कसैको नजरमा चढ्ने हो भने...

सोमबार, ०१ कार्तिक २०७३, ०१ : ०८ शुक्रवार , Kathmandu
कसैको नजरमा चढ्ने हो भने...

उमेर जति भए पनि हुन्छ । तर, स्वभाव राम्रो, केयरिङ हुनुपर्छ । काले काले हिसी परेको, कम बोल्ने तर फ्य्रांक केटाहरू केटीहरूको डिमान्डमा छन् । अनुहार, लवाइ, बोल्ने शैली र उचाइ– यी चार इलिमेन्ट्स भए पुग्छ । अफेयर सुरु नहुँदासम्म बाइक र ग्याजेट्स चाहिन्न ।

नयाँ नेपालका किशोरी र युवतीका हरेक कुरामा आफ्नै च्वाइस छ । कस्ता केटाहरू चढ्छन् त उनीहरूका नजरमा ?
अंग्रेजीमा एउटा भनाइ छ, ‘ब्युटी लाइज इन द आइज अफ द बिहोल्डर ।’ अर्थात् सुन्दरता हेर्नेका आँखामा हुन्छ । त्यसैले होला, ‘राम्रा जति हाम्रा’ बनाउन चाहने टिनएजरमा विपरीत लिंगीप्रतिको आकर्षणमा व्यक्तिपिच्छेका धारणा र मानदण्ड भेटिन्छन् ।
कोही कसैप्रति किन आकर्षित हुन्छन् ? धेरैलाई यसको वस्तुनिष्ठ भेउ हुँदैन । ‘आँखाकै दोष होला,’ क्यानभास कलेजकी सिर्जना पाठक भन्छिन्, ‘मलाई पटक्कै मन नपरेको केटो मेरै साथीको ब्वाइफ्रेन्ड छ ।’ उसो त उनलाई एकै नजरमा ‘वाउ’ लागेको केटा पनि उनकी साथी प्रमिला वागुनलाई भने हेरिनसक्नुको लाग्छ रे । ‘हाम्रो च्वाइस ठ्याक्कै उल्टो छ,’ प्रमिला भन्छिन्, ‘तर, समानता के छ भने हाम्रो रोजाइमा पर्न केटा स्मार्ट, केयरिङ र हामीभन्दा जेठो हुनैपर्छ ।’

टिनएजर केटीलाई ठ्याक्कै यस्तै केटा मन पर्छ भन्ने कुनै विशेष सुत्र छैन । कसैलाई गहुँगोरो, कसैलाई चकलेटी अनुहार भएको, कसैलाई अग्लो र कसैलाई रफ एन्ड टफ केटा मन पर्छ । कसैलाई भने यी चारै शारीरिक विशेषता भएको केटा मन पर्छ ।
कोही काले–काले, हिसी परेको, कम बोल्ने तर फ्य्रांक  केटाप्रति आकर्षित हुन्छन् । कतिपय केटी सोझो, पढाइमा तेज, बुझकी र डे«स–सेन्स भएका केटा भनेपछि भुतुक्कै हुन्छन् । अनुहार, लवाइ, बोल्ने शैली र उचाइ– यी चार  इलिमेन्ट्स सबै केटीका लागि केटाप्रति आकर्षणका शर्त हुन् । ‘बाइक र ग्याजेट्स चाहिँ अफेयर चलिसकेपछि चाहिने सामग्री अन्र्तगत पर्छन्,’ १७ वर्षीया मन्जु तामाङ भन्छिन्, ‘बाटोतिर देखिएको बेला सुरुमै आँखा पर्ने त गेटअपमै हो नि । त्यसपछि अनुहार हेरिन्छ ।’ उनको भनाइसँग अधिकांश किशोरी सहमत छन् । तर, पब्लिक युथ क्याम्पसकी सुम्निमा राई र सर्वोदय कलेजकी अस्मिता सुनारको लिस्टमा भने केटाहरूको अर्को गुणले पनि ठाउँ ओगटेको छ– एट्टिट्युड । तर, झट्ट हेर्दैमा केटाको आनीबानी कसरी बुझ्नु र ? सुम्निमा उपाय सुझाउँछिन्, ‘नजिकै गएर ठोक्किँदै हिँड्ने, राम्रो एट्टिट्युड भएकाले उल्टै ‘सरी है’ भन्छन्, नराम्राले नराम्रै शब्दमा गाली गर्छन् या रमाइलो मान्छन् ।’

