धरानको कालो बङ्गुर हो कि सुँगुर हो ?

बुधबार, ०८ असार २०७३, १० : ०१ शुक्रवार , Kathmandu

–डा. बलदेव शर्मा अधिकारी
वक्ताले हेलाँ गरेर अथवा हेपेर प्रयोग गरिदिएपछि नेपालका धेरै जातिले थर परिवर्तन गरे । नेवार भन्ने शब्द नेपालभाषा अर्थात् नेवार भाषाको नेवाःबाट बनेको हो । विसर्गलाई रेफीकरण गरिएको मात्रै हो । काठमाण्डौबाहिर नेवारलाई नेवार भनेको मन पर्दैन । दमाहा बजाउने वाद्यवादकको थर दमाही हुँदै ‘दमाईं वा दमै’ हुन पुगेको हो । धादिङ खाल्टे गाविस डाँडागाउँका मेरा अनन्य मित्र रामप्रसाद खतिवडाका सुपुत्र दीपकराज खतिवडा त्यही वाद्यवादनको विकासका लागि सक्रिय भएर लागेका छन् । हाम्रा भगवान् कृष्णसँग बाँसुरी, शिवसँग डमरु तथा विष्णुसँग शङ्ख कहिल्यै टुट्दैन । भगवती सरस्वती वीणा नलिई कतै जान्नन् । दमाहा जस्तै गरी डमरु पनि छालाकै बन्छ । भगवान् शिव पनि दमाईं हुन् नि ! आशयलाई दिनुपर्ने दोष हामी शब्दलाई पो दिँदै छौँ । गाइने, दमाईं आदि शब्दहरू सम्मानित शब्द हुन् । संस्कृतको गायक नै नेपालीको गाइने हो ।
धव अर्थात् पति नभएकै कारण नारीलाई विधवा भनिन्थ्यो अनि पत्नीविहीन पतिलाई चाहिँ विधुर भनिन्छ । कुन चाहिँ नवोदित भाषाशास्त्रीले बाठो पल्टिएर विधवालाई ‘एकल महिला’ भनिदियो । कथित महिला–अधिकारवादीहरूले सहर्ष स्वीकार गरे । एकजना लोग्नेको मृत्यु हुँदैमा कुनै पनि महिलालाई एकल भन्न पाइन्छ ? तिनका छोराछोरी होलान्, आमाबाबु होलान्, दाजुभाइ र दिदीबहिनी होलान्, हितैषी मित्रहरू पनि होलान् । हाम्रा आमा, माइजू, काकी, भाउजूबुहारी अथवा दिदीबहिनीहरू कसरी एकल भए ? एकलको अर्थ एक्लो वा प्रकारान्तले एक्ली पनि हो । त्यसो भए विधुर पुरुषलाई चाहिँ ‘एकल पुरुष’ किन भनिएन ? कान छाम्ने कि कान लैजाने कल्पित कागको पछि दौडिने ? यस्ता शब्दहरूमा परिवर्तन गर्नुपर्ने आवश्यकता सम्बन्धित अगुवाहरूले किन देखेनन् अथवा देख्न चाहेनन् ? बहुसंख्यकहरू अन्य भनिए । तिनीहरूले झिनै भए पनि विर।ेध देखाए—अन्यको विकल्पमा ‘विविध’ भन्ने शब्द राख्न सकिन्थ्यो । काठमाडौँका मासु–पसलहरूमा लेखिएको देख्नुपर्छ, “यहाँ धरानको कालो बङ्गुरको मासु पाइन्छ ।” मैले पाएको जानकारीअनुसार धरानको प्रसिद्ध व्यवसायमध्ये सुँगुर–पालन पनि एक हो । तन्त्रदेव बूढा सुब्बालाई सुँगुरको भोग दिइँदो रहेछ । बरु बुङ्गुर वा बङ्गुरलाई ‘सेतो सुँग्ुर’ भनिदिएको भए हुन्थ्यो । संस्कृतमा शूकर शब्दले सुँगुर र बँदेल दुवैलाई बुझाउँछ । वनमा हुने सुँगुर वनेल वा बँदेल भयो । घरपालुवा चाहिँ सुँगुर भयो । वनेललाई विशिष्टीकृत गर्ने संस्कृतको अर्को शब्द वराह हो । हाम्रा आराध्य भगवान्ले वराहको अवतार पनि लिएकै हुन् । सुँगुरलाई सुँगुर भन्दैमा अनादर गरिएको भन्न मिल्छ ? गालीको भाषामा ‘बोको’ पनि नमीठो सुनिन्छ नि ! हामीलाई आफ्नै सार्थक शब्द ‘उछिन्यो’ भन्न छोडेर ‘ओभर टेक ग¥यो’ भन्नुपर्ने किन ? ‘हेर्न’लाई हेपेर ‘नजर लाउन’ तिर किन लाग्ने ? सुँगुर शब्द नमीठो भए कालो पनि त मीठो नहोला नि ! बरु अतिथि बुङ्गुर वा बङ्गुर चाहिँ ‘सेतो सुँगुर’ हो । सुँगुरलाई ‘कृष्ण शूकर’ भनिदिऊँन त । सुँगुरको सृष्टि धरानका तन्त्रदेव बूढा सुब्बाले पो गरे कि ! टुप्पो काटिएको निगालो पलाउने त्यस विचित्र र पवित्र तन्त्रभूमिमा परम्परागत प्रसिद्ध सुँगुरको नाम–परिवर्तन ‘पशु–अधिकारकर्मी’ले गरिदिएछन् क्यारे !

 

Leave A Comment