'ज्यानको बाजी थापेर कति गाइयो, गाइयो!'

सोमबार, २९ कार्तिक २०७३, ०१ : २८ शुक्रवार
'ज्यानको बाजी थापेर कति गाइयो, गाइयो!'

धेरै वर्ष जनताका गीत गाउनुभयो। अहिले के गर्दै हुनुहुन्छ?

अहिले पनि हामीहरू गीत रेकर्डिङ नै गर्दैछौँ। समय र जीवनलाई सही बाटोमा डोर्‍याइरहने, कहिल्यै पुराना नहुने गीतहरू गाइरहेका छौँ। हाम्रा गीतहरू संकलन गरेर सीडीमा ल्याउँदैछौँ। कति चक्कामा थिए। कतिलाई रिएरेन्ज गरेका छौँ। कतिलाई डिजिटलाइज्ड गर्दैछौँ। नयाँ संगीत र गीत पनि बनाइरहेका छौँ।

अहिलेसम्म कति गीत पुगे होलान्?

हामी आफ्ना मात्र गीत गाउँदैनौँ। अरूका राम्रा गीत पनि गाउँछौँ। यस क्रममा हजारौँ गीत गाइयो। २०२४ सालदेखि सार्थक गीत गायौँ। जीवनलाई सुमार्गमा लैजान गीत–संगीतको शक्ति प्रयोग गर्दै गीतहरू बनायौँ। करिब ५० वर्षमा धेरै गीत गाइयो। यकिन संख्या भने याद छैन।

तपाईंको संगीत यात्राको विषयमा डकुमेन्ट्री पनि निर्माण भएछ है?

हामीले यो ५० वर्षमा के गीत गायौँ, त्यसले के प्रभाव पर्‍यो त भन्ने विषयमा धेरै शोध भएका छन्। यही विषयमा प्रणय लिम्बू र डम्बरकृष्ण श्रेष्ठ 'अनुशील'को निर्देशनमा डकुमेन्ट्री बनेको छ। यसले हामी र अरूलाई पनि ५० वर्षमा के गरियो भन्ने समीक्षा गर्ने अवसर दिएको छ।

जनता जगाउने गीत गाउँदाका संघर्षका दिन कसरी सम्भि्कनुहुन्छ?

सत्तामा अहिले वामपन्थीहरू चढेका छन्। त्यो समयमा पञ्चायतले कम्युनिस्टहरू, त्यसमा पनि झापालीहरूलाई देख्नेबित्तिकै घुँडामुनि गोली हान्थ्यो। त्यो बेलाका कम्युनिस्ट नेताहरू भागेर इन्डिया गए। कोही भूमिगत भए, कोहीलाई जेलमा हालियो। केहीले चाहिँ पञ्चायतमै पसेर आफ्नो सिद्धान्तलाई भ्रष्ट पारे। गद्दारी गरे भनौँ न। त्यस्तो बेलामा हामीले गीत गाएर कम्युनिस्ट भनेका दुःखी–गरिबका समानताका निम्ति, न्यायका निम्ति लड्ने मान्छे हुन् र उनीहरू बूढाबूढी तथा बालबच्चालाई माया गर्छन् र जीवनप्रति जिम्मेवार हुन्छन् भनेर बतायौँ। पञ्चायती व्यवस्थामा आज मार्ला कि, भोलि मार्ला कि, अहिल्यै मार्ला कि भन्ने अवस्थामा हामी मात्र थियौँ, मैदानमा गीत गाउने। ज्यानकै बाजी थापेर कति गाइयो, गाइयो!

सुरुमा कस्ता गीत सुन्नुहुन्थ्यो?

सुरुमा त हिन्दी गीत सुनेर आएका थियौँ। ग्रामोफोन रेकर्ड गीतहरू सुन्थ्यौँ। सुरुमा त कहाँ जनवादी गीत हुनु? जम्मै प्रेम–प्रणयका गीत नै सुन्दै आयौँ। भजन पनि सुन्थ्यौँ। नेपाली गीतमा मित्रसेनका गीत सुन्थ्यौँ। राणाका दरबारमा उनीहरूले बनाएका गायिकाहरूका रेकर्ड गीत सुन्थ्यौँ। मेलवादेवी लगायतका गीत सुन्थ्यौँ। गाउँका युवतीहरूलाई ल्याउने, तालिम दिने, अरबियन, फारसी, हिन्दी भाषामा नाटकहरू सिकाउने गरिन्थे। त्यसक्रममा ग्रामोफोनमा रेकर्ड हुने गीतहरू हामी सुन्थ्यौँ।

जनताका गीत गाउनुपर्छ भनेर चाहिँ कसरी ऊर्जा मिल्यो?

