तन्नेरी सिध्याउने रोग

आइतबार, ३० असोज २०७३, १० : ४५ अम्मर जिसी , Kathmandu
तन्नेरी सिध्याउने रोग

धेरै पढ्थ्यो, फलानो त खुस्केछ ! गाँजा खान्थ्यो, साथी त खुस्केछ ! कसैले असामान्य व्यवहार देखायो भने ऊप्रति हुने केही टिप्पणी हुन् यी । तर, मानसिक रोगको परिधि विशाल छ । नेपाली समाजमा यस रोगबाट ग्रस्त व्यक्तिहरू डरलाग्दो ढंगले बढिरहेका छन् ।
सिजोफ्रेनिया कडा खालको मानसिक रोग हो । खासगरी तन्नेरी यसबाट पीडित हुन्छन् । १५ देखि २५ वर्षका ऊर्जाशील युवायुवतीमा बढी देखिने यस रोगका कारण देशलाई नै अन्ततः ठूलो घाटा हुनेछ । राज्य नै मानसिक रोगीलाई सहयोग गर्न अग्रसर नहुने हो भने स्थिति झन् भयावह हुन सक्छ । अम्मर जिसीले सिजोफ्रेनियाको त्रासदी मापन गर्न खोजेका छन् । तन्नेरी सिध्याउने रोग

केस नं. १
श्रद्धा २३ वर्षकी भइन् । पाँच वर्षअघि उनी एमबीबीएस पहिलो वर्षकी विद्यार्थी थिइन् । त्यही बेला उनमा अनौठो खाले समस्या देखाप¥यो । होस्टेलमा बसेर अध्ययन गर्दै गरेकी श्रद्धाको समस्या सुनेर उनलाई यो ‘फुस्किछ’ भनेर उडाउने धेरै थिए । उनलाई एक्लै कोठामा बस्दा पनि अचानक सिनियर केटा साथी तथा पुरुष शिक्षकहरू बोलेको आवाज सुनेको जस्तो लाग्न थाल्यो । किताब पढेर बसिरहेको अवस्थामा केटा साथीहरूले जिस्काइरहेको जस्तो लाग्ने हुन थाल्यो । कोठाको सिलिङ फ्यान चल्दा पनि केटा साथीहरू नै बोलेको जस्तो लाग्ने भयो । उनलाई कोठामा एक्लै हुँदा पनि केटाहरूले किन हाँसिरहेकी ? कसरी मस्केकी ? भनिरहेका र अश्लील गाली गरिरहेका अनौठो महसुस हुन थाल्यो । उनलाई आफ्ना संवेदनशील अंगबारे केटाहरूले जथाभाबी टीकाटिप्पणी गरेको भान हुन्थ्यो । जब साथीहरू भेट्थिन, श्रद्धा पहिला उनीहरूलाई ‘मलाई तिमीहरूले किन जे मन लाग्छ त्यही भन्ने गरेको ?’ भनेर कराउँथिन् । उनका केटा साथीहरू चाहिँ उनलाई ‘साइको’ भन्दै उडाउँथे । उनको समस्या बढ्दै गयो । उनले पढाइमा ध्यानै दिन सकिनन् । ट्वाइलेट जाँदा पनि कसैले हेरिरहेको जस्तो लाग्ने, ट्वाइलेटमा क्यामरा जडान गरेको छ कि जस्तो लाग्ने, दिसापिसाब गर्नका लागि कपडा खोल्न पनि नसक्ने जस्ता समस्या आइलाग्यो । महिनावारी हुँदा सरसफाइसमेत गर्न डराउन थालिन् । उनका सबै गतिविधि कलेजमा सँगै पढ्ने केटा तथा शिक्षकहरूले देखिरहेका छन् भन्ने दिमागमा आइरहनाले उनी झन्–झन् समस्यामा पर्न थालिन् ।
मेडिकलको स्टुडेन्ट भएको र कलेजमा मानसिक रोग विभाग पनि भएकाले उनको रोग पत्ता लगाउन खासै कठिन भएन । लक्षणका आधारमा चिकित्सकले उनलाई ‘सिजोफ्रेनिया’ नामक गम्भीर मानसिक रोग लागेको निक्र्याेल गरे । तर, उनको कलेजले उपचारमा सघाउनुको सट्टा उनलाई पढ्न नसक्ने भन्दै कलेज छोड्न बाध्य बनायो । उनी चिकित्सकहरूको माझमा पनि अपहेलित भइन् । सबैले ‘साइको’ भन्दै उनको खिल्ली उडाउन थाले । उनले विभिन्न अस्पताल र चिकित्सकसँग उपचार गराइन् तर उनको अवस्थामा सुधार आएन ।  सेवन गरेको औषधिको साइड इफेक्टका कारण उनले थप समस्या भोग्नुप¥यो । एक वर्षदेखि पाटन अस्पताल मानसिक रोग विभागमा उपचार गराइरहेकी श्रद्धाको स्वास्थ्य अवस्थामा अहिले निकै सुधार आएको छ । अस्पतालले उनलाई विद्युतीय कम्पन उपचार (इलेक्ट्रिकल सक थेरापी) गरिरहेको छ । उनी अहिले पद्यकन्या क्याम्पसमा अध्ययन गर्न थालेकी छिन् ।
