एसिया कपमा नेपाल छनोट

बिहिबार, ०४ कार्तिक २०७३, १० : २७ कमल खत्री , Kathmandu
एसिया कपमा नेपाल छनोट

महिला टोलीले एक समय नेपाली क्रिकेटको प्रतिष्ठा बढाउने काम गरेको थियो । तत्कालीन समयमा नेरी थापाको कप्तानीमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा थुप्रै सफलता हासिल गरेको थियो । तर, पछिल्लो समय महिला क्रिकेट नेपालको प्राथमिकतामा पर्न सकेको छैन । राजनीतिक खिचातानीले जकडिएको क्रिकेटमा थुप्रै समस्या छन् । त्यसले  घरेलु क्रिकेट संरचनालाई फस्टाउने मौका दिएको छैन । त्यसको मारमा महिला क्रिकेट पनि छ । थुप्रै समस्याका बीच नेपाली महिला टोली दशैँको बेला विश्वकपका लागि भएको एसिया कप छनोट खेल खेल्न हङकङ पुगेको थियो । नेपाल विश्वकपमा छनोट हुन सकेन । तर, उपविजेता बन्दै मंगलवार नेपाल फर्किएको छ । छोटो समयको तयारी र अनुभवबिना प्रतियोगिता खेलेको नेपाल उपविजेता हुनु पनि एउटा महŒवपूर्ण उपलब्धि बन्यो । उपविजेता बनेपछि नेपालले अब एसिया कप क्रिकेट खेल्न पाउनेछ ।

नेपाली टोलीकी कप्तान रुबिना क्षेत्री एसिया कप खेल्न पाउनु पनि नेपालका लागि अहिले महŒवपूर्ण सफलता भएको बताउँछिन् । ‘विश्वकप खेल्ने हाम्रो लक्ष्य पूरा भएन,’ उनले भनिन्, ‘तर, यसबाट हामी निराश हुनुपर्ने अवस्था छैन । एसिया कप खेल्न पाउनु पनि उपलब्धि हो ।’
 
एसियाबाट थाइल्यान्ड विश्वकप ग्लोबल छनोटमा पुग्न सफल भएको छ । छनोटमा सहभागी चार देशमध्ये नेपाल दोस्रो भएको छ । त्यसमा आयोजक हङकङ र चीन पनि सहभागी थिए । छनोटको उपविजेता हुँदै नेपालले अर्को महिना थाइल्यान्डमै हुने एसिया कपमा स्थान पक्का गरेको हो ।
छनोटमा नेपालले खेलेका छमध्ये तीन खेलमा जीत र तीनमा हार बेहोरेको थियो । चीनलाई दुवै खेलमा हराएको नेपाल थाइल्यान्डसँग दुवै खेलमा पराजित भयो । हङकङसँग नेपाल एक खेल हार्दा अर्को जितेको थियो । थाइल्यान्ड पाँच खेल जित्दै च्याम्पियन बनेको हो ।

कप्तान रुबिनाले एसिया कपका लागि छनोट हुनु ठूलो उपलब्धिका रूपमा व्याख्या गर्दै भनिन्, ‘विश्वकपमा छनोट हुँदा भारत, पाकिस्तान, इंग्ल्यान्ड र अस्ट्रेलियासँग खेल्न पाइन्थ्यो । अब एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसँग खेल्ने अवसर मिल्नेछ । त्यसैले यो सफलता विश्वकपका लागि छनोट भएसरह हो ।’ उनले एसिया कपका लागि तत्काल तयारी सुरु गर्ने बताइन् । ‘एसिया कपका लागि हामीले छिट्टै तयारी सुरु गर्नुपर्छ,’ उनले भनिन्, ‘साधन र सुविधासहितको राम्रो तयारीले नै हामीले अहिले उत्कृष्ट नतिजा निकालेका थियौँ । एसिया कपका लागि पनि त्यस्तै खाले प्रशिक्षण र सुविधा आवश्यक हुन्छ । केही दिनको विश्रामपछि तयारी थाल्न सके राम्रो हुन्छ ।’

नेपाली खेलाडी मानसिक रूपमा कमजोर भएको कारण लक्ष्य पूरा नभएको नेपाली टोलीका प्रशिक्षक राजु बस्न्यात बताउँछन् । ‘प्राविधिक रूपमा नेपाल प्रतियोगितामा राम्रो टिम थियो,’ उनले भने, ‘तर, हाम्रो खेलाडी मानसिक रूपमा कमजोर छन् । उच्च स्तरको प्रतियोगिता जित्न हामी हरेक पक्षमा बलियो हुनुपर्छ ।’

 

Leave A Comment