जया–ऐश्वर्याः सासूबुहारी रगडा

बुधबार, ०८ मङि्सर २०७३, १० : २१ शुक्रवार , Kathmandu
जया–ऐश्वर्याः सासूबुहारी रगडा

हालसालै रिलिज भएको फिल्म ‘ए दिल है मुश्किल’मा बलिउड अभिनेत्री ऐश्वर्या रायले अभिनेता रणवीर कपुरसँग ‘इन्टिमेट सिन’ दिएकी छिन् । उक्त दृश्यमा उनले रणवीरसँग ओठ जोडेर चुम्बन गर्नुपर्ने माग कथाले गरेको भन्दै निर्देशक करण जौहरले यसका निम्ति तयार रहन ऐश्वर्यालाई भनेका थिए । तर, उनले अनस्क्रिन किस गर्न आफू तयार नरहेको बताएपछि एउटै चकलेट लुछाचुँडी गर्दै खाएको ‘हट’ दृश्य सुट गरेर जौहरले चित्त बुझाउनुप¥यो ।
फिल्म सार्वजनिक भएपछि फिल्मका केही दृश्यमा ऐश्वर्याले उत्तेजक मुद्रामा आफूलाई प्रस्तुत गरेको भन्दै भारतीय सञ्चारमाध्यममा टिप्पणी भयो । यसले फिल्मलाई ठूलो चर्चा पनि दिलायो । तर, यही विषयले ऐश्वर्याको घरमा सासू जया बच्चनसँग ठाकठुक परेको हुनसक्ने आशंका पनि सँगसँगै गरियो ।

कसरी उब्जियो आशंका ?
‘ए दिल है मुश्किल’मा बुहारी ऐश्वर्याले दिएको ‘इन्टिमेट सिन’बारे सासू जयाले अहिलेसम्म कुनै टिप्पणी गरेकी छैनन् । तर, फिल्मले बक्स अफिसमा राम्रो ओपनिङ गरिरहेका बेला मुम्बईमा आयोजित एउटा फिल्म महोत्सवलाई सम्बोधन गर्ने क्रममा उनले भनिन्, ‘कुनै बेला यस्तो जमाना थियो, जब भारतीय फिल्ममेकरहरू फिल्ममा कलाका नमुना प्रस्तुत गर्थे । तर, आज प्रेमलाई खुलस्त ढंगले प्रस्तुत गर्नुलाई अब्बल काम मान्न थालिएको छ । अब यहाँ इज्जत भन्ने कुनै चिज बाँकी रहेन । फिल्म बनाएर व्यापार गर्नु, पहिलो सप्ताहान्तमै एक करोड रुपैयाँ आम्दानी गर्नु एकमात्र उद्देश्य बन्न पुगेको छ ।’
‘ए दिल है मुश्किल’ले रिलिज भएको दिनै १३ करोड रुपैयाँभन्दा बढी व्यापार गरेको र फिल्ममा ऐश्वर्याले ‘हट सिन’ दिएको चर्चा चलिरहेको पष्ठभूमिमा बच्चनको यस्तो कटाक्ष ऐश्वर्यातर्फ लक्षित भएको आशंका धेरैले गरे । यस्तो आशंका गर्नुपछाडि सासूबुहारीबीच तिक्तता रहेको बारे बेलाबेलामा आउने समाचारले पनि बल पु¥याएको थियो ।

सम्बन्धमा तिक्तता
बलिउड वृत्तमा मात्र नभई समग्र भारतमै बच्चन परिवारलाई प्रतिष्ठित परिवारका रूपमा लिने गरिन्छ । परिवारको यस्तो गरिमा र प्रतिष्ठालाई ऐश्वर्याले पनि निरन्तरता दिनुपर्छ भन्ने मान्यता जयाको छ । यसका निम्ति जिम्मेवार बन्न उनले ऐश्वर्यालाई प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सम्झाउने गरेको चर्चा सञ्चारमाध्यममा बेलाबेलामा आउने गर्छ ।
बच्चन परिवारसँग एकजना सञ्चारकर्मीले कुराकानी गर्ने क्रममा ऐश्वर्यालाई ‘एश’ भनी सम्बोधन गर्दा जयाले रिसाउँदै भनेकी थिइन्, ‘ऐश्वर्यालाई एश होइन, ऐश्वर्याजी भन्नू । नभए मिस बच्चन भन्नू ।’
एउटा फिल्म अवार्ड कार्यक्रममा ऐश्वर्याले बलिउड अभिनेत्री रेखाबाट अवार्ड थापेकी थिइन् । अवार्ड थापेपछि उनले रेखालाई ‘आमा’ भनी बोलाएकी थिइन् । रेखा कुनै समय अमिताभ बच्चनकी प्रेमिका थिइन् । रेखालाई छोडेर अमिताभले जयालाई जीवनसाथी चुनेका थिए । त्यतिखेरदेखि बिग्रिएको रेखा र जयाबीचको सम्बन्ध अझैसम्म सामान्य हुन सकेको छैन । यस्तोमा बुहारीले रेखालाई ‘आमा’ भनी बोलाउँदा जयाले नराम्रो महसुस गरेको हुनसक्ने टिप्पणी त्यतिबेला सञ्चारमाध्यमले गरेका थिए ।