हामी सुरुमा त्यसरी जनताका गीत गाउँछौँ भनेर आएका थिएनौँ। खालि मनोरञ्जनका लागि, आनन्दका लागि भनेर आएका थियौँ। तर, गीत गाउँदै जाँदा एकदुई गीत यस्ता बने कि भोका–नांगाका पक्षमा बने, न्याय र समानताका पक्षमा बने। ती गीत–संगीत गरेर सुनाउनेबित्तिकै सबैले मन पराए। खासमा मञ्जुलले लेखेको टाइममा त्यस्ता गीत बनाइए। तर, २००७ सालको समयमा पनि केही क्रान्तिकारी गीत कांग्रेसले गाएको थियो।

पहिला चाहिँ अरूले जस्तै मायाप्रेमका गीतहरू नै गाउनुहुन्थ्यो?

रेडियो नेपालमा जम्मै त्यस्तै गीत त गायौँ नि हामीले। आउने बाटो त त्यही हो। तर, पछि अहो, यत्रो संसार पाल्ने, संसार बनाउने, हाम्रो भोक मेटाउने, शहर बसाउने, लुगा बनाउने, खेतबारी बनाउने शक्तिहरूलाई चाहिँ हामीले किन हेला गरेको भन्ने लाग्यो। त्यसपछि उनीहरूका पक्षमा गीत बनाउने र गाउने गर्न थाल्यौँ।

त्यस्तो चेतना आउन पनि कुनै प्रेरणाले काम गर्‍यो होला नि?

मेरो दाइ कांग्रेस हुनुहुन्थ्यो, तर प्रगतिशील कांग्रेस। २००७ सालको क्रान्तिमै जसको जोत उसको पोत, क्रान्तिकारी भूमि सुधार, महिला अधिकार, समानता, हली–गोठालालाई शक्तिशाली बनाउने, उनीहरूलाई जमिन दिने, भूमिमालिक बनाउने, शोषण बन्द गर्ने, छुवाछुतको अन्त्य गर्नेजस्ता नारा ल्याएर दाइहरूले संघर्ष गरेको देखेका थियौँ। हामीमा पनि त्यसैको प्रभाव परेको थियो।

कलाकार बन्ने पहिलादेखिकै सपना थियो?

होइन। कलाकारै हुन्छु भन्ने मलाई सय मनमा एक मन पनि थिएन। खालि आनन्द र मस्तीका लागि गीत गाउने मान्छे थिएँ। २०२३ सालसम्म रेडियो नेपालमा मायाप्रीतिका गीतहरू गायौँ। तर, पछि न्याय र समानताका गीत गाउनेबित्तिकै सबैले प्रोत्साहन दिए, 'आहा, यस्तो गीत पो गाउनुपर्छ त' भनेर। त्यसपछि त्यस्तै गीतमा लाग्यौँ।

कलाकारितामा कसरी आउनुभयो?

मेरो बा जागिरे हुनुहुन्थ्यो। पाल्पामा मेरो जन्म भयो। त्यसपछि बाको जागिरसँगै डोटी पुगियो। त्यसपछि सिन्धुपाल्चोक, काठमाडौँ पुगियो। तेह्रथुममा आठ वर्ष बसेँ। त्यहाँको सिंहवाहिनी स्कुलको एसएलसीको पहिलो ब्याचको विद्यार्थी हुँ म। तर, एसएलसी परीक्षा चाहिँ धरानको पब्लिक हाइस्कुलबाट २०१६ सालमा दिएँ र पास गरेँ। तेह्रथुमको सेन्टर धरानमा परेको थियो। तेह्रथुममा हुँदा नै २०१४/१५ सालदेखि नै गाउँथेँ। साथीहरूले 'यसले पनि गाउँछ, मादल बजाउँछ' भनेर सरहरूलाई भनिदिन्थे। त्यसपछि स्कुलका कार्यक्रममा मलाई गाउन लगाउँथे। पछि बालकलाकार भनेर तेह्रथुममा हुने सांस्कृतिक कार्यक्रमहरूमा मलाई बोलाउन थाले। मादल पनि बजाउँथेँ, तबला पनि बजाउँथेँ। त्यसपछि त कलाकारका रूपमा तेह्रथुममा चिनिएँ।

