तनावमुक्त जीवनका लागि डाइनेटिक्स

बुधबार, ०३ कार्तिक २०७३, ११ : २६ शुक्रवार , Kathmandu
तनावमुक्त जीवनका लागि डाइनेटिक्स

डाइनेटिक्स यस्तो आधुुनिक विज्ञान हो, जसको प्रयोगद्वारा मान्छेको मस्तिष्कभित्र दबिइरहेका अनावश्यक संवेग, उत्तेजना, सनक, भय, पीडाजस्ता मानसिक भावनालाई उत्खनन गरेर नकारात्मक मानसिक अवस्थालाई सही अवस्थामा ल्याउन सकिन्छ ।

– डा. आदर्श प्रधान

आजको युग प्रतिस्पर्धाको युग हो । यहाँ बाँच्नका लागि मानिसले पाइला–पाइलामा प्रतिस्पर्धा गर्नुपर्छ । प्रेमदेखि जागिरसम्म, जहीँतहीँ व्याप्त छ प्रतिस्पर्धा । यस्तो प्रतिस्पर्धात्मक र तनावपूर्ण वातावरणमा हाम्रो स्वास्थ्य चाहेर पनि सोचेजस्तो राम्रो नहुन सक्छ । हाम्रो जीवनशैलीका कारण हामीभित्र नचाहिँदा संवेग, उत्तेजना, सनक, भयजस्ता मानसिक भावना दबिरहेका हुन्छन् । यस्ता नकारात्मक मानसिक भावनाले  हामीलाई निराश, उदास र हीन बनाइरहेका छन् । आत्मविश्वासको कमी हामीले भोगिरहेको मानसिक समस्या हो । मेडिकल साइन्सले अवस्था यस्तै रहिरहे संसारमा मानसिक रोगीहरूको संख्या ठूलो र थेग्नै नसकिने हुने बताएको छ ।

के हो त डाइनेटिक्स ?
    डाइनेटिक्स एउटा यस्तो आधुुनिक विज्ञान हो, जसको प्रयोगद्वारा हाम्रो मस्तिष्कभित्र दबिरहेका अनावश्यक संवेग, उत्तेजना, सनक, भय, पीडाजस्ता मानसिक भावनालाई उत्खनन गरेर तुरुन्त नकारात्मक मानसिक अवस्थालाई सही अवस्थामा ल्याउन मद्दत गर्छ । डाइनेटिक्सको सिद्धान्तअनुसार मानसिक तनावले नै मानिसलाई रोग लाग्छ । मानिसको जीवनमा तनाव त आइ नै रहन्छन्, तर तनावलाई कसरी लिने, कसरी व्यवस्थित गर्ने र दबिइरहेको तनावलाई मस्तिष्कबाट कसरी मुक्त गर्ने भन्ने विषयमा डाइनेटिक्सले सिकाउँछ । एल रोन हबर्डले प्रतिपादन गरेकोे यस आध्यात्मिक ज्ञानले हाम्रो आत्मा, मस्तिष्क र शरीरलाई सन्तुुलित राख्न सिकाउँछ ।
डाइनेटिक्सको सिद्धान्तअनुरूप मानिसको मस्तिष्कलाई प्रतिक्रियात्मक मस्तिष्क र विश्लेषणात्मक मस्तिष्क गरी दुई भागमा विभाजन गरिएको छ । यी दुई मस्तिष्कमध्ये प्रतिक्रियात्मक मस्तिष्कमा रहने मानसिक छाया चित्रहरूको संकलनलाई इनग्राम भनिन्छ । हामीमा हुने शारीरिक पीडा, दुर्घटना हुँदा भएको दुखाइ, भय, बेहोश हुँदा हुने अनुभूतिहरूको छाप उक्त मस्तिष्कमा रहेको हुन्छ । हाम्रो मस्तिष्कमा रहेको यो इनग्रामले हामीमा भय, निराशा, मानसिक समस्या र शारीरिक पीडा आदि उत्पन्न हुन्छन् ।

