुरको क्यान्सर अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागले सन् २००३ देखि सन् २०१२ सम्म निकालेको तथ्यांकअनुसार देशभरका विभिन्न सात वटा अस्पतालमा यो अवधिमा क्यान्सर लागेर उपचारका लागि आउने बिरामीको संख्या ४ हजार ७ सय २९ रहेको छ । यो संख्या भरतपुर क्यान्सर अस्पतालसहित धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, काठमाडौँको वीर अस्पताल, महाराजगञ्जको त्रिवि शिक्षण अस्पताल, कान्ति बालअस्पताल र पोखराको मणिपाल शिक्षण अस्पतालमा समेत उपचार गराउन आएका बिरामीको पनि हो । अहिले थप पाँच वटासहित १२ अस्पतालको तथ्यांक राख्न थालिएको छ ।
सन् २००३ मा सातवटै अस्पतालमा गरेर स्तन क्यान्सर हुने बिरामीहरू २ सय ८४ जना थिए । त्यसपछि क्रमशः बढ्दो अवस्थामा नै रहेको बिरामीको संख्या सन् २०१२ मा ६ सय ६२ पुगेको थियो । एक दशकमा क्यान्सरका कुल ५६ हजार १३ बिरामी फेला पर्दा स्तन क्यान्सर हुनेहरू आठ दशमलव चार प्रतिशत अर्थात् ४ हजार ७ सय २९ पुगे ।
    सन् २०१४ मा स्तन क्यान्सर भएर उपचारका लागि देशको मुख्य अस्पताल पुगेका बिरामीहरूको संख्या ८ सय ४८ रहेको छ । माथिका पुराना सातसहित थप पाँचवटा नयाँ अस्पताल वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल, परोपकार अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका बिरामीहरूको समेत संख्या यसमा जोडिएको छ । सन् २०१४ मा कुल १२ अस्पतालमा उपचारका लागि ९ हजार ३६ जना क्यान्सर रोगीहरू पुगेका थिए । स्तन क्यान्सर हुने बिरामीको प्रतिशत नौ दशमल ३८ रहेको प्रधानांगले जानकारी दिए ।

‘सन् २०१२ सम्म कुल क्यान्सर रोगीमध्ये स्तन क्यान्सर हुने रोगीको प्रतिशत जे जति थियो, सन् २०१४ मा आउँदा त्यो प्रतिशत बढेको अवस्था छ । यसले स्तन क्यान्सर हुनेहरूको संख्या बढेको देखाउँछ,’ बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख किशोरकुमार प्रधानांगले भने । सन् २०१५ मा भरतपुर क्यान्सर अस्पतालमा मात्रै उपचार गराएका स्तन क्यान्सरको बिरामीको संख्या ४ सय १४ थियो । कुल क्यान्सरका बिरामीमध्ये यो संख्या नौ प्रतिशत रहेको उनले बताए ।

प्रौढ उमेरमा सताउने रोग 

स्तन क्यान्सर उपचारमा संलग्न चिकित्सक डा. विश्वराम पौडेलका अनुसार यो रोगले ४० वर्षभन्दा माथि ५०÷५५ उमेरसम्मका व्यक्तिलाई बढी सताएको छ । ‘त्यसो त कम उमेरकालाई पनि भएको छ । निकै वृद्धवृद्धालाई पनि भएको छ । तर, अत्यधिक बिरामी ४० वर्षदेखि ५०÷५५ वर्षका रहेका छन्,’ भरतपुरको बीपी कोइरला मेमोरियल क्यान्सर अस्पतालको स्तन क्यान्सर शल्य युनिटका प्रमुखसमेत रहेका डा. पौडेलले भने ।
        स्तन क्यान्सरको जोखिम ३० कटेपछि बढी हुन्छ । त्यसैले यसले पाको उमेरका धेरैलाई सताउने गरेको चिकित्सक डा. विश्वराम पौडेलले बताए । ३५ वर्षदेखि ५९ वर्षसम्मका बिरामीको संख्या अत्यधिक छ । सन् २०१५ मा बीपी कोइरला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराउन आएका ४ सय १४ जना स्तन क्यान्सरका बिरामीमध्ये यो उमेर समूहका बिरामी ३ सय १ जना रहेको अस्पतालको तथ्यांकमा उल्लेख छ ।

