प्रतीकात्मक पर्व म्हःपूजा

शनिबार, १३ कार्तिक २०७३, ११ : २६ शुक्रवार , Kathmandu
प्रतीकात्मक पर्व म्हःपूजा

शाब्दिक रूपमा म्हःपूजा शरीरकै पूजा कर्म हो । नेपाल भाषामा शरीरलाई म्हः भनिन्छ । म्हः शब्दको तादात्म्य अहम् र ब्रह्म दुवैसित समान रूपले गाँसिएको छ । यसलाई आत्मपूजा अर्थात् आत्मापूजा भनिन्छ । आत्मपूजालाई आत्मापूजा मान्नुको तात्पर्य आफूजस्तै सबै आत्मा समान ठान्न सक्ने क्षमता हासिल गर्नु हो । आफ्नो आत्मालाई स्वस्थ रूपमा चिन्न सक्नेले नै अरूको आत्मालाई पनि चिन्न सक्ने हुन्छ ।

तेजेश्वर बाबु ग्वंगः
नेवार सभ्यताले संस्कृतिको रूपमा प्रतिष्ठापन गरेको एक विशेष पूजा हो–म्हःपूजा । म्हःपूजालाई आत्मपूजा अर्थात् आत्मा पूजा भनिन्छ । आत्मपूजालाई आत्मापूजा मान्नुको तात्पर्य आफूजस्तै सबै आत्मा समान ठान्न सक्ने क्षमता हासिल गर्नु हो । संक्षेपमा आफ्नो आत्मालाई स्वस्थ रूपमा चिन्न सक्नेले नै अरूको आत्मालाई पनि चिन्न सक्ने हुन्छ । यो सत्य हो । शाब्दिक रूपमा म्हःपूजा शरीरकै पूजा कर्म हो । नेपाल भाषामा शरीरलाई म्हः भनिन्छ । म्हः शब्दको तादात्म्य अहम् र ब्रह्म दुवैसित समान रूपले गाँसिएको छ ।
म्हःपूजाको अवसरमा नेवारहरूले गोवर्धन पूजा पनि गर्दछन् ।  गोवर्धन पूजा गर्नका लागि पहाडको चित्र कोरिन्छ वा रेखांकन गरिन्छ । पहाडको रेखाचित्र सबैभन्दा पहिले पानीबाट कोरिन्छ । पानीमा एउटा सयपत्री फूल भिजाइन्छ । त्यसै भिजेको सयपत्रीले पहाडको चित्र भुइँमा कोरिन्छ । पानीद्वारा पहिले रेखा खिच्नुको तात्पर्य जमिनलाई पानीले सिंचन गरी पवित्र पार्नु हो । त्यसपछि पानीरेखामाथि तोरीको तेलले दोस्रो लेपन गरिन्छ । तेलद्वारा लेपन गर्नुको अर्थ त्यसमा दीर्घायु जोड्नु हो । तेलको छाप निकै दिनसम्म लागिरहन्छ । तेलरेखामाथि बेसार रंगिएको चामलको पीठो जसलाई पोतायेँ भनिन्छ; द्वारा तेस्रो लेपन वा रेखांकन गरिन्छ । तीनै रेखाचित्रमाथि फेरि अबिरद्वारा रेखांकन गरिन्छ । त्यसपछि गोबरको सानो पहाड बनाई प्रतिज्ञा गरिन्छ । गोबरको पहाडमा हरिया फूल फुलेको हाँगाबिंगाहरू घुसारिन्छ । गोबरको पहाडमाथि फलफूलको हाँगाबिंगा लगाई गोवर्धन पर्वत सिर्जना गरिन्छ । त्यसपछि गोवर्धन पहाडको फेदमा नौलो धान र चामलका ससाना थुम्काहरू बनाइन्छन् । ती थुम्कामा फूल र लावा छरिन्छन् । फूल र लावा छरेर गोवर्धन पर्वतको अभिषेक गर्नु निकै रमाइलो हुन्छ ।
गोवर्धन पहाड संरचना गरिसकेपछि म्हःपूजाका लागि मण्डपहरू बनाउने तर्खर सुरु हुन थाल्छ ।  म्हःपूजाको मण्डप बनाइने ठाउँ सबैभन्दा पहिले गोबरले लिपिएको हुन्छ । म्हःपूजा प्रत्येक घरपरिवारका सम्पूर्ण सदस्यमध्ये एकएककै गरिन्छ । त्यसैले प्रत्येक परिवारका सदस्यका लागि छुट्टाछुट्टै  एकएक मण्डप तयार गरिन्छ । मण्डप गोलाकार हुन्छ । गोलाकार मण्डप बीचमा एक सानु अर्को मध्यमण्डप बनाइन्छ । ठूलो मण्डपको चारै दिशामा चारवटा साना मण्डप तयार गरिएको हुन्छ । मण्डप स्वयं पृथ्वीमण्डलको आकारको प्रतीक हो । मण्डपको मध्यमण्डप सौर्यमण्डलको प्रतीक हो । सौर्यमण्डल आत्म तŒवको प्रतीक हो । आत्म तŒवको विन्यास नगरी आत्मपूजा वा म्हःपूजा गर्न सकिन्न वा गरिन्न । ठूलो मण्डपको चार दिशाबोधक सानुसानु मण्डपहरू दिक साधना तŒव बन्छन् । मण्डपमा चार दिक साधना चक्र वा गोलाकार बनाइए पनि अरू चार कोण दिकहरू स्वतःस्फुर्त    हुन पुग्छन् । नैऋत्य, आग्नेय, वायव्य र ईशान कोण दिक हुन् ।
