गुडबाई जिन्दगी !

आइतबार, ०७ कार्तिक २०७३, ११ : ३१ मनोज घर्तीमगर , Kathmandu
गुडबाई जिन्दगी !

पोखरा ! नाम लिनेबित्तिकै सबैका मनमा एउटा सुन्दर शहरको चित्र बन्छ । प्रकृतिले सारा सौन्दर्य खनाइदिएकी छिन् यहाँ । माछापुच्छ«े हिमालको मनोरम दृश्यको प्रतिविम्ब नियाल्न सकिने प्रसिद्ध फेवाताल यहीँ छ । रमाउनलाई के छैन पोखरामा ? पर्याप्त होटल र रेस्टुरेन्ट छन् । प्याराग्लाइडिङ छ । अन्य धेरै थोक छन् । तर, यही सुन्दर शहरमा जीवन समाप्त गर्ने कुरूप कदम चाल्न आउनेहरू पनि छन् । पोखरा पुगेर आत्महत्या गर्ने ‘आत्मघाती पर्यटक’बारे मनोज घर्तीमगरले तयार पारेको रिपोर्ट ।
पोखरा !
नाम लिनेबित्तिकै सबैका मनमा एउटा सुन्दर शहरको चित्र बन्छ । प्रकृतिले सारा सौन्दर्य खनाइदिएकी छिन् यहाँ । माछापुच्छ«े हिमालको मनोरम दृश्यको प्रतिविम्ब नियाल्न सकिने प्रसिद्ध फेवाताल यहीँ छ ।
रमाउनलाई के छैन पोखरामा ?
पर्याप्त होटल र रेस्टुरेन्ट छन् । उड्नलाई प्याराग्लाइडिङ छ । अन्य धेरै थोक छन् ।
देशको पर्यटन केन्द्र हो यो शहर । स्वर्गजस्तो पोखरामा रमाउन हजारौँ पर्यटक आउँछन् ।
तर, यही सुन्दर शहरमा जीवन समाप्त गर्ने कुरूप कदम चाल्न आउनेहरू पनि छन् । पोखरा पुगेर ‘गुडबाई जिन्दगी !’ भन्ने ‘आत्मघाती पर्यटक’को संख्या बढिरहेको कास्की प्रहरी बताउँछ ।

