१० हजार नेपालीले कोरिया उड्न पाएनन्

सोमबार, १७ असोज २०७३, ०९ : २५ रुद्र खड्का , Kathmandu
१० हजार नेपालीले कोरिया उड्न पाएनन्

कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नेबित्तिकै अधिकांश युवायुवतीले दक्षिण कोरिया पुगेको सपना देख्न थालिसकेका हुन्छन् । यदि भाषा परीक्षा उत्तीर्ण गरेकै कारण तपाईंले पनि कोरिया सपना देख्न थाल्नुभएको छ भने अझै पर्खनुहोस् । किनकि, सबै भाषा परीक्षा उत्तीर्ण गरेकाहरू कोरिया उड्न पाउँछन् भन्ने अझै ग्यारेन्टी हुन सकेको छैन । त्यसैले तपाईंले पनि भाषा परीक्षा उत्तीर्ण गर्नु भनेको कोरिया जानका लागि एउटा खुड्किलो मात्र पार गरेको हो भन्ने ठान्नुस् । नत्र कोरिया मोहले उत्साह भरिएको मनमा निरुत्साहले तनाव सिर्जना गर्न सक्छ । सोही तनावको शिकारले तपाईं जस्ता होनहार युवायुवतीको जीवनलाई निरस र तनावपूर्ण बनाउन सक्छ ।
भनिन्छ– जसले धेरै महत्वाकांक्षा लिन्छ । त्यस्ता व्यक्तिको जीवन कुनै न कुनै क्षणमा निरस र पीडादायी हुन्छ । स्वदेशमा रोजगार पाउन नसकेको बेला र ५० डिग्री तापक्रममा खाडीमा काम गर्नुपर्ने बाध्यताको अघिल्तिर कोरियाको रोजगारी बेरोजगार युवायुवतीका लागि निकै आकर्षक हो । थोरै लगानीमा मासिक एक लाख रुपैयाँभन्दा बढी कमाउन पाइने भएपछि स्वदेशमा राम्रै जागिर र व्यवसायमा रहेका र स्नातक, स्नातकोत्तर अध्ययन सकाएका युवायुवतीको ध्यान वर्षैपिच्छे कोरियातिर तानिएको पाइन्छ ।
कोरियन भाषाको परीक्षामा सहभागी हुनकै लागि हजारौँ युवाले प्रयास थाल्ने क्रम पछिल्ला वर्ष बढेकोबढ्यै छन् । तर, कोरिया भने तीमध्ये निकै थोरै मात्र जान पाउँछन् । कोरियन भाषा अनुमति प्रणाली (ईपीएस) शाखाका अधिकृत शोभाकर भण्डारी कोरियन भाषाको परीक्षामा उत्तीर्ण हुनु भनेको कोरिया जानका लागि पहिलो आधार भए पनि ग्यारेन्टी भने होइन । भाषा परीक्षा उत्तीर्णपछि स्वास्थ्य परीक्षणमा सफल हुनुको साथै कोरियन रोजगारदाताको छनोटमा पर्नु पर्ने भएकाले भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरिया पुगेको सपना नदेख्न भण्डारी सल्लाह दिन्छन् । भाषा परीक्षा उत्तीर्ण गरेपछि पनि कोरियन रोजगारदाताले मन नपराएका या रोजगारी सिर्जना नगर्दा भाषा परीक्षा उत्तीर्ण गरेका १० हजार युवायुवती अझै कोरिया जान पाएका छैनन् ।
पछिल्लो समयमा कोरिया जाने युवायुवतीको चाहना बढेपछि राजधानीमा बग्रेल्ती खुलेका भाषा सेन्टरले कोरिया जानका लागि भाषा परीक्षा नै सबथोक हो जस्तो व्यवहार गर्दा कैयौँ युवायुवती झुक्किने गरेको ईपीएस शाखाका कर्मचारी बताउँछन् । गाउँगाउँबाट आएका युवायुवतीलाई कोरिया जाने हो भने भाषा परीक्षा उत्तीर्ण गर्नुपर्ने र त्यसको जिम्मा आफ्नो इन्स्टिच्युटले लिने भन्दै झुक्याउने धन्दा निकै बढेको छ । ईपीएस शाखाका कर्मचारीका अनुसार परीक्षार्थीले इन्स्टिच्युटमा नगईकन पनि कोरियन भाषाको अध्ययन गरी भाषा परीक्षामा सहभागी हुन सक्छन् । पछिल्लो समयमा कोरियन भाषा पढाउने कतिपय इन्स्च्यिुटले कोरिया जाने खर्चभन्दा पनि बढी रकम असुल गर्न थालेको पीडित बताउँछन् ।
चार वर्षअघि भाषा परीक्षा उत्तीर्ण गरेका बुटवलका रामु न्यौपानेले भने, ‘भाषा परीक्षा अध्ययन गर्दागर्दै ६० हजार रुपैयाँ सकियो । पछि त कोरियाबाट माग नआउँदा अहिलेसम्म जानै पाएको छैन ।’ दुई÷तीन महिना अध्ययन गरे पुग्नेमा इन्स्च्यिुटले उनलाई विभिन्न प्रलोभन देखाएर करिब एक वर्षसम्म कोरियन भाषा अध्ययन गर्न बाध्य पारेको थियो । ‘इन्स्च्यिुटले भने अनुसार पढ्दै र रकम बुझाउँदै गएँ,’ न्यौपानेले भने, ‘प्रलोभन देखाउनुको कारण त ठगी गर्नलाई पो रहेछ ।’ एक पटक भाषा परीक्षामा सफल भएको व्यक्ति दुई वर्षसम्म कोरिया पुगिसक्नु पर्छ । कुनै कारणवश कोरिया जान नपाए त्यस्ता युवायुवतीले दुई वर्षपछि पुनः भाषा परीक्षामा प्रतिस्पर्धा गर्नुपर्छ ।
