पोर्नोग्राफीका विषयमा आन्द्रिया दोर्किनको बयान

शनिबार, ०६ कार्तिक २०७३, १२ : ३८ माधव ढुङ्गेल , Kathmandu
पोर्नोग्राफीका विषयमा आन्द्रिया दोर्किनको बयान

पोर्नोग्राफीलाई संस्कृति उद्योगले मनोरञ्जनका रूपमा लिन्छ । मिडियाहरूले पनि यसलाई मनोरञ्जनकै रूपमा प्रचारप्रसार गर्छन् । अमेरिकी संस्कृति उद्योगको मुख्य क्षेत्र बनेको पोर्नोग्राफीका बारेमा त्यहाँको एटर्नी जनरल कमिसनका सामु अमेरिकी नारीवादी लेखिका आन्द्रिया दोर्किनले दिएको प्रसिद्ध बयानको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छः
मेरो नाम आन्द्रिया दोर्किन हो । म संयुक्त राज्य अमेरिकाकी नागरिक हुँ । यो देश, जहाँ म बस्छु, हरेक वर्ष सानाठूला गरी लाखौँ चलचित्र कामुकता र यौनमाथि बनाइन्छन् । हाम्रा जननेन्द्रियलाई यसरी सजाएर पेस गरिन्छ कि पुरुष दर्शकका सामु त्यो ज्यादा नै उज्याल्लिएर, प्रस्ट भएर देखिन सकोस् । लाखौँ तस्बिरमा हामीलाई अत्यन्त विनीत मुद्रामा समर्पणका साथ मैथुन क्रियामा लिप्त भएको देखाइन्छ, जहाँ हाम्रा जननेन्द्रियहरू भेदनका लागि खुला रहन्छन् । मलद्वारलाई पनि भेद्य अंगका रूपमा प्रस्तुत गरिन्छ ।
यस देशमा, जहाँकी म नागरिक हुँ, वास्तविक बलात्कार चलचित्रहरूमा हुन्छ, जसलाई बजारमा बेच्नका लागि बनाइन्छ । पोर्नोग्राफीको मुख्य उद्देश्य बलात्कारको सिकार भएका अपमानित स्त्रीद्वारा मानिसहरूलाई मनोरञ्जित गर्नु हो । यो त्यतिबेलासम्म भइरहने छ जबसम्म हामी यसलाई मनोरञ्जनका रूपमा लिन्छौँ र यो हाम्रा लागि ज्यादा आवश्यकीय विषय बनिरहन्छ ।
यस देशमा, जहाँ म बस्दै आएकी छु, स्त्रीजननेन्द्रियमा पशुजननेन्द्रिय वा वस्तुहरूलाई प्रवेश गराएर मनोरञ्जन लिने गरिन्छ, स्त्रीहरूमाथि मूत्रत्याग गरिन्छ, विकारग्रस्त बनाइन्छ । यस क्रममा हेरफेरका लागि महिला तथा युवतीहरू दुवैको उपयोग गरिन्छ र युवतीहरूलाई पाँच छ वर्षका बच्चाहरूलाई झैँ देखाइन्छ जो खेलौनाहरूबाट घेरिएकी होस् । कति महिलाको जननेन्द्रियलाई रोमरहित देखाइन्छ, हेर्नेलाई त्यो बच्चाको जस्तो लागोस् ।
जुन देशकी म नागरिक हुँ, यहाँ पोर्नोग्राफी एउटा व्यापार हो । शारीरिक तथा मानसिक शोषणको रूप हो । जो स्त्री पंगु छन् तिनलाई पनि कामुक उत्तेजनाको यस कारोबारमा सामेल गरिन्छ । यस विशाल व्यवसायमा पुरुषको असामान्य लैंगिक इच्छाहरूको परितुष्टिका लागि विकलांग स्त्रीसमेत प्रयोग गरिन्छन् ।
यस देशमा जातिवाद पनि यौनजन्य आनन्दका लागि गरिने एउटा व्यापार भएको छ । काला स्त्रीप्रति उन्पन्न हुने दास भाव र औपनिवेशिक मानसिकताको मुख्य आधार वस्तुतः लैंगिक परितुष्टिसँग जोडिएको छ । काली हुनु मात्रै पनि उसको दुरुपयोग, बलात्कार तथा अन्य दुःखको कारण बन्छ । यहाँ कालो छाला स्त्रीजननेन्द्रियको रूप हो । सामान्यतया जुन हिंसा, दुव्र्यवहार एवम् दमनको केन्द्र स्त्रीजननेन्द्रिय हुने गरेको छ, कालो छालाका महिलाले पोर्नोग्राफीमा त्यो झेल्दै आएका छन् ।
एसियाका महिला यस देशमा रूखमा बाँधिएका हुन्छन्, छतमा टाँगिएका हुन्छन्, ढोकामा झुन्डिएका हुन्छन् र यसलाई पनि सार्वजनिक मनोरञ्जनको रूप मानिएको छ । यहाँको इतिहासमा, पोर्नोग्राफी यातना शिविरका रूपमा छ जहाँ क्रूरतालाई यौनिक आनन्द, तीव्र उत्तेजना र कामुक सन्तुष्टिको नाम दिइन्छ ।

सामूहिक बलात्कारका घटना हुनुमा पोर्नोग्राफीको भूमिका प्रशस्त छ । यसबाट उत्पन्न असामान्य व्यवहारले महिलाका विरुद्ध हिंस्रक अपराध जन्मिएका छन् ।


