‘भूकम्पपीडितले मलाई प्रधानमन्त्री नै ठाने’

सोमबार, ०८ कार्तिक २०७३, ११ : ३१ अनिल यादव , Kathmandu
‘भूकम्पपीडितले मलाई प्रधानमन्त्री नै ठाने’

अभिनेत्री गौरी मल्ल नेपाली फिल्मपारखीका लागि परिचित नाम हो । झण्डै तीन दशकअघि फिल्म ‘सन्तान’बाट नेपाली दर्शकसामु देखापरेकी उनले ‘कन्यादान’, ‘वसन्ती’, ‘मामाघर’ लगायत दर्जनौँ फिल्ममा काम गरेकी छिन् । उनले पछिल्लो समय टेलिसिरियल ‘सिंहदरबार’मा प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेकी थिइन् । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी ः

तपाईं अझै पनि ‘फिट’ देखिनुहुन्छ । रहस्य के होला ?
त्यस्तो केही ‘सिक्रेट’ छैन । बढाइचढाई कसरी भन्नु ? मान्छेको दिनचर्यामा पर्ने कुराहरू सब गर्छु । म शाकाहारी हुँ । ध्यान, प्राणायम पनि गर्छु ।

कार्यक्रमतिर खासै देखिनुहुन्न । केमा व्यस्त हुनुहुन्छ ?
भर्खरै न्युज २४ टेलिभिजनबाट ‘आमा सिजन–२’ सुरु गरेँ । त्यसको सुटिङमा व्यस्त हुन्छु । फिल्म ‘सुब्बा साब’को प्रमोसनमा पनि समय दिइरहेको छु । त्यसबाहेक आफ्नै ब्यानरबाट सामाजिक सिरियल ल्याउने तयारीमा छु । स्क्रिप्टको काम भइरहेको छ । कथा मेरै हो । निर्देशन पनि मेरै हुनेछ ।

भर्खरै ‘सिंहदरबार’ नामक टेलिसिरियलमा महिला प्रधानमन्त्रीका रूपमा देखापर्नुभयो । फेरि अर्को सिरियलको तयारीमा हुनुहुँदो रहेछ । अरू सानो पर्दाबाट ठूलो पर्दातिर लागिरहेको बेलामा तपाईं चाहिँ किन उल्टो हिँडिरहनुभएको छ ?
खासमा टेलिभिजन मेरो पहिलेदेखिकै चाहना हो । तर, हरेक कुराको समय आउनुपर्दो रैछ । मलाई अहिले आयो । त्यही भन्नुपर्ला ।

तपाईं दर्शकमाझ बढी चिनिएको त फिल्मबाटै हो नि ?
त्यो त हो । यो सब रुचिको कुरा हो । ‘वसन्ती’ बन्नुअघि नै मलाई नीर शाहले एउटा फिल्म निर्देशनको अफर गर्नुभएको थियो । मैले त्यतिबेला आँट गरिन । टेलिभिजनमा आउने चाहना भएकाले मैले त्यतिबेलै आफ्नो प्रोडक्सन हाउस खोलेर हास्य टेलिसिरियलको आधा स्क्रिप्ट तयार गरेकी थिएँ । जापान जानुपर्ने भएर मैले गर्न पाइनँ । त्यो त्यत्तिकै थन्केर गयो । तर, अझै मसँग छ । चाहेँ भने अहिले पनि बनाउन सक्छु । अहिले पनि कतिजना साथीहरू फिल्म निर्देशनको अफर लिएर आउनुभएको छ । एउटा फिल्म निर्देशन गर्ने त पक्कापक्की नै भइसक्यो । स्क्रिप्टको काम भइरहेको छ ।