२०१८ सालमा बुबा रिटायर्ड हुनुभयो। त्यसपछि ओखलढुंगा गयौँ। त्यहाँका कार्यक्रममा गीतहरू गाइयो। त्यसपछि दिक्तेलतिर गाइयो। पहिला ओखलढुंगा, दिक्तेलमा टिचर भएर काम गर्दा पनि गाउँथेँ। जहाँ गए पनि गीत गाउने गर्दागर्दै २०१९ सालमा काठमाडौँमा रेडियो नेपालको वार्षिकोत्सवको अवसरमा प्रतिनिधि भएर गएँ। मैले लोकगीत गाएको थिएँ। त्यहाँ गाएपछि प्रतियोगितामा त केही भइएन तर नातिकाजी दाइले 'ओहो, तिम्रो गीत त अरूभन्दा बेग्लै छ, गीत गाउन नछोड्नू है' भन्नुभयो। उहाँको भनाइले हौसला मिल्यो। 'काठमाडौँ आयौ भने हामी छौँ' भनेर नातिकाजी, शिवशंकर दाइहरूले भन्नुभयो। त्यही आशाले २०२१ सालमा काठमाडौँ गयौँ। एक वचनले जीवन परिवर्तन हुन्छ।

काठमाडौँमा उहाँहरूले हामीलाई गीत गाउने व्यवस्था मिलाइदिनुभयो। त्यसबेला रेडियो नेपालमा एउटा गीत रेकर्ड गरेको पारिश्रमिक १० रुपैयाँ दिन्थ्यो। तर, हामीलाई पैसा दिएनन्। हाम्रो पैसा त्यहीँका मान्छेले खाइदिँदा रहेछन्। हामीले जाली गरेर पैसा खाएकोमा मुद्दा गर्‍यौँ। अनि, हामीलाई रेडियो नेपालमा गीत गाउन बन्देज गरियो। 'हाम्रै गीतले नामी हुने, अनि हाम्रै पैसा खाइदिने तिमीहरू भ्रष्टाचारी हौ' भनेर विरोध गर्‍यौँ।

राल्फा समूह कसरी जन्मियो?

पारिजात दिदीले हाम्रो गीत रेडियोबाट सुन्नुहुँदो रहेछ। रेडियो छाडेपछि उहाँले बोलाउनुभयो। हामीले गीतहरू सुनायौँ। त्यतिबेला मदन पुरस्कार पाएर चर्चित हुनुभएकी उहाँले 'तिमीहरूलाई परिचित गराउनुपर्‍यो' भनेर राल्फा समूह निर्माण गरेर हाम्रा गीतहरू ठूलठूला संगीतज्ञ, राजनीतिज्ञ, साहित्यकारलाई कोठामै बोलाएर सुनाउन थाल्नुभयो। त्यसपछि हाम्रो कार्यक्रम लिएर नेपालका विभिन्न ठाउँ र भारतका दार्जिलिङ, कालिम्पोङ, असमसम्म पुग्नुभयो। यसरी हाम्रा गीतहरूको परिचय गराउनुभयो। त्यसपछि हाम्रा गीतहरूको चर्चा भयो। हामी पनि स्थापित भयौँ। त्यतिबेला मञ्जुलले लेखेको 'भोकै मर्ने महाकविका पेटका सारंगीहरू' गीत मेरै संगीतमा गाइयो। त्यो गीत सुन्नेहरूले यस्तो गीत पो गाउनुपर्छ भनेर हौस्याए। 'मायाप्रीतिका, तरुनीतन्नेरीका गीतको के अर्थ छ र, आहा भन्यो रमाइलो मान्यो सकियो, यस्ता गीत गायौ भने तिमीहरूको पनि पहिचान बन्छ र संगीतमा पनि योगदान हुन्छ, महŒव हुन्छ' भनेर बुद्धिजीवीहरूले भने। त्यसपछि हामीले निश्चित लक्ष्य बोकेका सार्थक गीतहरू गाउन थाल्यौँ। जीवनलाई प्रस्ट पार्ने, जीवनबोध गराउने, सुमार्ग देखाउने गीत गाउन थाल्यौँ।

त्यो समयमा त्यस्ता गीत गाउन कतिको गाह्रो थियो?

