अपशकुन दक्षिण

शनिबार, ११ मङि्सर २०७३, १२ : २० ईश्वर दाहाल , Kathmandu
अपशकुन दक्षिण

कुनै जमाना थियो, नेतागणलाई दक्षिण मालमाल थियो । देश र जनतालाई कहिल्यै भलो नभए पनि नेताका लागि दक्षिण लाभदायक थियो । दक्षिणको मन्त्रणा, दक्षिणको भेटघाट, दक्षिणको घुमघाम, सबैमा ताकत थियो, ऊर्जा थियो र थियो, सुदिनको आशा अनि सम्भावना । कुर्सीको महŒवाकांक्षा र शासन गर्न पाइने सामथ्र्य थियो । तर, समयले कोल्टे फे¥योे । देशलाई जहिल्यै टाउको दुखाइ भएको दक्षिण हिजोआज हाम्रा नेताहरूका लागि पनि तातो पिँडालु भएको छ ।
मातृकालाई दक्षिण दाहिना भयो, कोशी चिप्लियो । महेन्द्रसँग दक्षिणको मित्रता झाँगियो, कालापानी फुत्कियो । कांग्रेस–एमालेसँग दक्षिणको भाइचार भयो, टनकपुर उम्कियो । जतिजति बेला राजा–महाराजा र नेताज्यूहरूका लागि दक्षिण दाहिना भयो, त्यतिबेला देशका लागि भने महासंकट नै निम्तियो ।
पछिल्ला केही वर्ष भने हाम्रा नेताहरूका लागि दक्षिणी सफर शुभ हुन सकेको छैन । यो अशुभ सफरको पछिल्लो शिकार भएका छन्, हाम्रा पूर्वप्रधानमन्त्री देउवा । पश्चिमी ‘फ्रेन्डसिप’ले मात्रै केही नलछार्ने भएपछि दक्षिणी ‘दोस्ताना’मा लहसिएका देउवालाई दक्षिणी सफर निल्नु न ओकल्नु भएको छ । दिलवाले दिल्लीको आतिथ्य स्वीकारेर आउनेहरू त्रिभुवन विमानस्थलमा गजक्क पर्थे । मन्दमन्द मुस्काउँथे । ठूलै कर्म गरेको गुड्डी हाँक्थे । उनीहरूको अनुहारमा चमक र बोलीमा ओज हुन्थ्यो । तर, देउवाका लागि यो हुन सकेन । उहाँको लवजमा आक्रोश थियो । अनुहारमा उदासी र विरक्ति मिसिएको रमरम रिस थियो । उहाँले पत्रकारलाई हर्कानुभयो । निहुँ खोजेको भए, भित्तैमा पु¥याइदिने धम्की दिनुभयो । प्रायः शान्त र शालीन हुने एयरपोर्टको पत्रकार सम्मेलन तनाव र उत्तेजनाले भरियो । उहाँको जिद्दी थियो– दलाईको ‘द’सँग पनि आफूले भेटघाट गरेको छैन । ‘बडो भव्य र सभ्य रूपमा मञ्चमा गएँ, त्यही शैलीमा होटेल फर्किएँ ।’ तर, छापाहरूले उहाँको सभ्य तस्बिर सार्वजनिक गरे । फेसबुके र ट्वीटरेहरूले तुफानी शैलीमा तस्बिरलाई छताछुल्ल पारे । देउवालाई लाग्यो होला, यो सञ्चारको विकासले साह्रै गाह्रो पा¥यो । उहाँले आराम कुर्सीमा सुस्ताउँदै सोच्नुभयो होला– ‘पहिला पहिला त यस्तो हुँदैनथ्यो । यस्ता कति भेटघाट हुन्थे, कतिकति गोप्य बात हुन्थे, तर कुनै समस्या पर्दैनथ्यो । देशमा भित्रिएपछि मित्रता, सफलता र आपसी सौहार्दको बखान छाँट्न पाइन्थ्यो । तर, अहिले रिसाएर, झर्किएर होइन कि होइन भन्नु प¥या छ ।’  
