आक्रामक बन्दै युट्युब

आइतबार, १२ मङि्सर २०७३, १२ : ३५ शुक्रवार , Kathmandu
आक्रामक बन्दै युट्युब

फेसबुकले भिडियो सामग्रीमा जोड दिएर कडा चुनौती दिएपछि युट्युबले पनि आफ्नो रणनीति परिवर्तन गर्ने भएको छ । भिडियो वेबसाइटका रूपमा मात्र सीमित रहेको युट्युबमा अब सोसल मिडियाका फिचर पनि थपिने भएका छन् । जसले गर्दा अब तपाईंले युट्युबमा मन परेका भिडियो सेयर गर्न फेसबुक, ट्वीटर वा ह्वाट्सएपजस्ता प्लेटर्फमको सहयोग लिइरहनुपर्ने छैन ।
तपाईंले युट्युबमै साथीहरूको नेटवर्क बनाउन सक्नुहुनेछ, उनीहरूसँग सम्वाद गर्न सक्नुहुनेछ र युट्युबमै भिडियोबाहेक अन्य अक्षर र तस्बिर पनि सेयर गर्न सक्नुहुनेछ ।
युट्युबले अब फेसबुक वालजस्तै फिचर भएको ‘कम्युनिटी पेज’ ल्याउने भएको हो । जसमा भिडियो उत्पादकहरूले विभिन्न तस्बिरहरू अपलोड गर्न पाउनेछन्, आफ्ना फलोअरसँग सम्वाद गर्न पाउनेछन् र स्ट्याटस पनि लेख्न पाउनेछन् ।
युट्युबमा भिडियो हेरेपछि त्यसबारे छलफल वा अन्तरक्रिया गर्न फेसबुक, ट्वीटर वा म्यासेजिङ एपको प्रयोग भइरहेको सन्र्दभमा युट्युबले सो कामका लागि अब युट्युब छाड्नु नपर्ने गरी पेज ल्याउन लागेको हो ।
हाल केही भिडियो उत्पादकलाई परीक्षणका रूपमा यो फिचर प्रयोग गर्न दिइएको छ । सर्वसाधारणका लागि खुला गरिएपछि प्रयोगकर्ताले युट्युब एपभित्र ‘कम्युनिटी’ भन्ने ट्याब देख्नेछन् । जहाँ उनीहरूले विभिन्न कन्टेन्ट अपलोड गरेर छलफल गर्न सक्छन् ।
युट्युबले म्यासेन्जर एपहरूले लिएको बजारलाई पनि आफ्नो कब्जामा लिने प्रयास गरिरहेका छन् । जसका लागि युट्युबले एपभित्रै च्याट गर्न मिल्ने ‘इनएप म्यासेन्जर’ ल्याउँदै छ । यसमार्फत प्रयोगकर्ताले साथीलाई एड गर्न, उनीहरूसँग कुराकानी गर्न र भिडियो सेयर गर्न पाउनेछन् । सोसल म्यासेजिङ एप र फेसबुक म्यासेन्जरका फिचरहरू पनि युट्युबमै दिने उसको योजना छ ।
सोसल मिडियाले भिडियो सेयरिङमा जोड गरिरहेका बेला युट्युबले आफ्नो पुरानो स्वरूप र चरित्रलाई बदल्दै सोसल मिडिया र म्यासेजिङ एपका फिचरलाई पनि समावेश गर्न लागेको हो ।

 

Leave A Comment