‘नेपालको रंगमञ्च’ विमोचित

बिहिबार, ०९ मङि्सर २०७३, १२ : २२ शुक्रवार , Kathmandu
‘नेपालको रंगमञ्च’ विमोचित

रंगकर्मी कृष्ण शाह यात्री नयाँ कृति लिएर पाठकमाझ आएका छन् । ‘नेपालको रंगमञ्चः विगत र आगत’ नामक उक्त कृतिको विमोचन संस्कृतिविद् सत्यमोहन जोशीले गरे । काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको ‘सातौँ बृहत् पुस्तक प्रदर्शनी’मा कृति विमोचन गर्दै जोशीले कृतिमा नेपालको रंगमञ्चको इतिहासको बृहत् अभिलेख रहेकाले सामान्य पाठकदेखि नाट्यकलामा चासो राख्ने अनुसन्धाता, अध्येताका लागि उपयोगी हुने बताए ।
पुस्तकबारे त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागका नाटक विषयका प्राध्यापक अशोक थापाले भने, ‘पुस्तकले नेपाली रंगमञ्चको स्पष्ट र वैज्ञानिक तरिकाले कालक्रम विभाजन गर्नुका साथै कलेज र विश्वविद्यालयमा वर्षौंदेखि अभाव रहेको पाठ्यपुस्तकलाई समेत पूरा गरेको छ ।’
पुस्तकलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो । ‘यो पुस्तक एकदुई वर्षको मेहनतले मात्र सम्भव भएको होइन । विगत दुई दशकभन्दा लामो समयदेखि निरन्तर व्यक्तिगत तवरबाट रंगमञ्चसम्बन्धी शोध र अनुसन्धानमा लागेपछि यो पुस्तक जन्मिएको हो,’ लेखक यात्रीले भने, ‘यसका लागि विभिन्न समयमा नेपालमा तीन दर्जन जिल्लामा गई स्थलगत अध्ययनसमेत गरेँ ।’
पुस्तकमा नेपाली भाषाका साथै मैथिली, नेवारी, थारुलगायत भाषाको नेपाली नाट्यकलामा परेको प्रभावबारे समेत चर्चा र विश्लेषण गरिएको छ । सात खण्डमा विभाजित पुस्तकमा रंगमञ्चको सैद्धान्तिक स्वरूप, नेपाली रंगमञ्चको प्रारम्भिक अवस्था, आधुनिक कालयात्रा, मोफसलको नेपाली रंगमञ्चको स्थिति, नेपाली रंगमञ्चका प्रतिनिधि नाटक निर्देशक र कलाकारहरूको नाट्यकर्मको छुट्टाछुट्टै व्याख्या र विश्लेषण गरिएको छ ।

 

Leave A Comment