उपचार सहज  
    आमा, दिदी, बिहिनी, छोरी वा नजिकको नातेदारहरूमा स्तन क्यान्सर देखिएको छ भने त्यस्ता व्यक्तिलाई स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ । ३० वर्षपछि बच्चा जन्माउने महिलाहरू, बच्चा नजन्माएका महिलाहरू, स्तनपान नगराउने महिलाहरू, स्तनमा पहिलादेखि नै गाँठागुँठी वा पुराना समस्या भएकालाई स्तन क्यान्सरको जोखिम बढी रहन्छ । त्यस्तै, एउटा स्तनमा क्यान्सर भएका महिलालाई अर्काे स्तनमा पनि क्यान्सर हुने सम्भावना प्रबल रहने डा. पौडेलले बताए ।
    डा. पौडेलका अनुसार स्तनमा गिर्खा फेला पर्नु, आकार परिवर्तन हुनु, रगत वा पीप मिसिएको दूध निस्कनु, स्तनको छालाको रङ सुन्तलाको सुकेको बोक्राझैँ हुनु, स्तनको मुन्टो गाडिनु, स्तनमा आएको घाउ लामो समयसम्म निको नहुनु भनेको स्तन क्यान्सरका लक्षण हुन सक्छन् ।    ‘सुरुकै अवस्थामा उपचारका लागि आए स्तन क्यान्सर मात्रै होइन सबै क्यान्सर पूर्ण निको हुने गर्छ,’ डा. पौडेलले भने, ‘तर हामीकोमा दोस्रो वा तेस्रो अवस्थामा पुगेपछि मात्रै उपचार गराउन आउनेहरू धेरै छन् ।’ उनी  गिर्खा भेटेमा वा स्तनको रङ र अवस्था अस्वाभाविक रूपमा परिवर्तन भएमा महिलालाई तुरुन्त स्वास्थ्य संस्थामा जान सल्लाह दिन्छन् ।
    ‘हामी ४० वर्षभन्दा कम उमेरकालाई अल्ट्रासाउन्ड र त्यस माथिकालाई म्यामोग्राफी परीक्षण गर्दछौँ । थप परीक्षण पनि आवश्यक भएमा सबै गर्छाैं । यी सबै परीक्षण नेपालमै सम्भव छ,’ डा. पौडेलले भने ।
    स्तन क्यान्सर भएमा शल्यक्रिया, केमोथेरामी वा रेडियोथेरापीसम्म गर्नुपर्छ । सबै प्रकारका उपचार विधि नेपालमै उपलब्ध रहेको डा. पौडेलले बताए । उपचारमा एकजना बिरामीलाई डेढ लाख रुपैयाँसम्म लाग्न सक्ने उनले बताए । ‘सर्जरी गर्दा पाँच÷छ हजार रुपैयाँ लाग्छ,’ उनले भने, ‘अलि बढी लाग्ने भनेको केमोथेरापी र रेडियोथेरापीमा हो । तैपनि, सबै गरेर बढीमा डेढ लाख रुपैयाँ खर्च हुन्छ ।’
पुरुषलाई पनि स्तन क्यान्सर
    स्तन क्यान्सर महिलालाई मात्रै नभएर पुरुषलाई पनि हुन्छ । महिलामा जस्तै देखिने लक्षण पुरुषमा पनि देखा पर्छन् । पुरुषको काखीमा गिर्खा देखिएमा पनि स्तन क्यान्सरको सम्भावना रहन्छ । त्यसैले महिलामात्रै नभएर पुरुष पनि यो विषयमा सजग हुनुपर्ने डा. विश्वराम पौडेलले बताए । ‘पुरुषहरू पनि ज्यादै नै दुख्यो भन्दै छटपटिँदै आउँछन् । उनीहरूलाई स्तन क्यान्सर भइसकेको हुन्छ,’ उनले भने ।
    बीपी कोइरला मेमोरियल क्यानसर अस्पतालमा सन् २०१५ मा स्तन क्यान्सर भएकामध्ये २ सय ९९ जनाको शल्यक्रिया भएको थियो । तीमध्ये चार जना पुरुष भएका डा. पौडेलले जानकारी दिए ।
जनचेतनाको अभाव
    पत्ता लगाउन सहज र उपचार सुलभ भए पनि स्तन क्यान्सरका बिरामी खुलेर उपचारका लागि आउन नसकेको चिकित्सकहरू बताउँछन् । ‘साह्रै नै सहन गाह्रो भएपछि स्वास्थ्य संस्थामा जान्छन् । त्यहाँबाट बल्ल क्यान्सर अस्पताल आउने परिपाटी छ,’ डा. पौडेलले भने । गाउँगाउँमा जनचेतना फैलाउन सके उपचारका लागि आउने क्रम बढ्ने क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख किशोरकुमार प्रधानांगले बताए ।
    विभागले स्वास्थ्यकर्मी, शिक्षक र स्थानीय निकायका कर्मचारीलाई राखेर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, यतिमात्रै पर्याप्त नभएको डा. पौडेलले बताए । ‘मावि, उच्चमावि वा क्याम्पस तहको पाठ्यक्रममा यो विषयलाई राख्न सके स्तन क्यान्सरको जोखिम घटाउन सकिन्थ्यो,’ उनले भने ।
    ‘नेपालमा उपचारै नहुने, धेरै नै खर्च लाग्ने, पत्ता लगाउन नै गाह्रो हुने रोग यो होइन,’ डा. पौडेलले भने, ‘सुरुमै आए खर्च पनि निकै कम हुन्छ । ज्यान पनि जोगिन्छ । शहरबजारमा केही जनचेतना बढेको छ । समयमै परीक्षणका लागि आउन थालेका छन् । गाउँबाट भने अझै पनि अन्तिम अवस्थामा पुगेपछि मात्रै आउँछन् ।’


