‘मलाई तरकारीवाली नभन्दिए हुन्थ्यो’

शुक्रबार, २६ कार्तिक २०७३, १० : २० शुक्रवार , Kathmandu
‘मलाई तरकारीवाली नभन्दिए हुन्थ्यो’

कुसुम श्रेष्ठ, विद्यार्थी
तपाईंलाई सबैले राम्री भनिरहेका छन् । आफूलाई आफू कत्तिको राम्री छु जस्तो लाग्छ ?
राम्री छु जस्तो त लाग्दैन । अरूले पनि मलाई राम्री देखेका होइनन् जस्तो लाग्छ । मैले तरकारी बोकेका बेला खिचेको फोटो पो राम्रो भएर सबैले मन पराएका हुन् । म असाध्यै राम्री भएर होइन नि ।
मेकअप पहिले पनि गर्नुहुन्थ्यो कि अहिले मिडियामा आउन थालेपछि गर्न थाल्नुभयो ?
मेकअप खासै गर्दिनँ । अलिअलि हो ।
मेकअपमा सधैँ लगाउने कुरा के हो ?
सामान्य क्रिम लगाउने गर्छु । त्योबाहेक बढी मेकअप गर्ने बानी छैन । क्रिमको नाम पनि याद छैन ।
फिल्ममा हिरोइन बन्ने अफर पाउनुभयो क्यारे । हिरोइन बन्ने हो ?
मैले पनि यो कुरा सुनेकी हुँ । तर, मलाई हिरोइन बन्नेभन्दा पनि पढाइ पूरा गर्ने चाहना छ । मेरो चाहना त नर्सिङ पढ्ने थियो । आमाबुबाको आर्थिक अवस्थाले नभ्याउने भएर म्यानेजमेन्ट पढेकी हुँ । एक्ली सन्तान हुँ । अहिलेलाई पढाइमा नै ध्यान दिने विचार छ ।
नाच्न आउँछ ?
आउँदैन । नाच्नगाउनमा खासै रुचि छैन ।
कुन नेपाली वा हिन्दी फिल्मकी हिरोइन राम्री लाग्छ ?
मैले फिल्म त्यति हेरेकी छैन । त्यसैले यही नै हिरोइन राम्री लाग्छ भन्ने छैन ।
तपाईंको बारीमा कुन तरकारी धेरै फल्छ ?
गोलभेँडा । सिमी र सागसब्जी पनि लगाउने गरेका छौँ । बेच्नलाई त्रिशूली पारी पृथ्वी राजमार्गको आडैमा रहेको चितवनको फिस्लिङ बजार लैजानुपर्छ । त्यहाँ सहकारीको संकलन केन्द्र छ ।
तपाईंलाई सबैभन्दा मीठो लाग्ने तरकारी कुन हो ?
मलाई रायोको साग असाध्यै मीठो लाग्छ ।
तपाईंलाई ‘तरकारीवाली’ भन्दा कस्तो लाग्छ ?
तरकारी बोकेको फोटो आएपछि र भारतीयहरूले त्यो फोटो देखेपछि तरकारीवाली भन्नु अस्वाभाविक थिएन । तर, यो चर्चा अहिले धेरै भयो । मेरो घर गोरखा भए पनि पढ्न चितवन बस्ने र बिदामा घर आउँदा आमाबुबालाई सघाउने गरेकी छु । तरकारी बेचेर बस्ने मात्रै पनि होइन । कक्षा ११ मा पढ्दै गरेकी विद्यार्थी हुँ । तरकारीवाली भन्ने नाम त्यति उपयुक्त भएन । मलाई तरकारीवाली नभन्दिए हुन्थ्यो !
पहिले र अहिले गाउँमा तपाईंलाई मान्छेले गर्ने व्यवहारमा के फरक छ ?
मलाई गाउँमा पहिला पनि सबैले माया नै गर्नुहुन्थ्यो । अहिले उहाँहरूले आफू र गाउँलाई नै चर्चामा ल्याएर राम्रो गरेकी छौ भन्नुहुन्छ । स्याबासी दिनुहुन्छ ।
प्रस्तुतिः रमेशकुमार पौडेल  

 

Leave A Comment