रेडियो नेपाल छाडेर यस्ता गीत गाउन थालेपछि सरकारले जनता भड्काए भन्न थालिहाल्यो। हामी पञ्चायतको ठाडै विरोध गरेर गीत गाउँथ्यौँ। त्यसैले पनि हाम्रा गीतलाई व्यवस्थाविरोधी गीत भन्थे। पञ्चायती व्यवस्था नढाली देश उँभो लाग्दैन भनेर गीत गाउँथ्यौँ। क्रान्तिकारी गीतहरू पनि थिए। त्यस्तै गीतहरू गाउँदै गाउँगाउँ जान थाल्यौँ। तर, गाउँलेहरूले 'यस्ता क्रान्तिकारी गीत हामी बुझ्दैनौँ, हामीले बुझ्ने गीत गाऊ' भन्न थाले। त्यसपछि 'कोही त भने जहाजमा सरर, कोही त भने पसिना तरर हाम्रो नेपालमा' गीत बनायौँ, २०२७/२८ सालतिर। 

त्यसबेला कुनकुन गाउँमा यस्ता गीत गाउनुहुन्थ्यो?

पूर्वका गाउँहरूमा धेरै गीत गायौँ। त्यसबेला धेरै समय त धरानमा बसेर भूमिगत शैलीमा गीतहरू कम्पोज र रेकर्ड गर्थ्यौं। पूर्वका धनकुटा, इलाम लगायतका गाउँगाउँमा कार्यक्रम गर्दै हिँड्थ्यौँ मञ्जुल र म। २०३२ देखि ३६ सालसम्म त धरान हाम्रो अखडा नै थियो। धरानको चतरालाइनमा अहिलेका फुटबल प्रशिक्षक राजुकाजी शाक्यको घरमा मेरो भाइ अरिमले रेडियो शृंखला भनेर दोकान थापेको थियो। त्यही घरभित्र लुकेर जनवादी गीतहरू बनाउँथ्यौँ। त्यसैको छेउमा एउटा चिउरा मिल थियो। त्यहाँ ढोका थुनेर क्यासेट प्लेयरमा चक्का लगाएर गीतहरू रेकर्ड गर्थ्यौं।

त्यतिबेला तपाईंहरू राजनीतिक दललाई सहयोग गर्न गीत गाउनुहुन्थ्यो।

हो। त्यसबेला माले पार्टीलाई स्थापित गराउन भनेर हामी लागेका थियौँ। २०२९ तिर राल्फा छाडेपछि हामी मालेतिर जोडिएका थियौँ। त्यसैले गीत गाएर मालेको अभियानलाई सफल पार्न लागिपरेका थियौँ।

राल्फा चाहिँ किन छाड्नुभयो?

त्यहाँभित्र पनि त्यहि त हो नि। अलिकति मान्छेमा अहम् भयो। लडाउनका लागि शक्तिहरू पनि आउन थाले। सुरुमा पारिजात दिदी, रायन, अरिम, मञ्जुल, म, निनु चापागाईं, निरञ्जन सापकोटा, नोरेन श्रेष्ठ लगायत थुप्रै थियौँ। राल्फाका एक हूल कलाकार पारिजात दिदी, निनु, रायनहरू मोहनविक्रम, निर्मल लामाको कम्युनिस्ट पार्टी चौथो महाधिवेशन मसालमा लागे। अरिम, मञ्जुल र म चाहिँ झापाली माले कम्युनिस्ट पार्टीतिर लाग्यौँ। यसरी हामी राल्फा कलाकार दुइटा कम्युनिस्ट पार्टीमा बाँडिएर गीत गाउन थाल्यौँ।

फरक–फरक पार्टीमा भएपछि गायन पनि फरक भयो कि?

गीत त दुवैतिर त्यही थिए। पञ्चायतविरोधी र कम्युनिस्टका गीतहरू। गीत चाहिँ उस्तै गाउने तर दुइटा पार्टी भएपछि सम्बन्ध चाहिँ राम्रो भएन।

दुवैको उद्देश्य त एउटै थियो होला?

