मानव जातिको ‘भिजिटिङ कार्ड’

आइतबार, १६ असोज २०७३, ०८ : ५३ शुक्रवार , Kathmandu
मानव जातिको ‘भिजिटिङ कार्ड’

भूमण्डलमा रहेका प्राणीहरूमा मानिसलाई चिन्ने आधार भाषा हो । कदाचित् ब्रह्माण्डको कुनै ग्रहमा बुद्धिमान जीव फेला परे र उनीहरूलाई पृथ्वी र पृथ्वीका प्राणीको परिचय दिनुप¥यो भने भाषा नै मानव जातिको ‘भिजिटिङ कार्ड’ हुनेछ ।


राम लोहनी

पृथ्वीमा भएका प्राणीहरूमा मान्छेको स्थिति नितान्त भिन्दै छ । तर, यो भिन्नताको विमर्श सजिलो छैन । मान्छे दुईखुट्टे प्राणी हो । चराहरू पनि दुईखुट्टे नै हुन् । वैज्ञानिक वर्गीकरणमा मान्छे एक प्रकारको स्तनधारी प्रजातिको रूपमा चिनिन्छ । यो वर्गीय पहिचान भयो मान्छेको । प्राणीसंसारको ठूलो रहस्य मैथुनिक प्रजनन हो । एउटा नयाँ जीव पैदा गर्न दुईवटा प्राणीको योगदान हुनैपर्ने बाध्यता मैथुनिक प्रजननको रहस्य हो ।  प्रजननको यो विधि मान्छेमा मात्र होइन, अन्य जन्तु र वनस्पतिमा पनि पाइन्छ । जिन संरचनाको दृष्टिले हेर्ने हो भने मान्छेको सबभन्दा नजिकको आफन्त चिम्पान्जी हो । त्यसपछिको अर्को नातेदार हो गोरिल्ला । चिम्पान्जीसँग मान्छेको ९८.४५ जिन मिल्दछ । बाह्य रूपाकृतिलाई हेर्दा मान्छे र चिम्पान्जीमा एउटै मुख्य फरक देखिन्छ ( चिम्पान्जीको शरीर रौँले ढाकिएको हुन्छ, मान्छे चाहिँ रौँले नढाकिएको नाङ्गै हुन्छ । देसमन्ड मरिसले मान्छेलाई ‘नाङ्गो नरमानव’ (नेकेड एप) नाम दिएका थिए । चिम्पान्जीसँगको १.६५ फरक जिनमा मान्छे हुनुको ‘पन’ खोज्नुपरेको छ ।

मान्छेको पहिचानको लागि समाज, परिवार, विवाह, यौन आदि कुराहरूको विशिष्टता औँल्याइन्छ । तर, सामाजिक सङ्गठन त कमिलामा पनि छ । त्यो मान्छेको मौलिकता होइन । त्यस्तै पारिवारिक संरचना, सन्तान प्रेम त ब्वाँसोमा पनि हुन्छ, गोरिल्लामा पनि हुन्छ र विवाह चराचुरुङ्गीमा पनि हुन्छ, अरू धेरै प्राणीमा हुन्छ । मानवजातिको यौन व्यवहारमा निश्चित हदसम्म ’मानवीयपन’ फेला पार्न सकिन्छ । स्तनधारी प्रजातिका पोथी जातिको यौनिक क्रियाशीलता मौसमी हुन्छ । अर्थात्, यिनीहरूमा बाह्रै महिना यौन क्रियाशीलता पाइँदैन । मान्छेको स्त्री जाति यो मामिलामा अलग छन् । सामान्य अवस्थामा हरेक महिना डिम्ब उत्पादन गरे पनि यो प्रकृया गोप्य हुन्छ र वर्षैभरि यौन सक्रियता सम्भव छ । तर, पनि यो गुण मान्छे हुनुको पूरै गुण भने होइन, किनभने यसले पुरुष जातिलाई समेट्दैन । अरू प्रजातिका पनि भाले जातिमा यौन सक्रियताको कुनै विशेष याम हुँदैन । बुद्धि, विवेक, माया, प्रेमजस्ता कुराहरू पनि मानिसलगायत कैयौँ प्राणीमा यथेष्ट पाइन्छ । मात्रात्मक रूपमा धेरै र थोरै वा सरल र जटिल भन्ने कुरा मात्र हो । भाषा चाहिँ निश्चितै रूपले मान्छेमा मात्र पाइने एउटा अनौठो क्षमता हो ।