आराम कुर्सीमा सुस्ताउँदा दुई दशकअगाडिको स्मृतिमा पनि उहाँ हराउनुभयो होला । जति बेला गृह मन्त्रालयको कमान्ड उहाँको हातमा थियो । गिरिजाप्रसाद प्रधानमन्त्रीको हैसियतमा भारत सयरमा हुनुहुन्थ्यो । दिल्लीमा विभिन्न सम्झौता भए, सहमति भए । तर, नेपाली लोकले धेरैपछि मात्र सम्झौताको सम्पूर्ण विवरण थाहा पायो । सञ्चारमाध्यम भन्नु रेडियो नेपाल र नेपाल टेलिभिजन थिए । उनीहरूले सरकारी सायरी वाचन र भजन गाउँथे । भए पनि अन्य पत्रपत्रिका मरन्च्यासे थिए । दुब्लाहरूको औकात कसरी दिल्लीसम्म पुगोस् ? त्यो युगको सामथ्र्य अर्कै थियो । त्यो क्षणको औकात अर्कै थियो । तर, आज एयरपोर्ट झर्न पाउँदा नपाउँदै दक्षिणी सफर टोक्नु न बोक्नु भइरहेको छ । प्रायःलाई लाग्यो, एयरपोर्टमा देउवा आफ्नो स्वभावअनुसार अभिव्यक्त हुनुभयो । तर, खास कुरो, हाम्रा नेताहरूका लागि दक्षिण अपशकुन हुँदै गएको प्रमाण हो । नेताका हकमा तीर्थयात्राले पनि फल प्राप्त नहुन सक्छ भन्ने संकेत हो ।
दक्षिणको अपशकुनले सम्मानीय प्रधानमन्त्री पुकदालाई पनि हैरान बनाएको छ । दिल्ली सफरको पच्चीस बुँदाले दूरदूरसम्म पिरोल्ने पक्का छ । केशरजंग र राधाकृष्णहरूलाई नारायणहिटीको पिचासले पिरेजस्तो, पुकदालाई पनि पच्चीस बुँदाको प्रेतले पिछा गरिरनेछ । पुकदाको इतिहास पल्टाउँदा दिल्ली ‘जानी दुश्मन’ थियो । विस्तारवादी दिल्ली क्रान्तिको बाधक भियो । त्यसैले त ऊ बेला सुरुङ युद्धका लागि समेत पुकदा तम्तयार थिए । तर, बलवान समयले ‘जानी दुश्मन’लाई ‘दिलवाले दोस्त’ बनाइदियो । तर, मधुमासी सत्रको दिल्ली सफर पच्चीस बुँदाले सुखद रहेन । कतिसम्म भने इतिहासमै नभएको ‘सच्याइएको इतिहास’ निर्माण गर्न पुकदा बाध्य भए ।
पुकदाको दिल्ली यात्राले चिसिएको सम्बन्धलाई ततायो । महामहिम प्रणव मुखर्जीको नेपाल आगमनको टुंगो लगायो । तातेको सम्वन्धको तातोले पुकदा हौसिए । जुन उनको स्वभाव नै थियो । पुकदाले महामहिमको भ्रमणलाई यादगार बनाउन एकदिने बिदा घोषणा गरे । त्यसपछि के निहुँ पाऊँ कनिका बुक्याऊँ भएर बसेका फेसबुके र ट्वीटरेहरू पुकदामाथि ओइरिए । सञ्चारकर्मी, लेखक र बुद्धिजीवीहरूले मुख चलाए । जसको कारण आफू दिल्ली जाँदा पनि र दिल्लीबाट पाहुना आउँदा पनि पुकदा भाग्यमानी साबित भएनन् । यसले पनि स्पष्ट पार्छ– दक्षिण हाम्रा नेताहरूका लागि अपजस र अपशकुनको पुलिन्दा बन्दै गएको छ ।
दक्षिण मुट्ठीभरलाई मालामाल थियो भने आम नेपालीका लागि अभिशाप । तर, पछिल्लो समय मुट्ठीभरका लागि पनि अपशकुन हुँदै गएको छ । यो अपशकुनलाई बुझ्नेहरूले बुझ्न सक्लान् वा पूर्वप्रधानमन्त्री देउवा जसरी होइन कि होइन भनेर रिसाइरहलान् ?

 

Leave A Comment