केस नं. २
३८  वर्षीय सुमन एक सरकारी कार्यालयका लेखापाल हुन् । उनले जागिर खान थालेको १५ वर्ष भयो । विगत १० वर्षदेखि उनी पनि अनौठो समस्याले ग्रसित छन् । उनलाई आफूसँगै काम गर्ने अफिसका सबै स्टाफ उनीविरुद्ध लागेको जस्तो लाग्छ । सबै मिलेर भ्रष्टाचारमा फसाउन थालेको जस्तो लाग्छ । अफिसको हरहिसाब उनैले हेर्ने भएकाले उनी कसैलाई कुनै कागज छुनसमेत दिँदैनन् । हाकिमले हिसाबकिताबको फाइल माग्दा उनी निकै नै समस्यामा पर्छन् । फाइल हाकिमको टेबलमा राखेपछि उनको होस गुम भएजस्तो हुन्छ । उनी जे सोचिरहेका छन्, त्यो अरूले थाहा पाइसकेको जस्तो लाग्ने हुन्छ । अफिसको कामकाजमा कसैको पनि विश्वास नगर्ने, सबैसँग तर्केर हिँड्ने, अरूले मद्दत गर्न खोज्दा रिसाउने, बेलाबेलामा आक्रामक हुने जस्ता लक्षण सुमनमा थियो । सुमनकी श्रीमती अस्पतालको नर्स हुँदा पनि उनी उपचारका लागि अस्पताल आइपुग्न वर्षौं लाग्यो । रोग लागेको धेरै वर्षसम्म त उनको स्वभाव नै यस्तै होला भनेर सबै झुक्किए । जब उनकी श्रीमतीले आफ्नो श्रीमान्लाई मानसिक समस्या रहेको भेउ पाइन्, त्यसपछि उनको उपचार सुरु गराइन् । सुमनको पनि हालसालैबाट उपचार सुरु भएको छ । उपचार सुरु गरेपछि अरूमाथि शंका गर्ने उनको लक्षणमा निकै सुधार आएको छ । उनी अहिले अफिसको काम सहज ढंगले गर्न सक्ने भएका छन् ।
केस नं. ३
झापाका २७ वर्षीय अमृत १४–१५ वर्षको उमेरदेखि नै घर छोडेर एक्लै बस्न थाले । सडकमा भौँतारिने, फोहर संकलन गरेर बोकेर हिँड्ने, सामान्य घटनालाई पनि विशेष अर्थ दिने उनी विभिन्न ठूला हस्तीहरूको आवाज सुनेको बताउने गर्थे । उनी विश्वका महान् वैज्ञानिक तथा दार्शनिकको नाम लिँदै ‘उनीहरूले मलाई तेस्रो विश्वयुद्धबाट संसारलाई तिमीले नै बचाउनुपर्छ भनेका छन्’ भन्दै अरूलाई सुनाउने गर्थे । यही क्रममा उनी चुरोट, रक्सी तथा गाँजाको कुलतमा पनि फसेका थिए । उनका अभिभावकले गाँजा र रक्सी खाएका कारण छोरा बिग्रिएको भन्दै रिह्याब सेन्टरमा लगे । रिह्याब सेन्टरले जबर्जस्ती नशा छुटाउने उपाय गर्दा उनको समस्या झनै बढ्यो । त्यसपछि उनलाई घरमा कहिले डोरीले बाँधेर त कहिले कोठामा थुनेर राख्न थालियो । उनको अहिले मानसिक उपचार सुरु गरिएको छ । उपचार सुरु गरेपछि उनी अहिले दोहोरो कुराकानी गर्न सक्ने भएका छन् भने उनको लक्षणमा पनि केही सुधार आएको छ ।
केस नं. ४  