लामो समय अभिनय गरिसकेपछि निर्देशनमा आउने लहर चलिरहेको छ । एक्टर भएपछि निर्देशनमा आउनैपर्छ भन्ने छ र ?
एउटा कालखण्डमा पुगिसकेपछि यस्तो सोच त स्वाभाविक रूपले आउँछ जस्तो लाग्छ । जस्तो, भुवन केसी, दीपाश्री निरौला लगायतलाई आयो । केही समय काम गरिसकेपछि केही अनुभव त कामकै सिलसिलामा भइसकेको हुन्छ । खालि अहिलेको टेक्नोलोजीसँग अपडेट भएको हुनुपर्छ ।

अमेरिकाबाट फर्किनेबित्तिकै सिरियलमा महिला प्रधानमन्त्रीको भूमिका निर्वाह गर्न पाउनुलाई तपाईंले कसरी लिनुभयो ?
मलाई बिर्सिसकेका दर्शकमाझ फेरि चिनिने मौका पाएँ । मेरो करिअरमै धेरै प्रशंसित भूमिका हो यो ।  

पर्दामा महिला प्रधानमन्त्री बन्दा केही रमाइलो अनुभव पनि गर्नुभयो कि ?
सुटिङको एउटा रमाइलो घटना छ । भूकम्पपछिको एपिसोड थियो । स्क्रिप्टअनुसार प्रधानमन्त्री भूकम्पपीडितकहाँ गएर उनीहरूको अवस्था बुझ्नु र हालखबर सोध्नुपर्ने थियो । हाम्रो सुटिङ काठमाडौँ, चुच्चेपाटीमा थियो । सयौँ भूकम्पपीडित त्यहाँ पालमा थिए । अझै पनि छन् । मलाई त्यहाँ कतिपयले साँच्चिकै प्रधानमन्त्री ठानिदिनुभयो । ‘म्याडम, हामीलाई यस्तो प¥यो, उस्तो प¥यो’ भनेर साँच्चिकै दुःख बिसाइरहेका थिए । म निःशब्द भएँ । किनकि, म त नक्कली प्रधानमन्त्री थिएँ । सुन्नबाहेक केही गर्न सक्दिन थिएँ । हाम्रो देशको प्रधानमन्त्री को हुनुहुन्छ भन्ने पनि अझै हाम्रा देशका जनतालाई थाहा रहेनछ । यो विडम्बनाको कुरा हो जस्तो लाग्छ ।


थुप्रै कलाकार अमेरिका गइरहेका छन् । धेरै नेपाली अमेरिका जाने सपना बुनिरहँदा तपाईं चाहिँ किन फर्किनुभयो ?
एउटा कलाकार मात्र नभएर जो पनि अवसर पायो भने विदेश त जान्छ । अमेरिकाजस्तो देश त झन् जो कोही जान्छ । म त एकचोटि अमेरिका जो पनि जानुपर्छ भन्छु । तर, जाने आउने क्रम चाहिँ भइरहनुपर्छ । मेरो हकमा भन्ने हो भने मेरो अभिभावक वृद्ध  हुनुभएकाले उहाँहरूलाई मेरो साथ चाहिएको छ । त्यही भएर म फर्किएकी हुँ ।

अमेरिका किन जानुभएको थियो ?
मेरो व्यक्तिगत कारण थियो । म अहिले बाहिर ल्याउन चाहन्नँ ।  

