‘मेहमान’सँग गाउँको दशैँ

शुक्रबार, ०५ कार्तिक २०७३, १२ : ४५ डिबी खड्का , Kathmandu
‘मेहमान’सँग गाउँको दशैँ

दशैँमा गाउँ जान पाउनु सानोतिनो भाग्यको कुरो होइन । किनभने, दशैँअघि नै अभाव हुने टिकट (गाडी र प्लेनको) जोहो गर्नु साझा समस्या भइगयो । म जस्तो कम्तीमा ३४ घण्टा गाडीयात्रा गर्नैपर्ने ठाउँमा गाउँ भएको राजधानीवासीका लागि यसबाहेक पनि धेरै समस्या हुन्छन् । आर्थिक हिसाबले सानोतिनो परियोजनै चाहिन्छ भने समयका हिसाबले कार्ययोजना नै बनाएर हिँड्नुपर्छ ।
काठमाडौँ–बाजुरा १२ वर्षदेखि ओहोरदोहोर गरिरहेको म, मेरा लागि यो वर्षको गाउँ प्रस्थान विशेष थियो । किनभने, दुई दिन, एक दिन, चार घण्टा हुँदै छोटिँदै गएको पैदलयात्राको चटारो यसपल्ट अन्त्य भइसकेको खबर दशैँसँगै पाएको थिएँ । अर्थात्, दशैँकै छेकमा बाजुरा जिल्ला सदरमुकाममा मोटर पुगेको थियो । मोटरबाटोको अवस्था ठूलो कुरा थिएन । छुट्याउन मुश्किल थियो, जन्मथलोतिरको हो कि मृत्युलोकतिरको यात्रा हो ! कच्ची बाटोमा लगातार परेको पानीले बनेको हिलोमा गाडी धसिएर ६० डिग्रीको कोण भएर तेर्सिंदा ‘अब जिन्दगी सकियो’ भन्ने धेरैचोटि लाग्थ्यो । बस त्यसैगरी गयो र त्यसैगरी आयो । अशुभ केही भएन । जिन्दगी जिन्दावाद !
गाउँमा मोटर पुगेपछि धेरथोक पुग्यो । बूढापाका र केटाकेटीका लागि ठूलै खुशी पुगेछ । आँखै अगाडि गुडिरहेको गाडी हेर्नकै लागि आउनेको भीड एक महिनापछिसम्म पनि उस्तै थियो । खानेकुरा, लगाउने कुरा, बनाउने कुरा, हेर्ने कुरा यस्तै धेरै कुरा नयाँ पुगेछन् । त्यसमा पनि दशैँको बेला भएकाले आफ्ना आफन्त पनि मोटरमैै घरआँगनमा पुगेपछि खुशी नहुने कुरै रहेन ।
राजधानीबाट झण्डै ३४ घण्टा लगातारको बसयात्रामा छकछकिएको ज्यान कुन बेला खाटमा बिसाउने भन्ने भइरहेको थियो । घर पुग्नेबित्तिकै त्यसैको खोजी गरियो । गएर खाटमा पल्टेको थिएँ, परिचित आफ्नै घरको भित्तो अलि बिरानो देखियो । भित्तामा झुण्डिरहेको थियो, मच्छर झुल । जाडोका कारण बर्खामा समेत सिरक ओढ्नुपर्ने यो गाउँमा मैले १६ वर्ष बिताएको थिएँ, कहिल्यै मच्छरको शाखा–सन्तान देखेको थिइनँ । वर्षेनि गाउँ पुग्थेँ, कहिल्यै यिनको कर्कश गीत कानमा परेको थिएन । एक्कासि झुल देखेपछि बुबालाई सोधेँ, ‘यो झुल किन टाँगेको ?’ कुनै पनि कुरा रमाइलो तरिकाले प्रस्तुत गर्ने बुबाको बानी छ । सोही अनुसार उत्तर आयो, ‘भर्खरै मोटर चढेर आएका मेहमानका लागि !’ जीवनको केही समय रोजरोटीका लागि भारतका विभिन्न ठाउँ पुगेका मेरा बुबाको लवजमा हिन्दीको गन्ध बेला–बेला आउँछ ।