भाषा किन र कसरी बेग्लै हो भन्ने चर्चा गर्नुअगाडि केही कुरामा प्रष्ट हुनु आवश्यक हुन्छ । त्यसो किनभने भाषाका विभिन्न खालका परिभाषा लोकमा प्रचलित छन् । भाषाको मुख्य उद्देश्य सञ्चार हो भन्ने कुरा सर्वमान्य छ । भाषा र सञ्चारलाई पर्यायवाची शब्दको रूपमा प्रयोग गर्ने गरेको पनि पाइन्छ । त्यसैले भाषाको सामान्य र विशिष्टीकृत गरेर दुई प्रकारको परिभाषा गर्नु उपयुक्त हुन्छ । सामान्य परिचयमा भाषा भनेको सञ्चार हो– सन्देश आदानप्रदान गर्ने माध्यम । मान्छेको भाषा विशिष्टीकृत परिभाषामा पर्छ । त्यसो त, मान्छेको भाषाको उद्देश्य पनि सारमा सञ्चार नै हो, तर यसको संरचनागत विशिष्टता सञ्चारका अन्य तरिकाहरूमा पाइँदैन । यो प्रसङ्मा उठ्न सक्ने एउटा महŒवपूर्ण प्रश्न हो– (मान्छेको) भाषा क्रमविकासबाट आएको हो कि होइन ? यसमा एउटा मतले भाषा र मस्तिष्क क्रमिक रूपले सँगसँगै विकास हुँदै आजको स्थितिमा आइपुगेको स्विकारेर भाषालाई क्रमविकासको परिणाम मान्छ । अर्को मतले भाषालाई मस्तिष्कको विकासको क्रममा आएको आकस्मिक परिवर्तनको ‘बाइप्रोडक्ट’ दाबी गर्छ । यी प्रतिस्पर्धी मतको पक्ष–विपक्षको प्राविधिक तर्क–वितर्क लेखको उद्देश्य होइन ।
सञ्चार प्रक्रिया पूरा हुनको लागि तीनवटा तŒवको आवश्यकता पर्दछ– स्रोत, माध्यम र लक्ष्य । भाषाले माध्यमको रूपमा स्रोत र लक्ष्यलाई जोड्छ र यो क्रममा सञ्चारको विनिमय हुन्छ । माध्यमको सामान्य चरित्र यसको साङ्केतिकता हो । अर्थात्, भाषा सङ्केत हो । सङ्केतको सङ्गठन र यसले बोक्ने अर्थ नै भाषाको प्राथमिक रहस्य हो । सञ्चारको कार्यव्यापार सम्पन्न हुनका लागि स्रोत र लक्ष्यमा साझा चेतनशीलता हुनु जरुरी हुन्छ– स्रोतले व्यक्त गरेको सङ्केतमा विद्यमान अर्थ सोही रूपमा लक्ष्यले ग्रहण गर्न सक्ने क्षमता ।
यहाँ एउटा प्रश्न उठ्न सक्छ– भाषाको जरुरी किन भयो ? अर्थात्, भाषाको प्रयोग के कस्ता प्रयोजनहरूमा गरिन्छ ? सञ्चारको क्रममा भाषाले वक्ता (सङ्केतकर्ता) को स्थिति बताउँछ– को र कहाँ भनेर । मान्छेइतर प्राणीहरूले भेला हुन, शत्रुको सूचना दिन, बचाउको लागि र यौन सन्देश दिन सञ्चार गर्ने गरेको पाइन्छ । यसमा पनि यौन र प्रजनन प्राथमिक उद्देश्यमा पर्दछन् । मान्छेहरूमा भाषाको प्रयोग धेरै जटिल छ– चिन्तन गर्न, विचार प्रतिपादन गर्न र त्यसको आदानप्रदान गर्न आदि । भाषाको एउटा रमाइलो पक्ष के हो भने भाषाको प्रयोग गरेर ढाँट्न सकिन्छ । व्यङ्ग्यजस्तो लागे पनि भाषाको सिर्जनशीलता हो यो । नभएका कुराको कल्पना गर्न र त्यसलाई प्रवाहित गर्न भाषाले उपकरणको काम गर्छ ।
