धरानमा गुञ्जिए दीप

सोमबार, ०६ मङि्सर २०७३, ०१ : ५१ गोपाल दाहाल , Kathmandu
धरानमा गुञ्जिए दीप

वरिष्ठ गायक दीप श्रेष्ठ धेरै समयपछि गृहनगर धरानमा दिल खोलेर प्रस्तुत भए । दीपको यो प्रस्तुति किन पनि फरक थियो भने यसपटकका स्रोता अन्य कार्यक्रममा भन्दा फरक थिए ।
ब्यान्डसहित प्रस्तुत दीपले गाउँदा देशभरका चिकित्सक स्रोता थिए । चिकित्सकहरूसँगै स्वास्थ्यमन्त्री गगन थापा गम्भीरतापूर्वक दीपका गीत सुनिरहेका थिए । दीपले ‘गाउँमा सायद पहिरो गयो कि’ गाउँदा चिकित्सकदेखि मन्त्री थापासम्म भावुक बने । अरू बेला सधँै व्यस्त रहने चिकित्सक र स्वास्थ्यकर्मी दीपका गीत सुन्न फुर्सदिला देखिन्थे । दीपले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा चिकित्सकहरू कहिले भावुक बनेर सँगै गाउँथे त कहिले रोमान्टिक बनेर नाच्थे ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देशभरका चिकित्सकहरूको संस्था नेपाल मेडिकल एसोसिएसनको २७ औँ राष्ट्रिय सम्मेलन आयोजना भएको थियो । तीन दिनसम्म चलेको सम्मेलनमा दिनभर स्वास्थ्य क्षेत्रको बौद्धिक बहसमा सक्रिय चिकित्सकहरू साँझमा भने गीत सुन्न, नाच हेर्न र आफैँ पनि नाच्न÷गाउन मस्त बन्थे । सम्मेलनको पहिलो दिन दीपको गायनपछि मन्त्री थापा हिँडे तर अघिदेखि दीपसँगै गाउने र नाच्ने चिकित्सकहरू राती अबेरसम्म पनि अझै केही प्रतीक्षामा थिए । उनीहरूलाई प्रतीक्षा गराउने कलाकार थिइन्, सुषमा कार्की । नृत्य गर्न धरान आइपुगेकी सुषमाको नाम मञ्चबाट उद्घोष हुनेबित्तिकै टाढा बसेका स्वास्थ्यकर्मीहरू पनि मञ्चको नजिक दौडिँदै पुगे ।
सुषमाले हिन्दी मिक्समा नाच्न सुरु गर्दा चिकित्सकहरू पनि हुटिङ गर्न थाले । उनका हाउभाउमा चिकित्सकहरू पनि उत्साहित हुँदै ताली बजाएर साथ दिन थाले । सुषमाले ‘उधे्रको चोली’मा कम्मर मर्काउँदा स्वास्थ्यकर्मीहरूले गीत गाएर साथ दिए । केही वर्षअघि धरानमा एउटा फिल्मको प्रमोसनका क्रममा आयोजित सांगीतिक कार्यक्रमकै बीच प्रेमीसँग कुटाकुट गरेपछि विवादमा आएकी सुषमा यसपटक धेरैपछि धरान आएकी थिइन् । उनीसँगै गरिमा डान्स सेन्टरका कलाकारले पनि नृत्यमार्फत चिकित्सकहरूलाई मनोरञ्जन प्रदान गरे । पहिलो दिन दीपका गीत र सुषमाको नाचमा रमेका चिकित्सकहरू दोस्रो दिन नवीन के भट्टराईको गायनमा झुमे ।
स्वास्थ्यमन्त्री गगन थापाको भनाइमा चिकित्सकहरू देशका सबैभन्दा बौद्धिक, सानैदेखि राम्रो पढाइ भएका व्यक्तिहरू हुन् । ‘विद्यालयमा राम्रो पढ्नेहरू अधिकांशको रोजाइ चिकित्सा शिक्षा भएकाले पनि चिकित्सकहरू देशका सबैभन्दा राम्रो पढाइ भएकाहरू हुन्,’ उनले भने । देशभरका आठ सयभन्दा बढी चिकित्सकमाझ गाउन पाउँदा दीप पनि उत्साहित देखिन्थे । सम्मेलन अवधिभरमा स्वास्थ्य र चिकित्सा विज्ञानमा आधारित १५ कार्यशाला, तीन प्रवचन र ८० वटा वैज्ञानिक अनुसन्धान पत्र प्रस्तुत भए । एसोसिएसनका धरान अध्यक्ष डा. मोहनचन्द्र रेग्मीले धेरै समयपछि धरानमा भएको चिकित्सकहरूको राष्ट्रिय सम्मेलनलाई विशेष बनाउन कलाकारहरू निम्त्याइएको बताए । ‘कलाकारहरूको प्रस्तुतिबाट चिकित्सकहरूले बौद्धिक बहससँगै मनोरञ्जनको अवसर पनि पाए,’ उनले भने ।

 

Leave A Comment