लिङ्ग व्यवस्था र नेपाली भाषा

शुक्रबार, १० मङि्सर २०७३, ११ : ५१ राम लोहनी , Kathmandu
लिङ्ग व्यवस्था र नेपाली भाषा

अङ्ग्रेजीको ‘सेक्स’ र ‘जेन्डर’ दुवै शब्दलाई नेपालीको ‘लिङ्ग’ शब्दद्वारा व्यक्त गरिन्छ । ‘सेक्स’ शब्दले प्राणी भाले वा पोथी वा के भनेर जैविक वर्गीकरण गर्दछ । यही जैविक विभाजनको आधारमा जुन ‘भालेपन’ वा ‘पोथीपन’ को मूल्य र मान्यता समाजमा विकास भएको हुन्छ, त्यो ‘जेन्डर’ हो । यस अर्थमा जेन्डर सामाजिक अवधारणा हो । यसकारण ‘जेन्डर’ लाई ‘सामाजिक लिङ्ग’ भनेर परिभाषित गर्ने प्रयास पनि गरिएको छ । जसरी सेक्स भनेर भाले, पोथी र नपुंसक (तटस्थ अर्थात् तेस्रो) वर्गमा प्राणीहरूलाई बाँडिन्छ, त्यसै गरी जेन्डर पनि पुरुष, स्त्री र नपुंसक तीनै प्रकारका ठहरिन्छन् । यसअनुसार पुरुषहरूमा जैविक भालेपनबाहेक विभिन्न चरित्रहरूको आरोपण गरिएको हुन्छ र स्त्रीहरूमा पनि जैविक पोथीपनको अतिरिक्त विभिन्न चरित्रको अपेक्षा गरिन्छ । सहनशीलता, लज्जालुपन, धैर्य आदि गुण स्त्रैण मानिन्छन् । यौन सम्बन्धमा पनि स्त्री प्रापक र पुरुष निर्णायक (कर्ता) ठानिन्छ । तर, यी कुनै पनि गुणको जैविक आधार भने छैन । उदाहरणका लागि भाले मुजुरमा मात्र रङ्गीचङ्गी प्वाँख विकास भएको छ । भाले मुजुर पोथीलाई आफूतिर आकर्षित गर्न प्वाँख फिँजाएर नाच्ने लगायत विभिन्न तरिका अपनाउँछ । सामाजिक विश्वासअनुसार त्यो स्त्रैण गुण हो ।
भाषामा पनि जैविक वर्गीकरणअनुसार तिनलाई जनाउने बेग्लाबेग्लै ’नाम’ शब्द हुन्छन् । यसकारण भाषामा लिङ्ग भनेको नामको वर्गीकरण गर्ने प्रयास हो । वस्तुतः भाले हो कि पोथी हो भनेर लिङ्ग छुट्टिनुपर्ने प्राणीहरूमा मात्र हो । प्राणीइतर वस्तुमा लिङ्ग छुट्याउनु पर्दैन । भाषाले मूलतः दुई प्रकारको रणनीति लिएको हुन्छ लिङ्ग छुट्याउनका लागि । पहिलो, भाले र पोथीका लागि छुट्टाछुट्टै शब्द प्रयोग गर्ने । जस्तै, आमा, दिदी, भैँसी, गाई आदि शब्दहरू पोथीसूचक हुन् भने बा, दाइ, राँगो, गोरु भालेसूचक हुन् । कैयौँ भाषाले यही विधिअनुसार भाले र पोथी छुट्याउने गर्दछ र ती भाषामा लिङ्गभेद भनेर यसैलाई बुझिन्छ । व्याकरणिक दृष्टिले यस्ता भाषालाई लिङ्गविहीन भाषा भनिन्छ । लिङ्गविहीनको मतलब भाषाको व्याकरणमा लिङ्ग छुट्याउनका लागि कुनै अतिरिक्त नियम नरहेको भनेको हो ।