भाषाको उद्देश्य सञ्चार हो भनिरहँदा पनि हामी ’भाषा’ शब्दद्वारा प्रायः मानवीय भाषालाई नै सङ्केत गरिरहेका हुन्छौँ । मानवीय भाषाको मूल माध्यम ध्वनि हो । अहिले संसारमा छ हजारभन्दा बढी भाषा बोलिन्छन् । कति भाषा बिलाएर गए, त्यसको लेखाजोखा छैन । कति विलय हुँदैछन् । बोल्न नसक्नेहरूले प्रयोग गर्ने साङ्केतिक भाषा शारीरिक हाउभाउ होइन, बोलिने भाषा जस्तै भाषा हो । बोलिने भाषाका जस्तै तिनका पनि वर्ण हुन्छन्, शब्द हुन्छ, वाक्य हुन्छ र हुन्छ व्याकरण पनि । त्यस्तै भाषाको बेग्लै लिखित रूप पनि हुन्छ । ब्रेल लिपि एक प्रकारको लिखित भाषा हो, कुनै बेग्लै प्रकारको सञ्चार प्रणाली होइन । यी सबै अभिव्यक्तिका विविध रूप मात्र हुन् । वास्तवमा भाषाको खास स्वरूप मस्तिष्कमा कुनै प्रकारले कुटीकरण भएर रहेको हुन्छ । यसको स्नायु– रसायनशास्त्र स्नायुविज्ञान र भाषाविज्ञानको साझा चुनौती हो ।
मान्छेमा भाषा उच्चारण गर्न सक्ने शारीरिक पूर्वाधारको रूपमा मुखको आकार, घाँटीको बनोट र मस्तिष्कको परिमाणलाई लिइन्छ । मान्छेको मुख र पशुहरूको थुतुनो, चराहरूको चुच्चोको तुलना गर्ने बित्तिकै थाहा हुन्छ कि किन पशुहरूले मान्छेले जस्तो विविध खालका ध्वनि निकाल्न नसकेका होलान् भनेर । त्यस्तै, मस्तिष्कको विकास र यसको विशिष्टीकरणले भाषालाई यो स्वरूप प्राप्त गर्न मद्दत गरेको हो । मान्छेको टाउकोभित्रको गिदी देब्रे र दाहिने गरेर दुई गोलाद्र्धमा विभाजित भएको हुन्छ । देब्रे गोलाद्र्धमा उच्चारण नियन्त्रण गर्ने र भाषा बुझ्ने दुईवटा छुट्टाछुट्टै केन्द्र पत्ता लागेका छन् । रमाइलो कुरा के छ भने मान्छेले जन्मँदा नै यी दुई केन्द्र रहेको देब्रे गोलाद्र्धको यो भाग दाहिने गोलाद्र्धको आनुषङ्गिक भागभन्दा केही फरक लिएर जन्मेको हुन्छ ! शरीरको दाहिने भाग पक्षाघात हुनेहरू प्रायःको बोलीमा समस्या हुन्छ, किनभने शरीरको दाहिने भाग टाउकाको देब्रे गोलाद्र्धका स्नायुहरूले नियन्त्रण गरिराखेको हुन्छ । शरीरको दायाँ भागको पक्षाघातको कारण मस्तिष्कको देब्रे भागमा समस्या भएकोले गर्दा हो ।