सेल्सगर्ल १९ वर्षीया मेनुका सिंजालीलाई उनको ब्वाइफ्रेन्ड जेम्सको स्वरले मोहित पारेको छ । एकजना क्लासमेटले मेनुकालाई जेम्सको नम्बर दिएछन् । ‘टाइम पासका लागि भनेर फोन गरेकी थिएँ,’ मेनुका आफ्नो प्रेम कहानी सुनाउँछिन्, ‘तर, स्वर सुन्नेबित्तिकै म त उसको फ्यान भएछु । दुई महिनाजति फोन र एसएमएसबाट काम चलायौँ । फोनमै हाम्रो अफेयर चल्यो । एकदिन स्वयम्भूमा भेट्यौँ । फेसबुकमा फोटो हेर्दा त एकदमै ‘ह्यान्सी’ देख्याथेँ । भेट्दा चाहिँ अनुहार त्यति राम्रो लागेन । तर, उसको स्वर यति मिठो छ कि उसको अनुहारतिर ध्यानै जाँदैन ।’
पानी पोखरीकी रुमी गौचन भने केटाको अनुहारसँग कदापि कम्प्रोमाइज गर्न नसक्ने बताउँछिन् । ‘मलाई त ठूला–ठूला आँखा भएको, चुच्चो नाक मुन्तिर हल्का जुंगा पलाएको र स्किन चाहिँ गोरो भएको केटा चाहिन्छ,’ उनी आफ्नो ड्रिमब्वाईको हुलिया बताउँछिन्, ‘कम्तीमा पनि ६ फिट अग्लो त  हुनुपर्छ ऊ । कानमा सुनको रिङ लगाएको, क्याजुअल डे«स अपमा कन्भर्स जुत्ता लगाउँदा कुल देखिने केटा पाए त ...।’

सामाखुसीकी सोनिया आचार्य केटाको अनुहार जस्तोसुकै भएपनि चित्त बुझाउँन सक्छिन् रे । ‘तर, पाखुरा र पिडुँलाभरि बाक्लै रौँ पलाएको केटा फिटिक्कै मन पर्दैन,’ उनी नाक खुम्च्याउँदै भन्छिन्, ‘पेट लागेको केटा त झन् देख्यो कि रिस उठ्छ ।’ मार्केट र ट्रेन्डअनुरूपको फेसन गर्न नजान्ने केटा उनलाई लल्लु लाग्छन् ।
अठार वर्षीया विदुषी सिलवाल मैलो कपडा लगाउने र कलेज आउँदा जुत्तासमेत पालिस नगर्ने केटालाई फुटेका आँखाले पनि देख्न सक्दिनन् । भन्छिन्, ‘डे«समा चट्ट पारेर आइरन लगाउनु, स्पाइकी हेयर स्टाइलमा निट एन्ड टाइडी भएर कलेज आइदिए पो हेर्दिऊँ न त भन्नु । आजकलका केटा बिहान उठेर हातमुख धुनुको सट्टा चुरोट तान्नमै समय खर्चिन्छन् ।’
तर, सर्वोदय कलेजकी एक छात्रालाई भने चुरोट तान्ने केटाहरू एकदमै कुल लाग्छन् रे । ‘देखाउनलाई होइन, आफ्नै तालमा स्मोक गरिरहेका केटाप्रति म त्यसै ‘एट्र्याक्ट’ हुन्छु,’ उनी भन्छिन्, ‘यो बानीले मलाई दुईतीन पटक नराम्री झुक्याएको पनि छ । चारपाँच महिनाअगाडिको कुरा हो । हाम्रो घरभन्दा अलि पर्तिरको घरमा एउटा केटा बस्थ्यो । ऊ हरेक दिन साँझपख छतमा आएर मजाले चुरोट तान्ने गथ्र्यो । परबाट हेर्दा म उसलाई  हलिउड फिल्मको हिरोजस्तै देख्थेँ ।’ ऊ आउने बेला भएपछि उनी पनि छतमा पुगिहाल्थिइन् । बिस्तारै, छतछतबाटै उनीहरूको कुराकानी हुन थाल्यो । औँलाको इसारामा उनीहरूले एकअर्काको मोबाइल नम्बर पनि लिए । त्यसपछि उनीहरू फोनमा व्यस्त हुन थाले । ‘त्यसको हप्ता दिनपछि मैले उसलाई भेट्न बोलाएँ,’ उनी सम्झन्छिन्, ‘परबाट हेर्दा त्यस्तो बबाल देखिने केटो नजिकै आउँदा त कहीँ नभएको धसिंगरे परेछ । भैँसीजस्तै कालो, मुखभरि डन्डिफोर आको, डल्ले न डल्ले ! हेर्दै घिनलाग्दो ।’