दिक साधना नगरीकन आत्मपूजा गरिन्न । आत्मपूजा वा म्हःपूजा भन्नु नै दिक साधना गर्न सक्ने क्षमतावान बन्नका लागि हो । दिक साधना गर्न सक्ने क्षमताको तात्पर्य आत्मनिर्देशन र नियन्त्रण गर्न सक्नु हुन आउँछ । परन्तु, म्हःपूजा गर्नुको आौचित्यपूर्ण अर्थबोधबिना हामीहरूबीच अनर्थ र अनर्गल प्रलाप मच्चिन नछाड्नु भने विडम्बनापूर्ण हुन गएको छ । यतिखेर हामीहरू सबै नै यसतिर सजग हुनु नितान्त जरुरी छ । म्हःपूजा तथा नयाँ नेपाल सम्वत् ११३७ ले हामीहरू सबैमा यस विवेकको अष्ट दिक खुलाई दिउन् भनी कामना गर्दछु ।
दिक साधनाको सार्थक यन्त्ररूपी मण्डपका प्रत्येक साना मण्डपहरूमाथि अबिर, पोतायेँद्वारा क्रमिक तवरले रेखांकन गरिन्छन् । त्यसपछि धान र चामलका ससाना थुम्का बनाइन्छन् । मण्डप र तिनमा लावा, फूलले सिंगारिन्छन् । अर्थात्, त्यसमाथि लावा र फूलहरू छरिन्छन् । मण्डपहरू भव्य रूपमा उतारिएका देखिन्छन् । मण्डपहरूमाथिको सिँगार यतिमै पूर्ण हुन्नन् । यसका अरू क्रिया–कर्महरू क्रमिक रूपमा बढ्दै जान्छन् । मण्डप तयार भई सकेपछि अब घरपरिवारका प्रत्येक व्यक्ति प्रत्येक मण्डपलाई सामु पारी आसन ग्रहण गर्न थाल्छन् । यसरी आसन ग्रहण गर्दा उमेर र कर्मकाण्डको ज्येष्ठताको आधारमा लहरै बसिन्छन् । यो ज्येष्ठताक्रम मण्डप बनाइने बेलैदेखि निर्धारण भइसकेको हुन्छ । अर्थात्, मण्डप तयार गरिने बेलैमा ज्येष्ठता क्रमको आधारमा प्रत्येक व्यक्तिको एक न एक लुगाको चिनो आआफ्नो मण्डप सामुको ठाउँमा राखी यथास्थान निर्धारण गरिन्छ ।
प्रत्येक व्यक्ति यथास्थानमा बसिसकेपछि घरकी मूली महिला अर्थात् नकीं माजुले पूजा आरम्भ गर्न थाल्छिन् । पृथ्वी, प्रकृति, पहाड, जंगल र सम्पूर्ण पर्यावरण संरक्षण र संवद्र्धनमूलक मन्त्र कामना–वाचन गरी गोवर्धन पूजास्थल थालनी हुन्छ । क्रमिक तवरले धूप, दीप बालिन्छन् । धूपहरू सिंचन प्रक्रियाबाट थुम्कामाथि ठड्याएर बालिन्छन् । धूपपछि त्यसै गरेर इता वा सलेदो बालिन्छन् । गोवर्धन पर्वतको पूजाआजापछि म्हःपूजाको कार्यक्रम थालिन्छन् ।
म्हःपूजाको क्रममा नकीं माजुले ज्येष्ठताको क्रममा नसला वा आत्मसिंचन गराउँछन् । आत्मसिंचनपछि धूप र दीप बाल्ने क्रम सुरु हुन्छ । ज्येष्ठताको स्थानक्रम गोवर्धन पूजा स्थलको आधारमा गरिन्छ । घरको मूली वा ज्येष्ठ व्यक्ति गोवर्धन पूजा यन्त्रकै बगलमा बस्दछन् । मण्डपमा धूप पहिले बालिन्छन् । धूपपछि खेलु इता अर्थात् शरीरको लम्बाइअनुसारका लामालामा सलेदोका दुई जोडी मण्डपको पूर्व–पश्चिम, उत्तर–दक्षिण तन्काएर बालिन्छन् । नकीं माजुले सलेदो बाली प्रत्येक व्यक्तिलाई अर्पण गर्छिन् । प्रत्येक व्यक्तिले त्यस खेलु इतालाई अक्षताले अर्चन गरेर ग्रहण गर्छन् । खेलु इता सबैभन्दा पहिले आफैँमाथि अर्पण र अर्चन गरेर मण्डपमा मिलाएर बाल्छन् । खेलु इतालाई बेलाबेलामा मिलाई बाल्ने दायित्व प्रत्येक व्यक्तिमा निहित रहेको हुन्छ । सबैले आआफ्नो मण्डपको इता मिलाउँदै बाल्ने गर्छन् ।