अमेरिका बसाइका क्रममा के–के भोगियो ?
एउटा घटना भयो । मेरो एकजना रुममेटकी छोरी क्यालिफोर्नियामा ‘बेबी सिटिङ’को काम गर्थिन् । उनले पनि मलाई यही काम सिफारिस गरिन् । मैले अन्तर्वार्ता दिएँ । काममा लागेको दोस्रो दिनै ममाथि बच्चा चोरेको आरोप लाग्यो । त्यो दिन म र बोस दुईजना बच्चा लिएर सँगसँगै घुम्न निस्कियौँ । एउटा बच्चा बोससँग र अर्को मसँग थियो । भीडभाडमा हामी छुट्टियौँ । बोस घर पुगिछिन् । मैले खोज्दा भेटिनँ । निकै बेर फोन गरेपछि लाग्यो र मैले ‘म पार्कमा छु’ भनेँ । फोनमा निकै रिसाएर प्रस्तुत भइन् । पछि घर पुग्दा पनि उनी आक्रोशित थिइन् । बच्चा चोरेर भागेको ठानिछिन् । निकै गाली गरिन् । सुनिरहेँ । अन्तिममा हिँड्ने बेलामा मैले ‘म यस्तो देशको मान्छे हुँ, जहाँ हराएको बच्चा पनि खोजेर दिइन्छ । म कलाकार हुँ । अर्काको पीडामा हामी रुन्छौँ । म कसरी बच्चा चोर्न सक्छु ?’ भन्दै भोलिबाट काममा नआउने बताएँ । निकै चित्त दुखेको थियो मलाई त्यो दिन । घर पुग्दा त माफी माग्दै लामो म्यासेज आइसकेको रैछ । उनी पनि हलिउडमा ब्याकग्राउन्ड डिजाइनर रहिछिन् । बच्चा भएपछि छोडेकी रैछिन् । पछि उनले निकै आग्रह गरेपछि भेट्न गएँ । हामी त मिल्ने साथी पो भयौँ । बच्चाचोरको आरोप लगाएकी उनले नै अमेरिकाबाट फर्किने बेलामा भव्य बिदा गरेर पठाइन् ।

अमेरिकामा तीन वर्ष र जापानमा पाँच वर्ष बसेर आएपछि तपाईंले नेपाली फिल्ममा के परिवर्तन पाउनुभयो ?
स्वभाविक परिवर्तन नै पाएँ । अनौठो त त्यस्तो केही पाइन । समयअनुसार प्रविधिमा त अपडेट हुनु स्वाभाविकै हो । एउटा कुरा चाहिँ खट्किन्छ । इन्डस्ट्री अहिले पहिलेजस्तो अनुशासित छैन ।


तपाईं धार्मिक स्वभावको मान्छे हुनुहुन्छ, हैन ?
म घन्टी बजाएर धर्म हुन्छ भन्ने मान्छे होइन । मन्दिर गएर पूजापाठ गरेर मात्र धर्म हुन्छ पनि भन्दिनँ । त्यो त मनको शान्ति र भगवान्सँग दुःख बिसाउने बाटो मात्र हो । धर्म तपाईंको हृदयमा हुनुपर्छ । तपाईं कुनै गरिबको आङमा लुगा राख्दिनुस्, त्यो धर्म हो । भोको मान्छेको पेट भरिदिनुस्, त्यो धर्म हो । दुःखी मान्छेलाई सान्त्वना दिनुस्, त्यो धर्म हो । रोइरहेको मान्छेको आँशु पुछिदिनुस्, त्यो धर्म हो । म यस अर्थमा धार्मिक मान्छे हुँ ।

लामो समय अभिनयमा बिताउनुभयो । नेपाली अभिनेत्रीका दुःख के छन् त ?
हाम्रो बेलामा ‘कास्टिङ काउच’ भन्ने शब्द पनि थिएन । डिरेक्टर भन्नेबित्तिकै स्कुलको प्रिन्सिपलजस्तै डरलाग्दो मान्छे लाग्थ्यो । तर, अहिले त्यस्ता कुराहरू सुनिन्छन् । अर्को कुरा सुटिङ भनेकै दुःख हो । त्यहाँ त सुख हुने कुरै हुन्न । अभिनेत्रीमाथि विभेदका कुरा पनि आउँछन् । त्यो चाहिँ आफ्नो व्यक्तित्वमा भर पर्छ । महिलाले आफूलाई कमजोर महसुस गरे विभेदको सामना गर्नुपर्छ ।