सिन्धुपाल्चोकका २४ वर्षीय फुर्वा विगत छ वर्षदेखि एक्लै बोल्ने, हाँस्ने, कोही नहुँदा पनि कुराकानी गरेको हाउभाउ गरिरहने तथा घण्टौँसम्म अप्ठ्यारो मुद्रामा उभिरहने जस्ता लक्षण देखाउँदै आएका छन् । घरबाहिर कोही नहुँदा पनि ‘मलाई समाउन आयो’ भन्दै तर्सिने गर्थे । लाश पोलेको गन्ध आयो भन्दै नाक थुनेर बस्ने गर्थे । यस्ता समस्या देखिन थालेपछि ९ कक्षामा पढ्दै गरेका फुर्वाले पढाइ छाडे । उनका अभिभावकले छोरालाई देवीदेउता लाग्यो भन्दै भाकल गर्दा र  झाँक्री लगाउँदा आफ्नो जायजेथा नै सके । तर, फुर्वाको समस्या समाधान भएन । उपचारका लागि काठमाडौँ आएपछि पनि उनलाई फेरि धामी–झाँक्रीकोमा लगियो । उनलाई धर्म परिवर्तन गरे यस्तो समस्या समाधान हुन्छ भन्दै क्रिस्चियन पनि बनाइयो । तर, केही उपलब्धि हासिल भएन । अन्तिममा मनोचिकित्सकले उपचार सुरु गरेपछि उनले भोगिरहेका समस्या केही मात्रामा भए पनि कम हुन थालेका छन् ।
केस नं. ५  
एक जना नेताका छोरा इन्जिनियरिङ पढ्न भारत गएका थिए । उनी अहिले ४५ वर्षका छन् । २० वर्ष अघिदेखि उनलाई पनि अनौठो समस्याले दुःख दिइरहेको छ । उनले जेनतेन इन्जिनियरिङ पास गरेको सर्टिफिकेट लिएर नेपाल त फर्किए तर एक दिन पनि उनी आफ्नो प्रोफेसनमा लाग्न सकेनन् । सामाजिक प्रतिष्ठा र बाउको राजनीतिक करिअरमा धक्का लाग्ने भयले उनलाई सकेसम्म अरूले थाहा नपाउने गरी घरमै लुकाएर राख्न थालियो । उनी नेपाललाई बाहिरी शक्ति तथा माफियाले खान थालेको बताउँथे । आफ्नो दिमागमा विशेष शक्ति आएकाले अरूको विचार आफ्नो दिमागमा ट्रान्सफर भइरहेको गफ गर्थे । विभिन्न राजनीतिक सिद्धान्तको गफ गर्थे । अमिल्दा कुरा गरेर नयाँ राजनीतिक सिद्धान्त निर्माण गरेको बताउँथे । यस्तै अवस्थामा उनको विवाह पनि भएको थियो । तर, श्रीमतीले एक हप्तामा नै छोडेर गएकी थिइन् । उनी आफ्नो कुरा अरूले ध्यानपूर्वक सुनेनन् भने धारिला हतियार लिएर आक्रमणमा पनि उत्रिने गर्छन् । उनको पनि अहिले उपचार भइरहेको छ । औषधि सेवन गर्न थालेपछि उनी आक्रामक रूपमा प्रस्तुत हुन भने छाडेका छन् ।
०००
पाटन अस्पताल मानसिक रोग विभाग प्रमुख डा. रवि शाक्यले उपचारका क्रममा भेटेका ‘सिजोफ्रेनिया’ नामक गम्भीर मानसिक रोगीका विवरण हुन् यी । ओपीडीमा प्रत्येक दिन आउने ५० भन्दा बढी मानसिक रोगीमा आधा जति यस्तै लक्षण भएका बिरामी आउने गरेको डा. शाक्यले बताए ।
‘सिजोफ्रेनिया कडा खालको मानसिक रोग हो । यो यस्तो रोग हो जसमा बिरामीलाई आफू बिरामी भएको थाहा हु“दैन । बिरामी एक्लै बस्दा कानमा आवाज आउ“छ । ऊ अरूलाई शंका गर्न थाल्छ । साथीभाइको संगत छाड्छ र एक्लै बस्न रुचाउँछ । दैनिक काममा ध्यान दिँदैन । सफासुग्घर गर्न छाड्छ । घरबाट भाग्छ,’ डा. शाक्य भन्छन्, ‘जसले गर्दा कतिपय अवस्थामा यो रोग पत्ता नलाग्दै बिरामीले निकै क्षति बेहोरिसकेकोे हुन्छ । बिरामीले आत्महत्यासमेत गर्न सक्छ ।’   
डा. शाक्यका अनुसार पुरुषमा सरदर १० देखि २५ वर्ष र महिलामा २५ देखि ३५ वर्षभित्र सुरु हुने यो रोगले तन्नेरीलाई नराम्ररी सिध्याउने गर्छ । केही नयाँ प्रयोग गर्न रुचाउने उमेरमा लक्षण देखा पर्ने भएका कारण धेरैले यो रोग लागेको अनुमान नै लगाउन सक्दैनन् । डा. शाक्य भन्छन्, ‘कोही निकै तेज विद्यार्थी छ र उसले केही अस्वाभाविक लक्षण देखायो भने धेरै पढेर यस्तो भएको भन्दै कम पढ्न सल्लाह दिने चलन पनि पाइन्छ । जसले गर्दा रोग छिप्पिँदै जाने र बिरामीको अवस्था थप बिग्रने हुन्छ ।’
के हो सिजोफ्रेनिया ?