उपचार प्रक्रिया
डाइनेटिक्समा अडिटिङको माध्यमबाट रोगीलाई उपचार गरिन्छ । यस उपचारबाट जस्तोसुकै मानसिक, शारीरीक, भावनात्मक रोगीकोे सफल उपचार गर्न सकिन्छ । अचम्मको कुरा यस पद्धतिको प्रयोेग रोगीलाई मात्र नभई निरोगी मानिसलाई पनि गरिन्छ । किनकि, रोगीमा मात्र नभई निरोगी मानिसमा पनि तनाव, पीडा त अवश्यै हुन्छन् । डाइनेटिक्समा अडिटिङको माध्यमबाट रोगीलाई स्वस्थ बनाइन्छ भने स्वस्थ मानिसलाई जीवन र जगत्बारे स्पष्ट बनाइन्छ ।
डाइनेटिक्समा अडिटिङ गरेपछि व्यक्तिको मस्तिष्कबाट नचाहिने इनग्राम हट्छ । त्यसपछि उक्त व्यक्तिलाई शारीरिक शुद्धीकरण गराइन्छ । यसमा व्यायामदेखि भिटामिनयुक्त औषधिसम्म प्रयोग गरिन्छन् । त्यसपछि उक्त व्यक्तिले शारीरिक र मानसिक समस्याबाट पार पाउँछ ।
डाइनेटिक्स आध्यात्मिक परार्मश विधि हो । यसमा अडिटरद्वारा रोगी तथा निरोगीलाई अनावश्यक इनग्राम हटाउन अडिटिङ गरिन्छ । डाइनेटिक्सको भाषामा अडिटिङ गराउन आउने व्यक्तिलाई प्रि–क्लियर (स्पष्ट हुन बाँकी) भनिन्छ । मष्तिष्कभित्र नकारात्मक आवेग, संवेदना, भावना भएको व्यक्तिलाई प्रि–क्लियर भनिन्छ । प्रि–क्लियरलाई अडिटिङ गरिसकेपछि उसभित्र रहेको नकरात्मक आवेग, संवेदना हट्छन् र ऊ आफूभित्र रहेको समस्यालाई बोध गर्न सक्षम हुन्छ । आफू भित्र रहेको समस्यालाई बुझेर हटाएपछि प्रि–क्लियरलाई क्लियर अर्थात् स्पष्ट भएको मानिन्छ । अतः डाइनेटिक्सको उद्देश्य  मानिसलाई प्रि–क्लियरबाट क्लियर बनाउनु हो । डाइनेटिक्स सिद्धान्तका प्रर्वतक एल रोन हबर्डले तनाव नाप्ने मेसिनको पनि आविष्कार गरेका छन् । यसले सजिलै तनाव नाप्छ । नापेर आएको अंकको आधारमा व्यक्तिको मानसिक स्थिति पत्ता लगाइन्छ ।

एल रोन हबर्डका किताबहरू
एल रोन हबर्डले सयौँ महŒवपूर्ण किताब लेखेका छन् । ती किताब अध्ययन गरेर हामी दिमागी अवरोधहरूबाट कसरी मुक्त हुने, तिनीहरूको नियन्त्रण गर्न क्रमिक रूपमा कसरी सफल हुने र भविष्यमा कसरी खुशी भइराख्ने भन्ने विषयमा महŒवपूर्ण जानकारी पाउन सक्छौँ । एल रोन हबर्डको विश्वभरि सर्वाधिक बिक्री भएको पुस्तक ‘डाइनेटिक्सः मानसिक स्वास्थ्यको आधुुनिक विज्ञान’ हो । यसमा डाइनेटिक्स सिद्धान्तको प्रयोग, अडिटिङ प्रक्रिया, डाइनेटिक्सको प्रयोगले जीवनमा कसरी काम गर्छ भन्ने विषय समावेश छन् ।
 
नेपालमा डाइनेटिक्स

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको कार्यकालमा सम्पूर्ण मन्त्रीमण्डललाई अमेरिकाबाट डाइनेटिक्सविज्ञ बोलाएर प्रशिक्षण दिइएकोे थियो । नेपालमा विगत सात वर्षदेखि पुस्तक बिक्रीबाट सुरु गरेको डाइनेटिक्स संस्थाले हाल डाइनेटिक्स वर्कसप, अडिटिङ आदि संचालन गर्दै आइरहेकोे छ । काठमाडौँको न्यु प्लाजामा रहेको यस संस्थाले हाल तनाव नाप्ने मेसिनका साथै ओसिए परीक्षण पनि गर्दै आएको छ । ओसिए परीक्षणबाट व्यक्तिको मानसिक र भावनात्मक अवस्थाबारे सजिलै थाहा पाउन सकिन्छ ।
डाइनेटिक्सको जीवन विधायक शिक्षण कोर्स अरू शिक्षण कोर्सजस्ता होइनन् । यी कोर्स प्रयोेगात्मक हुन्छन्, जसलाई हामी जीवनमा लागू गर्न सक्छौँ । यस्ता कोर्सको अध्ययनपछि व्यक्तिका जीवनमा अवश्य परिवर्तन आउँछ भन्ने दाबी डाइनेटिक्स संस्थाको छ । विश्वभरि नै डाइनेटिक्सलाई  व्यक्तित्व विकास र मानसिक सबलताका लागि प्रयोग गरिँदै छ ।

Leave A Comment