०००
भारत, हैदराबादका धनञ्जय सुरी सेट्टी (५४) घुम्न भनेपछि हुरुक्कै हुन्थे । पेशाले इन्जिनियर सेट्टी पोहोर माघमा घुम्नलाई नेपाल आए । काठमाडौँ, बुटवल, नारायगढ, धरान, विराटनगरलगायत ठाउँ घुमेपछि उनी पोखरा पुगे ।
माघ २५ गते पोखरा आएका सेट्टी पोखराको पृथ्वीचोकस्थित इमानुएल  गेस्टहाउसमा बसेका थिए । भारतबाट आएको नबताएका उनले होटलमा एक हप्ता बस्ने भनेर कोठा बुक गरे । १०२ नम्बर कोठामा बसेका सेट्टी दैनिक घुम्नलाई बाहिर निस्कन्थे । कहिले साँझ अबेर आउँथे । माघ २९ गते भने बिहान अबेरसम्म उनी यताउता देखिएनन् ।
खाना खाने बेलासम्म नदेखिएपछि होटल सञ्चालकले सोधखोज गरे । ढोका ढकढक्याए । भित्रबाट चुकुल लगाएका सेट्टीले कसै गर्दा पनि ढोका खोल्दै खोलेनन् । झ्यालको पर्दा हटाएर हेर्दा थाहा भयो, उनले त पंखामा प्याजी कलरको बुट्टे तन्नाको पासो लगाएका रहेछन् ।
प्रहरी आएर मुचुल्का उठाएर भारतीय दूतावासको रोहबरमा शव बुझायो । उनले सुसाइड नोटमा यस्तो लेखेका थिए– ‘मेरी पत्नीसँग डिभोर्स भइसकेको छ । मैले कसैसँग लोन लिएको छैन । कसैले दाबी गर्ला । होटल मालिकलाई मात्र पैसा तिर्नुछ, मसँग भएको पैसा झिकेर तिरिदिनू ।’
घटना अनुसन्धान गर्दै जाँदा प्राप्त विवरण देखेर प्रहरी पनि छक्क प¥यो । सेट्टी आत्महत्या गर्नकै लागि पोखरा पुगेका रहेछन् । ‘उनी नेपालका धेरै ठाउँमा घुमेछन्,’ घटनाको अनुसन्धानमा संलग्न प्रहरी नायब निरीक्षक रामबहादुर अधिकारीले भने, ‘घटनालाई केलाउँदै जाँदा उनी आत्महत्या गर्ने मनसाय बोकेरै यहाँ आएको देखिन्छ । नेपालका धेरै ठाउँ घुमेर पोखरा आएरै आत्महत्या गर्न चाहनुको कारण यसै भन्न सकिन्न ।’
०००
काठमाडौँका ओमप्रकाश भण्डारीले पनि पोखरामै आत्महत्या गरे । यसै वर्षको भदौ २८ मा काठमाडौँबाट पोखरा आएका भण्डारी लेकसाइडको गेस्टहाउसमा बसे । कोठा नम्बर १०६ रोजेका उनले एक हप्ता बस्ने भनेर अग्रिम पाँच हजार रुपैयाँ होटलमा बुझाए । अलि कम बोल्ने स्वभावका उनी हरेक दिन होटलबाट निस्किएर घुम्न जान्थे । साँझ परेपछि फर्केर आउँथे । असोज ११ गते भने उनी फर्किएनन् । होटल सञ्चालकले खोजी गरे । नभेटिएपछि प्रहरीलाई खबर गरे ।
भोलिपल्ट पोखरा–६ बसुन्धरापार्कमा एकजना मान्छे झुन्डिएको खबर प्रहरीलाई आयो । उनै भण्डारी शिरीषको रूखमा झुन्डिइरहेको फेला परे । ‘भण्डारी झुण्डिएको ठाउँमा चाउचाउ, बिस्कुट र चप्पल भेटियो,’ अनुसन्धान टिममा रहेका एक प्रहरी अधिकृत भन्छन्, ‘उनी पनि मानसिक रूपमा प्रताडित भएर पोखरा आएर ज्यान फालेको देखिन्छ ।’
१६ वर्षीय राजन सुब्बा पोहोर मंसिर १५ मा पोखरा घुम्न आएका थिए । उनी पृथ्वीचोकको होटलमा बसेका थिए । होटलको कोठा नम्बर १०७ मा बसेका उनलाई भेट्न मंसिर १७ गते एउटी युवती आइन् । होटल सञ्चालकका अनुसार उनीहरू एकछिन जिस्किए । राजनले चुरोट पिए । त्यसपछि उनीहरू सँगै कोठामा गए । एकछिनपछि ती युवती बाहिरिइन् । राजन कोठामै थिए । साँझ परेपछि घुम्न र खाना खान निस्कने राजन त्यस दिन अबेरसम्म बाहिर आएनन् । होटल सञ्चालकले ढोकामा ढकढक गरे । राजन बोल्दै बोलेनन् । बोलून् कसरी ? झोलाको फित्ताले पंखामा झुण्डिएका थिए उनी । लगत्तै आएको प्रहरीले ढोका तोड्यो । भित्तामा रगतले लेखिएको थियो– ‘गुडबाई रोहिनी !’