आफ्नो स्तन आफैँ जाँच्ने तरिका
डा. उत्सवमान श्रेष्ठ
भक्तपुर क्यान्सर अस्पताल

ऐनाअगाडि उभिएर
–ऐनाअगाडि उभिएर दुवै स्तनलाई हेर्ने । दुवै स्तनको समानता, आकार, बनोट, मुन्टोको अवस्था, छालाको रङ र नरमपनाको फरकपन तथा स्तनको कुनै भागमा रहेको गिर्खालाई ध्यानसँग हेर्ने ।
–दुवै हातलाई माथि उठाएर काखीमा देखा परेका परिवर्तनलाई हेर्नें ।
–दुवै हातले कम्मरमा हल्का थिचेर ऐनाअगाडि हेर्ने । यसो गर्नाले स्तनमा लुकेर बसेका केही परिवर्तन झन् प्रस्ट भएर आउँछ ।

सुतेर
–देब्रे काखीमुनि एउटा तकिया राख्ने र देब्रे हातलाई टाउकोपछाडि राखेर सुत्ने । दाहिने हातको बीचका तीनवटा औँलाको माथिल्लो एक तिहाइ भागले देब्रे छामेर जाँच गर्ने । यसरी छाम्ने क्रममा घडी घुम्ने तरिकाको उल्टो वा सुल्टो दिशामा क्रमबद्ध रूपमा स्तनको सबै भागको जाँच गर्ने ।
–दाहिने काखीमुनि तकिया राखेर देब्रे हातले दाहिने स्तनको माथिकै प्रक्रियाले जाँच गर्ने । अन्त्यमा स्तनको मुन्टालाई पालैपालो गरी बुढीऔँला र चोरऔँलाको बीचमा राखेर निचोर्ने । स्तनको मुन्टोबाट केही रगत वा फोहोर पदार्थ आउँछ कि आउँदैन ? हेर्ने ।

नुहाएर
 नुहाउँदा पनि सरलताका साथ यो जाँच गर्न सकिन्छ । साबुन लगाएको हातले भिजेको स्तनको जाँच गर्न झन् सजिलो हुन्छ । देब्रे हातले दाहिने स्तन तथा दाहिने  हातले देब्रे स्तनको क्रमबद्ध रूपमा जाँच गर्ने ।
यसरी जाँच्ने क्रममा शंका लागेमा तुरुन्तै अस्पताल जाने ।