यतिखेर म्हःपूजाको मण्डपले सुन्दर, आकर्षक ज्योति छरिरहेको हुन्छ । मण्डप एउटा सानु यज्ञशाला झैँ देखिएको हुन्छ । वास्तवमा म्हःपूजा एउटा यज्ञ कार्यको सूक्ष्म रूपै हो । आत्मसिंचन, आत्मपूजन, आत्मआहुति र आत्मतर्पण म्हःपूजाको दार्शनिक रूप–क्रिया वा क्रिया–रूपै हो । म्हःपूजालाई संस्कारमूलक कर्म मान्ने प्रत्येक व्यक्तिले यसका प्रकृया, विधि, साधन र संरचना संवद्र्धन यावत कुराको तŒव ज्ञान राख्नु आवश्यक हुन्छ । कुनै पनि सांस्कृतिक क्रियाका मर्मबोध गरी पालन गर्दा पाइने आनन्द अनुपम रहन्छ । जे अनुपम हुन्छ त्यो नै सत्यमूलक पनि हुन्छ ।
म्हःपूजाको अवसरमा थरिथरिका सगुनहरू प्रदान गरिन्छन् । तीमध्ये सबैभन्दा पहिलो सगुन धौ सगुन अर्थात् दही सगुन रहेको हुन्छ । आफूलाई आफ्नै कर्मद्वारा उज्वलित पार्न सक्ने अन्तरनिहित क्षमतालाई प्रज्वलन गर्नु यसको आन्तरिक रहस्य हो । खेलु इता सगुन क्रमैले दोस्रो थरीमा पर्दछ । यसपछि फलफूल सगुन अर्पण गरिन्छन् । फलफूल सगुनमा मखमली फूलका मालाको साथै अनेक  फूलका सम्मिश्रण गरी तयार पारेको ‘चुवास्वाँ’ पनि समाहित भएको हुन्छ । ‘चुवास्वाँ’ शिरमा सिउरिइन्छ । पुरुष वर्गले टोपीमा सिउरिन्छन् यसलाई । महिलाहरूले सप्कोमा यसलाई सिउरेर आत्मसम्मान ओढ्छन् । यस सगुनमा सुके–फल पनि समाहित रहन्छ । सुके–फल भनेको मसलाका पोका हुन् । सिसाबुसा वा फलफूल सगुनपछि खेँसँग वा अण्डा सगुन अर्पण गरिन्छ । खेँसँगमा उसिनेर तारेको फुल, सुकेको सिंगो माछा तारेको, मासु तारेको र बारा रहेको हुन्छ । अन्तिम सगुन भोज सगुन रहन्छ ।
विभिन्न प्रकारका यी सगुनका आफ्नै मर्म र महिमा छन् । ती मर्महरू सबै नै प्रतीकात्मक रहेका हुन्छन् । नेवारी संस्कार र संस्कृतिमात्र होइनन्, विश्व समुदायका सबै संस्कृति नै प्रतीकात्मक रहेका हुन्छन् । संस्कृतिभित्रका प्रतीकात्मक अर्थबोध गर्नुमा जुन आनन्द मिल्छ त्यो अरूबाट हुँदैन । म्हःपूजाको दही सगुन चन्द्रमाको प्रतीक बन्छ– पूर्ण चन्द्र । पूर्ण चन्द्रजस्तो दही सगुन निधारमा लगाएर हामी रातको अन्धकार मास्ने, शीतलता दिने चन्द्रलाई नै निधारभरि राख्न सकौँ भन्ने कामना राखौँ । खेल इता सगुन लिएर जीवनलाई आफ्नै प्रतिभाद्वारा उज्ज्वल पार्दै लैजान सकौँ । फलफूलका सगुन लिएर जीवनलाई रसमय पार्न सकौँ । रसमय जीवनले अस्वस्थ जनजीवनमा लाभप्रद रस चुहाउन सकौँ । मखमलीका माला जीवनलाई सुके–फलजत्तिकै उपयोगी र उपकारी बनाउन सकौँ । अण्डा वा खेँसँग लिएर नभचर जत्तिकै उदीयमान बन्न सकौँ । माछा सगुन लिएर अथाह पानीमा तैरिन र पौडिन सकौँ । मासु सगुन पाएर वन्यजन्तुबाट बच्न सकौँ । बचाउन पनि सकौँ, सिकौँ ।

Leave A Comment