मोटर चढेर आएका मेहमान रहेछन्, मच्छर । सुतेपछि थाहा भयो, यी मेहमान यति धेरै रहेछन् कि काठमाडौँ र धनगढीमा पनि मैले भेटेको थिइनँ । मेरा लागि गाउँ पुग्नु आफन्तसँगको भेटघाट मात्रै होइन । काठमाडौँले हरेको निद्राभोक फिर्ता ल्याउने सफर पनि हुन्छ । यसपल्ट निद्रा यिनै नयाँ मेहमानले बिथोले । लगभग गाउँ बसाइ यिनले भाँडे । किनभने, यी मेहमानका लागि झुल र धूपको व्यवस्था गाउँलेले अझै गर्न सकेका छैनन् । अतिथि यसै पनि तिथिमिति तय नगरी टुप्लुक्किन्छन्  । केही व्यवस्था गर्नै भ्याइँदैन ।
लगभग १२ वर्ष पुग्दैछ काठमाडौँ बसेको । यो अवधिमा गाउँका धेरथोक बिर्सिए । केही कुरा काठमाडौँले त्याग्न बाध्य गरायो । नबिर्सिने भनेको गाउँको रामरमिता अर्थात् जात्रा नै हो । सानोतिनो अवसरमा पनि खेलिहाल्नुपर्ने देउडा हो । जुन जीवनको एउटा छुट्टै अंग बनेर बसेको छ र गाउँमा पुगेपछि सलबलाउन थालिहाल्छ ।
सानै उमेरमा गाउँको सानोतिनो देउडा खेलाडी नै कहलिएको म पुगेपछि गाउँका केही मान्छेले पनि अपेक्षा गर्छन् । दशैँमा अष्टमीदेखि दशमीसम्म विभिन्न ठाउँमा जात्रा हुन्छन् । खेतीपातीको समय हुने भएकाले दशैँका जात्रा प्रायः राति लाग्छन् हाम्रातिर । कतिपय स्थानका रात्रिकालीन जात्रा संकटकालले समेत खोस्न सकेको थिएन । त्यसैले ती पछिसम्म जीवित रहे । यसपल्ट पनि गाउँका ती रात्रिकालीन जात्रामा देउडा खेलेर रमाउने ठूलै रहर थियो । अघिल्लो वर्ष दशैँमा गाउँ जान नपाएकाले पनि यसपल्ट ‘डबल मज्जा’ उठाउने योजना थियो ।
मेरो यो दुई वर्षीय योजना भाँड्न आइपुग्यो, मोटर चढेर गाउँ पुगेको अर्काे मेहमान । त्यो मेहमान थियो– क्वाटर र पक्कीका नामले परिचित मदिरा । स्थानीयले नै बनाउने मदिरालाई कच्ची र कम्पनीबाट बनेर आउने मदिरालाई गाउँमा पक्की भनिन्छ ।
गाउँमा गाडी नपुगुञ्जेल यो पक्कीसम्म पुग्ने हैसियत स्थानीयको थिएन । कच्ची खानेको इज्जत थिएन । त्यसैले कच्ची मदिरा पिउनेलाई हेयभावले हेर्ने भएकाले मदिरापान गर्नेको संख्या न्यून थियो पहिले । महँगो पर्ने भएकाले पक्की पिउनेहरू विशेष अवसरमा मात्रै पिउँथे र पक्की पिउनेलाई ‘जँड्याहा’को हेपाइ होइन, उच्च कोटीको सम्मान व्यक्त गरिन्थ्यो ।
मोटरमा चढेर पक्की पुग्यो, त्यो पनि ७० रुपैयाँदेखि १०० रुपैयाँसम्ममै पाउने न्यून गुणस्तरको । सस्तो मूल्यमा ‘पक्की’ पुगेपछि उच्च कोटीको मानव हुन रुचाउनेको संख्या यस्तरी बढेछ कि गाउँमा मदिरापान नगर्ने पुरुष भेट्न मुश्किल पर्छ ।
अष्टमीको दिन एउटा स्कुले विद्यार्थीजस्तो देखिने भाइ बुबाको पसलमा मदिरा किन्न आयो । बेच्न मै बसेको थिएँ । सोधेँ, ‘कसका लागि भाइ ?’ उसले निर्धक्क भन्यो, ‘आपूई खान्या हौँ (मलाई नै हो) ।’ मेरो स्वाभाविक जिज्ञासा थियो, ‘यति सानै उमेरमा ?’ उसले आफू ८ कक्षा पुगेको सगर्व बतायो र कच्ची नपिउने दाबी गरेर गयो । महसुस गरेँ– ओहो, कक्षा ८ पुग्नु भनेको पक्की पिउने लाइसेन्स भइसकेछ !