सन् २०१७ मा कोरियाको कृषि क्षेत्रमा काम गर्न २१ सय र औद्योगिक क्षेत्रका लागि एक हजार कामदार लैजानका लागि भाषा परीक्षामा छ महिनाअघि ६० हजारभन्दा बढी युवायुवती परीक्षामा सामेल भएका थिए । अघिल्लो वर्ष कोरियाले ८ हजार ४ सय ९० कामदार लैजान आह्वान गर्दा ५१ हजार ४ सय ९९ जनाले प्रतिस्पर्धा गरेका थिए । ईपीएस कोरिया शाखाका अधिकृत भण्डारी युवायुवतीको बढ्दो विदेश मोह घटाउन नेपालमा विशेष खाले योजना बनाउनुपर्ने बताउँछन् । ‘वैदेशिक रोजगारीको कमाइले देश बन्दैन भन्ने यथार्थ सबैलाई बुझाउन आवश्यक परिसकेको छ,’ उनले भने, ‘यस्तै विदेश मोह कायम रहे देश युवाविहीन नहोला भन्न सकिन्न ।’
युवाको रोजाइमा किन प¥यो कोरिया ?
सन् १९८० को दशकमा आर्थिक प्रगति गरेको मुलुक हो, दक्षिण कोरिया । सन् १९६० सम्म आर्थिक अवस्था सन्तोषजनक नरहेको कोरियाले जब उत्पादन क्षेत्र र उद्योगलाई जोड दिँदै विकासका रणनीति तय ग¥यो । त्यसपछि उसले आफ्नो आर्थिक अवस्था त बदल्यो नै विश्वमै तीव्र रूपमा आर्थिक उन्नति गर्ने देशको रूपमा चिनायो । रहस्यमय तरिकाले आर्थिक उन्नति गरेकाले एसियन टाइगरको रूपमा समेत कोरियाले संसारभर नाम कमायो ।
उत्पादन र उद्योगको विकासले आर्थिक अवस्था सुधार हुन्छ भन्ने मूल मान्यतालाई बढाउने क्रममा कोरियाले सन् २००८ देखि नेपालबाट कृषि र उद्योग क्षेत्रमा काम गर्न युवायुवती लैजान थालेको हो । स्वदेशमा कृषिको काम गर्न अप्ठ्यारो मान्ने युवायुवती पछिल्लो समयमा भने सोही काम गर्न मरिहत्ते गर्न थालेका छन् । कोरिया मोहमा परेका युवायुवतीका अनुसार नेपालमा बसेर कृषि क्षेत्रमै काम गर्न खोजे पनि सरकारी संयन्त्र सहयोगी नभएकाले विदेश पस्न बाध्य हुनु परेको हो । जीटूजी (नेपाल र कोरिया सरकार) प्रक्रियाबाट कोरिया जान पाइने व्यवस्था भएकाले जाँदा लागत खर्च कम र उता गइसकेपछि तोकिएकै रोजगारी पाउने व्यवस्थाले धेरैलाई लोभ्याएको हो । कोरियाको श्रम ऐन प्रभावकारी भएकाले त्यहाँ काम गर्नेहरूलाई रोजगारदाताले मासिक एक लाख रुपैयाँभन्दा कम पारिश्रमिक दिन पाउँदैनन् । सम्झौताअनुसार कामदारले पाउनुपर्ने कुनै सुविधा नपाएको गुनासो पर्ने बित्तिकै कामदारलाई सहयोग गर्न सरकारी संयन्त्रले सशक्त रूपमा काम गरेको हुन्छ । कोरियाका रोजगारदाताले कामदारलाई तोकिएभन्दा बढी काम लगाउने बित्तिकै अतिरिक्त ज्याला दिनुपर्छ ।
कोरिया छनोटको प्रक्रिया
कोरिया छनोटको पहिला आधार भाषा परीक्षा उत्तीर्ण गर्नु हो । उक्त भाषा परीक्षामा जसले सबभन्दा बढी अंक ल्याउँछ ती युवायुवतीको नामावली रोस्टर सूचीमा राखेपछि कोरियाका रोजगारदाताले कामदार छनोट गर्छन् । भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा कोरियामा रोजगारीको ग्यारेन्टी हुँदैन । भाषा परीक्षा उत्तीर्ण गरे पनि रोजगारदाताले नबोलाए त्यस्ता युवायुवती कोरिया जान पाउँदैनन् । दुई वर्षको अवधिमा रोजगारदाताले नबोलाए कोरियन भाषा उत्तीर्ण गरेका युवायुवतीको नाम रोस्टर सूचीबाट हट्छ । र, त्यस्ता युवायुवती कोरिया जान अयोग्य हुन्छन् । सन् २००८ यता नेपालबाट ४० हजार ९ सय ४५ युवा कोरिया गइसकेका छन् । भाषा परीक्षा भने ५० हजार ३ सय ६५ ले उत्तीर्ण गरेका छन् । जसमा महिलाको संख्या ४ हजार ३ सय ७४ छ । भाषा परीक्षा उत्तीर्ण गरेका महिलामध्ये अहिलेसम्म २ हजार ६ सय ६४ मात्र कोरियन रोजगारदाताको छनोटमा परेका छन् । ५० हजार ३ सय ६५ ले भाषा परीक्षा उत्तीर्ण गर्दा अहिलेसम्म भाषा परीक्षाको प्रतिस्पर्धामा भने ३ लाख ३२ हजार ४ सय २ जना सहभागी रहेको ईपीएस कोरिया शाखाले जनाएको छ । सन् २००८ देखि कोरियाले नेपालबाट कामदार लैजान थालेकोमा सन् २००९ र सन् २०१२ मा भने विभिन्न कारण देखाउँदै कामदार लिएन ।