देखासिकी या लहडमा, अथवा सानका लागि ब्वाइफ्रेन्ड बनाउने केटीहरू एउटा भिआर वा पल्सर बाइक नहुने केटालाई मान्छे नै गन्दैनन् । तर, गजबको कुरा के छ भने त्यो बाइक केटाको आफ्नै होस्, अथवा गोरु बेचेको साइनो लाग्ने उसको आफन्तकै किन नहोस्, केटीलाई मतलब हुँदैन । ‘आफूले बोला’को बेलामा ट्याक्क बाइक लिएर हाजिर भइदिए पुगिहाल्यो नि,’ तामाङ थरकी एक युवती भन्छिन्, ‘काका, मामा, भेना, जोसुकैको होस्, हामीलाई के मतलब ?’ उनको तर्कमा गोंगबुकी कृतज्ञा शर्माको सहमति छैन । ‘मागेर बाइक चलाउने केटासँग पनि के रिलेसन राख्नु ?’ शर्मा भन्छिन्, ‘तर, जस्तै भए पनि, लुरे ज्यानको अग्लो केटाले डर्ट (ठूलो र अगाडी चुच्चो खालको) हेलमेट लगाएर भिआर चलाएको चाहिँ लास्टै दामी देखिन्छ ।’

रोजिना श्रेष्ठ कालो टिसर्टमा जिन्सको हाफ प्यान्ट र कन्भर्स जुत्ता लगाएर पल्सर बाइक हुइँक्याउने केटा भनेपछि हुरुक्कै हुन्छिन् । ‘तर, केटाले सान देखाउनलाई बाइक ‘उडाएको’ चाहिँ मलाई मन पर्दैन,’ उनी कारणको गाँठो फुकाउँछिन्, ‘राइडरको अनुहारसमेत हेर्न भ्याइँदैन ।’

उसो त टिनएजका जम्मै केटी केटाको रूपरङ, फेसन, बोल्ने स्टाइल वा बाइकमा मात्रै आँखा लगाउँछन् भन्ने चाहिँ होइन । उनीहरूले प्रयोग गर्ने ग्याजेट्सबाट प्रभावित हुने केटीको संख्या पनि उत्तिकै छ । प्लस टुको परीक्षा दिएर बसेकी पूर्णिमा घले भन्छिन्, ‘अनुहार चाहिँ डेभिड बेकह्यामको जस्तो, मोबाइल भने टुप्पोमा बत्ती बल्ने नोकियाको थोत्रे सेट चलाउने केटा प¥यो भने त रड्डी हुन्छ ।’ पूर्णिमाकै साथी पार्वती अमगार्इँ केटासँग मोबाइलको लेटेस्ट सेटमात्र होइन, आइपड र ल्यापटप पनि भइदिए सुनमा सुगन्ध हुने बताउँछिन् । उनलाई ठूलो साइजको गग्स लगाएर कार चलाउने केटा बेकह्यामभन्दा सात गुना ह्यान्डसम लाग्छन् रे ।