दुवै पार्टीको नीति एउटै हो। कार्यक्रम पनि एउटै खाले हुन्थे। नेपालमा जनवादी सत्ता स्थापना गर्ने भन्ने नै हुन्थ्यो। नेपालका कम्युनिस्टहरूलाई सत्तामा पुर्‍याएर दुःखी–गरिबको शासन ल्याउने भन्ने थियो पार्टीको नीति। हामी कलाकारको पनि त्यही लक्ष्य थियो। हामीले जनतालाई मालिक बनाउने भनेर अभियानै चलायौँ। तर, पछि गएर बिस्तारै परिवर्तन हुँदै त्यही पञ्चायती व्यवस्थाको सत्तासँग गएर उनीहरूले आत्मसमर्पण गरे। नेताहरू भूमिगत हुँदा, पक्राउ पर्दा पनि हामी 'गाउँगाउँबाट उठ' भन्दै गीत गाएर हिँड्थ्यौँ।

'गाउँगाउँबाट उठ' गीत कसरी सिर्जना भयो?

२०३१ सालमा श्याम तमोटलाई भोजपुरमा एउटा स्कुलको कार्यक्रममा 'सर, भोलि एउटा स्वागत गीत चाहियो' भनेर बनाउन लगाएका रहेछन्। स्कुलको स्वागत गीतजस्तो लेखेर श्यामले गाउनुभएछ। उहाँहरूले त गाउनुभयो, सकियो। तर, त्यहाँ एउटा केटोले त्यो गीत सुनेर खूब मन पराएछ। त्यसले काठमाडौँ आएर 'दाइ, मैले भोजपुरमा एउटा गीत सुनेँ' भन्यो र गाएर सुनायो। त्यसपछि मैले त्यो गीत गाउन थालेपछि गीतले चर्चा पाउन थाल्यो र व्यापक भयो। त्यतिबेलासम्म श्याम तमोटसँग मेरो भेट भएको थिएन। 

तपाईंलाई त्यो गीत सुनाउने केटो को थियो?

त्यो एउटा विद्यार्थी थियो। नाम याद छैन। त्यसपछि कहाँ गयो, बिर्सिएँ। संयोगले त्यो गीत मकहाँ आइपुग्यो। सबैले मन पराएपछि अरू भाषामा पनि यो गीत गाइयो। त्यसो गर्दा गर्दा यो अन्तर्राष्ट्रिय भइसक्यो।

तपाईंहरूले २०३६, २०४६ देखि २०६२/६३ सालका आन्दोलनका बेला जनता जगाउन यस्ता गीत गाउनुभयो। तर, जुन उद्देश्य बोकेर यस्ता गीत गाउनुभएको थियो, नेताहरूले त्यसअनुसार काम गरेनन्। कस्तो लाग्छ?

सारै दुःख लाग्छ। बेइमानी भयो। करोडौँको जीवनमा घात भयो। त्यो बेला झलनाथ खनाललाई कसले चिन्थ्यो? खड्ग ओली कहाँ थिए? मदन भण्डारी हामीलाई धरानमा पार्टीको क्लास लिन्थे। भूमिगत कालमा मदन भण्डारीको नाम कमरेड सागर थियो। हामीलाई यस्तो गीत गाउनुपर्छ भनेर क्लास लिने मान्छेले २०४६ सालपछि मन पर्ने गायक नारायणगोपाल हो भने। जब कि उनीहरूले नै हामीलाई क्लास लिँदा 'नारायणगोपाल भनेको स्वरले भ्रमित पारेर गीत गाउने मान्छे हो' भन्थे। उनका गीत 'बाहिर मिठो, गुलियो लाग्ने तर भित्र विष हालेको हुन्छ, सुगर कोटेड गीत' भन्थे, हामीलाई प्रशिक्षणमा।

उनीहरूलाई एउटा कार्यकर्ता बनाउन कति समय लाग्थ्यो। हामीले गीत सुनाएर हजारौँलाई कार्यकर्ता बनायौँ। जुन गीतले उनीहरू माथि पुगे, नेता भएपछि, शहरमा पुगेपछि त्यही विष हालेको गीत भन्नेहरूले नै मन पर्ने गायक नारायणगोपाल भन्दा उनीहरूको नियत के रहेछ भन्ने बुझियो।

अहिले खनाल, ओलीसँग भेट हुन्छ?