‘सबैलाई लैजान भनिरहेका छौँ’
शत्रुघ्नप्रसाद पुडासैनी
महानिर्देशक, वैदेशिक रोजगार विभाग

 
कोरियामा पुगेका नेपाली कामदारले भोगेका समस्या बुझ्न गएको भदौ ६ गतेदेखि एक सातासम्म विभागको टोलीले कोरियाको भ्रमण गरेको थियो ।  कामका लागि युवायुवतीलाई कोरिया पठाउन विभागको खासै भूमिका हुँदैन । कोरियन भाषा उत्तीर्ण गरेकालाई त्यहाँका रोजगारदाताले बोलाएपछि मात्र जान पाउने हो । त्यसैले भ्रमणको बेला कमसे कम कोरियन भाषा उत्तीर्ण गरेका युवायुवतीलाई जसरी पनि रोजगारी प्रदान गर्न त्यहाँका अधिकारीसँग आग्रह गरेका छौँ । त्यस्तै नेपाली युवायुवतीका लागि कोरिया रोजगारी सर्वोत्कृष्ट भएकाले कोटा थप गर्न पनि भनेका छौँ । कोरियाका रोजगारदाताले नेपाली कामदारलाई विशेष प्राथमिकता दिएका छन्  । नेपाली कामदार काममा गम्भीर हुनाको साथै रोजगारदाताप्रति इमानदार हुने भएकाले त्यहाँका रोजगारदाताले मन पराएका हुन् । कोरियामा गएका युवायुवतीमध्ये कृषि क्षेत्रमा काम गर्नेको केही समस्या देखिए पनि बाँकी सेक्टरको काम सन्तोषजनक नै पाइएको छ ।


हालसम्म कोरियन भाषा उत्तीर्ण गरेका र कोरिया पुगेका कामदार संख्या  
वर्ष सन्मा    प्रतिस्पर्धी    उत्तीर्ण    कोरिया उडेका
२००८         ३१५२५    ६७८६    २८१४
२००९          –    –    १९११
२०१०          ३६२०३    ४१८०    २३३९
२०११           ५००४३    १५६७८    ३९८३
२०१२          –    –    ६३३२
२०१३         ४४१२२    ८०५१    ५०४६
२०१४         ५८७४६    ३६६३    ६०२८
२०१५         ५११३७    ८४९०    ५८६६
२०१६          ६०६२६    ३५१७    ६६२६
जम्मा       ३,३२,४०२    ५०,३६५    ४०,९४५

स्रोतः ईपीएस कोरिया शाखा

 

Leave A Comment