सिन्धुलीको लडाइँ

शनिबार, ०६ कार्तिक २०७३, ११ : ३३ प्रा. दिनेशराज पन्त , Kathmandu
सिन्धुलीको लडाइँ

नेपालमा हमला गर्न आएको अङ्ग्रेजी फौजलाई गोरखाली फौजले वि.सं. १८२४ आश्विन १५ गते सिन्धुलीमा हरायो । यस विषयमा धेरै ठाउँमा लेखिसकिएको छ । वि.सं. २०६७ मा काठमाडौँबाट खिलशर्म–राजीवलोचनजोशीस्मारकप्रतिष्ठानद्वारा प्रकाशित दिनेशराज पन्तको महामण्डलदेखि काँगडासम्मका ३४, ७८ पृष्ठमा यस विषयमा सप्रमाण लेखिएको पनि छ । सिन्धुलीको त्यस लडाइँमा अङ्ग्रेजी फौजलाई हराउन नसकेको भए नेपालको पुनरेकीकरणको काम रोकिन्थ्यो र नेपालको स्वतन्त्र अस्तित्व रहँदैनथ्यो । यसैले त्यस लडाइँको नेपालको परिप्रेक्ष्यमा अत्यन्त ठूलो महŒव छ र यस दिनलाई सम्झेर कार्यक्रम गर्नु आवश्यक कुरा हो पनि । काठमाडौँबाट नयाँ प्रकाशन प्रा.लि.द्वारा प्रकाशित वि.सं. २०७३ आश्विन १३ गतेको नयाँ पत्रिका १० वर्ष १७० अंकको ११ पृष्ठमा छापिएको काठमाडौँबाट सिन्धुलीगढीसम्म साइकल यात्राको तयारी भन्ने खबरमा गोरखाली फौजले ब्रिटिस सेनालाई पहिलो पटक पराजित गरेको २ सय ५० वर्ष पुग्ने दिन पारी काठमाडौँदेखि सिन्धुलीगढीसम्म साइकल ¥याली आयोजना हुने भएको छ, २४ कात्तिकमा सिन्धुलीगढीबाट ब्रिटिस कम्पनी सेनालाई पराजित गरेको विजय उत्सवका रूपमा मनाइन्छ, आगामी वर्ष विजय उत्सवको २ सय ५० वर्ष पुग्दैछ, सोही अवसर पारी समृद्ध सिन्धुली नागरिक अभियानले साइकल ¥याली गर्न लागेको हो, ¥याली २३ र २४ कात्तिकमा आयोजना हुनेछ भनी लेखिएको छ । काठमाडौँबाट इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा प्रकाशित वि.सं.  २०७३ आश्विन १४ गतेको हिमालय टाइम्स २१ वर्ष २८० अङ्कको २ पृष्ठमा छापिएको काठमाडौँ–सिन्धुलीगढी साइकल यात्रा भन्ने खबरमा समृद्ध सिन्धुली नागरिक अभियानले स्टोरी साइकलसँगको सहकार्यमा आगामी कात्तिक २३ र २४ गते काठमाडौँबाट ऐतिहासिक स्थल सिन्धुलीगढीसम्म साइकल यात्रा गर्ने भएको छ, राइड टु सिन्धुलीगढी नाम दिइएको साइकल यात्रा काठमाडौँ–धुलिखेल हुँदै जाने रमणीय बीपी राजमार्गमा हुनेछ, सिन्धुलीगढी वीर गोरखालीले तत्कालीन ब्रिटिस कम्पनीको सेनालाई पराजित गरेको ऐतिहासिक स्थल हो, त्यहाँ हरेक वर्षको कात्तिक २४ गते गोरखालीले विजय गरेको सम्झनामा विजयोत्सव मनाउने गरिएको छ, नेपाल पत्रकार महासंघ सिन्धुली शाखा, जिल्ला विकास समिति सिन्धुली र स्थानीय सेनाको गणले संयुक्त रूपमा आयोजना गर्ने उक्त विजयोत्सवले सरकारी उत्सवको रूप लिइसकेको छ, आगामी वर्ष सिन्धुलीगढीमा गोरखालीले अङ्ग्रेजी सेनालाई हराएको २ सय ५० वर्ष पुग्दैछ भनी लेखिएको छ । यी दुवै अखबारमा गोरखाली सेनाले अङ्ग्रेजी सेनालाई सिन्धुलीमा वि.सं. १८२४ कार्तिक २४ गते हराएको भनी लेखिएको छ । यो अशुद्ध हो । वास्तवमा गोरखाली सेनाले अङ्ग्रेजी सेनालाई सिन्धुलीमा वि.सं. १८२४ आश्विन १५ गते हराएको हो ।
     

Leave A Comment