असावधानीले देखापरेका अशुद्धि

आइतबार, १२ मङि्सर २०७३, १० : १२ प्रा. दिनेशराज पन्त , Kathmandu
असावधानीले देखापरेका अशुद्धि

आजकल हाम्रा अखबारमा इतिहाससम्बन्धी कुरा निकै छापिन्छन् । यो स्वागतयोग्य कुरा हो । यसो भएता पनि यसको लागि जति सावधानी लिनुपथ्र्याे, त्यो नगर्ने हुनाले यिनबाट भ्रम फैलाउने काम पनि भइरहेका छन् । यस प्रसङ्गमा कान्तिपुर दैनिकमा छापिएका दुइटा लेखको चर्चा तल गरिन्छ । काठमाडौँबाट कान्तिपुर पब्लिकेसन्स (प्रा.)लि.द्वारा प्रकाशित वि.सं. २०७३ भाद्र ४ गतेको कान्तिपुर २४ वर्ष १८४ अङ्कको ४ पृष्ठमा छापिएको दामोदर न्यौपानेको कस्ता छन् संग्रहालय ? भन्ने खबरमा भीमसेन थापाको पतनपछि यहाँ राणाहरूले स्वदेशी तथा विदेशी हतियार संकलन गरी प्रदर्शनीमा राखे, न्यौपानेका अनुसार १९९० सालको भुइँचालोपछि जुद्धशमशेरले सर्वसाधारणका लागि यो खुला गरे, १९९५ सालअघि प्रधानमन्त्री, विदेशी पाहुना र उच्च अधिकारीहरूले मात्रै संग्रहालय हेर्ने अनुमति पाउँथे, १९९९ मा चन्द्रशमशेरले संग्रहालयका लागि भनेर अर्काे भवन बनाए, संग्रहालयकै लागि सरकारी स्तरबाट बनाइएको यो पहिलो र एक मात्र भवन हो, जुद्ध जातीय र मुद्रा राष्ट्रिय संग्रहालयमा छन्, त्यसमध्ये चन्द्रशमशेरले बनाएको भवनमा जुद्ध जातीय संग्रहालय राखियो भनी लेखिएको छ । यहाँ जुद्धशमशेरले भन्नुपर्ने ठाउँमा दुई ठाउँमा चन्द्रशमशेरले भनी लेखिएको छ । वि.सं. १९८६ मा मृत्यु भएका चन्द्रशमशेरले वि.सं. १९९९ मा भवन बनाएजस्तो अशुद्धि यहाँ गरिएको छ । वि.सं. २०७३ भाद्र ६ गतेको कान्तिपुर २४ वर्ष १८६ अङ्कको ७ पृष्ठमा छापिएको अभि सुवेदीको जंगे, सीमा र विचलन भन्ने लेखमा जंगबहादुरजस्तो नेपालको इतिहासमा फर्की–फर्की आउने शासक पात्र मैले कोही पनि देखेको छैन, सम्वत् १९०३ मा कोतपर्व गरेर राणाशासन चलाएपछि अङ्ग्रेजलाई आफू एक स्वतन्त्र देशको शासक भएको विश्वास दिलाएर १९०७ मा बेलायत भ्रमणमा गएका ती मानिसले सम्वत् १९११ मा मुलुकी ऐन घोषणा गरे भनी लेखिएको छ । जङ्गबहादुर कुँवर वि.सं. १९०५ देखि राणा भएका हुन्, उनी वि.सं. १९०६ मा बेलायत यात्राको लागि हिँडी वि.सं. १९०७ मा फर्केका हुन्, मुलुकी ऐन वि.सं. १९१० मा घोषणा भएको हो भन्ने सबैलाई थाहै छ । यस अवस्थामा यस्ता लेखका रचयिता र सम्पादकले बढी सावधानी देखाउनु आवश्यक छ ।
     

 

Leave A Comment