सिजो अर्थात् टुक्रिएको र फ्रेनिया अर्थात् मन । यी दुई ग्रीक शब्द मिलेर सिजोफ्रेनिया बनेको हो । धेरैलाई यो शब्दको अर्थ टुक्रिएको व्यक्तित्व भन्ने गलत धारणा रहेको डा. शाक्य बताउँछन् ।
यो एक प्रकारको सोच्ने प्रक्रियामा हुने गम्भीर मानसिक रोग हो । सिजोफ्रेनियामा इन्द्रियका असाधारण महसुस, सोचविचारमा असाधारण भ्रम हुने गर्छन् । जसले गर्दा गलत भाव, मिजास, गतिविधि आदि हुने हुन्छ । यो रोग लागेकाले अनौठो व्यवहार गर्छन् । यो एक किसिमको साइकोसिस हो । रोगीले वास्तविकता र अवास्तविकता छुट्याउन नसक्ने हुन्छ । ‘उपचार गर्दा पनि पूरा ठीक नहुने, प्रायः जिन्दगीभर लक्षणहरू आउने–जाने भइरहने आदि कारणले गर्दा यसका रोगीहरूले विश्वको आधी जस्तो मानसिक अस्पतालका शड्ढया ओगटिरहेका हुन्छन् भन्ने गरिन्छ,’ डा. शाक्य भन्छन्, ‘यो रोग लागेकाहरू सम्भवतः सबैभन्दा बढी सामाजिक अपहेलना र दुव्र्यवहारका शिकार हुने गरेका छन् । सिजोफ्रेनिया के कारणले हुन्छ भन्ने तथ्य अहिलेसम्म पत्ता लागेको छैन ।’
कसरी चिन्ने सिजोफ्रेनिया ?
सिजोफ्रेनियाका लक्षणहरू निकै व्यापक एवं थरीथरीका हुन्छन् । सिजोफ्रेनिया भन्नलाई सबै लक्षण हुन जरुरी हुँदैन । एकै रोगीको फरक समयमा भिन्नाभिन्नै लक्षण र एक रोगीको लक्षण अर्कोको भन्दा पूर्णतया भिन्न हुन पनि सक्छ । वास्तवमा विशेषज्ञहरू माझ सिजोफ्रेनिया एउटा मात्र रोग नभई अनेक रोगहरूको एक समूह भन्ने अवधारणा पनि छ ।
सिजोफ्रेनिया भएकाहरूको निद्रा एकदमै गडबड हुन्छ । जसका कारणले बिरामीले चुरोट, रक्सी र गाँजा जस्ता नशालु पदार्थको सेवन अत्यधिक मात्रामा गर्न थाल्छन् । जसले गर्दा रोगीमा देखिएका लक्षण नशा सेवन गरेर भएको भन्ने अनुमान प्रायः सबैले लगाउँछन् । त्यसपछि बिरामीलाई नशालु पदार्थको सेवनबाट छुटकारा गराउन विभिन्न उपाय गरिन्छ । तर, समस्या एकातिर समाधानको उपाय अर्कोतिर खोज्दा बिरामीले निकै दुःख पाउने गरेका छन् । धेरै सिजोफ्रेनियाका बिरामीले आफूलाई के भएको हो भन्ने पत्ता लगाउन नसकेर नै दुःख पाउने गरेका छन् । ‘बिरामीले त आफूलाई के भएको हो, त्यो सजिलै थाहा पाउने कुरा भएन,’ डा. शाक्य भन्छन्, ‘उसका अभिभावक पनि यो रोगसँग झुक्किन्छन् । कतिपय अवस्थामा चिकित्सकले पनि बिरामीमाथि विभिन्न किसिमका औषधि सेवन गराएर परीक्षणमात्र गरिरहेका हुन्छन् ।’

रोगपूर्वका संकेत
–    बाल्यकालीन मौनता, निष्क्रियता र अन्तर्मुखी स्वभाव
–    किशोरावस्थामा पनि सामाजिक अन्तरक्रियाभन्दा एक्लै रमाउने
–    अमूर्त विषयः दर्शन, धर्म आदिमा अनौठो रुचि देखाउने
–    दीर्घकालीन टाउको, ढाड, पेट दुखाइ
–    कमजोर पाचन समस्या