०००
धेरैले ‘स्वर्ग’ को संज्ञा दिने पोखरामा आएर कैयौँ मान्छेले किन आत्महत्या गर्छन् होला ? यसबारे कसैले अध्ययन त गरेको छैन, तर समाजशास्त्री डा. रामचन्द्र बराल यति भन्न सक्छन्, ‘मर्नुभन्दा पहिले एकपटक पोखरा घुमौँ न त भन्ने मानसिकता पनि होला । अनि, स्वर्गजस्तो पोखराबाटै स्वर्ग जाने बाटो खोलौँ भन्नेहरू पनि होलान् । तर, यसलाई नै अन्तिम सत्य मान्न सकिँदैन ।’
डेभिज फल्समा फाल हाल्नेहरू
पोखराको अर्को आकर्षण हो, डेभिज फल्स अर्थात् पातले छाँगो । सन् १९६१ जुलाई ३१ मा स्विस नागरिक डेभी श्रीमान्सँग नुहाउँदै थिइन् । यो जोडीले नुहाइरहेको बेला फेवातालबाट एक्कासि बाढी आयो । त्यही बाढीले बगाएर छाँगोबाट खसेर डेभीको मृत्यु भयो । डेभीको मृत्यु भएपछि उनका श्रीमान् वियोगको पीडासहित स्वदेश फर्किए । यता, पोखरेलीहरूले उनै डेभीको सम्झनामा पातले छाँगोको नाम फेरिदिए– ‘डेभिज फल्स ।’
जानकारहरूका अनुसार करिब सय मिटरभन्दा गहिराइसम्म खसेको यो छाँगाको पानी पाँच सय मिटर दक्षिणतर्फ रहेको फुस्रे खोलामा मिसिएको छ । पाँच सय मिटर भूमिगत जलप्रवाह तथा अन्दाजी सय मिटर गहिराइमा देखिने डेभिज फल्समा सन् १९६१ यता थुप्रैले देहत्याग गरिसकेका छन् ।
पछिल्लो घटना हो, काभे्रेका  जुजुकाजी शाक्य (५८) को । पनौती–७ का जुजुकाजी एक सफल व्यवसायी थिए । नपुग्दो केही थिएन । छोरीहरू र श्रीमती अमेरिकामा थिए । सामाजिक सेवामा पनि सक्रिय उनले पोहोर चैत २० गते यही फल्समा फाल हाले । उनी किन पोखरा आएर डेभिज फल्समा हाम फाले ? यसको उत्तर त फेला परेको छैन । चैत २० को अपराह्न पोखरा आएका उनी सुरुमै डेभिज फल्स पुगेका थिए । छाँगो हेर्ने भन्दै टिकट काटेका उनी केही बेरमै बाहिर निस्किए । फेरि अर्को टिकट काटेर भित्र प्रवेश गरी छाँगोको खोँचमा हाम फाले । सुरुमा बीचमा रहेको ढिस्कोमा अड्किएका उनले मान्छेहरू कराउन थालेपछि त्यहाँबाट पनि तल हाम फाले । प्रहरीमा खबर पुगेपछि प्रहरीको उद्धार टोली तत्काल घटनास्थल पुग्यो । तर, उनलाई जीवित निकाल्न सकेन । उनको शव बाहिर निकालियो ।
डेभिज फल्समै कार्यरत दीपेन्द्र पौडेल हुन् वा पोखरा, बिरौटाका तन्नेरी हितकाजी गुरुङ, उनीहरूले आत्महत्या गर्न हेर्दै डरलाग्दो डेभिज फल्स नै रोजे । जहाँ हाम फालेपछि जीवित निस्कने कल्पनासम्म गर्न सकिन्न । ४८ वर्षीय हितकाजीले गत वैशाख १६ गते हाम फालेका थिए । दैनिकजसो फल्स नियाल्दै आएका त्यहाँकै कर्मचारी ४५ वर्षीय दीपेन्द्रले पनि गलत निर्णय गरे । साउन ६ गते फल्समा हाम फाले । उनको शव फुस्रे खोलामा भेटियो ।