भाषाविद् नोम चोम्स्कीले मान्छेमा जन्मजात भाषा ग्रहण गर्न सक्ने क्षमता हुन्छ भनेर बताए । बिसौँ शताब्दीको मध्यतिर आएको यो अवधारणाले भाषाअध्ययनको परम्परामा नयाँ तरङ् छोडिदियो । उनको तर्क छ– यदि जन्मजात यस्तो क्षमता नहुँदो हो त सानो बच्चाले कसैले नसिकाईकन र बौद्धिकलगायत अरू कैयौँ क्षमता विकास हुनुभन्दा धेरै अगाडि भाषामा दक्षता हासिल गर्न सक्दैनथ्यो । हामी कसैलाई पनि थाहा छैन हामीले आफ्नो भाषा कहिले सिक्यौँ भनेर । चोम्स्कीको यही सिद्धान्तलाई पछ्याउँदै स्टिभन पिङ्करले एउटा पुस्तक लेखे– ‘ल्याङ्वेज इन्स्टिङ्क्ट’ । यसमा पिङ्करको तर्क छ– भाषा–आर्जन भोक, प्यास, यौन आदि जस्तै जन्मजात प्रवृत्ति हो । र, यदि यसो हो भने निश्चितै रूपमा भाषा मानव मात्रको पहिचान हो । किनभने, जुन संवेगलाई पिङ्करले भाषिक संवेग भने, त्यो अन्य प्राणीमा भेटिएको छैन । यो किन पनि साँचो लाग्दछ भने मान्छेको बच्चा जुन वातावरणमा हुक्र्यो, त्यसले त्यो वातावरणमा प्रयोग हुने भाषा सजिलैसँग ग्रहण गर्दछ । जैविक बाबुआमाको भाषासँग त्यसको कुनै सरोकार हुँदैन । उदाहरणको लागि नेपालीभाषी बाबुआमाको एउटा बच्चालाई एक वर्षकै उमेरदेखि अफ्रिकाको कुनै समुदायमा हुर्काउने हो भने त्यो बच्चाको भाषामा नेपाली भाषाको कुनै पनि अवशेष देखा पर्दैन । तीनचार वर्षको पुग्दा नपुग्दै त्यो बच्चा त्यहाँको भाषामा दक्ष भैसकेको हुन्छ ।
शारीरिक स्वरूपको विशिष्टताको कारण भाषा ग्रहण सहज भएको एउटा यथार्थ हो । भाषाको मौलिकता स्वयंमा अर्को तथ्य हो । मानवीय भाषा नियमसङ्गत छ र यसको व्याकरण छ । मानवेतर कुनै भाषाको पनि व्याकरण छैन । मानवेतर सञ्चार प्रणालीमा एउटा सङ्केतको एउटा पूर्ण अर्थ हुन्छ र यो अर्थ सोझो हुन्छ । जस्तो किः ठूलो स्वरले चिच्याउँदा ‘शत्रु आयो’ भन्ने अर्थ लाग्ला, तिखो स्वरले चिच्याउँदा ‘भोक लाग्यो’ भन्ने अर्थ लाग्ला । तर, मानवीय भाषाको प्रकृति नै बेग्लै हुन्छ । यसमा दुई तहको साङ्केतीकरण हुन्छ । उच्चारण त हामी विभिन्न तर सीमित ध्वनिहरूको मात्र गर्छाैं । यी ध्वनिहरू आफैँमा अर्थहीन हुन्छन् । पहिलो तहको साङ्केतीकरणमा ध्वनिहरू मिलेर शब्द बन्दछन् । शब्द अर्थहीन ध्वनिहरूको संयोजनबाट निर्मित अर्थयुक्त सिर्जना हो । अर्को तहको संगठनमा शब्दहरू मिलेर वाक्य बन्दछन् । एउटा भाषामा ध्वनिहरूको सङ्ख्या सीमित हुन्छ । तिनै ध्वनिहरूबाट लाखौँ शब्द बन्दछन् । नयाँ शब्द बन्ने क्रम नटुङ्गिए पनि भाषामा शब्दको संख्या झण्डै झण्डै सीमित मान्न सकिन्छ । तर, वाक्यको सङ्ख्या भने असीमित हुन्छ । शब्दहरूको शब्दकोश बनाए जस्तो वाक्यहरूको वाक्यकोश असम्भव कल्पना हो ।  वाक्य संरचना मानवीय भाषाको मौलिक गुण हो । अझ एउटै वाक्य पनि सन्दर्भअनुसार फरक फरक अर्थ लाग्ने खालका समेत हुन सक्छन् ।