यहाँ पोर्नोग्राफीका प्रत्येक विधिको प्रयोग स्त्रीमाथि शोषण र अपमानका लागि गरिन्छ । स्त्रीलाई, उसको अनुहारलाई मैला, रगत वा वीर्यले फोहोर तुल्याइन्छ जसले गर्दा दर्शक एवम् पीडक दुवैलाई यौनिक आनन्द मिलोस् । यति मात्रै होइन, स्त्रीको हत्याबाट प्राप्त हुने कामुक सुखका लागि उनीहरूको हत्यासमेत गरिन्छ । र, यो सब भइ नै रहन्छ किनभने यहाँ आनन्द छ, मस्ती र मनोरञ्जन छ ।
पोर्नोग्राफीमा बलात्कार पूरै योजनाका साथ हुने गर्दछ । यसका प्रत्येक चरण, भावभंगिमा, आसन आदि सबै रूपको उपयोग गरिन्छ जसका कारण क्रमबद्ध ढंगबाट पूर्ण उत्तेजना उत्पन्न गर्न सकियोस् ।
सामूहिक बलात्कारका घटना हुनुमा पोर्नोग्राफीको भूमिका प्रशस्त छ । यसबाट उत्पन्न असामान्य व्यवहारले महिलाका विरुद्ध हिंस्रक अपराध जन्मिएका छन् । विगत आठ वर्षमा हामीले देखेका छौँ, बलात्कारको घटनामा क्यामेराको प्रयोग बढी नै हुन थालेको छ । यस्ता दृश्य तुरुन्तै बजारमा उपलब्ध हुन थालेका छन् । यसले बलात्कारमा लाभको नयाँ आयाम थपिदिएको छ । यही त असली बलात्कार हो जो लुकेको, नितान्त एकायामी आनन्दका रूपमा सार्वजनिक भएको छ । महिलाको उत्पीडन हरेक ठाउँमा भइरहेको छ, गैरपारम्परिक रोजगारका क्षेत्रमा, शिक्षामा वा घरमा । घरको भयप्रद, असुरक्षित, आज्ञाकारी परिवेशमा महिलाहरू सबैभन्दा धेरै प्रताडित छन् ।
आज पोर्नोग्राफी ठूलो व्यापार भएको छ । महिला उत्पीडन, वस्तुकरण मनोरञ्जनको साधन भएको छ । महिलालाई मान्छै नै नमान्नु भनेको लैंगिक हिंसाको औचित्यलाई समर्थन गर्नु हो । यस अर्थमा हामी  ज्यादा नै अमानवीय भएका छौँ ।
म त्यस देशकी नागरिक हुँ, जहाँ यदि तपाईं कुनै प्रताडित स्त्रीमाथि चलचित्र बनाउनुहुन्छ भने त्यसको दुई गुना नाफा कमाउनुहुन्छ । यसैबाट मलाई थाहा हुन्छ कि यस देशमा स्त्री नागरिक हुनुको अर्थ के हो, दोयम दर्जाको मानिस हुनुको अर्थ के हो ?
जब तपाईंको बलात्कार कसैको मन बहलाउनका लागि हुने गर्छ, तपाईं असीमित मूल्यहीनताको सिकार बन्नुहुन्छ । तपाईं सामाजिक मूल्यहीनताको पैतालामुनि थिचिनुहुन्छ । पोर्नोग्राफीले हामीलाई बहिरो, आज्ञाकारी बनाएको छ । छेउछाउ पनि डरलाग्दो बनाइदिएको छ । व्यापक अवसाद, निराशा र असन्तुष्टि सिर्जना हुन्छ । स्त्रीको पूरा जीवन यौनिक आतंकको दुःस्वप्नमा बित्न थाल्छ । यो थाहा पाएर तपाईंलाई कति खुशी लाग्ला कि तपाईंको दुःस्वप्न कोही अर्काका लागि फुर्सदको समय बिताउने मनोरञ्जन बन्न सक्छ ।
प्रथमतः म चाहन्छु कि तपाईं ती महिलालाई सुन्नुस्, जो आफ्ना अनुभव सुनाउन चाहन्छन् । कृपया तिनलाई सुन्नुहोला । तिनलाई राम्रोसँग थाहा छ, पोर्नोग्राफीले कस्तो काम गर्दछ, जसमाथि यो घटित भएको छ ?
म माग गर्छु, तपाईं यस अन्तर्राष्ट्रिय सच्चाइलाई स्वीकार गर्नुस्, यो मानव अधिकारको मुद्दा हो । यसको नितान्त व्यक्तिगत कारण पनि छ, जसका लागि मेरा मावली र घरपट्टिका हजुरबा–हजुरआमाहरू आउनुभएको छ । उहाँका धेरै साथीहरू जनसंहारमा मारिनुभयो । उहाँहरू चाहिँ मलाई देखेर यहाँ आउनुभएको छ । म यहाँ बस्छु, त्यस देशमा जहाँ मनोरञ्जन वा लाभका लागि महिलाहरू लगातार उत्पीडन झेलिरहेका छन् । यसमा राज्यको स्वायत्त व्यवस्था पनि आधिकारिक रूपमा सामिल छ । अब असह्य भइसक्यो ।
म चाहुन्छु, तपाईं शोषितहरूको मद्दत गर्नुहोस्, शोषकहरूको होइन । तपाईंसँग राम्रो अवसर छ । कामना गर्छु, तपाईं साहसी बन्नुहोस्, तपाईंका इच्छा र प्रयासबाट महिलाहरू बन्धनमुक्त होऊन् । जबर्जस्ती भिडाइएका वर्जनाहरूबाट मुक्त गर्नुस्, जसबाट साँच्चै नै महिलाहरू स्वाधीन हुन सकून् ।

Leave A Comment