अघिल्लो वर्ष मात्र चारजनाले डेभिज फल्समा आत्महत्या गरे । डेभिज फल्समै हाम फाल्ने योजनासहित पोखरा आएको एक जोडी भने रातको समयमा गेट बन्द भएका कारण बाँच्न सफल भएको प्रहरीले जनाएको छ । उनीहरूले फेवातालमा समेत हाम फालेर आत्महत्या गर्ने असफल प्रयास गरेका थिए । फेवातालमा हाम फालेलगत्तै प्रहरीले उनीहरूको जीवितै उद्धार गरेको थियो ।
पछिल्लो समय छोरेपाटनमा रहेको यो फल्समा आएर हाम फाल्नेहरू बढ्न थालेपछि यहाँका स्थानीय बासिन्दा चिन्तित छन् । ‘डेभिज फल्समा हाम फालेपछि जीवित हुने सम्भावना नरहने भएकाले मर्ने सोचले नै यहाँ हाम फाल्छन्,’ वडा प्रहरी कार्यालय, बैदामका प्रहरी निरीक्षक मोहनमणि अधिकारी भन्छन्, ‘अरू ठाउँमा हाम फाले के हो के हो ? यो निकै गहिरो र डरलाग्दो खोँच भएकाले र सडक नजिकै पनि भएकाले यसलाई नै रोज्ने गरेको देखिन्छ ।’  
सेती खोँचमा ज्यान फाल्नेहरू
पोखरामा डरलाग्दा खोँचैखोँच भएर बग्छ, सेती नदी । हेर्दै निस्सासिने यस्ता खोँच पनि मर्नका लागि धेरैले रोज्ने अर्को डरलाग्दो अवस्था छ । यहाँ हाम फालेपछि हड्डीसमेत फेला पर्न लगभग गाह्रै हुन्छ । सेती नदी साँघुरा खोँच हुँदै कतै त जमिनमुनि पनि बग्ने गर्छ ।
पोखराको मध्य भागबाटै बग्ने सेतीले केआई सिंह पुलदेखि कालीखोला दोभान पुलसम्म, नारायणथानदेखि तुलसीघाटसम्म, तुलसीघाटको केही तलदेखि शक्तिघाटसम्म, रामघाटदेखि ढुंगेसाँघुसम्म साँघुरा गल्छीहरू बनाएको छ । यिनै गल्छीमा हाम फालेर देह त्याग गर्नेहरू यति नै छन् भनेर यसै भन्न सकिन्न । तर, कहिलेकाहीँ हाम फाल्दा कसैले देख्यो, केही नोट फेला परे भने मात्र प्रहरीलाई खबर हुन्छ । खोजी कार्य भने प्रायः सधँै असफल हुन्छ ।
गत चैत २६ गते अम्बिका सुवेदीले सेती नदीमा ज्यान फालिन् । आफ्नो भाइसँगै रहेकी सुवेदीले तुलसीघाटको पक्की पुलबाट हाम फालेकी थिइन् । हंसपुर, कास्कीकी २९ वर्षीया उनी पोखरा बस्थिन् । साउन २१ गते रामघाटबाट स्याङ्जा, वालिङकी गीता कोइरालाले सेतीमै हाम फालिन् । खोजी गर्ने टोलीले गीताले लगाएको चप्पल र सानो हरियो झोलाबाहेक केही भेटेन । उनको शव अहिलेसम्म फेला पर्न सकेको छैन ।
ल्वाङघलेल, कास्कीका पदमलाल गौतम पनि सेतीमै हाम फालेर बेपत्ता भए । उमेर ७० पुगिसकेका गौतमले किन हाम फाले ? न यसको रहस्य खुल्यो, न उनको शव फेला प¥यो । छाङ–८ का वीरबहादुर विश्वकर्माले सामान्य घरायसी झगडा भएपछि सेतीमै फाल हाले । उनी पनि अहिलेसम्म बेपत्ताकै सूचीमा छन् ।
छोराको मृत्युको पीडा सहन नसकेर स्याङ्जाकी विना सुनारले नदीपुरस्थित नारायणस्थान नजिकैबाट तीव्र गतिमा बगिरहेको सेतीमै हाम फालेर आत्महत्या गरिन् । घरमा सुतिरहेको अवस्थामा सर्पले डसेर पाँच वर्षीय छोरा भरतको मृत्यु भएपछि उनी विक्षिप्त थिइन् ।
०००
कास्की प्रहरीको तथ्यांकअनुसार पोखरामा २०७१ सालमा १ सय ५ जनाले आत्महत्या गरे । गएको वर्ष ९७ जनाले यस्तै गलत कदम उठाएर ज्यान फाले । यो वर्षको वैशाखदेखि अहिलेसम्म ८५ जनाले आत्महत्या गरिसकेका छन् । तीमध्ये धेरैजसो १६ देखि ४० वर्ष उमेर समूहका भएको कास्की प्रहरी बताउँछ । पश्चिमाञ्चल क्षेत्रभर आत्महत्या गर्नेहरूको संख्या प्रतिवर्ष एक हजार हाराहारी हुने गर्छ ।

