पहुँचको विज्ञापन

शुक्रबार, ०५ कार्तिक २०७३, १० : ४५ ईश्वर दाहाल , Kathmandu
पहुँचको विज्ञापन

फेसबुक वालमा मित्रले फोटो पोस्ट गरेर लेखे, ‘आज नेपाली क्रान्तिका नायकसँग समसामयिक राजनीतिको विषयमा संवाद र भेटघाट गरेको अवस्था ।’
क्याप्सन पढेपछि म ट्वाँ परेँ । फोटोले मलाई ट्वाँ पार्ने कुनै कारण थिएन । किनकि, फोटो मैले नै खिचेको थिएँ ।
हरेक देशका नागरिकसँग राजनीनिक आस्था र झुकाव हुन्छ । हामी नेपाली पनि यो मूल्यबाट अछुतो छैनौँ । अझ हामीहरू त कुनै न कुनै पार्टीको कार्यकर्ता छौँ । हामी आस्था वा चुनावमा हाल्ने एक भोटले मात्र सन्तुष्ट हुन सक्दैनौँ । हामीलाई कार्यकर्तै बन्नुपर्छ । मित्र र मेरो पनि क्रान्तिकारी पार्टीप्रति आस्था थियो । अझ यसो भनौँ चिनेजानेकाहरूले हामीलाई क्रान्तिकारी पार्टीको म्यादी कार्यकर्ता (चुनावको समयमा चलमलाउने) का  रूपमा चिन्थे ।
बिदाको दिन थियो । मित्र र म दुवै फुर्सदिला थियौँ । हुन त मित्र प्रायः फुर्सदिलै हुन्थे । अलि बेफुर्सदिलो भनेको म नै थिएँ । भातपानीको जोहोको लागि नोकरी गर्नु मेरो बाध्यता थियो । मित्रले भने कुनै जागिर खाएको मलाई थाहा थिएन । कुनै बन्दव्यापार गरेको पनि मैले देखेको थिइनँ । तर, पनि उनको लवाइखवाइ र जीवन शैली बडो भव्य थियो । उनी के गरी यस्तो सुन्दर जिन्दगी जिउँछन्, मैले कहिल्यै बुझ्न सकिनँ । हुन त यो काठमाडौँमा मेरा मित्रजस्ता अनगिन्ती मानिस छन्, जसको आम्दानी देखिँदैन तर सान र सौकत भने बडो दर्शनीय हुन्छ ।
क्रान्तिकारी पार्टीका मुखियाले एक भव्य कार्यक्रमलाई सम्बोधन गर्ने खबर मित्र र मैले थाहा पायौँ ।  सधँै फुर्सदिला रहने मित्रसँग बल्लतल्ल फुर्सदिलो हुने म पार्टीको कार्यक्रममा जाने सल्लाह मिल्यो र गयौँ । हामी पो पार्टी चिन्थ्यौँ । पार्टीका नेता चिन्थ्यौँ । तर, पार्टीले हामीलाई चिन्थ्यो÷चिन्दैनथ्यो, थाहा थिएन । तर, पार्टीका नेताहरूले हामीलाई चिन्दैनन् भन्ने हामी दुवैलाई थाहा थियो । कार्यक्रम स्थलको एउटा कुनामा गएर हामीहरू बस्यौँ । भाषण सुन्यौँ । मख्ख पर्ने ठाउँमा मख्ख प¥यौँ । ताली बजाउने ठाउँमा ताली बजायौँ । भाषण सकिएपछि चियापान सुरु भयो । चियापान किन छाड्ने ? आखिर हाम्रै पार्टी थियो । हामी पार्टीका मौसमी कार्यकर्ता थियौँ । चियापान गर्नु हाम्रो हकको विषय थियो । म चियानास्तातिर तानिएँ, तर मित्रलाई भने चियानास्ताले मलाई जस्तो आकर्षित बनाउन सकेन । उनी ठूलाबडा नेतानजिकै जान्थे र मुस्कुराएर उभिन्थे । उस्तै पर्दा हात मिलाउन र नमस्ते गर्न समेत भ्याउँथे । हात मिलाउन पाएपछिको उनको अनुहार पुर्नेको जून जस्तै गरी चम्कन्थ्यो । म चियाको कप समाउँदै मित्रको आगेपिछे गर्न बाध्य थिएँ । किनकि, मित्रबाहेक अरू कोही चिनारु थिएनन् ।
‘अध्यक्षज्यूसँग एउटा फोटो हान्दिनुस् है,’ मित्रले आफ्नो मोबाइल मेरो हातमा थमाउँदै भने ।
