मेरो पहिलो रेकर्डिङ

शुक्रबार, १९ कार्तिक २०७३, ११ : २७ सन्जिना श्रेष्ठ , Kathmandu
मेरो पहिलो रेकर्डिङ

स्टुडियोमा पुगेर पहिलोपल्ट गीत रेकर्डिङ गराउँदा कस्तो महसुस भएको थियो ? केही गायकगायिकाले शुक्रवारसँग त्यो अनुभव बाँडेका छन्ः  

कोमल ओली
मेरो पहिलो गीत रेकर्ड २०४४ सालमा भएको थियो । त्यतिबेला रेकर्डिङ गर्नुभन्दा पहिला डर लागेको थियो । तर, गीत गाउँदा भने डर, त्रास सबै भाग्यो । त्यो रेडियो नेपालको लोकगीत प्रतियोगिता थियो । हामीले गाएको गीत दोस्रो भयो । खुशीको सीमा नै थिएन । कुलनन्द गिरीको संकलनमा ‘शिरैमा शिरफूल लाको माया’ गीत म र मेरी बहिनीले गाएका थियौँ । हामी उक्त प्रतियोगितामा दोस्रो भएका थियौ । त्यतिबेला रेडियो नेपालमा ‘प्रतिभाको डबली’ भन्ने कार्यक्रम थियो । त्यसमा नयाँ गायकगायिकाका गीत बजाइन्थ्यो । आफ्नो गीत पनि रेडियो नेपालमा प्रसारण हुने भएकाले कुन बेला आउँछ भनेर उत्साहित भएर कुथ्र्यौं । सँगै, छरछिमेक र आफन्तलाई पनि आफूले गाएको गीत आउँदैछ भनेर सुनाउँथ्यौँ ।
मिरा राणा
२०२२ सालमै मैले रेडियो नेपालको वार्षिकोत्सवको गीत प्रतियोगितामा भाग लिएकी थिएँ । त्यसपछि मैले शास्त्रीय संगीत सिकेँ । २०२६ सालमा पुलिस क्लबको गीत र गोपाल योञ्जनको संगीतमा ‘चिरेर मुटु यो तिमीले के पायौ मेरो’ बोलको गीत रेडियो नेपालमा रेकर्ड भएको थियो । त्यतिबेला मलाई एकदमै डर लागेको थियो । जब गीतको रेकर्डिङ सकियो, गोपाल दाइले राम्रो गाएको प्रशंसा गर्नुभएपछि बल्ल मलाई सास आयो ।
आनन्द कार्की
रेडियो नेपालमा २०४२ सालतिर शक्ति वल्लभको संगीत र डा. ध्रुवचन्द्र गौतमको गजल ‘जीवनमा धेरै खोला तर्नु छ’ बोलको गीत रेकर्ड गराएँ । त्यतिबेला रेडियो नेपालमा स्वर परीक्षणपछिमात्र गायक बन्न पाइन्थ्यो ।  लाइभ रेकर्डिङ गर्नुपर्ने हुँदा उक्त गीत मैले एक महिनाअगाडिबाट नै कडा अभ्यास गरेको थिए । धेरै अभ्यास गरेका कारण आफूमा आत्मविश्वास  त थियो तर हल्का डर पनि लागिरहेको थियो । त्यो गीत सुन्नुभएका सबै अग्रजले मेरो गायन क्षेत्रमा उज्ज्वल भविष्य रहेको प्रतिक्रिया दिनुभएको थियो । गीत रेकर्ड हुनेबित्तिकै आफूले कस्तो गाएको छु भनेर सुन्न उत्साहित थिएँ । रेकर्ड भएको गीत सुन्न एक हप्ता कुर्नुपथ्र्यो । गीत प्रसारण हुने दिनमा आफन्त र साथीभाइको घरघरमा गएर फलानो समयमा मैले गाएको गीत आउँदैछ भनेर खूबै प्रचारप्रसार गरिन्थ्यो ।
देवकी वन्दना
पहिलोचोटि गीत रेकर्ड गर्दा निकै खुशी थिएँ । नर्भस पनि उत्तिकै थिएँ । गीत गाउँदै गएपछि सरल हुँदै गयो । जब गीत रेकर्ड भयो सुन्ने सबै व्यक्तिले राम्रो प्रतिक्रिया दिनुभयो । प्रवीण गिरी र असीम मुखियाको संगीत रहेको ‘हे मायालु तिमीलाई धेरै धेरै सम्झना’ बोलको गीत २०४६ सालमा रेकर्ड गरेको थिएँ ।
कुन्ति मोक्तान
सन् १९८० मा संगीतकार शिलाबहादुर मोक्तानले रचना गरेको आधुनिक गीत ‘कहिलेकाहीँ मलाई पनि हेरिदेऊ है फर्किएर’ मेरो पहिलो रेकर्डेड गीत थियो । मलाई त्यो बेला आफ्नो ठूलो सपना पूरा भएकाले एकदमै खुशी लागेको थियो । गीत रेकर्ड गरेपछि म दार्जिलिङ गएँ । आफूले गाएको गीत कहिले प्रसारण हुन्छ भनेर छ महिनासम्म कुरेँ तर रेडियोमा बजेन । एक दिन दिउँसो त्यो गीत रेडियोबाट सुनेँ । सबैले प्रशंसा गरेपछि खुशी भएँ ।
 

 

Leave A Comment