रामकृष्णका प्रिय १० सुर

शुक्रबार, २६ कार्तिक २०७३, १२ : ४८ शुक्रवार , Kathmandu
रामकृष्णका प्रिय १० सुर

लोकप्रिय गायक रामकृष्ण ढकाल गीत गाउन मात्र होइन, सुन्न पनि उत्तिकै रुचाउँछन् । उनी नेपाली, हिन्दी र अंग्रेजी भाषाका गीत सुन्छन् । आफूलाई प्रिय लाग्ने अरूका पाँच र आफ्ना पाँच गीतबारे उनले शुक्रवारलाई बताएका छन् ः

अरूका ५
चौतारीमा बसेर रुन पाऊँ
गायिका अरुणा लामाको यो गीत मलाई निकै मन पर्छ । गीतमा गहिरो भाव छ । शब्द र संगीत दुवै मन छुने खालका छन् । यो गीत मैले सय पल्ट सुनेको छु होला । ९० पल्ट त रोएँ होला ।

प्रेयसीका यादहरू
नारायणगोपालका सबै गीतमध्ये मलाई अत्यन्तै मन पर्नेमा पर्छ यो गीत ।  उहाँका अरू गीतभन्दा यो फरक पनि लाग्छ । पश्चिमा संगीतलाई अपनाउँदै अत्यन्तै राम्रोसँग बनेको गीत हो यो । म्युजिक एरेन्जमेन्ट, कम्पोजिसन सबै राम्रा छन् । मेरो अलटाइम प्रिय गीत हो यो ।

हुस्न पहाडों का क्या कहेना
फिल्म ‘राम तेरी गंगा मैली’मा लता मंगेशकर र सुरेश वाडकरले गाउनुभएको यो गीत मलाई एकदमै मन पर्छ । गीत पहाडी पृष्ठभूमिमा छ, जसकारण म नेपालसँग जोडेर पनि सुन्छु । कम्पोजिसन मीठो छ । गायकीको त कुरै नगरौँ, भव्य छ ।

ओ मेरो प्रियतम
गायिका सुकमित गुरुङको यो गीत मलाई एकदमै प्रिय लाग्छ । शब्द र कम्पोजिसन एकदमै मन परेको हो । गीतका शब्द निकै ‘टची’ लाग्छन् ।

हजार सपनाहरूको माया लागेर आउँछ
गायक भक्तराज आचार्यको यो गीत पनि असाध्यै सुन्छु म । संघर्षका बेलामा स्टेजमा मैले धेरैपल्ट गाएको गीत पनि हो यो । गीतको गायकी मीठो लाग्छ । शब्द र संगीत उस्तै सशक्त छन् ।

आफ्ना ५
जिन्दगीले यसरी धोका दियो कि
मैले फिल्म ‘झझल्को’का लागि गाएको यो गीत निकै प्रिय लाग्छ । उत्तमलाल श्रेष्ठको शब्द र शम्भुजित बास्कोटाको संगीत रहेको यो गीतबाट नै मेरो पाश्र्वगायनमा प्रवेश भएको हो । नारायणगोपाललाई गाउन दिइएको गीत थियो यो । उहाँ बित्नुभएपछि मैले गाउने मौका पाएको थिएँ । मुम्बईमा रेकर्ड भएको यो गीतले मलाई निकै चिनायो । काम मन पराएर निर्माताले भनेको भन्दा थपेर पारिश्रमिक पनि दिनुभएको थियो ।

रिसाउँदा नि आफ्नै, खुशी हुँदा नि आफ्नै
मेरो पहिलो एल्बम ‘आशीर्वाद’को यो गीतको मलाई निकै माया लाग्छ ।  रमण घिमिरेको शब्द र शम्भुजित बास्कोटाको संगीत रहेको यो गीत मेरो आफ्नै प्याटर्न गीत जस्तो लाग्छ । किनकि, त्यो बेला मैले प्रायः एउटै खाले गीत गाउने मौका पाइरहेको थिएँ । यो गीत चाहिँ बिलकुल मैले खोजेजस्तै लागेको थियो ।  

ओराली लागेको हरिणको चाल भो
आनन्द अधिकारीको शब्द र न्ह्यू वज्राचार्यको संगीत रहेको यो गीत त मेरो जीवनको ‘टर्निङ प्वाइन्ट’ नै भइदियो । यति चर्चित भइदियो कि मलाई धेरैले अहिले पनि यही गीत गाउने गायक भनेर चिन्छन् । मेरो ‘सिग्नेचर सङ’ भइदियो यो ।  

बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्  
राष्ट्रिय भाव बोकेको यो गीत मलाई सधैँ प्रिय लाग्छ । कालीप्रसाद रिजालको शब्दमा आलोकश्रीले संगीत भर्नुभएको यो गीत मलाई नेपालको प्रतिनिधित्व गर्ने एउटा गीतजस्तो लाग्छ । अहिले पनि बिहान–बिहान रेडियोमा बजिरहेको सुन्छु ।

म लडेको मात्रै हुँ
भर्खरै रिलिज भएको मेरो नयाँ एल्बम ‘आवरण’को गीत हो यो । मनीष वशिष्ठको शब्द र हरि लम्सालको संगीत  रहेको यो गीत मलाई ‘इन्स्पाइरिङ’ लाग्छ । जीवनदेखि हरेस खानेहरूलाई सन्देश दिन खोजेको छ । मैले निकै मेहनत गरेर अहिलेसम्म गाइरहेको प्याटर्नभन्दा अलि फरक ढंगको बनाउन खोजेको छु । गीत लो, मिडियम र हाई सबै बिटमा छ ।

प्रस्तुतिः अनिल

 

Leave A Comment