मध्यवर्गीय कुकुरको वर्ग चिन्तन

सोमबार, ०६ मङि्सर २०७३, ०१ : ०५ शुक्रवार , Kathmandu
मध्यवर्गीय कुकुरको वर्ग चिन्तन

हरिशंकर परसाई
मेरो साथीको कार ठूलो महलमा पस्नासाथ मैले गाडीबाट ओर्लंदै सोधेँ, ‘उहाँको घरमा कुकुर त छैन ?’
मित्रले भने, ‘तिमी कुकुरदेखि निकै डराउँछौ !’
मैले भनेँ, ‘मान्छेको भेषमा हुने कुकुरसँग डराउँदिनँ, भिडिहाल्छु । तर, साँच्चैको कुकुरसँग निकै डर लाग्छ ।’ कुकुर भएको घर मलाई राम्रो लाग्दैन । त्यहाँ गयो कि घरबेटीले भन्दा पहिले कुकुरले भुकेर स्वागत गर्छ । आफन्तहरूसँग ‘नमस्ते’ पनि हुन पाएको हुँदैन, उता कुकुरले गाली दिइहाल्छ– ‘किन आइस् मुर्दार ? तेरो बाउको घर हो ? निस्की याँ’बाट !’
त्यो महलमा हाम्रा मित्र थिए । त्यहाँ हामीलाई तीन दिन बस्नु थियो । मसँगै आएका मेरा मित्रले घन्टी बजाउनेबित्तिकै जाली भित्रबाट त्यही ‘भौ भौ’को आवाज आयो । म दुई पाइला पछि हटेँ । हाम्रा घरबेटी मित्र आए । कुकुरलाई गाली गरे– ‘टाइगर, टाइगर !’ उनको भनाइको अर्थ थियो– ‘टाइगर ! यिनीहरू चोर–डाँकू होइनन् । तँ यति बफादार नबन् त ।’
कुकुर सिक्रीमा बाँधिएको थियो । हामीलाई उसको मालिकले नै भित्र लैजाँदै गरेको देखिराथ्यो, तर ऊ भने भुकी नै रह्यो । म ऊभन्दा निकै परदेखि झन्डै दौडिँदै भित्र गएँ । मैले ठानेँ, यो उच्चवर्गीय कुकुर हो । हेर्दा त त्यस्तै लाग्छ । म उच्चवर्गीयको निकै अदब गर्छु । चाहे, त्यो कुकुरै किन नहोस् । त्यस घरमा मेरो स्थिति बडो अजिब थियो । म हीनभावनाले ग्रस्त थिएँ– यसै परिधिमा एउटा उच्चवर्गीय कुकुर र यसैमा म ! ऊ मलाई तिरस्कारपूर्ण नजरले हेरिरहेको थियो ।
साँझ हामीहरू बार्दलीमा बसेका थियौँ । घरमा काम गर्ने भाइले कुकुरलाई बगैँचामा डुलाइरहेका थिए । म के देख्छु भने ढोकामा आएर दुइटा आवारा ‘सडकछाप’ कुकुर उभिएका छन् । उनीहरू सर्वहारा कुकुर थिए । ती कुकुर यस कुकुरलाई बडो ध्यानले हेर्थे । फेरि यताउता घुमेर फर्किआउँथे, अनि यसै कुकुरलाई नियालिबस्थे । तर, घरको कुकुर उनीहरूमाथि भुक्थ्यो । उनीहरू डराउँथे र यताउता लाग्थे । फेरि आएर यसै कुकुरलाई हेरिबस्थे । घरबेटीले भने, ‘यो सधैँको परिघटना हो । जहिले मेरो कुकुर बाहिर आउँछ, ती दुइटै कुकुर यसलाई हेरिबस्छन् ।’
मैले भनेँ, ‘तर, यसले उनीहरूमाथि भुक्नु हुन्थेन । यो त पट्टा र जन्जिरधारी हो । सुविधाभोगी हो । ती कुकुर भोका र आवारा हुन् । यसको र उनीहरूको तुलनै हुन सक्दैन । यसले बेकारमा उनीहरूलाई किन चुनौती दिन्छ ?’
हामीहरू राति बाहिरै सुत्यौँ । सिक्रीमा बाँधिएको कुकुर पनि नजिकै आफ्नो खोरमा सुतिरहेको थियो । अचम्म के भने ती कुकुरहरू वरपर जतिबेला भुक्थे, यो कुकुर पनि भुक्थ्यो । आखिर यो उनीहरूसँग किन भुक्छ ? जब उनीहरू टोलमा भुक्छन्, तब यो पनि उनीहरूकै भुकाइमा भुकाइ थप्छ । लाग्छ– यसले उनीहरूलाई आश्वस्त पारिरहेको छ कि म यहाँ छु, तिमीहरूको साथमा ।