स्टिभन पिङ्करकै अर्को किताब छ– वर्ड्ज एन्ड रुल्ज (शब्द र नियम) । यसमा लेखक भन्छन्– भाषा भनेको शब्दको सूचि र ती शब्दलाई गाँस्ने सीमित नियमहरूको एक प्रकारको प्रणाली हो । हरेक शब्दको पृष्ठभूमिमा त्यसको निर्माणको इतिहास रहेको हुन्छ । चोम्स्कीको भनाइअनुसार भाषाका नियमहरू कस्ता कस्ता हुन सक्छन् भन्ने ज्ञान चाहिँ मान्छेले जन्मजात लिएर आएको हुन्छ । त्यसैले ऊ जुनसुकै भाषा पनि ग्रहण गर्न सक्छ ! बच्चाले आफ्नो वातावरणमा सिलसिला नमिलेका टुक्राटाक्री कुराकानी सुनेको हुन्छ । यसैको भरमा उसले त्यो भाषाका नियमहरू पहिचान गर्दछ । यो एकप्रकारको ’गेस–वर्क’ जस्तै हो । शब्दहरू याद गर्दै यी शब्दहरूलाई वाक्यको रूपमा मालामा उन्ने काम भाषाग्रहण गर्ने क्रममा बच्चाले गर्ने कर्म हुन् । भाषाका नियमहरू त बच्चाले सुरुका केही वर्षभित्रै करिब करिब सबै जानिसकेको हुन्छ । शब्दभण्डार बढ्ने क्रम मात्र जारी रहन्छ । अपवाद र विशेष कारणबाहेक प्रत्येक क्षण हामी नयाँ नयाँ वाक्य निर्माण गरिरहेका हुन्छौँ । भाषिक दक्षतामा मान्छे असाधारण रूपले सिर्जनशील छ । एकचोटि सुनेको कथा कसैलाई सुनाउँदा पहिले सुनेका कुनै पनि वाक्य सामान्यतया दोहोरिएर आउँदैनन्, तर कथा भने जस्ताको तस्तै भन्न सकिन्छ !
मान्छेमा भाषाको यस्तो अद्भूत क्षमता भएकै कारण मान्छेको विकास यहाँसम्म आइपुगेको हो । अमूर्त विचारहरूको सिर्जना र त्यसको आदानप्रदान विकासको लागि अपरिहार्य कुरा हो । जब लेखन परम्पराको आविष्कार भयो, त्यसपछि त विचार आदानप्रदानको लागि नजिक हुन पनि परेन, समयको पाबन्दी पनि रहेन । हजारौँ वर्षअघिका मान्छेले चिन्तन गरेका कुराको जानकारी आज सजिलै पाइन्छ । एक ठाउँमा प्रतिपादित विचार अर्को ठाउँमा पु¥याउन सकिएको छ । हिजोका मान्छेको काँधमा उभिएर आजका मान्छेले चिन्तन गर्न पाएको छ । यो ’सञ्चित चिन्तन’को मेरुदण्ड भाषा हो । कम्प्युटर र विद्युतीय सञ्चारले भाषाको यो खेललाई कल्पनातीत सहज पारिदिएका छन् । मानवेतर कुनै प्राणीको सञ्चार प्रणालीमा यो क्षमता हुँदो हो त, त्यो प्राणी नै आजको मान्छेको ठाउँमा रहेको हुन्थ्यो !
निष्कर्ष के हो भने भूमण्डलमा रहेका प्राणीहरूमा मानिसलाई चिन्ने आधार भाषा हो । कदाचित् ब्रह्माण्डको कुनै ग्रहमा बुद्धिमान जीव फेला परे र उनीहरूलाई पृथ्वी र पृथ्वीका प्राणीको परिचय दिनुप¥यो भने भाषा नै मानव जातिको ‘भिजिटिङ कार्ड’ हुनेछ ।

Leave A Comment