जसले जिते क्यान्सर

तारा पोखरेल, नर्स
मेरो ब्रेस्ट क्यान्सर उपचार सकिएको जम्मा चार महिना भयो । अहिले पूर्ण रूपमा स्वस्थ छु । मैले क्यान्सर भएको पहिलो स्टेजमै चाल पाएँ । झन्डै एक वर्षअघि नुहाउने क्रममा बे्रस्टभन्दा केही माथि एउटा सानो गाँठो भेटियो । नदुख्ने गाँठो भेटिएपछि शंका लागेर जाँच गरेँ । जाँचमा क्यान्सर देखियो । क्यान्सर देखिएपछि मैले तुरुन्तै अप्रेसन गर्ने निर्णय लिएँ । बायाँ भागको ब्रेस्ट नै काटेर फालियो ।
क्यान्सर भएपछि त जीवनै सकियो भनेर बुझ्नेहरू पनि छन्, यहाँ । क्यान्सर भयो भन्दैमा जीवन सकिने होइन । जीवनप्रतिको सकारात्मक दृष्टिकोणले रोगसँग लड्न सघाउँछ । पहिलो चरणको क्यान्सर ठूलो कुरा पनि होइन । म अहिले पुरानै जीवनशैलीमा फर्किसकेकी छु । ब्रेस्ट क्यान्सर अरू क्यान्सरभन्दा निराकरण गर्न सहज छ ।  
शोभा प्रधान, शिक्षक
म स्तन क्यान्सरपीडित महिला हुँ । सफल उपचारपछि रोग निको भएर सामान्य जीवनयापन गरिरहेको छु । २०५६ सालमा मैले आफूलाई क्यान्सर भएको थाहा पाएँ । स्तनमा गाँठो आएपछि मलाई शंका लागेर अस्पताल जँचाउन गएँ । टिचिङ अस्पतालमा उपचार भएको थियो । उपचारमा नौ महिना लागेको थियो । पाटनमा क्यान्सर सोसाइटीले खोलेको क्लिनिकमा केमोथेरापी लिन्थेँ । रेडियोथेरापीका लागि भने वीर अस्पताल जान्थेँ । क्यान्सर भन्नेबित्तिकै मानिसहरू धेरै नै आत्तिन्छन् । म पनि त्यतिखेर डराएकी थिएँ । बाँच्दिनँ कि भन्ने पनि लागेको थियो । तर, उपचारपछि पूर्ण रूपले स्वस्थ छु । अहिले पनि नियमित स्वास्थ्य जाँच गराइरहन्छु ।

शान्ता चौधरी, पूर्वसभासद
क्यान्सर भनेपछि एकदमै डरलाग्दो रोग सम्झन्छौँ हामी । क्यान्सर लागेको मानिस मरिहाल्छ भन्ने सोचाइ पनि छ । तर, बेलैमा थाहा पाएर उपचार गराउन सकियो भने यो रोगबाट छुटकारा पाउन सकिन्छ । २८÷२९ वर्षको हुँदा मलाई पाठेघरसम्बन्धी समस्या थियो । गनाउने सेतो पानी बग्ने हुन्थ्यो । त्यो समयमा डाक्टरकोमा जान लाज लाग्थ्यो । पछि जँचाएर औषधि खाएँ । त्यति नै खेर महिनावारी हुँदा स्तन पनि दुख्थ्यो । डाक्टरकोमा जँचाउँदा स्तनमा गिर्खा भेटियो ।
त्यो समयमा डाक्टरले हर्मनको कारणले यस्तो भएको भन्नुभएको थियो र भिटामिन ई खान दिनुभयो । भिटामिन ई ले गिर्खा अलि कम चाहिँ भयो, तर औषधी खान छाडेपछि फेरि बढ्यो । दिल्लीमा पाठेघरको उपचार गराउन जाँदा स्तन पनि जँचाएको थिए । स्तनमा क्यान्सरको सानो सेल पलाएको रहेछ । त्यो समयमा मेरो हंशले ठाउँ छाडेको थियो, अब मर्ने भएँ भनेर । पछि त्यो पलाएको सेललाई पनि काटेर फालियो । अहिले म पूर्ण स्वस्थ छु ।
महिलाहरू आफ्ना भित्री रोग लाजका कारण लुकाउने गर्छन् । जुन गलत हो । आफूलाई त्यस्तो कुनै रोग लागेको खण्डमा तुरुन्तै डाक्टरकोमा जाँच गराउन जानुपर्छ । रोग पालेर बस्नु हुँदैन ।
 
