गर्मीमा चम्किँदो पूर्वी पहाड

बुधबार, ०८ असार २०७३, १० : ४९ गोपाल दाहाल , Kathmandu
गर्मीमा चम्किँदो पूर्वी पहाड

तराईमा हपहपी गर्मी छ । सडकमा हिँडिसक्नु छैन । मजदुरी गर्नेलाई साह्रै कठिन छ । तर, तराईको यही कठिन गर्मी पूर्वी पहाडका लागि चाहिँ अवसर बनेको छ । त्यसैले त गर्मीसँगै पूर्वी पहाडका पर्यटकीय गन्तव्य चम्किन थालेका छन् ।

तराईका जिल्लामा गर्मीले व्याकुल भएकाहरू फुर्सद मिल्नासाथ पहाडतिर चढ्न थालेका छन् । जलवायु परिवर्तनले हरेक वर्ष गर्मी बढिरहँदा पहाडी क्षेत्रमा भने नयाँ–नयाँ पर्यटकीय स्थल थपिदै छन् । गर्मी मौसममा सबैभन्दा धेरै मान्छे चढ्ने पहाड भनेको कोशी राजमार्गले भेट्ने भेडेटार र मेची राजमार्गले भेट्ने इलाम हो । अहिले भेडेटार ‘चिसो खान’ आउनेहरूले खचाखच छ । भेडेटार चोक, चाल्र्सटावर, शंखेश्वर मन्दिर, नाम्जे, आत्माघर जताततै चिसोको स्वाद लिँदै सेल्फी खिच्नेहरू देखिन्छन् । पूर्वी तराई र भारतका विभिन्न ठाउँबाट आउने पर्यटककै कारण धानिएको छ भेडेटारका सयभन्दा बढी होटल, रेस्टुरेन्टको व्यवसाय ।

भेडेटारबाट नौ किलोमिटर धनकुटातर्फ ओरालो झरेपछि पुगिने नमस्ते झरनामा पनि यो गर्मी मौसममा नुहाउने र रमाउनेको उस्तै भीड छ । कोशी राजमार्गसँगैको नमस्ते गोलाईदेखि नै रेस्टुरेन्टहरूको पनि भीड बढ्न थालेको छ ।
कोशी राजमार्गमै पर्ने धनकुटाको हिलेमा पर्यटकलाई आकर्षण गर्न तोङ्बाको स्तम्भ बनाइएको छ । तेह्रथुमको वसन्तपुरमा लालीगुराँस र लसुनेमा लसुनको स्तम्भ बनाएर तराईका पर्यटक आकर्षण गराउने प्रयास भएको छ  । सोही क्षेत्रमा पर्ने तीनजुरे मिल्के जलजलेमा पनि गर्मी सुरु भएदेखि नै आन्तरिक पर्यटक बाक्लिन्छन् । २८ प्रजातिका गुराँस एकै क्षेत्रमा पाइने यो ‘गुराँसको राजधानी’मा पनि घुम्ने धेरै हुन्छन् । होटल एसोसिएसन भेडेटारका अध्यक्ष लीलाराज लावती भन्छन्, ‘यतिबेला भेडेटारका अधिकांश होटल भरिभराउ छन् । अन्य पहाडी क्षेत्रमा पनि घुम्नेहरू धेरै जाने हुँदा व्यवसाय राम्रो छ ।’

मेची राजमार्गमा पर्ने इलामको फिक्कल, कन्याममा चियाबगानमा रमाउन पुग्ने पनि धेरै छन् यतिबेला । पाँचथरको रवि, फिदिम हुँदै ताप्लेजुङको पाथिभरा मन्दिरसम्म दर्शन गर्न पुग्ने पनि बाक्लै भेटिन्छन् । उदयपुरको रौता पोखरीमा पनि गर्मी छल्न पुग्ने तराईवासीको संख्या बढिरहेको छ । पर्यटकलाई विभिन्न स्थानमा घुमाउँदै आएको सेछ ट्राभलिङ धरानका निर्देशक वासुदेव बरालको अनुभव छ, ‘आन्तरिक पर्यटकले नै पूर्वमा पर्यटकीय गन्तव्य धानिएका छन् । सरकारले लगानी गर्ने हो भने विदेशी पर्यटकको पनि उल्लेख्य उपस्थिति हुन्छ ।’

गर्मी बढेसँगै धनकुटाको मूलघाटस्थित तमोर नदीबाट सप्तकोशीको चतरासम्म ¥याफ्टिङ गर्नेको संख्या पनि बढ्दो छ ।
पर्यटकलाई आकर्षण गर्ने साइक्लिङमा पनि पूर्वेलीहरू रमाउन थालेको दुईचार वर्ष बितिसक्यो । विशेष गरी धरानमा साइक्लिङका गतिविधि भइरहेका छन् । सरकारले यसवर्ष आन्तरिक पर्यटनको विकास गर्ने नीति लिएको छ । तर, पूर्वधार तयार पार्न भने सरकारले सहयोग नगरेको पर्यटनकर्मीको गुनासो छ । सुनसरी पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष शिवराज श्रेष्ठ भन्छन्, ‘हामीले विदेशीको मुख ताकेर बस्नुभन्दा आन्तरिक पर्यटन विकासमा स्थानीयवासी र स्थानीय निकाय जुट्ने हो भने छिटो प्रगति हुन्छ ।’

 

 

 

Leave A Comment