‘आत्महत्या गरिने प्वाइन्टमा निगरानी बढाउनुपर्छ’   
  डा. रवि शाक्य, प्रमुख
मानसिक रोग विभाग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, ललितपुर

 आत्महत्या अत्यन्त जटिल मनोवैज्ञानिक, जैविक र सामाजिक दुर्घटना हो । धार्मिक तथा सामाजिक दृष्टिले पनि यसलाई पाप एवं अपराध मानिँदै आएता पनि आधुनिक विज्ञानमा आत्महत्या एक गम्भीर मानसिक स्वास्थ्य समस्याको उपज हो ।
आत्महत्याको सोच तथा कोसिसलाई तत्कालै उपचार गर्नुपर्ने अत्यन्त संवेदनशील चिकित्सकीय विपद्का रूपमा हेरिन्छ । आफ्ना समस्याप्रति पूर्ण रूपले असहाय र निराश भएर जिउनुभन्दा मर्नु सबभन्दा उचित समाधान ठानी समस्याबाट भाग्न आत्महत्या गर्ने गरिन्छ । आत्महत्याको प्रमुख कारण डिप्रेसन (८० प्रतिशत) मानिन्छ । यसैगरी सिजोफ्रेनिया, डिमेन्सिया, रक्सी तथा अन्य लागुपदार्थ दुव्र्यसन, व्यक्तित्व गडबडी आदि पनि आत्महत्याका महŒवपूर्ण कारण हुन् ।
विश्वका विभिन्न देशमा आत्महत्याका बेग्लाबेग्लै ट्रेन्ड पाइन्छन् । जुन ठाउँमा जे सहज हुन्छ त्यही प्रयोग गरेर मान्छेहरू आत्महत्या गर्छन् । रेलवे भएका ठाउँमा रेलको लिकमा फाल हालेर, अग्ला टावर भएका ठाउँमा टावरबाट फाल हालेर मान्छेले आत्महत्या गर्ने गरेको पाइन्छ । यसैगरी, गाडीको धुवाँ फाल्ने साइलेन्सर पाइपलाई गाडीभित्र छिराएर र गाडी स्टार्ट गर्ने र गाडीका सबै सिसा बन्द गरेर पनि आत्महत्या गर्छन् । नेपालमा चाहिँ कीटनाशक विषादी खाएर, झुण्डिने, उचाइबाट फाल हाल्ने र पानीमा डुबेर आत्महत्या गर्ने गरिएको पाइन्छ । कृषिमा प्रयोग गरिने कीटनाशक विषादीको सर्वसुलभ उपलब्धताले गर्दा हामी कहाँ धेरैले आत्महत्याका लागि यसको प्रयोग गर्छन् । यसैगरी, अग्ला डाँडा तथा भीर एवं नदीनाला भएका ठाउँका मान्छेले फाल हालेर र डुबेर आत्महत्या गरेका पाइन्छन् ।
आफू बसिरहेको स्थानबाट टाढा गएर आत्महत्या गर्नुको पछाडि पनि मनोवैज्ञानिक कारण हुन्छन् । समस्याहरूबाट भाग्ने क्रममा व्यक्तिलाई कतै घुम्न जाँदा वा घरबाट टाढा जाँदा उसको समस्या समाधान हुन्छ कि भन्ने लाग्छ । जुन ठाउँ बढी सहज र चर्चित छ, त्यही ठाउँमा मानिस घुम्न जान्छन् । तर, ती ठाउँमा घुमफिर गर्दा पनि उसको समस्या समाधान हुने कुनै उपाय नदेखेपछि व्यक्ति आत्महत्या गर्ने तहमा पुगेको हुन्छ । आत्महत्या गरेको सजिलै कसैले नदेखून् र थाहा नपाऊन् भनेर पनि घरदेखि टाढा गएर आत्महत्या गर्ने गर्छन् ।
पोखरा नेपालको चर्चित पर्यटकीय गन्तव्य हो । यहाँ देशविदेशका पर्यटक घुम्नका लागि पुग्छन् । डिप्रेसन तथा तनावका बिरामीहरू पनि तनाव कम हुने आशमा पोखरा पुगेका हुन्छन् । तर, उनीहरूले पोखरा घुम्दा वा त्यहाँ बस्दा पनि आफूमा कुनै परिवर्तन महसुस गर्न नसकेपछि आत्महत्या गरेको हुन सक्छ । आत्महत्याकै योजना बनाएर पोखरा पुग्नेहरू पनि हुन सक्छन् । आत्महत्या बढी हुने यस्ता लोकेसनका बारेमा चर्चा परिचर्चा हुन जरुरी छ । आत्महत्या गरिने प्वाइन्टहरूमा निगरानी बढाउन तारबार गर्ने काम गर्नुपर्छ । सेती नदीको खोँच तथा डेभिज फल्स जस्ता बढी आत्महत्या हुने ठाउँमा २४ सै घण्टा सुरक्षा निगरानी गर्ने व्यवस्था गर्नुपर्छ । आत्महत्या मानसिक रूपमा अस्वस्थताको एउटा चरण पनि हो । त्यसैले मानिसहरूलाई उचित मनोसामाजिक परामर्श दिन पनि आवश्यक हुन्छ । जुन परामर्शले उनीहरूलाई तनाव व्यवस्थापन गर्न सघाओस् ।

