‘संगीत मेरी प्रेमिका !’

बुधबार, १७ कार्तिक २०७३, १० : ३९ शुक्रवार , Kathmandu
‘संगीत मेरी प्रेमिका !’

साहिल खड्का, पपगायक

केमा व्यस्त हुनुहुन्छ ?
भर्खरै ‘यो मनमा’ बोलको नयाँ पपगीत बजारमा ल्याएको छु । त्यसकै प्रमोसनमा कुदिरहेको छु ।

गाउने रहर कसरी जाग्यो ?
सानैदेखि नाच्ने–गाउने बानी थियो । १२ वर्ष हुँदाखेरि राजधानी छिरियो । स्कुलतिर गाइन्थ्यो । साथीहरूले ‘गायक–गायक’ भन्दै जिस्काउँथे । पछि बालाजु, नयाँ बसपार्कमा मोबाइल पसल चलाएँ । पसलमा गीत सुन्दासुन्दै गीत नै रेकर्ड गरियो ।

कति भयो गाउन थालेको ?
चार वर्ष भयो । साढे तीन वर्षअघि ‘प्रेयसी’ बोलको गीत रेकर्ड गराएको थिएँ ।

पहिलोपल्ट गीत रेकर्डिङ गराउँदाको क्षण याद छ ?
एकदम नर्भस भएको थिएँ । रेकर्डिङ फाइनल गर्न धेरै समय लागेको थियो ।

कस्तो गीत गाउन मन पर्छ ?
खासगरी पपगीत गाउन मन पर्छ । चाँडै नेपालीपन झल्किने खालको लोक भाका मिसिएको गीत पनि ल्याउँदैछु ।

कस्ता गीत बढी सुन्नुहुन्छ ?
लोक, पप, हिन्दी, अंग्रेजी सबैखाले गीत सुन्छु । जति धेरै सुन्यो, त्यति धेरै सांगीतिक ज्ञान बढ्दो रहेछ ।

गीत गाएर बाँच्न सकिन्छ त ?
अहिलेलाई त धेरै नै गाह्रो छ । दोस्रो एल्बम पनि गाउँले साथीभाइको सहयोगमा बल्लतल्ल निकालियो ।

संगीत सिक्नुभएको छ  ?
गुरु चण्डीप्रसाद काफ्लेसँग छ महिनाजति सिकेँ । अहिले घरमै अभ्यास गरिरहेको छु ।
 
नयाँ गायकलाई संगीत क्षेत्रमा कत्तिको गाह्रो रहेछ त ?

धेरै नै गाह्रो छ । सुरुसुरुमा केही थाहा हुँदैन । गीत रेकर्ड गराउँदा पनि कुरा मिलाइदिने दलालहरूले पैसा खाइदिँदा रहेछन् ।

तपाईंका लागि संगीत के हो ?
संगीत मेरा लागि कहिल्यै नछुट्टिने प्रेमिका हो ।
प्रस्तुतिः हिमाल    

 

Leave A Comment