‘अनुहारमा केक किन दल्नु ?’

आइतबार, २१ कार्तिक २०७३, ११ : १८ शुक्रवार , Kathmandu
‘अनुहारमा केक किन दल्नु ?’

बलिउड अभिनेता अमिताभ बच्चन गत हप्ता ७४ वर्षमा प्रवेश गरे । यस अवसरमा एक भारतीय मिडियाले उनीसँग जन्मदिनमा केन्द्रित भएर गरेको कुराकानी ।

जन्मदिनलाई तपाईं कति महŒव दिनुहुन्छ ?
हरेक वर्ष आउने जन्मदिनलाई मैले आफू जन्मिएको दिनलाई जस्तै महŒव दिने गरेको छु । यो संसारमा जीवको जन्म हुनु आफैँमा अद्भुत प्रक्रिया हो । त्यसमाथि मानिसका रूपमा जन्म हुनु कुनै चमत्कारभन्दा कम होइन । भगवानले हामीलाई मानस रूपमा संसारमा उत्पन्न गराउनुभएको छ । यो हाम्रो सौभाग्य हो ।

सानो छँदा तपाईंको जन्मनदिन कसरी मनाइन्थ्यो ?
अरूले मनाएजस्तै गरी  मनाउँथेँ । बधाइ, उपहार, नयाँ लुगाहरू पाउँथेँ । केही साथीलाई घरमा बोलाएर मिठोमसिनो खुवाउँथेँ । खेल्ने, उफ्रिने गर्थें ।

स्कुल अथवा कलेजका साथीले दिएका उपहार कति सम्झिनुहुन्छ ?
त्यतिखेर पाएका राम्रा किताब, खेलौना, कलम, फूल अझै सम्झिन्छु ।

जन्मदिनको पार्टीमा अनुहारभरि केक दलिदिने चलन सुरु भएको छ, तपाईंलाईं यो कस्तो लाग्छ ?
जन्मदिनमा केक काट्ने र अनुहारमा दल्ने चलन कहाँ, कसरी सुरु भयो, मलाई थाहा छैन । अरूको खराब नजर उतार्ने अन्य राम्रा उपाय छँदै छन्, केक अनुहारमा किन दल्नु ?

फिल्मको सेटमा कुनै जन्मदिन मनाउनुभएको छ ?
त्यस्तो सम्झनयोग्य खालका त छैनन् । तर, फिल्मको काममा रहेको बेला केही पटक मैले फिल्मको सेटमै जन्मदिन मनाएको छु । त्यहाँ पनि केक ल्याउने, त्यसमाथि मैनबत्ती गाढ्ने, मैनबत्ती बाल्ने र निभाउने, ‘ह्याप्पी बर्थडे टु यु’ गाउने, ताली बजाउने, केक काट्ने, उपस्थित सबैलाई ख्वाउने गरिन्थ्यो । भाग्यवश हाम्रो पालामा अहिलेजस्तो केक अनुहारभरि दलिदिने चलन थिएन ।

तपाईंका कवि बुबा हरिवंश राय बच्चनले जन्मदिनबार लेखेको कविताको पंक्ति तपाईंलाई याद छ ?
छ । मेरो अथवा परिवारका कुनै पनि सदस्यको जन्मदिनमा उहाँ हरेक वर्ष कविता लेख्नुहुन्थ्यो । कवितामा उहाँ बधाइ र मंगल कामना व्यक्त गर्नुहुन्थ्यो ।

जन्मदिनमा आमाले तपाईंका लागि विशेष केही पकाउनुहुन्थ्यो ?
खिर पकाउनुहुन्थ्यो ।

तपाईं अहिले गुलियो खानुहुन्न । फेरि केक गुलियो हुन्छ । जन्मदिनमा के गर्नुहुन्छ ?
केक र अन्य केही खानेकुरा म खादिनँ । गुलियो चिज ठ्याम्मै खाँदिनँ भन्ने चाहिँ होइन । टेबुलमा राखेको अथवा मेरा लागि अरूहरूले पठाएका केकलाई सम्मानपूर्वक छोएर आदर व्यक्त गर्छु ।

तपाईंको जन्मदिन विभिन्न ठाउँमा मनाइन्छ । कस्तो लाग्छ ?
जन्मदिनका अवसरमा मलाई बधाइ दिने सबैप्रति आभारी छु । उहाँहरू सबैसँग भेट्न त मेरा लागि सम्भव छैन । तर, म के चाहिँ स्विकार्छु भने उहाँहरूको प्रार्थना र प्रेमका कारण नै आज म जीवित छु ।

फिल्म क्षेत्रमा तपाईंलाई ज्यादै ‘पंक्चुअल’ मानिन्छ नि ?
कुनै कुराले मलाई समयप्रति अनुशासित हुन प्रेरित गरेजस्तो लाग्दैन । संयम र अनुशासन कसैको प्रेरणाबाट आउने चिज होइनन् । यो त मानिसको आफ्नो परिकल्पना हो भन्ने मेरो धारणा छ । कसैले तपाईंलाई कुनै समयमा बोलाएको छ भने समयमै उपस्थित भएर उसको आदर गर्नुपर्छ । यदि यसो गर्नुभएन भने बोलाउने व्यक्तिलाई तपाईंले अनादर गरेको ठहर्छ । म कसैलाई अनादर गर्न चाहन्नँ ।
‘पिंक’ फिल्मले सर्वत्र प्रशंसा पायो । यसले तपाईंको यसपालिको जन्मदिनलाई कत्तिको विशेष बनायो त ?
जन्मदिन किन विशेष हुन्छ भने त्यो दिन पनि सास लिँदै तपाईं दिन बिताउनुहुन्छ । हामी जीवित हुन्छौँ । जीवनधारा निरन्तर चलिरहेको छ । यसका लागि हामी ईश्वरसँग ऋणी छौँ र यो कुराले हामीलाई खुशी बनाएको हुन्छ । ‘पिंक’को सफलताबाट हामी सबै खुशी भएका छौँ । तर, यही फिल्मले यसपालिको अक्टोबर ११ लाई विशेष बनायोजस्तो मलाई लाग्दैन । जन्मदिन आफैँमा एउटा शुभ दिन  हो । यो स्वतः विशेष हुन्छ ।
‘शताब्दीका महानायक’ तपाईं ७४ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा केही भन्न चाहनुहुन्छ ?
मलाई माया गर्ने सबैलाई म शिर निहुराएर नमन गर्छु । र, पत्रकारहरूलाई म हात जोडेर बिन्ति गर्छु– मलाई ‘शताब्दीको महानायक’ अथवा यस्तै केही भनी सम्बोधन नगरिदिनुहोला ।
 

 

Leave A Comment