एउटै सपना सँगालेका चार दिदीभाइ

बिहिबार, ०९ मङि्सर २०७३, १२ : ३३ अम्मर जिसी , Kathmandu
एउटै सपना सँगालेका चार दिदीभाइ

उनीहरू प्रायः एउटै काममा व्यस्त भेटिन्छन् । पहिरन पनि प्रायः उस्तै हुन्छ, गाउन वा उस्तै खाले टिसर्ट । र, उनीहरूको सपना पनि एउटै छ– सफल सौन्दर्यकर्मी बन्ने ।
कमला थापामगर, गोमा थापामगर, विना थापामगर र कमल थापामगर । रुपन्देही, सैनामैना–४, मुर्गियाका यी चार दिदीभाइ सौन्दर्यकर्ममा करिअर स्थापित गर्न खटिइरहेका छन् ।
ठूली दिदी कमला र माइली गोमाले काठमाडौँको असन, अनि सानी बहिनी विना र भाइ कमलले त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा व्यवसाय हाँकिरहेका छन्, एकै नाममा– ‘लोटस ब्युटी सैलुन एन्ड एकेडेमी ।’
सबै जनाको नेतृत्व माइली गोमाको हातमा छ । उनले नै सुरु गरेको व्यवसायतिर आकर्षित हुँदै सबै दिदीभाइले एउटै सपना सँगालेका छन् ।  लगभग १० वर्षअघि यो काममा लागेकी गोमा बाँकी दिदीभाइलाई पनि आफ्नै क्षेत्रमा तान्न सफल भइन् । कमल दिदीको काममा साथ दिँदादिँदै यसै क्षेत्रमा लागेको छ वर्ष भइसक्यो । फार्मेसिस्टको काम गर्ने ठूली दिदी र एक निजी कम्पनीमा कार्यरत सानी बहिनी पनि अहिले सौन्दर्यकर्ममै जुटिसके । ‘अब सबै मिलेर यसै क्षेत्रमा केही गर्ने सोचेका छौँ,’ कमल भन्छन्, ‘व्यवसायलाई अझ विस्तार गरेर सफल सौन्दर्यकर्मी दिदीभाइ भनेर चिनिन चाहन्छौँ ।’
‘नक्कली’बाट व्यवसायी बनेकी गोमा
गोमा निर्धक्क भन्छिन्, ‘म सानैदेखि नक्कली थिएँ । त्यही भएर त यसमा लागेकी ।’ उतिबेला सिंगारपटारमा अभिरुचि राख्ने र चिटिक्क परेर हिँड्ने महिलालाई नक्कली भन्थे । ‘ब्युटिपार्लर छिर्नेलाई गलत नजरले हेरिन्थ्यो, पार्लरमा काम गर्नेलाई त झन पूरै समाजले नराम्रो मान्थ्यो,’ गोमा भन्छिन्, ‘यतिबेलाको समय फरक छ । समयले नै माग गर्छ सौन्दर्य । सौन्दर्य पनि व्यक्तित्वको एउटा हिस्सा हो भन्ने धेरैले बुझ्दैछन् ।’
गाउँका सबले गलत नजरले हेर्दाहेर्दै पनि यो व्यवसायमा हात हाल्न आँट गर्नुको पछाडि उनको बुबाको दरिलो साथ थियो । उतिबेला ब्रिटिस आर्मीमा कार्यरत बुबा छोरीको सपनासँग सुरुमै सकारात्मक रूपमा प्रस्तुत भइदिए । भाइको पनि साथ पाइन् उनले । त्यसपछि त अरू के चाहियो र ? मनमौजी व्यवसाय हाँक्ने अवसर जुट्यो उनलाई । र, अहिलेको अवस्थामा आइपुगिन् गोमा ।
एसएलसीसम्मको मात्र अध्ययन गरेकी गोमाले सौन्दर्यकलामा छोटो समयमै प्रशस्तै उपलब्धि हात पारिसकिन् । देशभित्र र बाहिरसमेत आफ्ना अनुभव र ज्ञान तथा सीप बाँड्ने मौका जुटिरहेकै छ । सेमिनारहरूमा भाग लिइरहेकै छिन् । ‘अब मैले सिकेको ज्ञान यस क्षेत्रमा आउन चाहने थुप्रै दिदीबहिनीमा बाँड्नु छ,’ उनी भन्छिन् ।
यी दिदीभाइको अनुभव छ– यस क्षेत्रमा प्रशस्त अवसर छन् । कमलकै भनाइलाई आधार मान्ने हो भने महिनामा एक–डेढ लाख कमाउन गाह्रो छैन । ‘यो कामलाई गलत दृष्टिले हेर्ने जमाना गइसक्यो,’ उनी भन्छन्, ‘जमाना बदलिएसँगै सौन्दर्यकला ग्ल्यामरस पेशा बन्न सफल भएको छ । यसमा करिअर सुनिश्चित देखेर नै हामी सपरिवार यसैमा जुटेका हौँ ।’
दिदीहरूलाई एउटा कुरामा उछिने भाइ कमलले– बिहे । दिदीहरूभन्दा चाँडो बिहे गरेर बुबा बनिसकेका उनी दिदीहरूको मायाले यसैयसै पुलकित छन् । यो व्यवसायमा उनको जिम्मेवारी कपाल र ट्याटूको मात्र हो । अरू सब दिदीहरूकै जिम्मा हो । सबको जिम्मेवारी बाँडेर अहोरात्र लागिपरेका छन् उनीहरू ।
दुई वर्षअघि दिवंगत बुबाको सपना थियो– अरू छोराछोरी पनि माइलीकै जसरी आँट र जाँगरसाथ अघि बढून् । ‘हामी बुबाको त्यही सपना पछ्याइरहेका छौँ,’ विना भन्छिन्, ‘हामी माइली दिदीको नेतृत्वमा यही काममा सफल बन्न कस्सिएका छौँ ।’ उनी पनि सिपालु भइसकिन्, दिदीले जसरी लेडिज एन्ड जेन्ट्सको सौन्दर्यकर्ममा ।
ठूली दिदी कमला पनि खुशी छिन्, ‘सबै भाइबहिनी मिलेर एउटै काम गर्न पाएपछि को खुशी नहोला ? म पनि अर्काको अफिसमा काम गर्दागर्दा थाकेर आफैँ केही गरौँ भन्ने सोचेर यसमा लागेँ । म पनि व्यवसायी नै बन्ने हो । ब्युटी आर्ट मेरो पनि सोख हो ।’
अन्त्यमा, उनीहरूको एउटै स्वर छ, ‘दिदीभाइ नै मिलेर जुटेपछि बाधा– अड्चन त्यसै छिचोलिँदा रहेछन् ।’

 

Leave A Comment