निको पनि हुन्छ, महँगो पनि छैन
डा. ज्योति रायमाझी/ डा. सन्ध्या चापागाईं

स्तन क्यान्सर सुरुकै अवस्थामा पत्ता लाग्यो भने निको पार्न सकिन्छ । स्तन र ज्यान दुवै जोगाउन सकिन्छ । उपचार खर्च पनि जोगिन्छ । तर, लाज, डर, अचेतना र हेलचेक्य्राँइका कारण बिरामीहरू जटिल अवस्थामा अस्पताल पुग्ने गर्छन् ।
महिलामा हुने क्यान्सरमध्ये स्तन क्यान्सर दोस्रो नम्बरमा पर्छ । पहिलो पाठेघरको मुखको क्यान्सर हो । क्यान्सरका कारण हुने महिलाको मृत्युमा पनि स्तन क्यान्सर दोस्रो नम्बरमै छ । पछिल्लो समयमा नेपालमा स्तन क्यान्सरका बिरामी बढ्दै गएका छन् ।
नेपालमा कतिलाई स्तन क्यान्सर छ भन्ने यकिन तथ्यांक छैन । क्यान्सरको उपचार गर्ने ११ अस्पतालको तथ्यांकअनुसार सम्पूर्ण क्यान्सरका कारण मृत्यु हुनेमा १५ प्रतिशत स्तन क्यान्सरका कारण छन् ।

