हेमन्तका प्रिय १० सुर

आइतबार, १२ मङि्सर २०७३, १० : ३९ शुक्रवार , Kathmandu
हेमन्तका प्रिय १० सुर

लोकप्रिय गायक हेमन्त शर्माले आफूलाई प्रिय लाग्ने आफ्ना पाँच र अरूका पाँच गीतबारे शुक्रवारलाई बताएका छन् ।
आफ्ना ५
माया त यस्तो होस्
स्रोताले अत्यधिक मन पराएको गीत हो यो । आज पनि अधिकांश स्टेज कार्यक्रममा मलाई यही गीतको फर्माइस आउँछ ।
माया साह्रै महँगो
यो गीतले मलाई पहिलो पटक ठूलो स्रोतामाझ पुरायो । गायकका रूपमा यही गीतले स्थापित गराएको हो । गीतका शब्द पनि मन छुने खालका छन् ।
मूल हौ भने रसाइदेऊ
एकनारायण भण्डारीले लेखेको यो गीतमा टिपिकल नेपाली शब्द छन् । शब्द सुहाउँदो संगीत सिर्जना भएकाले पनि यो गीत विशेष मन पर्छ ।
थाप न थाप हातैमा
हरेक कुरा मन पर्नुको विशेष कारण हुँदैन रहेछ । स्रोताले अत्यधिक मन पराएपछि आफूलाई ठीकै लागेको गीतको पनि निकै माया लाग्दो रहेछ । यो गीत पनि स्रोताले धेरै माया गरेको गीत हो ।
रुन्नँ भन्दा पनि आँशु झर्दो रहेछ
यो गीत त्यति चर्चामा आएन । यो गीतको प्रमोसन पनि गरिएन त्यो समय । तर, आफ्नै शब्द र संगीत रहेको यो गीत मलाई मन पर्ने सिर्जना हो । सम्भव भयो भने एक पटक फेरि रेकर्ड गरेर स्रोतामाझ पस्कने मन छ ।
अरूका ५
यो सम्झिने मन छ
नारायणगोपालका गीतहरू सुन्दै हुर्किएकाले पनि उहाँका प्रायः गीत उस्तै प्रिय लाग्छन् । त्यसमा पनि यो गीतको शब्द, संगीत, स्वर सबैले असाध्यै छुन्छ । म बेलाबेला यो गीत गुनगुनाइरहेको हुन्छु ।
म तिम्रो शहर छोडी  
प्रदीपराज पाण्डेको स्वरमा एक खालको फरकपन छ । यो गीतले साह्रै भावुक बनाउँछ ।  
यो बैनीको सुरिलो भाकाले
केटाकेटी अवस्थामा धेरै सुनेको र गुनगुनाएको गीत हो यो ।  सरल भाका र शब्दका कारण आज पनि यो गीत उत्तिकै प्रिय लाग्छ ।
यस्तो पनि हुँदो रहेछ
फत्तेमानका सबै गीत कर्णप्रिय लाग्छन् । यो गीतले धेरैलाई छुन्छ । यथार्थवादी यो गीत मलाई पनि विशेष मन पर्छ ।
हिमालसरि म अग्लिरहेछु
फिल्म ‘कान्छी’को यो गीत मैले पहिलो पटक हेरेको फिल्मको गीत हो । नारायणगोपाल र अरुणा लामाले गाएको गीत र पहिलो पटक हेरेको फिल्म भएर पनि होला, यो गीतको विशेष छाप छ मनमा ।  

प्रस्तुतिः राधिका अधिकारी

 

Leave A Comment