मैले हातको चिया नजिकैको टेबुलमा राखेर मित्रको मोबाइल समाएँ । मित्र हतारिँदै गएर पार्टी मुखियानजिकै पुगे । पार्टी मुखियासँग अरू गन्यमान्य चिया वार्तामा व्यस्त थिए । खासमा पार्टी मुखिया घेरिएर बसेका थिए । नेपालमा सबैभन्दा घेरिने भनेकै नेता हुन् । व्यापारी, एजेन्ट, आफन्त, गुट र मसलमार्गीहरूबाट घेरिने नेता चियापार्टीमा पनि घेरिनु नौलो कुरा थिए । मित्रलाई बडो आपत् प¥यो । मुखियालाई ‘म तपाईंसँग फोटो खिच्छु’ भन्ने अवस्था पनि थिएन ।  ठूलाबडाको संवादलाई बिथोलेर फोटो खिच्नुप¥यो भन्नु मुश्किल कर्म थियो । मित्र केही सेकेन्ड बडो सोचमग्न देखिए । आखिर जसरी पनि पार्टी मुखियाँसँग उनलाई फोटो खिच्नै थियो । मित्रले मुखियाको कुमनेरबाट आफ्नो मुन्टो निकाले र हँसिलो पोज दिए । मैले दुईचार सट फोटो खिचिदिएँ ।
दिउँसोको फोटो मित्रले फेसबुक वालमा हाले र क्याप्सन लेखे । फोटो खिच्ने क्रममा आफू नजिकै आएर कसैले फोटो खिच्दैछ भन्ने समेत पार्टी मुखियाले चाल पाए कि पाएनन् । तर, मित्रले भने राजनीतिक संवादकै हवाला दिएका थिए । बेलाबेलामा मित्रका यस्ता भेटघाटका तस्बिर फेसबुकमा झुल्किन्थे । मलाई मित्रको प्रोफाइल हेर्न मन लाग्यो । बाफ रे बाफ ! मित्रका यति धेरै भेटघाट र संवाद भएका रहेछन् कि जसको एउटा लामै सूची तयार हुन सक्थ्यो । उनले युवा नेतासँग युवा र राजनीतिका विषयमा परामर्श गरेका रहेछन् । लोकतान्त्रिक नेतासँग लोकतन्त्र र विधिको शासनको विषयमा छलफल गरेका रहेछन् । संविधानविद्सँग संविधान कार्यान्वयनको विषयमा बहस गरेका रहेछन् । चलचित्र निर्देशकसँग नेपाली चलचित्रको गुणस्तर विस्तारको विषयमा विमर्श गरेका रहेछन् । एकजना धर्मगुरुसँग धर्म संरक्षण र जीवन दर्शनको विषयमा चिन्तन मनन गरेका रहेछन् । उपन्यासकारसँग उपन्यासको विवेचना गरेका रहेछन् । संसारमा जे जति विषय र क्षेत्र छ, ती सबैमा मेरा मित्रले सम्बन्धित क्षेत्रका व्यक्तित्वहरूसँग संवाद र बहस गर्न भ्याएका थिए । उनीसँग ज्ञान र जानकारी नभएको क्षेत्र कुनै पनि थिएन । उनी सम्पूर्ण विषय र सन्दर्भसँग जानकार थिए ।
यी मित्रले अर्काे एउटा लँगौटिया यारको सम्झना गराइदिए । गाउँमा मोटरबाटो गएपछि मेरो यारले सडकछेउमा लभ्ली रेस्टुरेन्ट एन्ड फास्टफुड खोल्यो । आखिर सडक त सडक न हो, जहाँ अमिर र गरिब उत्तिकै यात्रा गर्छन् । यारको लभ्ली रेस्टुरेन्टमा कहिले पूर्वप्रधानमन्त्री चिया खान छिर्छन्, कहिले चर्चित नायिका कोल्ड ड्रिंक पिउन पस्छिन्,  कहिले शक्तिशाली पत्रकार खाजा खाना बस्छन् । लभ्लीमा जो जो छिर्थे, उसलाई मेरो मित्रले न्यानो आतिथ्य पनि दिन्थ्यो र सँगसँगै उनीहरूसँग फोटो खिचेर क्याप्सन लेख्थ्यो– ‘फलानुसँग लभ्लीमा मायालु भेटघाट । फिलिङ ह्याप्पी ।’
जे होस्, मेरा मित्र र यारहरूलाई यो फेसबुकले बडो आत्मसम्मान दिएको छ । भन्न र गर्न चाहेका कुरा यति सजिलै भन्न पाउनु चानचुने विषय होइन । आफ्नो सामथ्र्य र पहुँचबारे लोकलाई अवगत गराउन विगतमा निकै कठिन थियो । दुईचारजना मित्रलाई समेत आफ्नो हैसियत बुझाउनुप¥यो भने दुईचार बोतल ल्याउनुपथ्र्याे वा दुईचार हजार खर्च गर्नुपथ्र्याे । बिहेको निम्तो कार्ड, घरको रङरोगन वा डेकोरेसन, सवारी साधन र पहिरनमार्फत व्यक्त गर्नुपर्ने सामथ्र्य सूचना हिजोआज एउटा फोटो र क्यापसनले धान्न थालेको छ । मुख्य कुरा के हो भने फेसबुकले बडेबडे दार्शनिक, भविष्यवेत्ता, लेखक, विश्लेषक, कवि र कलाकार जन्माइरहेको छ । यस्तो लाग्छ– हामी छिट्टै ज्ञानको क्षेत्रमा भव्य बन्नेछौँ । देवकोटाले भनेजस्तो गाई चराइरहेका सेक्सपियर र दाउरा ल्याइरहेका दाँतेहरू हाम्रा गाउँगाउँमा भेटिनेछन् ।

Leave A Comment