कुकुरले गर्छन् प्रधानमन्त्रीको सुरक्षा

शनिबार, १३ कार्तिक २०७३, १० : १३ दीपक खरेल , Kathmandu
कुकुरले गर्छन् प्रधानमन्त्रीको सुरक्षा

३३ वर्षअघि दोलखा, चरीकोटमा एकजना गुप्तचर अधिकारीको शव टाउको गिँडिएको अवस्थामा कोठामै फेला प¥यो । प्रहरी अनुसन्धानका लागि २०४० सालमा काठमाडौँबाट तालिमप्राप्त कुकुर लगियो । कुकुरले घटना भएको केही घण्टाभित्रै मुख्य अभियुक्तलाई समायो । घटनामा अन्तरजातीय सम्बन्धको विषयलाई लिएर आफ्नै भतिजीले खुकुरीले घाँटी रेटेर काकाको हत्या गरेको खुल्यो ।
०००
बाराका पत्रकार वीरेन्द्र साहको शव गाडेको स्थान पत्ता लगाउन तालिमप्राप्त कुकुरकै प्रयोग भएको थियो । २०६४ असोज १८ मा अज्ञात व्यक्तिको अपहरणमा परेका साहको शव गाडेको अवस्थामा त्यही वर्षको कात्तिक २३ मा कुकुरले पत्ता लगायो । उनको शव बाराको डुमरवाना टगियाँ बस्तीमा फेला परेको थियो ।
०००
अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टर नेपाल भ्रमणमा थिए । २०६४ मंसिर ७ गते उनका लागि तयारी अवस्थामा रहेको कारगेट गाडीलाई तालिमप्राप्त कुकुरबाट चेकजाँच गरियो । होटल सोल्टी परिसरमा राखिएको त्यो गाडीमा तालिमप्राप्त कुकुरले सुँघेर हतियार फेला पा¥यो । त्यो घटनालाई गोप्य राखेर प्रहरीले अनुसन्धान गरे पनि थप खुलासा केही गरेन ।
०००
प्रहरीले २०६५ पुस ६ मा ठमेल क्षेत्रका होटलमा तालिमप्राप्त कुकुरको प्रयोग गर्दै चेकजाँच तीव्र बनायो । ठमेल लागुऔषध भण्डारण र बेचबिखनको हब बन्दै गएको प्रहरीलाई आशंका थियो । नभन्दै होटल भिया, बिन्दबासिनी गेस्ट हाउस, सुप्रिम गेस्ट हाउस र होटल पटालाबाट ठूलो मात्रामा लागुऔषध बरामद भयो ।
०००
केही महिनाअघिमात्र सल्यानको रानागाउँमा एकै परिवारका तीनसहित चार जनाको खकुरीले घाँटी रेटेर हत्या भयो । अनुसन्धानका लागि मध्यपश्चिम प्रहरीसँग रहेको कुकुर ‘भुन्टी’लाई खटाइयो । भुन्टीले २४ घण्टाभित्रै अभियुक्त सञ्जय भारतीलाई पक्रन सफल भई ।
०००
 नेपाल प्रहरी, केन्द्रीय कुकुर तालिम स्कुलबाट ‘सञ्जु’, ‘टेम’, ‘लियो’ र ‘लिजा’जस्ता ४४ वटा तालिमप्राप्त कुकुर काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगा र अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका छन् । उनीहरूहरूले मुख्यतः लागुऔषध, विष्फोटक पर्दाथ र हातहतियार भित्रिनबाट रोक्ने प्रयत्न गर्छन् ।
स्थापनाका ४७ वर्ष
सुरक्षा निकायले अनुसन्धानमा प्राप्त गरेका यस्ता कैयौँ उपलब्धिबाट भन्न सकिन्छ– कुकुर केवल जनावर होइन । यो मान्छेको भरपर्दाे सहयोगी र साथी पनि हो । घरको रक्षक हो । अनि, अपराध अनुसन्धानकर्ता पनि हो । भीआईपी तथा ठूलाबडाको सुरक्षामा खटिएर महŒवपूर्ण भूमिका निर्वाह गर्ने अंग पनि हो ।