उनीहरू हामीलाई देख्नेबित्तिकै तर्सिन्छन्। उनीहरू हामीलाई भेट्नै चाहँदैनन्। हामी पनि किन भेट्न जाने उनीहरूलाई? तर, खड्ग ओली 'हामी उहाँहरूकै गीतबाट माथि उठेका हौँ, हामीले गल्ती गर्दा गाली गर्ने अधिकार छ उहाँहरूलाई' भन्छन् अरे। उनीहरूकै कार्यकर्ताले सुनाउँछन्।

केही वर्षअघि तपाईं माओवादीलाई भोट माग्दै पनि हिँड्नुभयो। अहिले फेरि असन्तुष्ट देखिनुहुन्छ। किन?

हो। त्यसबेला अन्तिम विकल्पका रूपमा माओवादीलाई भोट माग्यौँ। बीसौँ हजार गरिब–दुःखी जनताका छोराछोरीले बलिदान दिए। 'यिनीहरूले धोका दिँदैनन्, यिनीहरू सेनै बनाएर लडे, त्यसैले अन्तिम शक्ति माओवादी हो' भन्ने सोच्यौँ। कांग्रेस त्यही हो, माले, एमाले त्यो रूपमा गएर भ्रमित भयो, त्यसैले माओवादीले हामीले त्यसबेला सोचेको सपना पूरा गर्छ भन्ने आशा जाग्यो। त्यसैले भोट माग्यौँ। तर, मैले माओवादीकै कार्यक्रममा माओवादीले धोका दियो भने जनताले दण्डित गर्नुपर्छ भनेको थिएँ। उनीहरूले किन हामीलाई कार्यक्रममा बोलाए? थाहा छैन। तर, मैले उनीहरूका हरेक कार्यक्रममा 'तपाईंहरूले धोका दिनुभयो भने जनताले अरूलाई भन्दा डबल दण्डित गर्नुपर्छ' भनेँ। उनीहरूलाई कांग्रेसले भोट हाले, भित्रभित्र एमालेले भोट हाले। यिनीहरूले केही गर्न सक्छन् कि एक पटक भोट दिउँ्क भनेर माग्यौँ। तर, करोडौँको आशामा कुठाराघात भयो।

अहिले चाहिँ कुनै दलमा हुनुहुन्न?

अब नेपाली जनताको माझमा छौँ। जनताकै रूपमा छौँ।

अझै नेपाली जनतालाई जगाउनुपर्छ भन्ने लाग्छ?

अवश्य। अझै जगाउनुपर्छ। नेपालीले नयाँ शक्ति बनाउन अघि बढ्नुपर्छ। त्यो भनेको बाबुराम भट्टराईको नयाँ शक्ति चाहिँ होइन। इमानदार, सेवा गर्ने शक्ति बनाउनुपर्छ। त्यसको पहल जनताले नै गर्नुपर्छ।

तपाईंहरूलाई जतिबेला माओवादीले बोलाए, त्यसबेला माओवादी नेताहरूलाई केही सुझाव दिनुभएन?

प्रचण्डकै पुराना अन्तर्वार्ता हेर्नुस् न। 'गाउँगाउँबाट उठ', 'बसाइँ हिँड्नेको ताँतीले' जस्ता गीतले चेतना जगाएको भनेका छन्। अलि पछि आएर उनले पनि नारायणगोपालै मन पर्छ भन्न थाले। के हो यो? नैतिक पतन हो कि अज्ञान पो हो कि? जनतामा भ्रम छरेको पो हो कि? यिनीहरूमा राजनीतिक इमानदारी, चेतना पनि थियो कि थिएन भन्ने शंका लाग्न थाल्यो। सत्ताप्राप्तिका निम्ति तिकडम पो रचेका हुन् कि, षडयन्त्रको जाल पो हानेका हुन् कि भन्ने लाग्छ। यिनीहरूले राजनीतिक सिद्धान्त पनि राम्रोसँग पढेका छैनन् जस्तो लाग्छ। राजनीति भनेको चाकडी, चुक्ली, साम दाम, दण्ड, भेद, धम्क्याउने, तर्साउने मात्र बुझेका छन् यिनीहरूले। त्यही भएर उनीहरूलाई नेपाली जनताले पछिल्लो पटक साथ दिएनन्।

अझै गीत लेख्दै, गाउँदै हुनुहुन्छ। कहिलेसम्म जनता जगाउने अभियान जारी रहन्छ?