जो जोखिममा छन्
स्तन क्यान्सरको जोखिममा महिलाहरू नै छन् । पुरुषमा एक प्रतिशत मात्र जोखिम हुन्छ । ४० वर्षभन्दा माथिका महिलालाई स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ । नेपाल तथा भारतमा २० वर्ष माथिकामा पनि देखिन थालेको छ ।  
सानै उमेरमा महिनावारी भएका र ढिलो उमेरसम्म महिनावारी हुनेलाई पनि स्तन क्याान्सर हुने सम्भावना रहन्छ । यसै गरी बच्चा नभएका, पहिलो बच्चा ३० वर्षभन्दा पछि जन्माउनेहरू पनि जोखिममा रहेको वर्गमा पर्छन् । स्तनको सौन्दर्य गुम्ने चिन्ताले वा दूध नआएर र अरू कुनै बाध्यताले सन्तान भए पनि कतिपयले स्तनपान गराउँदैनन् । यो समूहका महिलालाई पनि स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ ।
करिब १० प्रतिशतमा  वशांनुगत कारणले स्तन क्यान्सर हुन्छ । यदि परिवारमा आमा वा दिदीबहिनीलाई छ भने उक्त परिवारका अन्य महिलालाई हुने सम्भावना हुन्छ । यसैगरी हर्मनयुक्त औषधि खाने, परिवार नियोजनका औषधि लामो समय सेवन गर्ने, हर्मन रिप्लेसमेन्ट पिल (एचआरटी) सेवन गर्नेलाई पनि स्तन क्यान्सर हुने खतरा अन्य महिलाको तुलनामा बढी हुन्छ । मोटोपन, धूम्रपान, मद्यपान पनि यसका कारक हुन् ।
पछिल्लो समयमा लामो समयसम्म नाइट ड्युटी गर्ने महिलालाई पनि स्तन क्यान्सरको खतरा रहेको अनुसन्धानहरूले देखाएका छन् । लामो समय नाइट ड्युटी गर्दा हर्मोनमा गडबडी हुने भएकाले क्यान्सरको खतरा बढ्ने अनुसन्धानले देखाएको हो ।
लक्षण
–स्तनमा नदुख्ने गाँठो वा गिर्खा आएमा
–स्तनको मुन्टाबाट रगत बगेमा
–स्तनको मुन्टा भित्र जान थालेमा
–छालामा निको नहुने घाउ आएमा
–काखीमा गाँठागुँठी आएमा
–स्तनको रङ परिवर्तन हुन थालेमा
–स्तन सुन्तलाको बोक्राजस्तो  देखिन थालेमा
कसरी थाहा पाउने ?
४० वर्षभन्दा कम उमेरका महिलाले महिनावारी भएको हरेक पाँचदेखि १० दिनभित्रमा आफ्नो स्तनको आफैँ जाँच गर्नुपर्छ । यसो गर्दा आफूलाई स्तनको सामान्य अवस्था थाहा हुन्छ । त्यसमा केही परिवर्तन भएको थाहा पाउन सहज हुन्छ । जाँच गर्दा ऐनाअगाडि उभिएर हेर्ने तथा छाम्ने गर्नुपर्छ । त्यसपछि सुतेर जाँच गर्नुपर्छ । यी आफैँले जाँच्ने उपाय भए । क्यान्सर भइसकेपछि आफैँले जाँच्दा लक्षण देखिन्छन् ।
यी लक्षण नहुँदा पनि आफू क्यान्सर हुनबाट सुरक्षित हुनुपर्छ । चाँडै थाहा पाएर ज्यान जोगाउनुपर्छ । त्यसैले स्तन क्यान्सर जाँच्न ४० वर्षभन्दा कम उमेरका महिलाको अल्ट्रासाउन्ड गरिन्छ  र ४० वर्षभन्दा बढी उमेरका महिलाको म्यामोग्राम गरिन्छ । किनभने ४० वर्ष माथिको महिलामा क्यान्सर हुने सम्भावना बढी हुन्छ । म्यामोग्राम गर्दा धानको गेडाजस्तो सानो क्यान्सर पनि देखिन्छ । जुन हातले छाम्दा देखिँदैन । त्यही भएर ४० वर्ष माथिका महिलाले वर्षको एक पटक अनिवार्य रूपमा म्यामोग्राम गर्न आवश्यक छ । म्यामोग्राम जाँच महँगो पनि छैन ।
जो महिला यी प्रक्रियामा गएका छन्, उनीहरूका स्तनमा दुई सेन्टिमिटरसम्मको ट्युमर पलाएको पनि थाहा पाइन्छ । तुरुन्तै  उपचार गरेर खर्च, स्तन र ज्यान जोगाउन सकिन्छ । यसै पनि  सुरुवाती अवस्थामै पत्ता लगाएमा स्तन फाल्नुपर्दैन । पलाएको ट्युमरलाई मात्र निकाल्दा सञ्चो हुन्छ । यो अवस्थाको क्यान्सरलाई केमोथेरापी, रेडियोथेरापी केही गर्नुपर्दैन । बाँच्ने सम्भावना पनि ९० प्रतिशतभन्दा पनि बढी रहन्छ । तर, जाँच नगर्दा चारपाँच सेन्टिमिटर ठूलो वा फैलिसकेपछि मात्र थाहा हुन्छ । जुन तेस्रो वा चौथो चरणमा पुगिसकेको हुन्छ । चेतनाको अभावका कारण नेपालमा धेरै महिला यो अवस्थामा पुगेपछि अस्पताल आउने गर्छन् । सुरुमै थाहा पाए पनि कतिपय महिलाले घरपरिवारलाई समय दिने नाममा वा डर, लाजका कारण पनि अस्पताल आउन ढिलो गर्छन् ।