दोस्रो विधि हो स्त्री (पोथी) वा भाले (पुरुष) चिनाउने कुनै एक शब्दलाई आधार मानेर त्यसमा केही थपथाप गरेर अर्को लिङ्ग जनाउने शब्द निर्माण गर्ने । भाषाहरूमा प्रायः पुरुषवाची शब्दलाई आधार मान्ने प्रचलन छ । नेपालीको सन्दर्भमा पुरुषवाची शब्दको पछाडि ‘ई’ वा ‘नी’ थपेर स्त्रीलिङ्गी शब्द बनाउने प्रचलन छ । जस्तै, बाहुन श्र बाहुनी, शेर्पा श्र शेर्पिनी, पण्डित श्र पण्डित्नी, क्षेत्री श्र क्षेत्रिनी, मुसा श्र मुसी आदि । अङ्ग्रेजीमा पनि केही सीमित शब्दहरूमा यो विधिबाट लिङ्गभेद गरिए पनि भाले र पोथीका लागि बेग्लाबेग्लै शब्द नै प्रचलनमा छन् । एउटा शब्दबाट अर्को शब्द बनाउने सामान्य नियमद्वारा लिङ्गभेद गर्न सकिएकै कारण भाषाका वाक्य वा पदावलीको स्वरूपमा असर पर्नु जरुरी हुँदैन । शब्दभन्दा ठूला एकाइ पदावली वा वाक्यको निर्माण हुनुपूर्व नै यी शब्दले आवश्यक स्वरूप लिइसकेका हुन्छन् । शब्दका स्वरूपलगायत विविध चरित्रहरूको निर्धारण हुने व्याकरणको यो विभागलाई प्राविधिक भाषामा शब्दकोश (लेक्सिकन) भनिन्छ । लेक्सिकन भनेको प्रचलनको शब्दकोश (डिक्स्नरी) भन्दा विस्तृत र भाषाका प्रयोगकर्तालाई शब्दका बारेमा थाहा भएका सम्पूर्ण ज्ञानको भण्डार हो । लेक्सिकन शब्दहरूको ज्यासल जस्तै हो । लेक्सिकन ’ज्यासल’ बाट निस्केका शब्दहरू आ–आफ्ना गुणअनुसार संगठित हुँदै ठूला एकाइमा परिणत हुन्छन् । पछिल्लो समय ‘व्याकरण’ भनेर शब्दहरू यसरी संगठित हुने विधानलाई नै भन्न थालिएको छ । सरल भाषामा भन्दा व्याकरणले शब्दहरूलाई ‘एसेम्बल’ गर्ने काम मात्र गर्दछ ।  सङ्क्षेपमा, भाषाको ज्ञानभित्र व्याकरणको ज्ञान र लेक्सिकनको ज्ञान पर्दछ ।
लेक्सिकनबाट तयार भएर निस्केका शब्दहरू संगठित हुने क्रममा तिनीहरूले आफ्ना वर्गीय र चारित्रिक स्वभावअनुसार मिल्दा शब्द छनोट गर्दछन् । कतिपय भाषामा शब्द छनोट क्रममा रूप सामञ्जस्य पनि खोज्ने काम हुन्छ । रूप सामञ्जस्य अर्थात् शब्दहरूले वाक्यका अन्य शब्दमा आफ्नै रूप वा आफ्नो रूपको कुनै अंश वा आफ्नो वर्गको प्रतिनिधित्व गर्ने सङकेत प्रतिविम्बित भएको अपेक्षा गर्ने काम ! शब्दमा निहित लिङ्ग जनाउने अर्थांशले पनि त्यस्तो अपेक्षा गर्न सक्छ । जस्तै पुलिङ्गी शब्द ‘केटो’ को गुण जनाउन ‘कालो केटो’, ‘अग्लो केटो’ र स्त्रीलिङ्गी शब्द ‘केटी’ को गुण जनाउन ‘काली केटी’, ‘अग्ली केटी’ पदावलीको निर्माण हुन्छ । त्यस्तै ‘अग्लो भाइ’, ‘होची बहिनी’ आदि । यहाँ ‘केटो’, ‘केटी’, ‘भाइ’, ‘बहिनी’ का लिङ्गअनुसार तिनका गुण जनाउने शब्दहरू क्रमशः ‘कालो’, ‘अग्लो’, ‘काली’, ‘अग्ली’, ‘अग्लो’ र ‘होची’ छनोट भएका छन् । यसै गरी वाक्य तहमा पनि यस्तै प्रक्रिया प्रतिविम्बित हुन सक्छ । जस्तै, ‘केटो आयो’, ‘केटी आई’, ‘भाइ आयो’, ‘बहिनी आई’ आदि । यिनीहरूमा पुलिङ्गी शब्द ‘केटो’ र ‘भाइ’ का लागि ‘आयो’ क्रिया र स्त्रीलिङ्गी शब्द ‘केटी’ र ‘बहिनी’ को लागि ‘आई’ क्रिया प्रयोग भएका छन् । यसप्रकार शब्दमा भएको लिङ्गभेदको प्रभाव शब्दबाहिर पदावली तह र वाक्य तहमा विस्तारित भयो । यसलाई ‘व्याकरणिक लिङ्ग’ भनिन्छ ।
संसारका सबै भाषामा यस प्रकारको ‘व्याकरणिक लिङ्ग’ हुँदैन, भएकामा पनि एकै प्रकारको हुँदैन । शब्दद्वारा लिङ्गभेद हुनु स्वाभाविक र प्राकृतिक हो । तर, जब लिङ्गभेदको प्रभाव भाषाको संरचनामा प्रवेश गर्छ, त्यो प्राकृतिक वा सामाजिक लिङ्गको अवधारणाबाट पनि मुक्त हुन्छ । उदाहरणका लागि ‘भैँसी’ स्त्रीलिङ्गी शब्द हो । तर ‘भैँसी आयो’ हुन्छ, ‘भैँसी आई’ प्रयोग गरिँदैन । जसरी ‘केटी कस्ती छ ?’ भन्दा ‘काली’ भन्ने जवाफ हुन सक्छ, ‘भैँसी कस्ती छ?’ हुँदैन, ‘काली’ भन्ने जवाफ पनि आउँदैन । ‘भैँसी कस्तो छ ?’ को जवाफ ‘कालो छ’ नै हुन्छ । अर्थात्, नेपालीमा मानवेतर विषयमा लिङ्ग तटस्थीकरण हुन्छ, यद्यपि फरक लिङ्गलाई जनाउन फरक शब्दहरू प्रयोग भइराखेका हुन्छन् ।
रमाइलो त के छ भने भाषाहरूमा ‘व्याकरणिक लिङ्ग’ अनपेक्षित ढङ्गबाट प्रकट भएको देखिन्छ । नाम शब्दमा अन्तरनिहित प्राकृतिक लिङ्गभावसँग भन्दा पनि भाषाका वक्ताले वस्तुलाई कसरी वर्गीकरण गरेका हुन्छन्, त्यसको छाया यो प्रक्रियामा देखिन्छ । फ्रान्सेली भाषा, हिन्दी भाषा लिङ्ग अनुशासनको हिसाबले जटिल मानिन्छन् । हिन्दीमा ‘मेरी बेटी’, ‘मेरी मुछ’, ‘मेरा बेटा’, ‘मेरा स्तन’ जस्ता संरचना भेटिन्छन् । ‘बेटी’ (छोरी) र ‘बेटा’ (छोरा) त स्वाभाविक रूपमा स्त्रीलिङ्गी र पुलिङ्गी भए र त्यसै अनुसार तिनका अगाडि क्रमशः ‘मेरी’ र ‘मेरा’ आए । तर, हिन्दी भाषाले ‘मुछ’ (जुँगा) लाई स्त्रीलिङ्गी र ‘स्तन’ लाई पुलिङ्गी मानेर त्यसैअनुसार पदावली निर्माण गर्दछ । त्यसै गरी ‘रेल आई’, ‘बस आया’ ( ‘रेल’ स्त्रीलिङ्गी र ‘बस’ पुलिङ्गी ! जब कि नेपालीमा ‘रेल’ र ‘बस’ दुवै ‘आयो’ नै हुन्छ । नेपालीमा शब्दहरूले जैविक लिङ्गको भेदलाई व्यक्त गरे पनि व्याकरणिक लिङ्गमा भने अर्कै यथार्थ देखिन्छ । ‘केटी आई’, ‘केटो आयो’, ‘भैँसी आयो’, ‘पानी आयो’– यी चार वाक्यलाई हेर्दा नेपालीमा व्याकरणिक लिङ्ग स्त्री र पुरुष भनेर विभाजित छैन । नेपालीमा मानव स्त्रीलाई एक प्रकारको लिङ्ग र अन्य सबै (मानवेतर पोथी जाति र  प्राणी इतर समेत) लाई अर्को लिङ्गको रूपमा व्यवहार गर्ने गरेको देखिन्छ ।