नेपाल प्रहरीका केही अधिकारी २०२६ सालमा तालिमका लागि मलेसिया गएसँगै प्रहरीले विधिवत रूपमा अपराध अनुसन्धानमा कुकुरको प्रयोग थालेको हो । तालिममा गएका प्रहरी अधिकारीले उतैबाट उच्च नश्लका कुकुर ल्याएर सेवा सुरु गरेका थिए । प्रहरीले २०३२ सालमा कुकुर शाखाको स्थापना गरेर यसको उपयोग र विकासको पहल थालेको हो ।
तालिम स्कुलबाट तालिमप्राप्त कुकुरहरू हातहतियार तथा विष्फोटक पदार्थ र लागुऔषधको खोजी, हत्या, बलात्कार र लुटपाटका घटनामा संलग्न व्यक्तिको पहिचान र विपत्मा हराएका व्यक्तिको खोजीमा सक्रिय रहने गरेका छन् । अभियुक्तको पदचापदेखि उसले छोएका र छाडेका वस्तुलाई सुँघ्दै लामो दूरीसम्म कुकुरले पछ्याउने गर्छ । हाल नेपालमा रहेका तालिमप्राप्त कुकुरले घटनाको २४ घण्टासम्मका सबुतलाई सुँघेर घटनामा संलग्न व्यक्तिको पहिचान गर्न सक्छन् ।
भारत सरकारको सहयोगमा ग्वालियरको टोकनपुरबाट ल्याइएका उन्नत नश्लका कुकुर र नेपालमै जन्मिएका कुकुरलाई तालिम दिएर प्रयोग गरिँदै आएको स्कुलले भावी दिनमा अन्तर्राष्ट्रिय क्षेत्रसँग सहकार्य गर्दै स्कुलमा थप उन्नत जातका कुकुर ल्याउने योजना बनाएको जनाएको छ ।
प्रधानमन्त्रीको सुरक्षामा १० कुकुर
प्रधानमन्त्रीको सुरक्षाका लागि हतियारधारी सुरक्षाकर्मी, बुलेटप्रुफ कार र सादा पोशाकका सुरक्षाकर्मीमात्र खटिएका हुँदैनन् । उनीहरूलाई सक्रिय रूपमा चौबीसै घण्टा साथ दिइरहेका हुन्छन्, १० वटा कुकुरले ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई वर्षअघिबाट तालिमप्राप्त १० कुकुर र उनीहरूका सहयोगीहरूको नियमित दरबन्दी नै कायम छ । प्रधानमन्त्री निवासमा नियमित चेकजाँचसँगै भित्र प्रवेश गर्ने सवारीसाधनको ‘वाच’ पनि कुकुरहरूले नै गरिरहेका हुन्छन् । जुनसुकै ठाउँमा प्रधानमन्त्री पुग्नुअघि नेपाल प्रहरीका तालिमप्राप्त कुकुरले जाँच गर्ने गरिन्छ । प्रधानमन्त्रीको सुरक्षामा खटिने कुकुरलाई विष्फोटक पदार्थ र हातहतियारको खोजीका लागि विशेष रूपमा खटाइन्छ । निवासमा प्रधानमन्त्रीको प्रवेशअघि समेत आवश्यकताअनुसार कुकुरले सिंगो निवासकै फन्को लगाएर जाँच गर्छ । प्रहरी कुकुर तालिम स्कुलकी प्रमुख एसपी देउकी गुरुङका अनुसार प्रधानमन्त्री निवास र प्रधानमन्त्रीको भ्रमणका लागि सोहीअनुसार तालिम दिएका कुकुर खटिएका छन् । विष्फोटक पदार्थ र हातहतियारबाट हुन सक्ने सम्भावित खतराको पहिचानका लागि यस्ता कुकुर तयारी अवस्थामा रहन्छन् । तालिमप्राप्त कुकुरले विष्फोटक पदार्थ र हातहतियार सुँघेर पहिचान गर्ने भएकाले विभिन्न कार्यक्रममा प्रधानमन्त्री सहभागी हुन पुग्नुअघि अनिवार्य रेकी हुन्छ ।