–    अनौठो मिजास, बोली–व्यवहार, सोचविचार आदि

रोगी अवस्थाका लक्षण
–    अनुचित लवाइ, हाउभाउ, गतिविधि, मूर्तिझैँ उभिरहने, अकारण अस्थिरता आदि
–    अनुचित रिस, खुशी, उदासी, डर, चिन्ता वा भावविहीनता
–    असामान्य इन्द्रिय स्वचालनः वास्तवमा नभएका, अरूले नसुन्ने ध्वनि, दृश्य, गन्ध आदि महसुस गर्ने ।
–    सिजोफ्रेनिया भएकाले प्रायः अवास्तविक ध्वनि सुन्ने गर्छन् । रोगीले आफूलाई गालीगलौज गरेको, उसको क्रियाकलापबारे अरूले कुरा गरेको आदि महसुस हुन्छ । कहिलेकाहीँ उनीहरू आफ्ना सोच फेरि प्रतिध्वनित भई सुन्ने पनि गर्छन् ।

‘तन्नेरी सिध्याउने रोग’
डा. रवि शाक्य, प्रमुख
मानसिक रोग विभाग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
मानसिक रोग भन्नासाथ मानिसहरू पागलपन भनी अर्थ लगाउँछन् । बृहत् नेपाली शब्दकोशले पागलको अर्थ बहुला, सन्की, हावा खुस्केको भनेको छ । त्यस्तै पागलपनलाई बहुला अवस्था, बौलट्टीपन भनेर अथ्र्याइएको छ । तर, आधुनिक चिकित्सा क्षेत्रमा मानसिक रोगको निकै फराकिलो परिधि र परिभाषा छ ।
विश्व स्वास्थ्य संगठनले सन् १९७० मा स्वास्थ्यलाई ‘पूर्ण शारीरिक, मानसिक र सामाजिक सन्तुलनको अवस्था, न कि केबल रोगव्याधिको अनुपस्थिति’ भनी परिभाषित गरेको छ र मानसिक सन्तुलनलाई आफू र आफ्नो वरिपरिको वातावरणसित सामञ्जस्यता भनी अथ्र्याएको छ । यसरी मानसिक सन्तुलन पनि स्वास्थ्यको प्रमुख अंग हो भन्ने प्रस्ट छ । विश्व स्वास्थ्य संगठनकै सन् १९९९ को तथ्यांकअनुसार मानवजातिको उत्पादनशीलताको व्यवधानमूलक प्रमुख १० रोगमध्ये पाँच वटा त मानसिक रोग नै पर्छन् । मानवमा सबैभन्दा बढी हुने मुटु तथा रक्तसञ्चारका रोगपछि दोस्रो बढी हुने रोग उदासीपन (डिप्रेसन) भन्ने मानसिक समस्या नै हो । विश्व स्वास्थ्य संगठनका अनुसार करिब १५ प्रतिशत मानिस कुनै न कुनै प्रकारको मानसिक समस्याबाट पीडित छन् । मानसिक रोगलाई ‘मनोरोग’ भनिन्छ । मनोरोगअन्तर्गत अति सामान्य समस्या ‘टेन्सन हेड्याक’  देखि अति कडा रोग सिजोफ्रेनियासम्म पर्छन् । विश्वमा करिब ५० करोड मानिस कुनै न कुनै प्रकारको मनोरोगबाट पीडित छन् । विश्वका १० खतरनाक रोगमध्ये मानसिक रोग दुई नम्बरमा पर्छ । सन् २०२० सम्ममा यो रोग पहिलो नम्बरमा पर्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ । डिप्रेसन, मेनिया, सिजोफ्रेनिया, दुव्र्यसनी र डिमेन्सिया कडा खालका मानसिक रोग हुन् । डिप्रेसन रोग सबैभन्दा बढी पाइने मनोरोग हो । तर, दुर्भाग्यवश नेपालमा सचेतनाको अभावमा जनमानस, विद्वानवर्ग, स्वास्थ्यकर्मी एवं स्वास्थ्यनीति निर्माताहरूद्वारा अझै पनि मानसिक स्वास्थ्यलाई न्यून प्राथमिकता दिने, रोगीहरूलाई हेलचेक्य्राइँ र भेदभावपूर्ण व्यवहार हुँदै आएको छ । यससम्बन्धी थुप्रै गलत धारणा र अन्धविश्वास व्याप्त छन् ।
