किन आउँछ अमिलो पानी ?

बिहिबार, ११ कार्तिक २०७३, ११ : २३ शुक्रवार , Kathmandu
किन आउँछ अमिलो पानी ?

डा. दीपेश गुर्वाचार्य

मानिसलाई खाना खाएपछि मुखमा अमिलो पानी आउने, छाती तथा घाँटी पोल्ने हुनसक्छ, जसलाई ‘हार्ट बर्न’ भनिन्छ । ‘हार्ट बर्न’ भन्ने चलन भए पनि मुटु पोलेको भने होइन । यी लक्षणलाई मेडिकल शब्दावलीमा जीईआरडी (ग्यास्ट्रो इसोफेजियल रिफ्लक्स डिजिज) भनिन्छ । अन्ननली र आमाशयको बीचमा एउटा भल्भ हुन्छ । अन्ननलीबाट खाना जाने बेलामा केही खुकुलो हुने यो मासंपेशी अरू बेला साँघुरिएर बस्छ । यसको विशेषता भनेकै खाना एकतर्फी रूपमा पास गर्ने हो । तर, कतिपयको अन्ननली र आमाशयको बीचमा हुने भाग सामान्य अवस्थाभन्दा बढी खुकुलो भएकाले यस्तो समस्या हुन्छ । हर्निया भएका मानिसहरूको पनि आमाशयको माथिल्लो भल्भ खुकुलो भएर अमिलो पानी आउने समस्या हुनसक्छ ।
कुनै विशेष कारणले आमाशयको भल्भ केही समयका लागि खुकुलो भएर पनि अमिलो पानी या डकार आउने समस्या रहनसक्छ । गर्भवती अवस्था अर्को उदाहरण हो । उनीहरूको पेटको आकार बढेर आमाशयमा दबाब पर्छ । त्यसले गर्दा भल्भ खुकुलो भएर अमिलो पानी आउने लक्षण बढ्छ । अर्को कारण गर्भवती अवस्थामा हुने हर्मोनको गडबड हो । त्यसले पनि अमिलो पानी आउने, वाकवाकी लाग्ने बनाइदिन्छ । कसैलाई पहिलो तीन महिनामा यस्तो हुन्छ भने कसैको अवधि नौ महिनासम्म पनि जानसक्छ । यस्तो लक्षणले आत्तिनुपर्ने कुनै कारण त छैन । तर, कतिपय महिलालाई भने कुनै खानेकुरा नखाने, पानी पनि नरहने भएकाले जलविनियोजन (डिहाइड्रेसन) भएर अस्पताल भर्ना गर्नेसम्म पनि हुनसक्छ । तर, अधिकांशको पहिलो तीनचार महिनापछि कम हुँदै जान्छ । त्यस क्रममै कतिपयलाई यति धेरै अमिलो पानी आइदिन्छ कि कुनै औषधिले पनि छुँदैन ।
अन्य कतिपय कारणले पनि अन्ननली र आमाशयको जंक्सनमा असर परेर अमिलो पानी आउँछ । मानिसको आमाशयमा अम्ल हुन्छ । त्यो अम्ल फर्केर अन्ननलीमा वा मुखमै पनि आउन सक्छ, जसलाई हामीले अमिलो महसुस गर्छौं । आमाशयमा अम्ल बस्न नै अनुकूल संरचना हुने भएकाले त्यहाँ अम्ल रहँदा हामी असजिलो महसुस गर्दैनौँ । तर, अन्ननली, मुख आदि अंगको त्यस्तो अम्लसँग सम्पर्क नहुने भएकाले त्यससँग लड्ने संरचना हँुदैन र अम्ल ती अंगमा पर्नासाथ हामी पोलेको महसुस गर्छौं ।
हामीले खाएको खाना अन्ननली, आमाशय, सानो÷ठूलो आन्द्रा हँुदै निष्कासन हुने निश्चित अवधि हुन्छ । हरेक अंगमा खाना केही समय भण्डारण हुन्छ । खानाको स्वरूप र प्रकृति हेरेर एउटा अंगबाट अर्कोमा जाने अवधि फरक पर्छ । झोल र पानी छिटो जान्छ भने ठोस पदार्थले केही समय लिन्छ । बोसो र चिल्लोयुक्त खाना खाँदा आमाशयदेखि सानो आन्द्रामा जाने अवधि लम्बिन्छ । लामो अवधि आमाशयमा रहने भएकाले बोसो र चिल्लोयुक्त खानाले अन्ननली र आमाशयको जंक्सनलाई केही खुकुलो बनाइदिन्छ । फलस्वरूप हामीले अमिलो पानी आएको महसुस गर्छाैं । गुलियो वा फलफूल खाँदा छिटो भोक लाग्छ । तर, बोसो र चिल्लोयुक्त खाना खाए पनि अन्यको तुलनामा हामीलाई भोक पनि अलि ढिलो नै लाग्छ । आमाशयबाट सानो आन्द्रामा खाना जान समय लाग्ने र पच्ने अवधि पनि लम्बिने भएकाले भोक ढिलो लाग्ने गरेको हो ।

Leave A Comment

Astaberry.com
nagarik-ime

zenTravelsNagarikNews2015

ncell-april17