यस्तै, नेपाली सेना र सशस्त्र प्रहरीसँग रहेका कुकुरसमेत विशिष्ट व्यक्तिको सुरक्षामा प्रयोग भइरहेका हुन्छन् । सेनाले राष्ट्रपतिको सुरक्षामा कुकुरको प्रयोग गर्दै आएको छ । सशस्त्र प्रहरीका तालिमप्राप्त कुकुर विशेषगरी विपत्का बेला प्रयोग हुन्छन् ।
कुकुरबाट विमानस्थल निगरानी
लागुऔषध नियन्त्रण ब्युरो र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाका लागि तालिमप्राप्त कुकुरको भूमिका विशेष हुन्छ । लागुऔषध ओसारपसारका  अन्तर्राष्ट्रिय माफियाहरूले एकमात्र अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिटका रूपमा प्रयोग गर्ने खतरा सामना गर्न चौबीसै घण्टा कुकुर खटिएका छन् । विदेशबाट आउने र विदेश जाने यात्रुका लगेजबाट दर्जनौँ पटक कुकुरले लागुऔषध पत्ता लगाइसकेका छन् । विमानस्थलमा नियमित रूपमा छवटा तालिमप्राप्त कुकुर खटिने गरेका छन् ।
काठमाडौँ उपत्यकामा महानगरीय प्रहरीको अवधारणा लागू भएपछि अन्तर्राष्ट्रिय विमानस्थलमा कुकुर खटाउन थालिएको हो । यस्तै, देशको क्षेत्रीय विमानस्थल विराटनगरमा समेत चारवटा तालिमप्राप्त कुकुर खटिँदै आएका छन् ।
कुकुरः विपत्मा विकल्प
गत वर्षको महाभूकम्पमा भत्किएका संरचनाबाट दर्जनौँ शव भेट्न र जीवितको उद्धार गर्न तालिमप्राप्त कुकुर बलियो विकल्प साबित भयो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तालिमप्राप्त कुकुरहरू भूकम्पका बेला काठमाडौँ उपत्यकासहित रसुवाको लाङटाङ क्षेत्रमा समेत खटिएका थिए ।
एसपी गुरुङका अनुसार विपत्बाहेक कूटनीतिक नियोगका विशेष कार्यक्रममा समेत कार्यक्रम स्थल र व्यक्तिको सुरक्षाका लागि स्कुलमा कुकुरको माग हुने गर्छ । प्रहरी प्रधान कार्यालय हुँदै कूटनीतिक नियोगको आग्रह स्कुलसम्म आइपुग्छ । कूटनीतिक नियोगमध्ये धेरैजसो नेपालस्थित अमेरिकी दूतावासले तालिमप्राप्त कुकुरको माग गर्ने गर्छ ।
‘हामीले कूटनीतिक नियोगबाट आउने आग्रहअनुसार समेत तालिमप्राप्त कुकुर प्रयोग गरिरहेका छौँ,’ एसपी गुरुङले भनिन्, ‘सुरक्षा प्रबन्ध मिलाउने मामिलामा कुकुरको महŒवपूर्ण भूमिका रहँदै आएको छ ।’
अमेरिकाबाट थप कुकुर ल्याइँदै
प्रहरी कुकुर तालिम स्कुलका लागि अमेरिकाबाट विशेष कुकुर ल्याउने तयारी भइरहेको जनाइएको छ । हाल अमेरिका र युरोपका प्रहरीले प्रयोग गरिरहेका बेल्जियन सेफर्ड र मेलोनाइज जातका कुकर ल्याउने तयारी भइरहेको हो । यसका लागि अमेरिकी सरकारले नेपाल प्रहरीका अधिकारीका लागि तालिमको व्यवस्थासमेत गर्नेछ ।
‘ल्याउने तयारीमा रहेका कुकुरले घटनाको ९६ घण्टापछि पनि सुँघेर अभियुक्त पत्ता लगाउन सक्छन्,’ एसपी गुरुङले शुक्रवारसँग भनिन्, ‘विष्फोटक पदार्थ, हातहतियार र लागुऔषधको खोजीमा समेत त्यस्ता कुकुर सफल देखिएका छन् ।’