वरिष्ठ अभिनेत्री बसुन्धरा भुसालले एउटा अन्तर्वार्तामा भन्नुभएको थियो– ‘कलाकारको जिन्दगीः बाहिर स्वाङ, भित्र ढ्वाङ ।’ सहमत हुनुहुन्छ ?
उहाँले कुन अर्थमा भन्नुभयो, त्यसमा भर पर्छ । कलाकारको जीवनको हकमा भनेको हो भने मलाई त्यस्तो लाग्दैन । कम्तीमा, मेरो हकमा त्यस्तो छैन । म घरमा जे छु, बाहिर पनि त्यही नै छु ।  

तपाईं नर्स बन्ने लक्ष्य राखेको मान्छे । अभिनयमा आउनुभयो । अहिले कस्तो लाग्छ ?
म त यसलाई मेरो जीवनको ठूलो दुर्घटना मान्छु । खासमा म बुबाका लागि नर्स बन्न चाहन्थेँ । उहाँ आर्मीमा हुनुहुन्थ्यो । डाक्टर बन्न सक्दिन थिएँ । त्यसैले आर्मीको नर्स बन्न चाहन्थेँ । खासमा मलाई बुबाको जस्तै आर्मीको फुली लाउने चाहना थियो । अनायासै अभिनयतिर लागियो ।

जीवनको कुनै मोडमा पुगेर अभिनय छाडौँ भन्ने लाग्यो ?
०५२ सालमा बिहे भइसकेपछि अब चाहिँ अभिनय छाडेर ‘हाउसवाइफ’ भएर बस्छु भन्ने सोचेँ । त्यही भएर एक वर्ष काम पनि गरिनँ । मलाई राम्रो हाउसवाइफ हुने इच्छा थियो ।

फिल्ममा काम गर्दा चाहिँ राम्रो हाउसवाइफ भइँदैन थियो र ?
टाइम दिन सकिँदैन नि त । घर, परिवार, श्रीमान् सबैलाई समय दिन सकिँदैन थियो । तर, पछि प्रकाश सायमीलगायत शुभचिन्तकहरूको आग्रहका कारण मैले अभिनय छाड्न सकिनँ ।

नेपाली फिल्ममा प्रमुख भूमिकामा देखिरहेका दर्शकले तपाईंलाई बलिउड फिल्म ‘इश्किया’मा सानो भूमिकामा देखे । यो खासमा बलिउड छिर्ने प्रयास थियो या के ?  
सुनिल थापा मेरो राम्रो साथी हुनुहुन्छ । म जापानबाट फर्किसकेपछि काम नगरी बसिरहेकी थिएँ । त्यतिबेलै उहाँले एउटा सिनेमाका लागि नेपाली मूलको क्यारेक्टर चाहिएको र मलाई सुहाउने भन्दै अफर गर्नुभयो । सुरुमा त गर्दिनँ भनेँ । पछि विशाल भारद्वाजको ब्यानर भनेपछि ओके गरेँ । ठीकै छ, एकचोटि बलिउड कस्तो हुँदोरैछ हेरौँ न त भन्ने भयो । अडिसन दिएँ । ओके भयो । अनि वर्कसपमा गएँ । त्यहाँ सानोठूलो जस्तो भूमिका भए पनि निकै मेहनत गरिँदो रहेछ । जसबाट म प्रभावित भएँ ।

तपाईंले एउटा अन्तर्वार्तामा ‘निःसन्तान हुनुमा गर्व छ’ भन्नुभएको थियो । अहिले अधिकांश फिल्ममा तपाईं आमाको भूमिका निर्वाह गरिरहनुभएको छ । कसरी लिनुहुन्छ यसलाई ?
आजभन्दा २९ वर्षअघि नै मैले यस्तो भूमिकामा काम गरेकी हुँ  । अहिले अलि बढी पाएको मात्र हुँ । ओल्डलाई योङ बनाउन सकिँदैन । योङलाई ओल्ड बनाउन सजिलो हुन्छ । त्यसैले मलाई अहिले यही भूमिका फिट भएर बढी अफर आएको होला ।

Leave A Comment