उपचार कहाँ कसरी हुन्छ ?
उपचार क्यान्सरको स्टेज, आकार, उमेर, हर्मोनको अवस्था, महिनावारी सुकेपछि वा अघि लगायतका कुरामा आधारित रहन्छ । सर्जरी, केमोथेरापी, रेडियोथेरापी, हर्मोनलथेरापी  र टार्गेटेड थेरापी यसका उपचार विधि हुन् । यी सबै उपचार सुविधा नेपालमा उपलब्ध छन् ।
यदि स्तन क्यान्सर भइसकेको पत्ता लाग्यो भने सम्बन्धित सर्जनलाई नै देखाउनुपर्छ । किनभने, क्यान्सरका लागि गरिने ब्रेस्ट सर्जरी र अन्य सर्जरी फरक कुरा हुन् । सर्जरी गर्दा स्तनको गाँठो मात्र निकालेर हुँदैन । छेउको लिम्फमोडलगायत हेर्नुपर्छ । धेरै जना सही डाक्टरकोमा पुग्न नसकेर पनि उचित उपचार सेवाबाट वञ्चित रहेको पाइएको छ ।
ब्रेस्ट सर्जरी विभिन्न तरिकारले गरिन्छ । पहिलो ब्रेस्ट कन्जर्भेसन सर्जरी हो । स्तनलाई नफाली गर्ने सर्जरी हो यो । यो सर्जरी सुरुवाती चरणमा पत्ता लागेको क्यान्सरमा हुन्छ । यसमा ट्युमरका साथसाथै एक सेन्टिमिटर जति मासु पनि निकालिन्छ । यदि गिर्खा छ भने त्यो पनि निकालिन्छ । यो सर्जरी गरेपछि रेडियोथेरापी अनिवार्य रूपमा दिनुपर्ने हुन्छ ।
दोस्रो म्यास्टेक्टोमी हो । यसको अर्थ हुन्छ, स्तन पूरै निकाल्ने । स्तन पूरै निकाल्ने भनेको काखीसम्म भएका ग्लान्डहरू पनि निकाल्ने हो । म्यास्टेक्टोमीअन्तर्गत सफा मात्रै गर्ने पनि हुन्छ ।
ट्युमर असाध्यै ठूलो छ वा रगत बगिरहेको अवस्था छ भने गन्हाउने गर्छ  । यस्तो अवस्थामा स्तन फाल्नुका साथै अन्य नसाहरू सफा गर्ने सर्जरी हुन्छ । यो निको पार्न गरिने उपचार होइन, बिरामी बाँचुञ्जेल सहज जीवन जिउन सकोस् भनेर गरिने हो । दुखाइ कम गर्ने वातावरण बनाउने हो ।
हामीले १९ वर्षको उमेरकी युवतीको समेत स्तन क्यान्सर भएर उपचार गरेका छौँ । नेपालमा पनि सानै उमेरमा स्तन क्यान्सर हुने बढेका छन् । बदलिँदो जीवनशैली, खानामा विभिन्न मिसावट  र वंशानुगत कारणले युवतीमा हुन्छ ।  
युवतीहरूको स्तन क्यान्सरमा सर्जरी गर्दा स्तन वरिपरिको छाला र  मुन्टोलाई जोगाउनुपर्छ । किनभने युवतीहरूका लागि सौन्दर्यका दृष्टिले पनि स्तनको महŒव हुन्छ । यसरी भित्रको मासुलाई हटाएर पुन रिकन्स्ट्रक्सन गर्न सकिन्छ । रिकन्स्ट्रक्सन गर्दा उसैको शरीरको मासु राखेर पनि सकिन्छ । अर्को सिलिकन पनि राख्न सकिन्छ । आफ्नो मासु राख्दा राम्रो हुन्छ । किनकि, पछि रेडियोथेरापीबाट सेकाउनुपर्दा केही असर गर्दैन । तर, सिलिकन राखेको छ भने समस्या पर्छ । सिलिकन राख्नेहरूलाई पहिला क्यान्सरको पूर्ण उपचार सकेर मात्रै राख्नुपर्छ ।  यी दुवै सेवा नेपालमा पनि उपलब्ध छन् ।
अर्को उपचार विधि केमोथेरापी हो । केमोथेरापी भनेको नसाबाट दिने औषधि हो । केमोथेरापी पनि धेरै प्रकारका हुन्छन् । सामान्यतया स्तन क्यान्सरका सबै स्टेजमा केमोथेरापी चाहिन्छ ।
केमोथेरापीपछि कपाल झर्छ, फेरि आउँदैन भन्ने भ्रम छ । तर, फेरि उस्तै गरी कपाल पलाउँछ । केमो लगाउँदा ज्यानलाई गाह्रो हुन्छ भन्ने पनि भ्रम हो । साइड इफेक्ट त हुन्छन् । तर, ती साइड इफेक्टबाट जोगाउने अन्य औषधि पनि दिने भएकाले केमोबाट डराउनु पर्दैन ।
युवतीहरूमा हुने क्यान्सरको उपचार पाको उमेरकी महिलाको भन्दा चाँडो गर्नुपर्छ ।  युवावस्थामा मानिस जति सक्रिय हुन्छ, क्यान्सर पनि त्यत्तिकै सक्रिय रहन्छ । त्यसैले पाको उमेरका महिलाको तुलनामा युवतीहरूमा क्यान्सर छिटो फैलिने हुन्छ ।
(डा. रायमाझी बे्रस्ट सर्जन र डा. चापागाईं क्यान्सर विशेषज्ञ हुन् ।)

 

Leave A Comment