कुख्यात सुसाइड स्पट

लन्डन अन्डरग्राउन्ड, ब्रिटेन
लन्डन अन्डरग्राउन्ड संसारकै प्रख्यात रेल यातायात सञ्जालमा गनिन्छ । यसभित्र २७० वटा रेल्वे स्टेसन छन् । यहाँ ११ वटा रेलका पटरी छन्, जसको कुल लम्बाइ चार सय किलोमिटर छ । यो अन्डरग्राउन्ड यातायात सञ्जालको क्षेत्र आत्महत्या गर्नेहरूको प्रमुख रोजाइमा पर्ने गरेको छ ।
यहाँभित्र तीव्र गतिमा चल्ने रेलको अगाडि फाल हानेर मानिसले आत्महत्या गर्ने गरेका छन् । यस अन्डरग्राउन्डभित्र पनि आत्महत्या गर्नेहरूले सबैभन्दा बढी रोज्ने ठाउँ हो, किंग्स क्रस सेन्ट प्यान्क्रास स्टेसन । सन् २००१ र २०११ को बीचमा यो स्टेसनबाट मात्रै १ सय ४५ मानिसले रेलको पटरीमा फाल हालेर आत्महत्या गरिसकेका छन् । तर, त्यहाँ चल्ने ट्रेनको बलियो ब्रेक र सावधानीका अन्य व्यवस्थाको बन्दोबस्तीका कारण पटरीमा फाल हानेर मर्न खोज्ने ४० प्रतिशत मात्रै सफल हुने गरेका छन् ।     

इफिल टावर, फ्रान्स
संसारभरिका मानिसले फ्रान्सको नाम सुन्नासाथ राजधानी पेरिसको इफिल टावर सम्झिन्छन् । फ्रान्सभित्रका धेरैले चाहिँ इफिल टावरको नाम सुन्नासाथ आत्महत्याको प्रसंग सम्झिने गर्छन् । किनकि, यो ३ सय २४ मिटर अग्लो टावरबाट फ्रान्सका धेरैले वर्षेनि आत्महत्या गर्छन् ।
आत्महत्या गर्नेहरू बढेपछि टावर व्यवस्थापन समितिले रेलिङ निर्माण गर्ने, जाली हाल्नेलगायत काम गरेको छ ।

नसल ब्रिज, चेक गणतन्त्र
चेक गणतन्त्रको राजधानी पाराग्वेमा रहेको नसल ब्रिजबाट प्राग शहरको मनमोहक दृश्य देख्न सकिन्छ । यो ४३ मिटर अग्लो छ । तलतिर सडक छ, जसमा अहोरात्र सवारी साधन चल्ने गर्छन् । यो पुललाई समेत आत्महत्या गर्नेहरूले रोज्ने गरेका छन् । ४० वर्षअघि बनेको सो पुलबाट फाल हानेर अहिलेसम्म करिब तीन सय मानिसले आत्महत्या गरेका छन् । चेकमा सो पुललाई ‘सुसाइड ब्रिज’को नामले समेत चिनिन्छ ।

बिची हेड, बेलायत
बेलायतको इस्ट ससेक्स क्षेत्रमा बिची हेड नाम गरेको १ सय ६२ फिट अग्लो भीर छ । समुद्रको किनारमा रहेको भीरबाट समुद्रको मनमोहक दृश्य देख्न सकिन्छ । यो भीरबाट समुद्रमा फाल हानेर अहिलेसम्म थुप्रै व्यक्तिले  आत्महत्या गरिसकेका छन् ।  यो संसारको आत्महत्या गर्ने मुख्य ठाउँमध्ये एक हो । यहाँ वर्षेनि २० जना जतिले फाल हालेर आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्नेहरूलाई रोक्न स्थानीय संघसंस्थाले भीर घुम्न आउनेहरूको निगरानीसमेत गर्ने गरेका छन् ।