सामान्य खालका मनोवैज्ञानिक समस्या २५ देखि ३० प्रतिशतसम्म मानिसको जीवनमा विभिन्न समयमा पाइन्छ । खासगरी समस्यासँग जुध्न नसक्दा मानिसलाई डिप्रेसन हुन सक्छ । तर, वंशानुगत रूपमा पनि मानसिक रोग लाग्ने सम्भावना देखिन्छ । मेहनत गर्न नछोड्ने, अनावश्यक कुरामा बारम्बार एकोहोरो नसोच्ने, लागुपदार्थ सेवन नगर्ने, मनमा रहेको समस्या अरूलाई बा“ड्ने गर्नाले मानसिक रोग लाग्ने सम्भावना कम भएर जान्छ ।
सामान्य खालका मानसिक रोगमा डर लागिरहने, मुटु ढुकढुक गर्ने, हात हल्लने, टाउको दुख्ने, अचानक डराउने आदि पर्छन् । औÈधिसेवन र साइकोथेरापी गरेपछि यस्ता रोग निको हुन्छन् । अचानक हातखुट्टा नचल्ने, सास फेर्न गाह्रो हुने, उल्टो कुरा गर्ने, काम्ने आदि लक्षण भएमा त्यसलाई कन्भर्सन डिसोसिएटिभ डिसअर्डर भनिन्छ । यो पनि सामान्य मानसिक रोग हो ।
डिप्रेसन मध्यम खालको मानसिक रोग हो । यो रोगका बिरामी निराश हुने, दिक्क हुने, बारम्बार रुने गर्न सक्छन् । हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने पनि हुन्छ उनीहरूलाई । डिप्रेसनका कतिपय बिरामीले आत्महत्यासम्म गर्न पुग्छन् । यो उपचार गरे निको हुने रोग हो ।
लागुऔÈध र रक्सीका कारण पनि मानसिक समस्या देखापर्छन् । बढी रक्सी सेवन गर्ने व्यक्तिमा छारे रोग लाग्न सक्छ । छारे रोग पनि मध्यम खालको मानसिक रोग हो । यो रोग लागेमा लामो समयसम्म औÈधि सेवन गर्नुपर्छ । सुस्त मनस्थिति पनि मध्यम खालको मानसिक रोग हो । उपयुक्त उपचार पाए यसको बिरामी निको हुन सक्छ ।
बाइपोलर इफेक्टिभ डिसअर्डर कडा खालको मानसिक रोग हो । यो पटक–पटक दोहोरिने भएकाले यसलाई मनोचिकित्सकहरू पटके रोग पनि भन्छन् ।
सिजोफ्रेनिया कडा खालको मानसिक रोग हो । यो सामान्यतया युवा अवस्थामा सुरु हुन्छ र प्रायः जिन्दगीभरि नै रहन्छ । यो रोगले विश्वको कुल जनसंख्याको एक प्रतिशत व्यक्तिलाई गाँजेको छ । विश्व स्वास्थ्य संगठनको हालको तथ्यांकअनुसार विश्वभर २ करोड ६० लाख मानिसलाई यो रोगले ग्रसित बनाएको छ । तन्नेरी अवस्थामा सुरु हुने र जीवनभर रहने भएकाले यो तन्नेरी सिध्याउने रोग हो ।
