फेसबुकले माफी माग्यो

शुक्रबार, २६ कार्तिक २०७३, १० : ४० शुक्रवार , Kathmandu
फेसबुकले माफी माग्यो

सामाजिक सञ्जाल फेसबुकले क्यान्सरसम्बन्धी एउटा जनचेतनामूलक भिडियो हटाएकोमा माफी मागेको छ । स्विडेनको एउटा स्वास्थसम्बन्धी समूह क्यान्सर फोन्डेनले फेसबुकमा स्तन क्यान्सरसम्बन्धी जनचेतनामूलक भिडियो पोस्ट गरेको थियो । फेसबुकले उक्त भिडियो हटाउने आफूहरूको कुनै नीति नभएको र भूलवश भिडियो हटाइएको भन्दै माफी मागेको हो ।
उक्त भिडियोमा स्तन गुलाबी रङले छोपेकी एक एनिमेटेड महिलालाई देखाइएको छ, जहाँ स्तन आसपास आउने गाँठाहरूबारे जानकारी दिँदै सजिलै आफैँले स्तन क्यान्सर भए÷नभएको पत्ता लगाउन सकिने देखाइएको छ ।
फेसबुकले केही दिनअघि उक्त भिडियो आपत्तिजनक भएको भन्दै हटाएको थियो । तर, एक विज्ञप्ति जारी गर्दै आफूहरूको अनुसन्धानबाट उक्त भिडियोले फेसबुकको कुनै नियम उल्लंघन नगरेको भन्दै पुनः भिडियोलाई आफ्नो साइटमा राख्न अनुमति दिइएको उसले जनाएको छ ।
‘हाम्रो अध्ययन टोलीले हप्तैपिच्छे लाखौँ आपत्तिजनक विज्ञापन तथा भिडियो हटाउने गर्छ । यसै क्रममा क्यान्सरसम्बन्धी जनचेतनामूलक भिडियोसमेत हट्न पुगेको छ । यसप्रति हामी माफी माग्न चाहन्छौँ,’ फेसबुकले भनेको छ ।
फेसबुक यसअघि पनि महिलाले आफ्नो शिशुलाई स्तनपान गराइरहेको तस्बिर हटाएको भन्दै आलोचित भएको थियो ।

 

Leave A Comment