विदेशीलगायत कोरियन फेसनको क्रेज बढेका बेला ‘ट्रेन्ड–फलोअर’ केटाप्रति अधिकांश किशोरी लठ्ठिने गरेका छन् । ‘मलाई त बब मार्लीजस्तो केटा मन पर्छ,’ ठमेलमा भेटिएकी सुस्मिता सुनुवार भन्छिन्, ‘कपालमा ड्रेडलक हानेको, पिएर्सिङ (आँखा, ओठ छेडेर रिङ लगाएको) गरेको, पाखुरामा बुद्धको फोटो ट्याटु हानेका केटाहरू ब्वाइफ्रेन्ड बनाउन लायक हुन्छन् ।’

अस्ट्रेलियाबाट हालसालै स्वदेश फर्किएकी कल्पना गुरुङलाई विदेशीले लाउन नसकेको मोहिनी आफ्नै समुदायको ठिटोले लगाएको छ अरे । ‘उहाँको अनुहार, स्वर, पर्सनालिटी, हँसाइ सबथोकले पागल बनाउँछ,’ कल्पना भन्छिन्, ‘तर, हाइट चाहिँ अलि कम छ भन्ने सुन्या छु ।’ लगभग आधा घण्टा जतिको बखानपश्चात् उनले आफ्नो रामप्याराको नाउँ खुलाइन््, ‘गायक राजु लामा ।’ राजुको कल्पनामा डुबेकी कल्पनाझैँ गोंगबुकी सम्झना आचार्य गायक सुगम पोखरेलकी फ्यान हुन् । ‘मलाई त उहाँको जस्तै अनुहार भएका केटाले आकर्षित गर्छन्,’ उनी भन्छिन्, ‘आस्था ब्यान्डका सुदिप गुरुङले जस्तो ड्रेस अप हान्ने केटाहरू स्मार्ट देखिन्छन् ।’ ग्रिनल्यान्ड स्कुलकी माहिका बस्नेत, उषा शर्मा, रञ्जु मगर, मनिषा डंगोललगायतलाई मंगोलियन अनुहारका, भगवान्प्रति आस्था राख्ने र जथाभावी नबोल्ने केटा मनपर्दा रहेछन् । ‘कोरियन फिल्मका हिरो जस्ता सुकिला केटाहरू देख्यो भने फर्की–फर्की हेर्न मन लाग्छ,’ माहिका भन्छिन् ।

आकर्षण र माया । हुन त यी नितान्त भिन्न शब्द हुन् । तर, आकर्षणलाई नै माया ठान्ने टिनएजका अधिकांश केटी पहिलो नजरमै घायल बनेपछि ‘फर्दर प्रोसेस’ का लागि साथीभाइ र फेसबुकको सहायता लिन्छन् । ‘नाम पत्ता लगाउनमात्रै गाह्रो हो । त्यसपछि त फेसबुक जिन्दावाद,’ फर्वार्ड स्कुलकी रोशनी कायस्थ भन्छिन्, ‘दुईतीनपल्ट फेसबुकमा अनलाइन च्याटिङ गर्ने । त्यसपछि नम्बर साटासाट हुन्छ । फोनमा गफगाफ गरेपछि केटाले प्रपोज गरिहाल्छन् । अनि सुरु हुन्छ, डेटिङ र भेटिङ ।’

यसरी एक फेर देखेको वा साधारण चिनजानकै भरमा ब्वाइफ्रेन्ड बनाउँदा किशोरीको जीवनमा बित्यास आइपर्ने  चानस बढी हुन्छ । त्यसैले, आफुलाई मन परेको मान्छेभित्र पनि खोट हुनसक्छ भन्ने कुराको हेक्का राख्नु जरुरी हुन्छ । होइन भने, फक्रिन नपाउँदै कोपिला झरिसकेको हुन्छ ।

 

Leave A Comment