यो रोगले बिरामीलाई दीर्घकालीन रूपमा आक्रान्त पार्ने भए पनि यसको वैज्ञानिक उपचार उपलब्ध छ । पूर्ण रूपमा निको नहुने र लक्षणहरू घटबढ भइरहने तर राम्रो उपचार उपलब्ध हुन सक्दा धेरै हदसम्म नियन्त्रणमा रहने रोग हो । रोगीहरूलाई राम्ररी मद्दत गर्न, समाजमा पुनःस्थापना गर्न, औषधिका साथै रोगबारे रोगी तथा उनका परिवार समाज सबैले उचित ज्ञान, सोचविचार र व्यवहार सिक्न र गर्न आवश्यक छ । द्वैध अर्थ लाग्ने व्यंग्यात्मक भाषा प्रयोग गर्ने, माया र घृणा चरम रूपमा व्यक्त गर्ने, परिवारमा सबै मिलेर एक्ल्याउने, फसाउने आदि वातावरणबाट रोगीलाई बचाउनुपर्छ । यो रोग लागिसकेपछि पनि कतिपय मानिसले मानव जातिको निम्ति सिर्जनात्मक साहित्य, कला, वैज्ञानिक अन्वेषण÷आविष्कार गरेर अद्भूत योगदान गरेका उदाहरण छन् । यही रोगबाट ग्रसित गणितज्ञ जोन न्यासले नोबेल पुरस्कार पाएका थिए । सिजोफ्रेनिया लाग्दैमा जिन्दगी बेकार हुन्छ भनी सोच्नु गलत हो ।

‘बिरामीलाई राज्यले सघाउनुपर्छ’
डा. सरोजप्रसाद ओझा, मनोचिकित्सक
त्रिवि शिक्षण अस्पताल
अधिकांशले स्वास्थ्य भन्नेबित्तिकै शारीरिक अवस्थालाई मात्र बुझ्ने गर्छन् । शारीरिक रूपमा मात्रै ठीक हुनु स्वस्थ हुनु होइन । शारीरिकसँगै मानसिक र सामाजिक रूपमा पनि  स्वस्थ हुनुपर्छ ।  
कसैलाई मानसिक रोग लागिहाल्यो भने समाजमा छिःछिः र दुरदुर गर्ने गरिन्छ । बिरामीप्रति निकृष्ट व्यवहार देखाइन्छ । सिक्रीमा बाँध्ने, कोठामा थुन्ने, भोकै राख्ने, घरनिकाला गर्नेजस्ता अमानवीय व्यवहार गरिन्छ । पागल, बौलाहाजस्ता अपाच्य शब्दले चिनाइन्छ । समाधानतिर कसैले सोच्दैन । सोचे नै भने पनि रुढिवादी ढंगबाट देउता बिग्रे भन्दै धामी, झाँक्रीतिर लागिन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार २० प्रतिशत मानिसमा मानसिक स्वास्थ्य समस्या छ । यो संख्या हाम्रोजस्तो कम आय भएका देशहरूमा धेरै छ । यस्तै एक प्रतिशत जनसंख्यामा सिजोफ्रेनियाजस्तो कडा खालको मानसिक रोग हुन्छ । १५ देखि २५ वर्ष उमेर समूहलाई यो समस्या धेरै हुन्छ । यस्तो उत्पादनशील उमेरमा मानसिक सन्तुलन गुमाउनुपर्दा परिवारलाई त ठूलो समस्या हुन्छ नै, पूरा देशलाई नै घाटा हुन्छ ।
बालबालिकाबाट किशोरावस्था हुँदै युवावस्थामा प्रवेश गर्दा यस्ता समस्या धेरै आउनुको प्रमुख कारण ‘ट्रान्जिस्नल पिरियड’ हो । यो उमेरमा शारीरिकसँगै पारिवारिक तथा सामाजिक भूमिका जस्ता ठूलठूला परिवर्तन सामना गर्नुपर्ने हुन्छ । जसले दिमागमा रासायनिक उथलपुथल ल्याउँछ । यतिबेला हुने रासायनिक गडबडीले सिजोफ्रेनियाजस्ता कडा समस्या एक्कासि आउन सक्छन् । यो किन हुन्छ ? रासायनिक गडबडीबाहेक  केही भन्न सकेको छैन विज्ञानले पनि । सिजोफ्रेनियासँगै डिप्रेसन, एन्जाइटिक, ड्रग डिसअर्डर, एग्रेसिभ, डिस्ट्रक्टिभ तथा सुसाइडल बिह्याभियरजस्ता मानसिक रोग लाग्ने गर्छन् । २० देखि २४ वर्ष उमेरसम्म सबैलाई कुनै न कुनै बेला ड्रग तथा अल्कोहलको डिसअर्डर हुने अनुसन्धानले पनि देखाइसकेको छ ।  