किस नगर्ने अडान
सन् २००६ मा रिलिज भएको ‘धुम–२’मा ऐश्वर्याले अन्तिमपटक ‘किस सिन’ दिएकी थिइन् । यसमा उनले अभिनेता ऋत्विक रोशनसँग ‘लिप किस’ गरेको प्रसंगले फिल्मलाई अतिरिक्त चर्चा दिलाएको थियो ।
सोही फिल्ममा अभिषेक बच्चनले पनि काम गरेका थिए । एउटै सेटमा काम गर्दा उनीहरूबीच प्रेम भएको थियो । फिल्म रिलिज भएको केही समयपछि दुवैले बिहे गर्ने निधो गरे । त्यतिबेला सिनेमा हलबाट ‘धुम–२’ हटिसकेको थिएन ।
ऐश्वर्याले ऋत्विकसँग ‘किस सिन’ दिएको प्रसंगलाई बच्चन परिवार र त्यसमा पनि खासगरी जयाले त्यति नरुचाएको चर्चा सञ्चारमाध्यममा चलेको थियो । नभन्दै ऐश्वर्याले एउटा अन्तर्वार्तामा ‘अब आइन्दा किस सिन नदिने’ बताइन् । उनले भनेकी थिइन्, ‘‘धुम–२ रिलिज भएपछि धेरै ठाउँबाट मैले प्रतिक्रिया पाएँ । कसैकसैले ‘तपार्इं हाम्रा छोरीचेलीको आदर्श हुनुहुन्छ, तपाईंले गर्ने हरेक गतिविधिले उनीहरूलाई असर गरिरहेको हुन्छ । यस्तोमा तपाईंको किस सिन आएपछि हामीलाई नराम्रो लाग्यो’ भन्ने खालका सन्देश पनि पठाए । त्यसपछि मैले अब आइन्दा यस्तो सिन नदिने मनस्थिति बनाएँ ।’
साम्य पारे अभिषेकले
जयाले घुमाउरो पारामा ऐश्वर्यालाई घोचपेच गरेको प्रसंग चलिरहेका बेला अभिषेकले ‘ए दिल है मुश्किल’मा ऐश्वर्याको कामबाट आफूले गर्व महसुस गरेको बताएर जया–ऐश्वर्या तिक्ततासम्बन्धी चर्चालाई मत्थर पारेका छन् । ‘अहिले म घरबाहिर काम विशेषले घुमिरहेको छु, त्यही भएर फिल्म हेर्न पाएको छैन । तर, यसबारे मैले जति समाचार हेरेँ, त्यसले मलाई के विश्वास दिलाएको छ भने पक्कै पनि ऐश्वर्या यसमा भव्य देखिएकी छिन्,’ अभिषेकले भनेका छन् ।
भित्रभित्र मनमुटाव भए पनि सार्वजनिक जीवनमा जया र ऐश्वर्याले यसलाई झल्किन दिएका छैनन् । सार्वजनिक कार्यक्रममा जयाले ‘मेरी बुहारी मायालु र लच्छिनकी छे’ भन्दै उनको तारिफ गर्ने गरेकी छिन् ।
‘बच्चन परिवार फिल्म क्षेत्रमा जमेको परिवार हो । ऐश्वर्याले रणवीरसँग दिएको ‘इन्टिमेट सिन’लाई लिएर जयाले उनलाई हस्तक्षेप गर्ने कुरै आउँदैन,’ बच्चन परिवारनिकट स्रोतलाई उद्धृत गर्दै एउटा भारतीय अनलाइनले लेखेको छ । तर, यति हुँदाहुँदै पनि ‘इन्टिमेट सिन’ दिन ऐश्वर्यालाई परिवारले त्यति प्रोत्साहन नगर्ने गरेको आम बुझाइ बलिउड वृत्तमा छ ।

 

Leave A Comment