सय–पचास

शुक्रबार, ०५ कार्तिक २०७३, ११ : १६ विनोदविक्रम केसी , Kathmandu
सय–पचास

सर्कलका साथीहरू अमेरिका उडिसकेका थिए । प्रेमिका असाध्यै चिन्तित थिई । उसको तोर्पे प्रेमी गणतन्त्र ल्याउन हिँडिरहेको थियो । देशको विशाल नेताले ‘ठेलगाडा चढेर अमेरिका पुगिँदैन’ भन्ने विषालु उद्घोष गरिदिएपछि त ऊ जसरी हुन्छ मलाई बोइङ चढाएर अमेरिका पठाउन हर हत्कण्डा अपनाउन थालेकी थिई ।
‘म भइनँ भने देशमा गणतन्त्र कसले ल्याउँछ ? सके आफू नसके सन्ततिलाई राष्ट्रपति बनाउनुपरेन मोरी ?’ म जिस्किदिन्थेँ ।
तर, ऊ गम्भीर थिई, अत्यन्त गम्भीर । त्यो भन्छन् नि अंग्रेजीमा ‘ड्याम सिरियस’ । हो, ड्याम सिरियस !  
रङ खुइलिएको धरहरामुन्तिर बसेका हुन्थ्यौँ हामी र ऊ मलाई स्ट्याचु अफ लिबर्टीको मादक सौन्दर्यमा फस्न र विलीन हुन उक्साइरहेकी हुन्थी । यता मेरो दिल–दिमागमा भने एलेन गिन्सबर्गको कविताको पंक्ति बिजुली चम्केझैँ सदाबहार चम्किरहेको हुन्थ्यो– ‘गो फक योरसेल्फ विद योर एटम बम ।’    
र, एक दिन मैले ‘डिक्लरेसन अफ इन्डिपेन्डेन्स’ भन्दा पनि ऐतिहासिक प्रकृतिको घोषणा (मेरा सन्दर्भमा) गरिदिएँ– ‘जान्नँ म त्यो सुपर हत्यारो देशमा ।’   
हाम्रो सम्बन्ध र सपनाको बस्तीमा ‘कार्पेट बम्बिङ’ गर्दै प्रेमिकाले उपसंहारमा बोली– ‘तँ कपाल पाल्, कविता लेख्, यहीँ कुँजिएर बस् ।’
यसरी हाम्रो प्रेम टुट्यो । सँगै, सय–पचासको मेरो अजस्र स्रोत पनि टुट्यो । सय–पचासका झिनामसिना खनखाँचा टारिदिने स–सानो कदकी लक्ष्मी अवतार नै थिई मेरी प्रेमिका ।
प्रेममा भावनाबाहेक अरूको लेनदेन हुँदैन भन्ने प्रेमका भावुक प्रवक्ताहरूसँग मेरो गम्भीर विमति छ । त्यस्तो हुँदैन हौ सरहरू !  प्रेम विशुद्ध भावुकता हुन सक्दैन । यसका भौतिक स्वरूप हुन्छन् । यसको निर्दिष्ट गणित हुन्छ । अर्थराजनीति हुन्छ । कूटनीति हुन्छ । (देशमा अचेल विमर्शको सिजन चलिरहेकाले मैले पनि यहाँनेर सार्वजनिक बुद्धिजीवीहरूलाई बौद्धिक कसरतार्थ यस्सो छुस्स विषय दिएको हुँ । अन्यथा, मेरो बौद्धिक दिवालियापनको समृद्ध जानकारी मलाई छ ।)
०००
अँ त, अब म आफ्नो बौद्धिक सामथ्र्य सुहाउँदो सय–पचासमै केन्द्रित हुन्छु ।  
०६५÷६६ सालतिर नयाँ पत्रिका राष्ट्रिय दैनिकमा जागिर खान पुगियो । त्यसपछि भने मेरा सय–पचासका स्रोतहरूको घेरो फराकिलो भयो । सङ्गीत श्रोता, राजेश राई, दीपक सापकोटा र अकृनजस्ता मेधावी सापटीदाता (सापटीकर्ता पनि) हरूसँग सरसंगत भयो । आजका मितिसम्म कायम छ त्यो । हामीलाई बाहिर गुट भन्छन् । खासमा हामी सय–पचासका गुट हौँ । हामीले एकापसमा कति सय–पचास माग्यौँ, कति दियौँ, कति हिसाब राख्यौँ, कति भाडमा जाओस् भन्यौँ, कति आममाफी माग्यौँ, कति आममाफी दियौँ, त्यस खालको दोहोरो लेखाप्रणालीमा को फसोस् ?