मानसिक रोगको उपचार सम्भव छ भन्ने कुरा बुझाउनु अहिलेको टड्कारो आवश्यकता हो । यो समस्यालाई हेर्ने दृष्टिकोण बदल्नैपर्छ । समयमा समस्या पहिचान गरी सही निदानतिर लाग्नसके समस्याले जटिल रूप लिन पाउँदैन । नेपालमा अर्को समस्या हो– यो रोगका विशेषज्ञ डाक्टर भेट्न मुस्किल छ । विशेषज्ञ मनोचिकित्सक लगभग ९५ जनाजति नेपाली होलान् । त्यसमा पनि २५ प्रतिशत जति विदेशमा छन् । बाँकी काठमाडौँमै केन्द्रित छन् । राज्यले यसबारेमा सोचेर जिल्लाजिल्लामा उपचारको प्रबन्ध गर्नुपर्छ । उपचार केही महँगो हुने र लामो समय गर्नुपर्ने भएकाले बिरामीलाई राज्यले सघाउनुपर्छ । मानसिक रोगको उपचार सबैको पहुँचमा पुग्नुपर्छ ।
बक्स नं ३ः
‘अनुभूतिको चरणमा थिएँ’
लीलाराज खतिवडा (४१)
मेरो घर मोरङ हो । पत्रकारितासँगै फिल्म निर्माणको काम गर्दागर्दै सन् १९९९ मा मलाई एक्कासि मानसिक समस्याले पीडित बनायो । जे कुरामा पनि शंका लाग्ने, कसैले रिमोटबाट कन्ट्रोल गरिरहेको, क्यामरामा कैद गरिहेको फिल हुने, जसलाई पनि जासुस देख्नेजस्ता असामान्य व्यवहार देखाउन थालेँ । प्रायः मुम्बई गइरहने भएकाले त्यहाँ जँचाएँ । त्यहाँका डाक्टरले ‘प्यारानोइया’ भएछ भनेर औषधि चलाए । त्यसमा विश्वस्त नभएर पछि विराटनगर आएर उपचार गर्न थालेँ । त्यहाँबाट फेरि काठमाडौँ आइयो । सबै डाक्टरहरू ‘कन्फ्युज्ड’ पाएँ मैले । सबले सब तरिका अपनाए । साह्रै दुःख दिए मलाई । पछि २००१ मा सिजोफ्रेनिया भएको पत्ता लगाए उनीहरूले । २० जना जति डाक्टरले मलाई औषधि खुवाउन कन्भिन्स्ड गर्न खोजे । मैले यो उपचारबाट समाधान नहुने भन्दै उपचारबाट भाग्न खोजेँ । भागेँ पनि । परिवार त्यागेर कहाँ पुगिएन ?
पछि मैले विद्रोह गरेँ । कुनै पनि मेडिकल ट्रिटमेन्ट नगर्ने । अध्यात्मतिर लाग्ने विचार गरेँ । ध्यान गरेँ । लामो यात्रा गरेँ । चिन्तन गरेँ । बिस्तारै म सामान्य अवस्थामा आएको फिल भयो । म पूरै आध्यात्मिक बनेँ । यसै विद्रोहले मलाई समाधानतिर डो¥यायो । मैले धेरै लेखेँ । रिसर्च गरेँ । चित्र कोरेँ । यात्रा गरेँ । धेरै अनुभव बटुलेँ । म भन्छु, म बिरामी थिइनँ । म अनुभूतिको चरणमा थिएँ । मेरा सबै गतिविधि मलाई पूरा याद छ ।
उपासना, ध्यान गर्दा आँखा चिम्लिइन्छ । त्यसैबेला मेरो मनमा डुलेको दृश्य रङको माध्यमबाट क्यानभासमा उतार्छु । चित्र र शब्द बेचेर बाँच्न सक्छु भन्ने लाग्छ । अहिले सामान्य अवस्थामा फर्कन खोज्दै छु । परिवार खुशी छ, मदेखि अहिले । यो समाजलाई मेरो सुझाव भनेको मानसिक समस्यालाई बुझ्नुस् भन्ने हो । पीडितमाथि जबर्जस्ती गर्न नखोज्नुस् । उसलाई प्रेरित गरेर प्राकृतिक पद्धति अपनाएर उपचार गर्नुपर्छ ।

 

Leave A Comment