‘स्रोताको मन जित्ने प्रयत्नमा छु’

आइतबार, १६ असोज २०७३, ०९ : १३ हिमाल लम्साल , Kathmandu
‘स्रोताको मन जित्ने प्रयत्नमा छु’

शान्ति खिरा कुँवर, गायिका

गाउन थालेको कति भयो ?
सानै उमेरदेखि गायनमा रुचि थियो । तारादेवीका गीत सुनेर हुर्किएँ । २०५२ सालबाट औपचारिक रूपमा मेरो संगीत यात्रा सुरु भएको हो । यसअघि पनि स्कुलमा गीतसंगीतमा सहभागी भइराख्थेँ ।
कस्ता गीत गाउनुहुन्छ ?
आधुनिक गीत गाउँछु ।
पहिलो गीत रेकर्डिङको अनुभव कस्तो रह्यो ?
मेरो पहिलो गीत ‘तिमी फर्केर’ काठमाडौँ, कालीमाटीको डिजिटल स्टुडियोमा रेकर्ड गरेकी हुँ । पहिलो पटक स्टुडियोमा छिर्दा मन एकदमै ढुकढुक भा’थ्यो । तर, गाउँछु नै भनेर स्टुडियोमा छिरेपछि चाहिँ डर आफसे आफ हराउने रैछ ।
कतिवटा एल्बम निकालिसक्नुभयो ?
दुईवटा एल्बम निकालेको छु । २०५४ सालमा ‘चिठी’ र २०७३ सालमा  ‘सिसा’ एल्बम निकालेँ ।
बीचमा सुस्ताउनुभएको थियो नि ?
सुस्ताएको होइन । गीत लेखन तथा घरायसी काममा अलिकति व्यस्त भइयो । तर, गीतसंगीतबाट टाढा चाहिँ थिइनँ ।     
तपाईंको लागि संगीत के हो ?
संगीत मेरो जीवनको आधार हो । मेरो नसानसामा संगीत बगेको महसुुस गर्छु । सास रहेसम्म संगीतमा नै लाग्नेछु ।
गाएरै बाँच्न सकिन्छ त ?
संगीतमा साधना गरेर लागे त सकिन्छ । तर, नेपाली संगीत बजार सीमित छ । गीतसंगीतले दर्शक÷स्रोताको मन जित्न सके त बाँच्न सहज होला जस्तो लाग्छ । स्रोताको मन जित्ने प्रयत्नमा छु ।
आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
चार महिनाअघि ‘सिसा’ एल्बम बजारमा ल्याएकी हुँु । त्यसैका छवटा गीतमध्ये दु्ईवटाको म्युजिक भिडियो बनाउने तरखरमा छु । ‘हाँस्छन् मेरा दुई नयन’ र ‘फूल टिपेर तिमीलाई दिउँला’ गीतको म्युजिक भिडियो बनाउने तयारीमा छु ।

 

Leave A Comment