गुट संरक्षक थियो, दाइ साथी नारायण अमृत । ऊ विशिष्ट संयोगले हाम्रो हाकिम हुन पुगेको थियो । विशिष्ट किनभने पत्रकारको हाकिममा हुने योग्यता ऊसँग केही पनि थिएन । म सिनियर हुँ भन्ने दम्भ थिएन, मसँग यति वर्षे पत्रकारिताको अनुभव छ भन्ने प्रदर्शनमुखी व्यहोरा थिएन । ऊसँग धेरै कुरा थिएन । उस्तै परे मातहतका जुनियर पत्रकारलाई ‘सुकरातको अन्तर्वार्ता लिएर आइजो’ भनेर आदेश दिने प्रचलित हाकिमत्व त झन् ऊसँग हुने कुरै भएन । यस्तो लाग्थ्यो– ‘गुड ह्युमन बिइङ’ बन्ने प्रयत्न नै उसको जिन्दगीको लक्ष्य हो । हामी उसलाई हेप्थ्यौँ । किनभने, ऊ हामीलाई प्रेम गथ्र्याे । प्रेम गर्नेलाई त हो हेप्ने !
नयाँ पत्रिकाको अफिस कमलपोखरीमा थियो । अफिसबाट दुईतीन सय मिटर पर चारढुंगेमा थियो, राजुको भट्टी । त्यहाँ हाम्रो खाता चल्थ्यो । नारायण अमृतको त झन् स्थायी प्रकृतिको उधारो खाता थियो । उसको खातामा हाम्रो उधारो पनि चढ्थ्यो । नारायण दाइ भन्थ्यो, ‘केटाहरू हो, धेरै नफसाओ न यार मलाई !’ त्यसपछि मरेको दाँत सम्मिलित हाँसो निकाल्थ्यो, एकदम जीवन्त !
दुईचार पेग लडाएपछि उसका कुरा सुन्न मज्जा लाग्थ्यो हामीलाई ।
ऊ भन्थ्यो, ‘केटाहरू हो ! स–साना कुरामा खुशी हुन सक्नुपर्छ ।’
‘त्यसले के हुन्छ ?’ सोध्थ्यो कसैले ।  
‘कुण्ठा पखाल्छ,’ भन्थ्यो ऊ ।  
मेरो नितान्त निजी सय–पचासका मामिलामा नारायण दाइ त्यतिबेला मेरी पूर्वप्रेमिकाजत्तिकै अजस्र स्रोत थियो । आज पनि ऊ आफ्नो भूमिकामा  खरो उत्रिरहेको छ र बेलामौका सय–पचासको गरिबी निवारणमा योगदान गरिरहेको छ ।    
०००

अघि नै भनेँ, सङ्गीत, राजेश, दीपक, अकृन र म सय–पचास गुटका सदस्य हौँ । एकअर्काका निम्ति नियमितजसो लगानी गरिरहेका हुन्छौँ । (कतै मेरो लेखाइको टोन यस्तो त भएन, मानौँ, हामी राष्ट्रिय गौरवका योजनामा लगानी गरिरहेका छौँ ।) चोकचोकमा लाखभन्दा घटीको बातै नगर्ने मान्छेहरू भेटिन थालिएको यो समयमा सय–पचासको त्यस्तो ठूलो प्रयोजन, त्यस्तो ठूलो महŒव हुनु नपर्ने हो । तर, गरिबीको स्वरूप त हेर्नुस्, चिया–चुरोट, बसभाडाजस्ता सामान्य आवश्यकताका बहानामा हामी सय–पचासका लागि कहिलेकाहीँ मित्रताकै, अझ कहिलेकाहीँ त मानवताकै दुहाई दिइरहेका हुन्छौँ । अचम्म छ, हाम्रो यस्तो गुटको पनि बाहिरफेर भत्र्सना हुन्छ !
०००
मेरो सय–पचासको अर्काे भरपर्दाे (मिसै नखाने) स्रोत हो– केशव सिलवाल । आगोजस्तो कविता लेख्ने यो जेन्टल मान्छेले मेरो सय–पचासको इतिहासमा दाताको जुन भूमिका निर्वाह गरिरहेको छ, त्यो सुनको अक्षरबाट टङ्कित हुने हैसियत राख्छ ।
अनि, अर्काे स्रोत हो– राजन नेपाल ।
एक दिन राजनले भन्यो, ‘आज बूढीसँग ट्वेन्टी–ट्वेन्टी खेलेर आइयो ।’ म छक्क परेँ, क्रिकेटमा लगभग निरक्षर भाउजूले कसरी खेलिन् होला ?
त्यो प्रकरण के रहेछ भने अफिस निक्लँदा भाउजूले उसलाई पैसा देऊ अलिकति भनिछिन् । राजनले पर्स खोलेर देखाउँदै भनेछ, ‘चालिस छ, तिमीलाई कति दिऊँ ?’
अनि भाउजूले भनिछन्, ‘ट्वेन्टी–ट्वेन्टी खेलौँ ।’ र, बीसका एक–एक थान नोट आपसमा बाँडेर राजनले यसरी दाम्पत्य जीवन सुखमय बनाएछ ।
०००
मेरा सय–पचासका स्रोत अनगिन्ती छन् । यहाँ मैले ती सबैको नाम लिने हो भने तपाईंलाई लाग्नेछ, म मतदाता सूची प्रस्तुत गरिरहेको छु । पत्यार लाग्दैन भने नमुना दिन्छु– सङ्गीता श्रेष्ठ, सजना बराल, अनिल यादव, अम्मर जिसी, धनबहादुर खड्का, सुनील खड्गी, सुरेश ढकाल, विकास बस्नेत, सुजीत मैनाली, रघुवर नेपाल, शिवशरण कोइराला...आदि आदि ।    
एक हिसाबले म भाग्यमानी छु । ‘भद्राईको छोरो, जुरेलीको नाति, जसो गरे नि पैसै माथि’ भइरहेको समयमा मैले सय–पचासबाट विमुख हुन परिरहेको छैन । मेरा केही साथी त छन् जो पैसालाई बस् विनिमयको माध्यम ठान्छन् ।

 

Leave A Comment