प्रिन्स एडवर्ड भियाडक्ट (पुल), क्यानडा
क्यानडाको राजधानी टोरन्टोमा संसारकै अनुपम पाँच लेन फराकिलो पुल छ । यो पुलले समेत आत्महत्या गर्न चाहनेलाई आकर्षित गर्ने गरेको छ । पुल अग्लो भए पनि पुलको रेलिङमा सजिलै चढ्न सक्नेगरी यसको निर्माण भएको थियो । यसको फाइदा उठाउँदै पुलमाथि चढेर तल फाल हाली अहिलेसम्म सयौँ मानिसले आत्महत्या गरिसकेका छन् ।
द ग्याप (भीर), अस्टे«ेलिया
सिड्नीको पूर्वी भागमा पर्ने साउथ हेड प्रायद्वीपमा रहेको भीरबाट वर्षेनि दर्जनौँ मानिसले फाल हालेर आत्महत्या गर्ने गरेका छन् । पर्यटकीय गन्तव्यसमेत रहेको यो भीरबाट आत्महत्या गर्नेहरू बढेपछि रोकथामका लागि अहिले तारबार लगाउने र निगरानी गर्ने क्यामरा जडान गर्ने गरिएको छ । भीर छेउमा कुनै बेला बस्ने डन रिची नाम गरेका व्यक्ति एक्लैले आत्महत्या गर्न लागेका १ सय ६० जनालाई बचाएका थिए । यसबापत अस्टे«ेलियन सरकारले उनलाई सम्मानसमेत गरेको थियो ।

नायगरा फल्स (झरना), क्यानडा
संसारको सबैभन्दा अग्लो झरना नायगरा फल्स पर्यटकहरूसँगै आत्महत्या गर्नेहरूका लागि समेत आकर्षक ठाउँ हो । यहाँबाट वर्षेनि २० देखि ४० जनाले फाल हालेर आत्महत्या गर्ने गरेका छन् । झरनाको फेदतिर खोजबिन गर्दा सन् १८५० देखि २०११ सम्म फाल हालेर मरेका करिब पाँच हजार मानिसका शरीरको अवशेष फेला परेको थियो ।

गोल्डेन गेट ब्रिज, अमेरिका
अमेरिकी शहर सान फ्रान्सिस्कोको पश्चिमी क्षेत्रमा रहेको ७५ मिटर अग्लो गोल्डेन गेट पुल संसारको अर्को कुख्यात सुसाइड स्पट हो । सन् २००५ सम्म पुलबाट १२ सय मानिसले फाल हालेर आत्महत्या गरेका थिए । अहिले पुलमा आत्महत्यालाई निरुत्साहित गर्न जाली हाल्ने, गस्ती गर्नेलगायत काम गरिन्छ ।

नानजिङ याङ्त्जे ब्रिज, चीन
चीनको नान्जिङ प्रान्तमा रहेको चार माइल लामो यो पुलको वास्तुशिल्प अद्भुत मानिन्छ । तर, वास्तुशिल्पका कारण भन्दा बढ्ता ‘सुसाइड स्पट’ भएका कारण यसको चर्चा हुने गरेको छ । यो पुलबाट फाल हालेर अहिलेसम्म दुई हजार मानिसले आत्महत्या गरिसकेको सरकारी तथ्यांकमा उल्लेख छ । पुलमा आत्महत्या गर्ने मानिसलाई रोक्न दुरबिन बोकेको समूह परिचालन गरिन्छ । हरेक दिनजसो सो समूहले आत्महत्या गर्न लागेका मानिसको उद्धार गरेर काउन्सिलिङ गरी फर्काउने गरेको छ ।

माउन्ट मिहारा, जापान
जापानको इजु ओसिमा क्षेत्रमा रहेको यो हिमाल ज्वालामुखी विष्फोट भएर बनेको हो । यो हिमालको गर्भमा अहिले पनि हजार डिग्री सेल्सियसभन्दा तातो लाभा पाइन्छ । त्यसमा फाल हालेर अहिलेसम्म हजारौँ मानिसले आत्महत्या गरिसकेका छन् । सन् १९३३ मा कियोको मात्सुमोतो नाम गरेका २१ वर्षीय विद्यार्थीले तातो लाभामा फाल हालेर ज्यान दिएपछि आत्महत्या गर्न मिहारा हिमालतिर जाने क्रम सुरु भएको थियो । कियोकोले आत्महत्या गरेपछि सो वर्ष त्यही ठाउँमा ९ सय ४४ जनाले आत्महत्या गरेका थिए । आत्महत्यालाई निरुत्साहित गर्न लाभामा फाल हाल्न मिल्ने ठाउँमा जापान सरकारले बार लगाएको छ ।  

 

 

Leave A Comment