मलाई यसको वर्गमा शंका हुन लागेको छ । यो उच्चवर्गीय कुकुर होइन । मेरो छिमेकमा नै एक जना सम्पन्न व्यक्तिसँग दुइटा कुकुर थिए । उनको कस्तो रवाफ थियो ! मैले उनीहरूलाई कहिलै भुक्दै गरेको सुनेको छैन । यताउताका कुकुर भुकिरहन्थे, तर उनीहरू ध्यानै दिँदैनथे । मानिसहरू आउने जाने गरिरहन्थे तर उनीहरूले कहिल्यै कसैलाई झम्टिएनन् । उनीहरूले सानो स्वरमा ङ्वार्र गरेको आवाज पनि मैले कहिल्यै सुनिनँ । उनीहरू बसिरहन्थे वा घुमिरहन्थे । ढोका खुला हुँदा पनि उनीहरू बाहिर निस्कँदैनथे । उनीहरू निकै रोबदार, अहंकारी र आत्मतुष्ट जीव थिए ।  
तर, यो कुकुर ती सर्वहारा कुकुरहरूमाथि पनि भुक्छ र उनीहरूको भुकाइमा आफ्नो भुकाइ पनि थप्छ । भन्छ– ‘म तिमीहरूसँगै छु ।’ उच्चवर्गीय झुटो रवाफ र संकटको आभास हुँदा सर्वहाराको साथ पनि– यस कुकुरको यस्तै चरित्र छ । यो मध्यमवर्गीय चरित्र हो । यो मध्यमवर्गीय कुकुर हो । उच्चवर्गीय हुने ढोँग पनि गर्छ र सर्वहारासँग मिलेर भुक्छ पनि ।
तेस्रो दिन हामी राति फर्किंदा के देख्छौँ भने कुकुर त्रस्त मुद्रामा बसिरहेको छ । हामी आउँदा समेत त्यसले भुकेन । मरेझैँ सानो स्वरमा ङ्वार्र ग¥यो । यताउता ती आवारा कुकुरहरू भुकिरहेका थिए, तर यो उनीहरूसँग भुकेन । थोरै ङ्वार्र ग¥यो र यसै पल्टियो । मैले घरबेटीलाई भनेँ, ‘आज तिम्रो कुकुर निकै शान्त छ ।’
घरबेटीले भने, ‘आज यो निकै नराम्रो अवस्थामा छ । के भयो भने घरमा काम गर्ने भाइको कमजोरीले यो कुकुर ढोकाबाट बाहिर निस्कियो । ती दुइटै कुकुर यसलाई घात लगाएर बसिरहेका त थिए नै । दुवैले यसलाई घेरे । यसलाई दपेटे । दुइटै यसमाथि चढे । यसलाई टोके । हालत खराब भयो । त्यही भाइले यसलाई धन्न जोगाएर ल्यायो । त्यतिबेलादेखि नै यो शिथिल छ र घाउ चाटिरा’ छ । डाक्टर श्रीवास्तवलाई भनेर भोलि यसलाई इन्जेक्सन दिन लाउँछु ।’
मैले कुकुरतिर हेरेँ । ऊ दीनहीन देखिन्थ्यो ।
मैले अनुमान लगाएँ, यस्तो भएको हुनुपर्छः
यो बडो शानले ढोकाबाट बाहिर निस्कियो होला । ती कुकुरमाथि भुक्यो होला । ती कुकुरले भने होलान्– ‘ओई, आफ्नो वर्ग चिन्दैनस् ? ढोँग गर्छस् ? यो पट्टा र जन्जिर लगा’छस् । बसीबसी खान्छस् । बार्दलीमा घुम्छस् । हामीलाई शान दिन्छस् । तर, जब हामी राति कुनै आसन्न संकटमा भुक्छौँ, त्यतिबेला तँ पनि हामीसँग भैहाल्छस् । संकटमा हामीसँगै छस्, तर फेरि हामीमाथि नै भुक्छस् । हामीमध्येको होस् भने निस्की बाहिर । छोड्दे यो पट्टा र जन्जिर । छोड्दे यो आराम । फोहरमा फालिएको अन्न खा, नभए चोरेर खा । धुलोमा लडीबुडी गर ।’
मैले अनुमान लगाएँ, यो फेरि उनीहरूमाथि भुक्यो होला । उनीहरूले यसलाई झम्टिए होलान् । के भने होलान् भने, ‘तँलाई ढोँगी, धोकेबाज । पख्, तेरो झुटो शान र अहंकार अहिल्यै नष्ट गरिदिन्छौँ ।’ त्यसपछि यसलाई दपेटे होलान्, पछारे होलान्, टोके होलान् र धुलो चटाए होलान् ।
कुकुर चुपचाप पल्टिएर आफ्नो वास्तविक वर्गबारे चिन्तन गर्दैछ ।
अनुवादः नरेश ज्ञवाली

 

Leave A Comment