जनताले जबसम्म मालिक हुने चेतना बोक्दैनन्, तबसम्म यो राजनीतिक धोकाधडी चलिरहन्छ। मनपरी गर्नेलाई समातेर कसैले दण्डित गर्न सक्दैन भने उसले जे पनि गर्छ। जनतालाई अझै जगाउनुपर्छ।

तपाईं बारम्बार जनता जनता भन्नुहुन्छ। अहिले स्वतन्त्र जनता कति होलान् र?

त्यही भएको हुनाले त नेताहरूले ठूलो जाल, षडयन्त्र चलाउन पाएका छन्। जनता भनेको को हो? नेपालीहरूले प्रस्ट बुझ्नुपर्छ। जो श्रम गरेर खान्छन्, ती जनता हुन्। जो श्रम नगरी, ठगी गरेर खान्छन् ती जनता होइनन्। ती त जनताका शत्रु हुन्। जनताहरू कुनै पार्टीका होइनन्, देशका हुन्। हाम्रो खुनपसिनाबाट जम्मा भएको राजस्व लुटिखानेहरूको पक्षमा लाग्ने पनि जनता हुन्छ? अहिले जनताले बुझ्न थालिसकेका छन्। उनीहरूमा चेतना आउन थालिसकेको छ।

अहिले नयाँ बनाउँदै गर्नुभएका गीत चाहिँ कस्ता छन्?

'उहिले जस्तो छैन है अब नेपालमा, तिम्रो हुकुम चल्दैन है अब नेपालमा' जस्ता नयाँ गीतहरू छन्।

पहिला जनता जगाउनुभयो, अब नेतालाई नै जगाउनुपर्ने भएको हो कि?

होइन। जनतालाई नै जगाउन आवश्यक छ। नेताहरूलाई चाहिँ सचेत गराउने हो। अब जनता मालिक बन्छन्, तिम्रो मनपरी चल्दैन भनेर। भोट लिने बेलामा चाहिँ जनता मालिक भन्ने, भोट पाएपछि जनतालाई नोकर बनाउनेहरूलाई सचेत गराउने हो। अब तपाईं हाम्रो इमानदारीमा देश चल्नुपर्छ। नेपालमा अहिले जताततै बिचौलिया छन्। भ्रष्टाचार चरम सीमामा पुगेको छ।

राजनीति पहिला दरबारमा थियो। पछि हामीले पार्टीमा ल्यायौँ। अब जनतामा ल्याउँदैछौँ। जसले राजनीति गर्छ, उसले सम्मान पाउँछ, शक्ति पाउँछ, सत्ता पाउँछ, सम्पत्ति पाउँछ। हिजो राजासँग अहिले पार्टीसँग भएका ती सम्मान, शक्ति, सत्ता र सम्पत्ति अब जनताका हुन्छन्। हिजो हामीसँग बाटो खर्च माग्ने नेताहरू अहिले अर्बौं, खर्बौंको मालिक भए। अब जनता मालिक हुने दिन आउँछ।

नेताहरूबाट 'युज' भइयो जस्तो लाग्दैन?

हामीलाई युज गरेर राम्रो काम गरेको भए त हुन्थ्यो, दुरुपयोग गरे। देशका लागि भन्दा हाम्रो कला पनि आफ्ना लागि मात्र प्रयोग गरे। कलाकारलाई प्रयोग गरेर सिंगान पुछे जसरी फालिदिए। युज एन्ड थ्रो मात्र गरे। त्यसैले त अहिले 'म यो पार्टीको मान्छे' भनेर नेताहरूले गौरव गर्ने अवस्था छैन। जनताले थुक्छन्। यसरी पार्टी र नेता बदनाम भएका छन्। देश सिद्धिसक्यो।

सिद्धेको देश कसरी बन्ला त?

सबैभन्दा पहिला अब हरेक अड्डामा जनताका स्वयंसेवक बनाएर बिचौलियालाई विस्थापित गराउनु आवश्यक छ। अहिले त पियन हुनका लागि पनि एक लाखभन्दा बढी घुस खुवाउनुपर्ने अवस्था छ। योभन्दा ठूलो त्रासदी के होला? अब नयाँ चेतनास्तर भएका जनताले मिलेर देश बनाउनुपर्छ।

तस्बिरः अनुशील श्रेष्ठ

Leave A Comment