२०४७ मा स्थापना भएको नेपाल प्रहरीको केन्द्रीय कुकुर तालिम स्कुलले चारवटा क्षेत्रीय प्रहरी कार्यालयमा समेत शाखा खोलेको छ । यसै वर्ष सुदूरपश्चिम क्षेत्रमा पनि सेवा सुरु गर्ने तयारी भइसकेको एसपी गुरुङले बताइन् । उनका अनुसार हाल काठमाडौँमा ४४, पश्चिम क्षेत्रमा सात, पूर्व र मध्य क्षेत्रमा छ–छ र मध्यपश्चिममा पाँच गरी ६८ वटा तालिमप्राप्त कुकुर अपराध अनुसन्धान र नियन्त्रणमा अहोरात्र खटिएका छन् । तालिम स्कुलमा जर्मन सेफर्ड, लाब्राडोर र गोल्डेन रिट्राइभर जातका कुकुर धेरै छन् ।
कुकुरको खानपान
नेपाल प्रहरीले दुई वर्षअघिसम्म कुकुरका लागि स्कुलमै खाना बनाएर खुवाउँदै आएको थियो । कुकुरका लागि आवश्यक निश्चित मात्रामा मासु, पिठो, साग र दूध दिँदै आएको प्रहरीले अचेल भने तयारी अवस्थामा रहेको कुकुरको ‘रेडिमेड’ खाना खुवाउँदै आएको छ । तालिम स्कुलका अधिकारीका अनुसार खाना बनाएर खुवाउँदा कुकुरमा देखिएको समस्या हाल निकै कम भएको छ । कुकुरका लागि आवश्यक खानाको वार्षिक रूपमा आपूर्तिका लागि टेन्डर हुने गर्छ ।
‘पहिला मासु र अन्य खाना टेन्डरमा देखाएभन्दा आपूर्ति न्यून कोटीको हुने गरेको पायौँ,’ एसपी गुरुङले भनिन्, ‘त्यसपछि खाना दिने ट्रेन्ड बदल्यौँ । अहिले कुकुरलाई अन्तर्राष्ट्रिय स्तरको पोषक खाना खुवाउँदै आएका छौँ ।’ उनका अनुसार स्वास्थ्यकर मासु नपाउँदा कुकुरलाई विभिन्न रोग लाग्ने समस्या हाल घट्दै गएका छन् । एउटा कुकुरका लागि सरदर दैनिक तीन सय रुपैयाँ बराबरको खर्च राज्यले बेहोर्दै आएको छ ।
प्रहरीले जर्मन सेफर्ड, लाब्राडोर र गोल्डेन रिट्राइभर गरी तीन जातका कुकुर प्रयोग गर्दै आएको छ । जर्मन सेफर्ड सबै क्रियाकलापमा सक्रिय हुने कुकुर भए पनि यसको पालनपोषण कठिन हुने प्रहरी बताउँछ । रोगसँग लड्ने क्षमता पनि यसमा कम हुन्छ । यसको औसत आयु छ÷सात  वर्षमात्र हुन्छ । सुँघ्ने क्षमता अत्यन्त उच्च मानिने लाब्राडोरको आयु भने आठ÷दश वर्षसम्म हुन्छ । तर, यसले एक पटकमा एउटै प्रकृतिको घटनाको मात्र अनुसन्धानमा उत्कृष्ट नतिजा दिन सक्छ ।


कुकुरबाट अनुसन्धान प्रभावकारी हुन सक्ने अवस्था
– घटनास्थल सुरक्षित रहेको अवस्था
– शंकास्पद व्यक्ति नियन्त्रणमा रहेको अवस्था
– मानवीय भौतिक प्रमाण (रगत, खकार वा थुक आदि) सुरक्षित भएमा
–पानी, आगो, घाम र हावाबाट घटनास्थल सुरक्षित भएमा
–घटनाको जानकारी २४ घण्टाभित्र भएमा
–पदचाप सुरक्षित रहेमा
कुकुरबाट हुने अनुसन्धानको मुख्य कमजोरी भनेकै समयावधि हो । नेपाल प्रहरीसँग हाल रहेका तालिमप्राप्त कुकुरले घटना भएको २४ घण्टासम्म मात्र सुँघेर अभियुक्त पत्ता लगाउन सक्छन् । यस्तै, अभियुक्तले नदी पार गरेमा पनि कुकुरबाट हुने अनुसन्धान प्रभावकारी हुन मुस्किल पर्छ ।

Leave A Comment