अष्टमीको रात सदरमुकामभन्दा आधा घण्टामाथि (रजाली) मेला लाग्छ भने नवमीको रात सदरमुकाम मार्तडीमै । बुबाको पसलका कारण बसाइ सदरमुकाममै भएकाले अष्टमीको बेलुकी रात्रिकालीन जात्रा हेर्न गाउँतिर उक्लिइयो । झिसमिसेमा हामी जात्रा लाग्ने गाउँमा पुग्दा स्थानीय महिला, पाका र केटाकेटीहरू घरतिर हिँडिरहेका थिए । मैले चिनजानकाहरूसँग सोधेँ, ‘जात्रा नहेर्ने ?’ प्रायःले एउटै जवाफ दिए, ‘क्याको जात्रा छियो अब ? रक्सी खाई झगडा मात्तै गर्दा । (केको जात्रा लाग्नु अचेल । रक्सी खाएर झगडा मात्रै गर्छन् ।)
जात्रास्थल पुगेपछि अवस्था भनेजस्तै भेटियो । तैपनि आफू गएपछि रमाइलो गर्नैप¥यो भनेर स्थानीय देउडा खेलाडी पवित्रा चँदारासँग देउडा खेल्न थालियो, झण्डै आधा घण्टा देउडा खेलिएको थियो होला । जँड्याहाहरू देउडास्थलमा आएर भाँडिदिए । स्थानीय क्लबको सांस्कृतिक कार्यक्रम थियो, त्यो पनि बिथोलियो । सकियो ।
दोस्रो दिन सदरमुकाममा लाग्ने जात्रा त्योभन्दा केही व्यवस्थित होला भन्ने लागेको थियो । किनभने, त्यहाँ त प्रहरी प्रशासन नजिकै छ । दिउँसो बडीमालिका देवीको भव्य पूजा हुन्छ । जमरा चढाइन्छ, टाउकोमा जमरा राखेर आउने महिलाको लाइनको दृश्य मनोरम हुन्छ । देवीको पूजा हुने भएकाले महिला नै धामी भएर काँप्छन् र नाच्छन् । त्यो सकिँदा अँध्यारो हुन्छ र रातभरि देउडासहितको मेला लाग्छ ।
त्यहाँ पनि दिउँसो उपस्थित आधाभन्दा बढी घर हिँडिसकेका थिए । देउडा खेल्ने हाम्रो तयारी थियो । स्थानीयले मलाई त्यहाँ देउडा कलाकार भनेर चिन्छन् । मैले लेखेका केही देउडा गीत त्यो क्षेत्रमा लोकप्रिय छन् ।
बाजुरा मात्रै होइन, अछाम र बझाङसम्म देउडा खेलाडीका रूपमा चर्चा कमाएकी स्थानीय सुना विकले मसँग देउडा खेल्ने मनसाय व्यक्त गरेको खबर ल्याए साथीहरूले । जात्रा रमाइलै बनाउने तयारी थाल्यौँ । स्थानीय बालक्लबले आयोजना गरेको सांस्कृतिक कार्यक्रम सकिएपछि हामी देउडा खेल्न जुटेका थियौँ । त्यहाँ पनि आइपुग्यो, उही पक्की । मदिरापान गरेका केही व्यक्तित्वले मलाई देउडा खेल्न नदिई ‘ओभेरटेक’ गर्न खोजे । देउडा भाँडियो । देउडा खेलाडी सुना बिकको समूह घरतिर लाग्यो । जात्रा मोटर चढेर आएको मेहमानको कब्जामा गयो । हामीले उनीहरूको गाइजात्रा हे¥यौँ । र, फर्कियौँ ।

 

Leave A Comment