निखिलले ‘रुद्र’ बनाउने

शुक्रबार, ०५ कार्तिक २०७३, १२ : ५८ शुक्रवार , Kathmandu
निखिलले ‘रुद्र’ बनाउने

अभिनेता निखिल उप्रेतीले फिल्म ‘रुद्र’ निर्माणको घोषणा गरेका छन् । यो उनको पाचौँ फिल्म हो । ‘भैरव’ बाट ५ वर्षपछि अभिनयसँगै निर्देशनमा ‘कमब्याक’ गरेका निखिलले यसअघि ‘सावधान’, ‘निशाना’, ‘परिचय’, र ‘भैरव’ निर्माण गरेका छन् । उनी अन्य फिल्ममा पनि व्यस्त भएकाले यस पटक निर्देशनको जिम्मेवारी रामजी लामिछानेलाई सुम्पेको बताए । १० वटाजति फिल्म निर्देशन गरेका रामजी पछिल्लो समय नृत्य निर्देशकका रुपमा सक्रिय छन् ।
‘रुद्र’मा निखिल खलपात्रका रुपमा देखिनेछन् । रावणले पनि आफूलाई नायक ठान्ने उदाहरण दिँदै निखिलले आफू फिल्ममा यस्तै भूमिकामा देखिने बताएका थिए । फिल्ममा रोमान्स गर्ने जिम्मा नवअभिनेता विश्व शर्मा र साराले पाएका छन् । तर निखिलले यही फिल्मबाट संगीतकारको नयाँ परिचय समेत थपेका छन् । उनले दिनेश सुनामसँग मिलेर फिल्मको एउटा गीतमा संगीत भरेका छन् ।
फिल्मको सुटिङ जोमसोम, नारायणघाट, कोहलपुर र अमेरिकामा गरिने जानकारी फिल्म घोषणामा दिइएको थियो । रामजी लामिछाने आफैंले तयार गरेको कथामा रोयदिप श्रेष्ठ, जितेन लामा, भास्कर वली, ज्याक श्रेष्ठ, रोसन पोखरेलले पनि अभिनय गर्नेछन् । फिल्म आगामी वर्ष साउनमा रिलिज गर्ने निर्माण पक्षको योजना छ । द्वन्द्वप्रधान फिल्मको छायांकन सौरभ लामाले गर्नेछन् भने हिमाल केसीले द्वन्द्व निर्देशन गर्नेछन् ।

 

Leave A Comment