शूरप्रताप शाह र कीर्तिपुर

बुधबार, ०८ असार २०७३, ०९ : ५७ शुक्रवार , Kathmandu

पृथ्वीनारायण शाहका भाइ शूरप्रताप शाहको जन्म वि.सं. १७९४ चैत्र २१ गते भएको हो (वि.सं.२०४१ मा काठमाडौँबाट दिनेशराज पन्तद्वारा प्रकाशित दिनेशराज पन्तको गोरखाको इतिहास पहिलो भागका २४७, २९५–२९६ पृ., वि.सं.२०४१ मा काठमाडौँबाट संशोधन–मण्डलद्वारा प्रकाशित पूर्णिमा ६४ पूर्णाङ्कमा छापिएको महेशराज पन्तको टिप्पनको पुस्तक भन्ने लेख (त्यस पूर्णाङ्कको १६ पृ.)) । गोरखालीहरूद्वारा कीर्तिपुर विजय वि.सं. १८२२ चैत्र ३ गते भएको हो (वि.सं.२०२५ मा ललितपुरबाट जगदम्बा प्रकाशनद्वारा प्रकाशित नयराज पन्त, देवीप्रसाद भण्डारी, गौतमवज्र वज्राचार्य र दिनेशराज पन्तको श्री ५ पृथ्वीनारायण शाहको उपदेशका ५२३, ८७४–८७५ पृ., वि.सं.२०६७ मा काठमाडौँबाट खिलशर्म–राजीवलोचनजोशीस्मारकप्रतिष्ठानद्वारा प्रकाशित दिनेशराज पन्तको महामण्डलदेखि काँगडासम्मका ११, ३३, ७५ पृ.) । यसकारण कीर्तिपुर विजय हुँदा शूरप्रताप शाह २८ वर्षका थिए भन्ने स्पष्ट हुन्छ । ललितपुरबाट हिमाल मिडियाद्वारा प्रकाशित वि.सं.२०७३ ज्येष्ठ २३–२९ को हिमाल ४९४ पूर्णाङ्कका ५०–५१ पृष्ठमा छापिएको शुक्रसागरको नाक काटेकै हो भन्ने लेखमा पृथ्वीनारायणले ९ वर्षअघि आफ्ना काजी कालु पाण्डे मारेको र १७ महिनाअघि भाइ सूरप्रतापको आँखा फुटाएको रिस विजित जनतामाथि फेर्ने मौका पाण्डेपुत्र वंशराज र सूरप्रतापलाई नै दिएका थिए, त्यसबेला वंशराज १७÷१८ वर्षका र सूरप्रताप २५ आसपासका थिए भनी लेखिएको छ । ३२ वर्षअघि नै शूरप्रताप शाहको जन्ममिति छापिइसकेको अवस्थामा उनको ठ्याक्कै वर्ष नलेखिनुबाट प्रकाशित सामग्रीको पनि राम्ररी अध्ययन नगरी लेख लेख्ने चलन हामीकहाँ छ भन्ने स्पष्ट हुन्छ । वि.सं. १८२२ चैत्र ३ गते कीर्तिपुर विजय भएपछि वि.सं. १८२२ चैत्र २७ गते कीर्तिपुरेहरूको नाक काटियो भनी तिथ्यावलीमा लेखिनुबाट (महामण्डलदेखि काँगडासम्मका ११–१२, ३३, ७५ पृ.) र पृथ्वीनारायण शाहका दरबारिया कवि ललितावल्लभले वि.सं. १८२७ मा पृथ्वीन्द्रवर्णाेदयकाव्य नामक आफ्नो पुस्तकमा कीर्तिपुरेहरूको नाक काटिएको कुरा लेखेबाट (श्री ५ पृथ्वीनारायण शाहको उपदेशको ४४५ पृ.) गोरखालीहरू यो घटना लुकाउन चाहँदैनथे भन्ने स्पष्ट हुन्छ । यस अवस्थामा हिमालमा छापिएको लेखमा नाक काटेकै हो, इतिहासलाई लुकाएर हैन, गोर्खालीले कीर्तिपुरेको नाक–कान काटेको होइन भनेर थप मसी सुकाउनुपर्ने देखिन्न भनी लेखिएको कुराको औचित्य देखिन्न । केही नयाँ सूचना दिएको र राणाकालको पत्र छापिदिएकोमा भने शुक्रसागरलाई धन्यवाद दिनैपर्छ ।

प्रा. दिनेशराज पन्त

Leave A Comment