संसारका भाषामा माथि चर्चा गरिएभन्दा पनि जटिल प्रकारका लिङ्ग अनुसाशन भेटिन्छन् । माथि भनिएझैँ, भाषामा लिङ्ग भनेको नाम शब्दहरूको वर्गीकरण गर्ने विधि हो । एउटा वर्गमा पर्ने सबै शब्दलाई भाषाले उस्तै व्यवहार गर्दछ– वर्गका प्रत्येक सदस्यमा उही सङ्केत प्रयोग गरेर, वा अन्य शब्दको स्वरूपमा आफ्नो उपस्थिति देखाएर, वा दुवै प्रकारले । नाम शब्दको त्यो वर्गीकरणको आधार प्राकृतिक लिङ्ग हुन पनि सक्छ, त्यसको विस्तारित वा सङ्कुचित रूप हुन पनि सक्छ, वा अन्य कुनै सामाजिक र सांस्कृतिक अवधारणा, वा ती सबैको मिश्रित परिणाम, जे पनि हुन सक्छ ।
लिङ्ग परिवर्तन
व्याकरणको अभ्यास गराउने क्रममा लिङ्ग परिवर्तनका अभ्यासहरू पनि आउँछन् । भाषामा लिङ्ग व्यवस्थापनको प्रणालीअनुसार लिङ्ग परिवर्तनका अभ्यास पनि फरक फरक हुन्छन्– शब्दको लिङ्ग परिवर्तन, पदावलीको लिङ्ग परिवर्तन वा वाक्यको लिङ्ग परिवर्तन । यी परिवर्तन देख्दा जति सहज लाग्छन्, व्यवहारमा त्यति नै अप्ठ्यारा पनि हुन्छन् । उदाहरणका लागि ‘दाजु’ को स्त्रीलिङ्ग परिवर्तन गर्दा ‘भाउजू’ वा ‘दिदी’ भनेर अभ्यास गराउने परम्परा भेटिन्छ । अर्काेतिर ‘भाइ’ को लिङ्ग परिवर्तन ‘बुहारी’ हुने हो वा ‘बहिनी’ अस्पष्ट छ । ‘दिदी’ को लिङ्ग परिवर्तन ‘भिनाजु’ हुनु वा ‘दाजु’ हुनुको कुनै भाषिक कारण छैन । ‘दिदी’ भन्नेबित्तिकै बिहे गरेकै हुनुपर्दैन ! ‘डाक्टर’ को ‘डाक्टर्नी’ बनाएजस्तै ‘नर्स’ को ‘नर्सनी’ जस्ता उदेक लाग्दा लिङ्ग परिवर्तनका प्रयोग पनि भेटिन्छन् । वाक्य तहमा फेरि अर्को समस्या छ । जस्तै ‘केटो आयो’ को लिङ्ग परिवर्तन ‘केटी आई’ उचित हुन्छ । तर, ‘राम आयो’ को लिङ्ग परिवर्तन गर्दा ‘सीता आई’ बनाउनु पटक्कै उपयुक्त ठहर्दैन, किनकि ‘राम’ को विपरीत लिङ्गी शब्द ‘सीता’ होइन, यदि मिथकीय सन्दर्भ नजोड्ने हो भने ! ‘रामबहादुर स्कुल जान्छ’ को लिङ्ग परिवर्तन गराउन यदि खोजिन्छ भने ‘सीतामैया स्कुल जान्छे’ बनाउनु हास्यास्पद हुन्छ । खासमा यस्ता प्रयास आफैँमा त्रुटिपूर्ण अभ्यास हुन् ।

 

Leave A Comment